किसान श्रेष्ठलाई माधव–प्रचण्डको आश्वासन– मन्त्री बनाउँछौँ

३ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा प्रचण्ड मतका साथ आफूलाई सदनको विश्वासको मत भएको प्रमाणित गरे । उनलाई प्रधानमन्त्रीमा समर्थन गर्दै राष्ट्रपति कार्यालयमा हस्ताक्षर बुझाएका र सर्वोच्च अदालतसम्म पुगेका नेकपा एमालेका केही नेताले उनलाई विश्वासको मत दिएनन् । 

उनलाई प्रधानमन्त्रीमा समर्थन गरेका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालनिकट भीम रावलले त बैठक सुरु भएसँगै राजीनामासमेत दिए । 

आइतबार प्रधानमन्त्री देउवाले विश्वासको मत माग्ने भएपछि देखिएका नेपाली राजनीतिका केही रमाइला ‘टर्न’हरु लामो समयसम्म चर्चाको केन्द्रमा रहने पक्का छन् । यसमा चर्चामा आइरहनेछ देउवालाई विश्वासको मत दिएका नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीनिकट भनेर चिनिएका कृष्णकुमार श्रेष्ठ किसानको नाम पनि ।

प्रतिनिधि सभा निर्वाचनमा तनहुँको क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गरेपछि चर्चामा आउन थालेका हुन् किसान । तनहुँमा हार्डवेयर व्यवसायमा जमेका श्रेष्ठले मेडिकल कलेज तथा रेष्टुरेन्टहरुमा पनि लगानी गरेका छन् । त्यति बेला पौडेललाई हराएर चर्चामा आएका श्रेष्ठ गत वैशाखमा जनता समाजवादी पार्टीका नेता डा. सुरेन्द्र यादवको ‘अपहरण’मा संलग्न भएपछि फेरि चर्चामा आएका थिए । ओलीनिकट नेता महेश बस्नेतसँग मिलेर उनले १० वैशाख २०७७ मा डा. सुरेन्द्र यादवलाई काठमाडौं ल्याएका थिए । उनीहरुको त्यति बेला यादवलाई काठमाडौं ल्याउनुको कारण थियो– तत्कालीन प्रधानमन्त्री ओलीले जसपा फुटाउन चाहनु ।

प्रतिनिधिसभा निर्वाचनमा विजय भएसँगै बारम्बार ओलीको समर्थनमा देखिएका किसानले दुई पटक ओलीले प्रतिनिधिसभा विघटन गर्दा पनि उनको पक्षमा नै वकालत गर्दै आएका थिए । 

२८ असारमा सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनलाई बदर गर्दै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न आदेश दिएपछि पनि किसानलाई ओली पक्षले आफ्नै नेताका रुपमा ‘गनिरहेको’ थियो ।



तर, ३ साउनमा प्रतिनिधिसभामा देउवाले विश्वासको मत मागेपछि किसानले फ्लर क्रस गरे, पार्टीको ह्विपलाई मानेनन् र देउवालाई विश्वासको मत दिए । उनले देउवालाई विश्वासको मत दिएपछि एमालेकै कतिपय नेता तथा कार्यकर्ताले आश्चर्यचकित हुँदै सामाजिक सन्जालमा उनीविरुद्ध स्टाटस लेखिरहेका छन् ।

ओलीलाई लामो समयदेखि समर्थन गर्दै आइरहेका किसानले अचानक ओली क्याम्प किन छाडे त ?



‘किनकि उनलाई मन्त्री बनाउने आश्वासन प्रचण्ड र माधव नेपालले दिएका छन्,’ हामीले माथिको प्रश्न नेकपा एमाले अध्यक्ष ओलीनिकट एक नेतालाई सोध्दा उनले जवाफ दिए, ‘पछिल्लो समय बनेको मन्त्रिपरिषदमा आफ्नो पनि नाम हुने विश्वास उनले लिएका थिए । तर, उनलाई मन्त्री नबनाइनुको कारण उनी ओलीसँग रिसाएका हुन् कि भन्ने अनुमान थियो । त्यही भएर उनले अर्को ठाउँ खोजिरहेका थिए ।’

ती नेताका अनुसार ओलीले मन्त्री बनाउँछु भन्ने वचन दिए पनि पछिल्लो पटक जसपाको महन्थ ठाकुर पक्ष सम्मिलित सरकारमा किसानलाई कुनै पनि मन्त्रालयको जिम्मेवारी दिइएको थिएन ।

‘त्यही भएर उनले आक्रोश पोखेका होलान्,’ ती नेताले भने, ‘तर, उनले जे गरे त्यो अत्यन्त बेठिक गरेका छन् ।’

एकातिर ओलीसँग रिसाइरहेका किसान पछिल्लो समय माओवादी केन्द्रका नेताहरुसँग नजिकिन थालेका थिए । केही महिना यता उनी माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठसँग बारम्बार भेटिरहेका थिए । तिनै श्रेष्ठले किसानलाई माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नजिक बनाएका थिए । 

‘नेपाल र प्रचण्डले सर्वोच्चको फैसलापछि बारम्बार किसानसँग सम्पर्क गरिरहेका थिए, उनलाई मन्त्री बनाउँछौँ भन्ने आश्वासन पनि उनीहरुले दिएका थिए,’ एक नेता भन्छन्, ‘ओलीसँग रिसाइरहेको समयमा उनलाई नेपाल र प्रचण्ड दुवैले नजिक बनाउन खोजेकाले पनि उनी सहजै उनीहरुको अजेन्डा मान्न तयार भएका हुन् ।’

ती नेताले नेपाल र प्रचण्डले मिलेसम्म यही मन्त्रिपरिषदमा किसानलाई मन्त्री बनाउने आश्वासन दिएका छन् ।

तर, यो दाबीलाई किसानले भने अस्वीकार गर्दै आएका छन् । ‘सर्वोच्च अदालतले जुन संविधानको व्याख्या गरेको छ, त्यसअनुसार यो संसद पाँच वर्ष चल्नुपर्छ, मलाई तनहुँका जनताले पाँच वर्षका लागि निर्वाचित गरेका हुन्,’ किसानले भनेका छन्, ‘हिजो ओलीले त मन्त्री दिएनन् अब देउवाले दिन्छन् भन्ने विश्वास मलाई पटक्कै छैन ।’

फरकधारसँग कुरा गर्दै श्रेष्ठले पछिल्लाे समय आफ्नाे र नारायणकाजी श्रेष्ठकाे भेटघाट भएकाे स्वीकार गरे ।

याे पनि पढ्नुहाेस्—

मेरो घैटौँमा घाम लाग्यो, बुद्धि फिर्‍योः किसान श्रेष्ठ


  • प्रकाशित मिति : साउन ४, २०७८ साेमबार १३:०:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया