संसदीय व्यवस्थामा सांसदको टाउको सबैभन्दा मूल्यवान हुन्छ । नेपालको राजनीतिमा बहुदलकालमा त यसको किनबेचसमेत भयो । अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमा पनि सांसदको टाउकाको मूल्य घटेको छैन । सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री बनेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका निम्ति आइतबार आफ्नो पार्टीमात्र होइन, अन्य पार्टीका सांसदको टाउको पनि बहुमूल्य हुन पुग्यो । किनकि सर्वोच्चको आदेशबमोजिम उनले संसदमा आफ्नो पक्षमा बहुमत पुर्याउनु आवश्यक थियो ।
निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको खराब कार्यशैलीका कारण त्यस दलका युवा नेता बढी चिढिएका थिए । चिढिएका नेताहरूको नेतृत्व गरेका थिए ७० पुग्नै लागेको एमाले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले । एमालेका युवा नेता (उमेर हद नाघे पनि) घनश्याम भुसाल, गोकर्ष विष्टलगायत पार्टीमा विशेष वर्चस्व राखेका नेता ओलीको आलोचक रहँदै आएका थिए ।
भनिरहनु पर्दैन कि नेकपा एमाले बलियो जनाधार भएको राजनीतिक दल हो । तुलनात्मक रूपमा एमालेलाई अहिले पनि नेपालको सबैभन्दा व्यवस्थित पार्टीका रूपमा हेरिन्छ । यो पार्टीमा युवापंक्ति पनि उत्तिकै शक्तिशाली छ । युवापंक्तिलाई यो पार्टी दिगो बनाउनु छ र आफ्नो राजनीतिक भविष्य सुरक्षित पार्नु पनि छ । त्यही कारण यो पुस्ताले ओली कार्यशैलीको विरोध गर्दै आएको हो । एमालेको युवा पंक्ति अब ओलीमात्र होइन, झलनाथ खनाल, वामदेव गौतम, माधव नेपाललगायतका पहिलो पुस्ताका नेताले विश्राम लिने बेला भएको बताउँछ । दोस्रो पुस्ता (घनश्याम, गोकर्ण, प्रदीप ज्ञवालीलगायत)का हातमा पार्टी र सत्ता सुम्पँदा जनता लाभान्वित हुने तिनको विश्वास छ । भर्खरै सत्तारुढ हुन पुगेको नेपाली कांग्रेसमा पनि लामो समयदेखि दोस्रो पुस्तामा राजनीति हस्तान्तरणको माग उठिरहेको छ । तर त्यो पुरातन सोचबाट ग्रसित दलले त्यसो गरिहाल्ने छाँट अहिले भने देखिँदैन ।
एमाले तुलनात्मक रूपमा आधुनिक पार्टी हो । नामका अघिल्तिर ‘कम्युनिस्ट’ जोडिए पनि त्यसका खम्बाका रूपमा रहेका होनहार युवाका कारण ‘लोकतन्त्र’ त्यो पार्टीले त्याग्न अब सक्दैन । प्रतिस्पर्धात्मक बजार व्यवस्था र पूँजीवादी सोच त्यो पार्टीमा बलियो बन्दै गएको छ । यसको मुख्य कारण पार्टीमा रहेका युवापंक्ति नै हुन् ।
दुर्भाग्य यो टिप्पणीको आरम्भदेखि करिब तीन सय शब्द ‘युवा नेतृत्वको आवश्यकता’मा खर्चिए पनि आइतबारको विश्वासको मत लिने संसद् बैठकमा भने त्यो पुस्ता निकै निरीह, विचारहीनता र अडानहीनताबाट ग्रस्त हुन पुग्यो । यसले एमालेका ‘ग्रासरुट’का नेता-कार्यकर्ता र शुभेच्छुक-मतदाता निराश बन्न पुगेका छन् । हिजो जसका विरुद्ध र जुन बेथितिविरुद्ध पार्टीको भित्री तहमा आन्दोलित हुने पुस्ताले आइतबार आफ्नो अमूल्य मत (विश्वासको) नदिएर भाग्यो ।
आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन सकेको भए त्यो पुस्ताले संसद् जोगाएको मात्र होइन, विधिको शासनको वकालतसमेत गरेको पुष्टि हुने थियो । आफ्नै नेतामा पलाएको निरंकुशताविद्ध उभिएको प्रमाणित हुन्थ्यो । दुर्भाग्य, त्यो अवसरबाट एमालेमा ‘गतिला’ मानिएका नेता चुकेका छन् ।
अवसरको सदुपयोग गर्नबाट चुकेका एक नेता भुसाल भन्छन्, ‘संसद् जोगाउनु पर्थ्याे, जोगिएको छ । अब पार्टी जोगाउनु पर्ने छ, जोगाइने छ । हामी ठूलो दुर्घटनामा परेका छौँ । यथास्थितिमा कोही पनि सुरक्षित छैनौँ । हामी उठ्छौँ, धुलो टक्टक्याउछौँ र अगाडि बढ्छौँ ।’ यी पंक्तिमध्ये पहिलो वाक्य सबैभन्दा महत्वपूर्ण छ । ‘संसद् जोगाउनु पर्थ्याे, जोगिएको छ’ । संसद् कसले जोगायो ? यो प्रश्नले भुसाललाई राजनीतिक जीवनभर लखेटिरहने छ ।
