३ साउनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा विश्वासको मत पाएपछि ‘टक अफ द टाउन’ भएका छन्, नेकपा एमालेका सांसद कृष्णकुमार श्रेष्ठ किसान ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सबैभन्दा नजिक मानिएका श्रेष्ठले आइतबार फ्लोर क्रस गर्दै र पार्टीको ह्विपलाई उल्लघंन गर्दै देउवालाई विश्वासको मत दिएका थिए ।
‘उहाँ मेरो काका हो,’ उनले फरकधारसँग भनेका छन्, ‘उहाँसँग मेरो भेट भइरहन्छ, राम्रो सम्बन्ध छ ।’
श्रेष्ठले आखिर देउवालाई किन विश्वासको मत दिए ? हामीले यही प्रश्न उनलाई सोधेका थियौँ । उनले फरकधारसँग गरेको कुराकानीको सारसंक्षेपः
मैले देउवालाई विश्वासको मत दिएपछि मलाई आरोप लगाइएको छ, मन्त्री हुने लोभले मैले देउवालाई विश्वासको मत दिएको हुँ । तर, यो बिल्कुल आरोप मात्रै हो । सरासर गलत आरोप ममाथि लगाइएको छ ।
अस्तिमात्र सर्वोच्च अदालतले गरेको फैसला सबैलाई थाहा छ । हाम्रो पार्टीले पनि सर्वोच्चको फैसलालाई स्वीकार गर्ने बताएकै थियो । संविधानको व्याख्या गर्न बनेको सर्वोच्चले गरेको फैसलालाई मैले किन नमान्नु ?
एक त सर्वोच्चको सम्मान गर्नुपर्छ भन्ने मान्छे हुँ म, अर्कोतिर तनहुँ क्षेत्र नम्बर १ का जनताको जनमतको कदर गर्ने पनि मेरो जिम्मेवारी हो । सर्वोच्च र तनहुँका जनताको जनमतको कदर गर्न मैले देउवालाई विश्वासको मत दिएको हुँ ।
अब मलाई लागेको आरोपमा जाऔँ । हिजो मैले देउवालाई विश्वासको मत दिएपछि म सरासर घर आएँ । मलाई मन्त्री बनाइदिनु भन्दै म कसैको ढोकामा ढकढकाउन जान्नँ, जादिनँ । घरमै आएर बसेँ हिजो राति पनि ।
हिजो मैले केपी ओलीका लागि जे जति गरेको थिएँ, त्यसको मूल्यांकन उहाँहरुले गर्नु भएको होला । तर, ओलीका लागि त्यति धेरै काम गर्दा पनि मलाई मन्त्री बनाइएन । ओलीले त्यति धेरै काम गर्दा र सहयोग गर्दा पनि म मन्त्री नबनेको मान्छे आज देउवाले कसरी मलाई मन्त्री बनाउँछन् भन्ने कुरा म पत्याउँछु ?
सबैलाई थाहा छ, केपी ओलीले दुई पटक प्रतिनिधिसभा विघटन गरे । मैले दुवै पटक ओलीलाई नै साथ दिएँ, उहाँको समर्थक भएका कारण यसलाई वकालत पनि गरेँ ।
दोस्रो पटक पनि प्रतिनिधिसभा विघटन भएपछि सर्वोच्चले लामो फैसला गरेको छ । मैले फैसला पढेको छु । अनि सर्वोच्चलाई हामीले संविधानको व्याख्या गर्न दिने तर उसले भनेको नमान्ने ?
सर्वोच्चको व्याख्या र प्रतिनिधिसभा पुनस्र्थापना भएपछि मेरो घैटौँमा घाम लाग्यो ।
म त्यसभन्दा अगाडि त ठूलो भ्रममा रहेछु, अब मेरो बुद्धि फिर्यो । घैटौँमा लागेको यो घामले मलाई के भनेको छ भने अब म एमाले भएँ । हिजोअस्तिसम्म म ओली गुटमा थिएँ, अब म कुनै पनि गुटमा छैन, एमाले भएको छु । म एमाले भएर नै रहनेछु । भोलि जनतासामु पनि एमाले भएरै जानेछु ।
अब एमाले हुनु भनेको माधवकुमार गुटमा हुनु हो भने पनि मलाई केही भन्नु छैन । तर, अब मैले गुट छोडेर एमाले भएर त्यसको राजनीति गर्न थालेको हुँ ।
मैले देउवालाई विश्वासको मत दिएपछि अधिकांशले अब मलाई प्रश्न गर्न थालेका छन्– महेश बस्नेतसँग पनि सम्बन्ध बिग्रिएको हो ?
