बार्सिलोना मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानले यस पटकको बलुन डी’ ओर अवार्ड लियोनल मेस्सीले जित्नु पर्ने बताएका छन् ।
‘मेस्सी निकै महत्वपूर्ण छन् । उनी टिमका कप्तान र उदाहरण हुन्’, कोम्यानले बार्सिलोनासँगको कुराकानीका क्रममा भने, ‘मेस्सीको गोल गर्ने तरिका निकै उत्कृष्ट छ ।’
‘मेस्सीले फेरि एकपटक आफू विश्वकै उत्कृष्ट रहेको प्रमाणित गरेका छन् । मलाई थाहा छ कोपा अमेरिका जित्नु उनको सबैभन्दा ठूलो सपना थियो र जुन पूरा भइसकेको छ। मेरो विचारमा गत सिजन उत्कृष्ट प्रदर्शन गरेका मेस्सी नै बलुन डी’ओरका प्रमुख दाबेदार हुन्,’ कोम्यानले थपे ।
भर्खरै सम्पन्न कोपा अमेरिकामा मेस्सी कप्तान रहेको अर्जेन्टिनाले ब्राजिललाई हराउँदै उपाधि उचालेको थियो । उनका लागि यो पहिलो अन्तर्राष्ट्रिय उपाधि हो ।
प्रतियोगितामा ४ गोल गर्नुका साथै ५ गोलका लागि अवसर सिर्जना गरेका मेस्सी उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता चुनिएका थिए ।
मेस्सीले गत सिजन बार्सिलोनाका लागि ४७ खेलमा ३८ गोल गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।