अर्काले जोगाइदिएको संसदमा अब कुन मुखले जाने हुन् भुसाल ? संसद् जोगाउनुलाई अहिलेको प्रमुख जिम्मेवारी ठान्ने उनले संसद् जोगाउन दिनुपर्ने मत नदिई किन भागेका ? ओलीको सम्भावित कारवाहीसँग डराएको हो ? सर्वोच्च अदालतले नै आफ्नो फैसलामा देउवालाई मत दिँदा कुनै पनि पार्टीले आफ्ना सांसदलाई कारवाही गर्न नपाउने बताएको छ । त्यसकारण कानुनी रूपमा आइतबार देउवालाई मत दिने सांसदलाई कसैले कारवाही गर्न सक्दैन । पार्टीभित्र अनेक हथकण्डा अपनाएर कारवाहीको भागिदार बनाउनु अर्कै कुरा हो । निश्चित छ, हथकण्डाको सिकार बन्ने डर भुसाललगायतका १० जना नेतामा थियो । त्यसैले उनीहरु आफैले सर्वोच्चमा बुझाएको आफ्नै हस्ताक्षरविरुद्ध उभिए । अब एमालेले देउवालाई विश्वासको मत दिने नेताहरूमात्र होइन, अन्तिम समयमा मत नदिने नेतालाई पार्टीबाट चाहिँ कारवाही गर्न सक्ने सम्भावना देखिएको छ ।
देउवालाई विश्वासको मत दिने एमालेका वरिष्ठ नेता नेपालको निर्देशनलाई उनी पक्षीय भनिएका योगेश भट्टराई, सुरेन्द्र पाण्डे, दीपक भट्ट, सोमप्रसाद पाण्डे, यज्ञराज सुनुवार, घनश्याम भुसाल, गोकर्ण विष्ट, झपट रावल, नारायण खतिवडा, राजबहादुर बुढा संसद् भवनबाट बाहिरिएका थिए । यी नेताहरूको यो व्यवहारले एमालेको भविष्यमाथि नै प्रश्नचिह्न खडा गरिदिएको छ ।
आखिर उनीहरूले किन देउवालाई विश्वासको मत दिएनन् ?
भुसाललगायतका नेता पार्टीलाई एक ढिक्का बनाउनका लागि आफूहरूले यस्तो गरेको बताउँछन् । अदालतको परमादेश आउनुभन्दा अघिल्लो दिनसम्म पनि दल मिलाउन गठित कार्यदलले दिएका १० बुँदे सुझावमाथि छलफल चलिरहेको थियो, यसैलाई निरन्तरता दिने नेपाल पक्षीय केही नेताको भनाइ आइरहेको छ । तर, अदालतबाट आफू पराजित भएपछि निवास बालकोट फर्किएपछि अध्यक्ष ओलीले माधव नेपालमाथि प्रयोग गरेका शब्दहरु हेर्दा १० बुँदे अब उनले च्यातिसकेको बुझ्न कठिन हुँदैन । अचम्म त के छे भने युवा मानिएका नेताहरू नै अझै पनि १० बुँदेको रटान लगाइरहेका छन् !
आफ्नै पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री ओलीविरुद्ध वरिष्ठ नेता माधव नेपालले छेडेको जेहाद भने यस पटक निकै बलियो पुष्टि भएको छ । उनले अन्तिम घडीसम्मै ओलीको खराब कार्यशैलीको विरोध गरिरहे । उनको नेतृत्वमा बनेको विपक्षी गठबन्धनलाई सफलता दिलाए । त्यो अभियानमा साथै हिँडेका भुसाल र विष्टजस्ता आशालाग्दा नेताले अन्तिम घडीमा किन नेपाललाई धोका दिए ? र, अहिले आएर संसद् जोगाउनु थियो, जोगियो भन्ने कुरा किन गरिरहेका छन् ? यो पुस्ता किन यति लुलो भएको ? आमजनताले आशा-भरोसा-विश्वास गरेको पुस्ता युद्ध मैदानबाट हारजित छिनोफानो हुने दिन किन भागेको ? आफ्ना नेता (माधव नेपाल)को ‘चट्टानी अडान’ को कदर गर्न किन गाह्रो परेको ? आफ्नै पार्टीमा आफ्नो टाउकाको मूल्य बढाउन हो ?
आइतबार संसदमा जे-जस्तो दृश्य देखियो, त्यसलाई प्रतिनिधि दृश्य मान्ने हो भने, नेपालमा युवा पुस्ता सत्ता चलाउन लायक नभइसकेको प्रस्ट हुन्छ । एमालेका पहिलो पुस्ताका मानिएका नेता माधव नेपाललगायतका केही नेता नै आफ्नो अडानमा दृढ देखिए । सोही प्रकारको दृढता दोस्रो पुस्ता भनिएका नेतामा नदेखिनु नेपाली राजनीतिको भविष्यका निम्ति सुखद अवस्था होइन ।
एमाले देशको प्रतिनिधि पार्टी भएका कारण पनि त्यो पार्टीका युवालाई बुझेपछि अन्य पार्टीको युवा पुस्ताको मनोविज्ञान बुझ्न कठिन हुँदैन । देशको राजनीतिक संस्कार, अनुशासन, दूरदृष्टि, भावना, अग्रजप्रतिको सम्मान र विश्वासजस्ता कुरामा हाम्रा सबै पार्टी उस्तैउस्तै प्रकट भएका छन् । (विवेकशील साझा अपवाद हुन सक्ला, तर त्यसको राजनीतिक अनुहार बनिनसकेकाले यो टिप्पणीमा चर्चा नगरिएको हो ।)
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।