कस्तो अचम्म, महेश बस्नेत र मेरो यति निकट सम्बन्ध छ कि यो बिग्रने भन्ने नै हुँदैन ।
महेश बस्नेत राजनीतिक रुपमा मेरो सिनियर भए पनि उमेरले मेरो भाइ हो । त्यसैले म कहिले महेश कमरेड भन्छु त उसलाई कहिले महेश भाइ भन्छु ।
मैले ओलीका लागि जति गरेको छु, त्योभन्दा बढी ओलीका लागि महेश भाइले पनि गर्नुभएको छ । उहाँले गरेको योगदानको पनि कदर हुनुपर्छ, तर त्यो भएको छैन ।
उहाँलाई थाहा छ, पछिल्लो समय केपी ओलीका आसेपासेका कारण उहाँलाई पनि समस्या भएको छ । मेरो महेश बस्नेतप्रति सम्मान छ, भाइका रुपमा सम्मान छ, नेताका रुपमा सम्मान छ ।
तर, अब अवस्था कस्तो आएको छ भने महेश बस्नेतलाई पनि अब त्यहाँ टिक्न दिँदैनन् । उनले पनि अब केही दिनमा केपी ओलीलाई छोड्नेछन् र एमाले बन्ने छन् ।
मलाई विश्वास छ, महेश भाइ मेरोमा आउनेछन्, मेरो बाटोमा र यात्रामा आउने छन् । उनी पनि अब नेकपा एमालेमा आउनेछन् । तर, यो कुनै मन्त्री बन्ने लोभले होइन ।
अर्को कुरा म केपी ओलीको मात्र मान्छे होइन । म सबैभन्दा बढी नजिक त वामदेव कमरेड (गौतम)सँग छु । जब हिजो केपी ओलीले जित्नु भयो, उहाँलाई मैले समर्थन गर्न थालेँ । फेरि उहाँले केही राम्रा काम पनि गर्नु भएको छ ।
तर, प्रतिनिधिसभा विघटन गर्ने उहाँको काम राम्रो होइन रहेछ भनेर सर्वोच्चले पनि भनेको जछ ।
त्यसैले उहाँको नराम्रो काममा मैले साथ दिन सकिनँ ।
वामदव र केपीसँग मात्र होइन, मेरो सम्बन्ध अरु थुप्रै नेताहरुसँग छ । माधवकुमार नेपालसँग पनि म नजिक छु, नारायणकाजी श्रेष्ठलाई त म काका नै भन्छु, उहाँसँग मेरो पारिवारिक सम्बन्ध छ । माओवादी केन्द्रका प्रचण्ड, जनार्दन शर्माहरुसँग पनि म नजिक छु । अरु नेताहरुसँग पनि म नजिक छु ।
केहीले अब किसानलाई पार्टीले कारवाही गर्छ भनिरहेका छन् । यस्तो भन्नेहरुले के सर्वोच्चको व्याख्या पढेका छैनन् ? हिजो हाम्रै नेता प्रदीप ज्ञवालीले संसदको रोष्ट्रममा उभिएर भन्नुभएको छ– हामी सर्वोच्चलाई आदर गर्छौँ, सर्वोच्चलाई मान्छौँ ।
सर्वोच्चको फैसलाले नै कुनै पनि सांसदलाई देउवालाई विश्वासको मत दिएको आधारमा कारवाही गर्न नपाउने भनेको छ । फेरि मलाई जनताको साथ पनि छ । त्यसैले मलाई पार्टीले कारवाही गर्न सक्दैन ।
ल अब सांसद पदबाट कारवाही गरेन रे, मलाई पार्टीबाट कारवाही गर्छ भन्नेहरु पनि होलान् । म त यो पार्टीको एउटा मामुली साधरण सदस्य मात्र हो, म कुनै कमिटी र समितिमा छैन, त्यसमा मलाई कारवाही गरेर पार्टीले के पाउँछ ? केका लागि र किन कारवाही गर्छ ?
फेरि पनि म भन्छु मैले कुनै लोभ गरेर वा मन्त्री बन्छु भनेर देउवालाई विश्वासको मत दिएको होइन । यो त मेरो बुद्धि फिरेकाले सम्भव भएको हो, सर्वोच्च अदालतको फैसलाका कारण सम्भव भएको हो ।
अब हेर्नुस् न हिजो म संसदीय दलको बैठकमा गएको थिइनँ, तर मलाई एमाले ओली पक्षले खोजी पनि गरेन । अहिले संसदको गणितमा काम गर्नेले मलाई खोज्नु पर्दैन ? यस्तो ज्यादती गर्न मिल्छ ?
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।