आफ्नै हातमा छ भीम रावलको सांसद पदको भविष्य

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले दोस्रो पटक पुनःस्थापित संसदको पहिलो बैठकको पूर्वसन्ध्यामा अनपेक्षित रुपमा आफूले सांसद पदबाट राजीनामा दिएको आश्चर्यजनक घोषणा गरे । 

संसद भवन बाहिर उपस्थित पत्रकारमाझ उनले आफ्नो राजीनामा वाचन गरेर सुनाए । त्यसअघि, सिंहदरबारस्थित संसद सचिवालयमा आफ्नो राजीनामा लिएर पुगेका रावललाई एमाले नेता झपट रावलले रोकेका थिए । 

तर, संसद सचिवालयबाट फिर्ता आएपनि रावलले संसद भवनमा सभामुख अग्निप्रसाद सापकोटालाई भेटेरै राजीनामा बुझाउने भन्दै नयाँ बानेश्वर हान्निए । संसद भवनमा पत्रकारमाझ राजीनामा वाचन गर्न लागेका रावललाई एमालेका अर्का नेता सुरेन्द्र पाण्डेले रोक्न खोजेका थिए । तर, रावल रोकिएनन् । 

पाण्डेले राजीनामा रोक्न भन्दै पत्रकारको बीचमा रहेका रावललाई तानेर भित्र लैजान खोज्दै थिए । तर, रावलले पाण्डेको हात आफ्नो शरीरमा पर्न नै दिएनन् । आफूलाई तान्न खोजेका पाण्डेलाई झट्कार्दै रावलले राजीनामा पत्र वाचन गरेर सुनाए । 

रावलले राजीनामा दिएपछि बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शेर बहादुर देउवाले विश्वासको लिन सफल भए । देउवाको पक्षमा १६५ मत तथा विपक्षमा ८३ र एक मत तटस्थ रह्यो ।

तर, सोही प्रक्रियामा सामेल हुन नसक्ने र राजनीतिको अनैतिक खेलमा नलाग्ने भन्दै राजीनामाको घोषणा गरेका रावलको सांसद पद अब के हुन्छ भन्ने विषय अहिले सर्वाधिक चर्चाको विषय बन्न पुगेको छ । राजीनामा घोषणा गरेका रावलको राजीनामा स्वीकृत हुने प्रक्रियाको विषयमा अहिले अत्यधिक चर्चा भइरहेको छ । 



संवैधानिक व्यवस्था के छ ?
नेपालको संविधान २०७२ ले संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभाको सदस्यबाट राजीनामा दिने व्यवस्थालाई धारा ८९ मा व्यवस्था गरेको छ । उक्त धारामा विभिन्न ६ वटा अवस्थामा प्रतिनिधिसभा सदस्यको पद रिक्त हुने व्यवस्था छ । 

धारा ८९ मा उल्लेख गरिएको छ :-



देहायको कुनै अवस्थामा संघीय संसदको सदस्यको स्थान रिक्त हुनेछः–

(क) निजले सभामुख वा अध्यक्ष समक्ष लिखित राजीनामा दिएमा,
(ख) निजको धारा ८७ बमोजिमको योग्यता नभएमा वा नरहेमा,
(ग) प्रतिनिधि सभाको कार्यकाल वा राष्ट्रिय सभा सदस्यको पदावधि समाप्त भएमा,
(घ) निज सम्बन्धित सदनलाई सूचना नदिई लगातार दश वटा बैठकमा अनुपस्थित रहेमा,
(ङ) जुन दलको उम्मेदवार भई सदस्य निर्वाचित भएको हो त्यस्तो दलले संघीय कानून बमोजिम निजले दल त्याग गरेको कुरा सूचित गरेमा,
(९) निजको मृत्यु भएमा ।


संविधानमा रहेको व्यवस्थाअनुसार रावलले धारा ८९ (क) अनुसार राजीनामा दिएका छन् । किनकि पत्रकारमाझ वाचन गरिएको रावलको पत्र सभामुख अग्निप्रसाद सापकोटाको टेबलमा पुगिसकेको छ । 

अब के हुन्छ ?
कुनैपनि सांसदको राजीनामा आएपछि अपनाउनुपर्ने प्रक्रियाको विषयमा प्रतिनिधिसभा नियमावलीको नियम २१२ मा स्थान रिक्तताको सूचना उल्लेख छ । जसअनुसार कुनैपनि सांसदको पद संविधानको धारा ८९ हनुसार रिक्त भएमा हुने प्रक्रिया उल्लेख छ । 

नियम २१२ मा उल्लेख गरिएको छ :-
२१२. स्थान रिक्तताको सूचना : (१) संविधानको धारा ८९ बमोजिम कुनै सदस्यको स्थान रिक्त भएमा सभामुखले सो कुराको जानकारी बैठकलाई दिनेछ ।
(२) सभाको बैठक चालू नरहेको अवस्थामा सभामुखले त्यस्तो जानकारी सूचना पत्रमा प्रकाशन गराउनेछ । 
(३) उपनियम (१) बमोजिम स्थान रिक्त भएको जानकारी सचिवले मन्त्रिपरिषद् र निर्वाचन आयोगलाई दिनेछ र सो सम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गर्नेछ ।

नियमावली अनुसार सांसद पद रिक्त भएका उक्त कुराको जानकारी सभामुखले बैठकलाई दिने उल्लेख छ । तर, बैठक चालु नभएको अवस्थामा सूचना पत्रमा सूचना जारी हुने नियमावलीमा व्यवस्था छ ।

अहिले रावलको राजीनामा सभामुख सापकोटाको टेबलमा पुगिसकेको छ । तर, संसद बैठकमा प्रस्तुत पनि भएको छैन, र सभामुख सापकोटाले अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रावलको पद खाली भएको सूचना पनि निकालेका छैनन् । 

यस अवस्थामा अब रावलको राजीनामा के हुन्छ भन्ने फरकधारको प्रश्नमा सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले अझैपनि राजीनामा रावलकै हातमा रहेको बताए । 

रावलको राजीनामा सभामुख सापकोटाको टेबलमा पुगेको भएपनि स्वीकृत हुने अथवा नहुने भन्ने कुरा रावलकै हातमा रहेको न्यौपानेले बताए । उनले भने, ‘रावलको राजीनामा सभामुखज्यूको टेबलमा आइपुगेको छ । तर, सभामुखज्यूले सनाखत गराउने क्रममा राजीनामा पत्र आधिकारिक भएको, हस्ताक्षर मिलेको नमिलेको विषयमा रावललाई सोध्नुहुनेछ ।’

उनले थपे, ‘त्यस समयमा रावलजीले आफूले आवेशमा आएर राजीनामा दिएको र फिर्ता लिन चाहेको बताए उहाँको राजीनामा रोकिन सक्छ । अन्यथा, सभामुखज्यूले सनाखत गराएपछि स्वीकृत हुन्छ ।’

यसबीचमा आज बसेको नेकपा एमालेको केन्द्रीय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले रावललाई राजीनामा फिर्ता लिनका लागि आग्रह गर्ने बताइसकेका छन् । उनले हतारिएर राजीनामा दिन नहुने भन्दै रावलले फिर्ता लिनुपर्ने बताएका हुन् । 

ओलीले केन्द्रीय समितिको बैठकमा बोलेको र स्वीकृतिको प्रक्रिया हेर्दा रावलको राजीनामा अझैपनि उनकै हातमा रहेको एमालेका एक नेताले बताए । उनका अनुसार अब रावलको राजीनामा स्वीकृतिको विषय उनकै कदममा भर पर्नेछ । 

  • प्रकाशित मिति : साउन ४, २०७८ साेमबार १७:५८:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया