सकियो रामकहानीबाट सुरु भएको प्रेम कहानी
छोएन पूजाको आँसुले आकाशलाई

पछिल्लो समय अभिनेत्री पूजा शर्माको आँसु निकै चर्चामा छ । गत शुक्रबार पूजासँगै अभिनेता आकाश श्रेष्ठले जोडीका रूपमा अभिनय गरेको गीत ‘धर्ती आकाश’को म्युजिक भिडियो सार्वजनिक भयो । उक्त म्युजिक भिडियोको सार्वजनिक कार्यक्रममा पूजा धक फुकाएर रोइन् । उनको रुवाइको कारण थियो आकाशसँग चिसिएको सम्बन्ध । 

चलचित्र ‘राम कहानी’ मार्फत पर्दामा स्क्रिन सेयर गरेको यो जोडीले त्यसपछि  ‘सम्हालिन्छ कहिले मन’, ‘पोइ पर्‍याे काले’, ‘संझना बिर्सना’ लगायतका चलचित्रमा जोडीका रूपमा काम गरे । दुवैले केही म्युजिक भिडियोमा पनि जोडी कलाकारका रूपमा पनि काम गरे । चलचित्र ‘रामकहानी’बाटै दर्शकले पूजा र आकाशको जोडीलाई मन पराए । फिल्मको भन्दा धेरै यो जोडीको चर्चा भयो । आकाश र पूजा प्रेममा रहेको चर्चा चल्यो । यो चर्चालाई पुष्टि दिने गरी आकाश र पूजा हरेक ठाउँमा सँगै देखिए  । 

त्यसपछि आकाश र पूजाको सम्बन्ध निकै बलियो बन्यो । यो अवधिमा उनीहरूले एक अर्कासँग कहिले पनि अलग नहुने वाचा समेत गर्न भ्याए । बजारमा दुईको प्रेमको हल्ला चल्यो । यो जोडीले एकै स्वरमा भन्यो ‘हाम्रो सम्बन्ध प्रेमभन्दा धेरै माथि छ ।’ प्रेम भन्दा निकै माथि रहेको आकाश र पूजाको सम्बन्ध अहिले दुई किनार बनेको छ । 

शुक्रबार आयोजित कार्यक्रममा पूजाले भक्कानिँदै भनिन्, ‘जबसम्म पूजा शर्माको श्वास रहन्छ । तबसम्म आकाशसँगको सम्बन्ध बाँचिरहन्छ ।’ 

पूजाको आँसु मिश्रित यो अभिव्यक्तिमा आकाशले भने कुनै प्रतिक्रिया जनाएनन् । आफूहरूले अभिनय गरेको म्युजिक भिडियो हेरेर पूजा भने निकै लामो समयसम्म रोइरहिन् । उनी कार्यक्रममा बोल्ने क्रममा पनि ‘भाग्यमा जे छ त्यो पाइन्छ । माया गरेर कसैले छुट्न नपरोस्’ भन्दै हिक्का छोडेर रोइन् । त्यसपछि पूजाले केही बोल्न सकिनन् । अहिले सामाजिक सञ्जाल टिकटकमा पूजाको उक्त अभिव्यक्ति निकै चर्चामा छ । 



‘रामकहानी’बाट सुरु भएको पूजा र आकाशको प्रेम कहानीमा फाटो यस अगाडि पनि नआएको भने होइन । तर पहिले-पहिले यो जोडी बोलचाल बन्द भएको एक महिनापछि  मिलिहाल्थे । यस पटक भने पुनः नजोडिने गरी उनीहरूको बलियो सम्बन्ध चुँडिएको छ । केही समय अघि नै पूजाले एक टेलिभिजन अन्र्तवार्तामा आकाशसँगको सम्बन्ध सकिएको बताएकी थिइन् । पूजाले पत्रकार प्रकाश सुवेदीसँग आकाशले भेटघाट गरेपछि उनीसँगको ४ वर्षे लामो सम्बन्धमा पूर्ण विराम लगाएको उल्लेख गरेकी थिइन् ।  

हुन त यो घटना अगावै आकाश र पूजाको सम्बन्ध ‘अन एन्ड अफ’ चलिरहेको थियो । सँगै टेलिभिजनमा अन्तर्वार्ता दिन पुगेका दुवैले नबोली नबोली फर्किनेदेखि अफर आएका थुप्रै काम रिजेक्टसम्म गरे । तर बेलाबेला पूजाले आकाशसँग आफ्नो झगडा पर्ने र कुरा मिल्ने कुनै टुंगो नहुँने बताउँदै आउँथिन् । उनै पूजाले प्रकाश सुवेदीसँग आकाशको फोटो देखेपछि भने, ‘साथी हुन्थ्यो भने मलाई नराम्रो गरेको मान्छेसँग कसरी मिल्न सक्थ्यो’ भनेर अभिव्यक्ति दिएकी थिइन् । यसपछि पूजाले आफ्नो सिने उद्योगको कसैसँग पनि अफेयर नरहेको दाबी गरेकी थिइन् ।



घुमाउरो शैलीमा आकाशसँग आफ्नो प्रेम नरहेको बताएकी पूजा लामो समयपछि एक कार्यक्रममा आकाश भेटिएपछि भने सम्हालिन सकिनन् । हरेक कार्यक्रममा एकसाथ आउने, एकैसाथ बाहिरिने यो जोडी शुक्रबारको कार्यक्रममा भने बोलचाल गर्न समेत अप्ठ्यारो मानिरहेको थियो । उक्त कार्यक्रममा आकाशले पनि आफू पुरुष भएर मात्र आँशु देखाउन नसकेको भन्दै मनमा धेरै कुरा रहेको बताएका थिए । 

हुन त सिने उद्योगमा कलाकार प्रेममा पर्नु र उनीहरूको ब्रेक अप हुनु कुनै नौलो विषय होइन । आकाशभन्दा अघि पूजा र निर्देशक सुदर्शन थापा प्रेम सम्बन्धमा थिए । सुदर्शनले आफ्ना सबै चलचित्रमा पूजालाई नै नायिका बनाएका छन ।

  • प्रकाशित मिति : साउन ४, २०७८ साेमबार १२:५६:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया