राजनीतिक दलको मनलाग्दी, कोरोनाको डरले व्यवसायीलाई बन्देज कहिलेसम्म ?

कलंकीमा होटल व्यवसाय गर्दै आएकी लक्ष्मी पौडेल दिनभर होटल खोल्न पाउँदिनन् । दिनभर होटल सुनसान हुन्छ । जब बेलुका ग्राहकको भीड हुन्छ, त्यही बेला प्रहरी सिठी बजाउँदै पसल बन्द गर्न भन्दै आइहाल्छ । 

दिनभर ग्राहकको पर्खाइमा रहेका हुन्छन् उनी । जब ग्राहक आउने समय हुन्छ, त्यही बेला प्रहरी सिठी बजाउँदै आइपुग्छ । प्रहरी आयो कि भित्र बसिरहेका ग्राहकलाई समेत बाहिर पठाउनुपर्ने अवस्था छ । 
‘बेलुका सात बज्यो कि प्रहरी सिठी फुक्दै आउँछ । त्यही बेला ग्राहक आइरहेका हुन्छन् । व्यापार नै गर्न पाइँदैन ।’ उनले भनिन् ।  

उनलाई कोरोना महामारीको बेला निकै सावधानी अपनाउनुपर्छ भन्ने कुरामा पूर्ण जानकारी छ । त्यसैले त उनले होटलमा स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेकी छिन् । काउन्टरमा सेनिटाइजर राखेकी छिन्, सरसफाइमा विशेष ध्यान दिएकी छिन् । आफूले एक छिन पनि मास्क खोल्दिनन् । ग्राहकहरूलाई पनि मास्क लगाएर मात्र भित्र प्रवेश दिन्छिन् । 

आफ्नो होटलमा यसरी स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेपनि प्रहरीले बेलुका सात बजेपछि भने बन्द गराइहाल्छ । उनलाई आफ्नो होटल प्रहरीले बन्द गराएको चित्त दुखेको होइन । उनको प्रश्न र आक्रोश त सत्ता र कुर्सीको लडाइँमा लागेर सडकमा उत्रिनेहरूप्रति हो । 

उनका श्रीमान बलराजलाई कोरोना महामारीका बेला सानालाई ऐन र ठूलालाई चैन जस्तै लागेको छ । कोरोना महामारीको बहानामा जनतालाई घरभित्र बन्देजमा राखेर राजनीतिक दललाई भने सत्ताको लुछाचुँडीमा लागि सडकमा आउँदा पनि प्रहरीले केही गर्न नसकेको उनको गुनासो छ । 

‘७ बज्यो कि त सिठी बजाउँदै आइपुग्छन्, यही प्रहरी अनेक नेताका कार्यकर्ताले भाषण गर्दा के हेरेर बस्छन् ? उनीहरूका कारण कोरोना लाग्दैन कि क्या हो ? जो सोझो छ, उसैलाई प्रहरीले पनि दुःख दिने गरेको छ’, बलराजको आक्रोश छ । 



त्यस्तै न्युरोड विशालबजार नजिकै कपडा पसल सञ्चालन गर्दै आएकी चन्द्रकला डल्लाकोटीको पनि उस्तै आक्रोश र पीडा छ । पसल नखोल्दा पसल भाडा, आफ्नो खर्च कसरी चलाउने भन्ने तिर चिन्ता हुन्छ । पसल खोल्दा दिनभर व्यापार हुँदैन, जब व्यापार हुने समय आउँछ त्यहि बेला सिठी बजाउँदै प्रहरी आइपुग्छ । 

‘दिनभर जताततै भीडभाड हुँदा कोरोना नलाग्ने ? अनि हामीले  स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पसल खोल्दा चाँही कोरोना लाग्ने रहेछ । त्यो पनि दिनभर कोरोना नलाग्ने राति ७ बज्यो कि कोरोना आइहाल्ने हो कि के हो ?’ चन्द्रकलाको प्रश्न छ ।  



रोचक कुरा त के भने चन्द्रकलाको पसल नजिकै रहेको बसन्तपुर डबलीमा दिनभर मानिसहरूको भीडभाड हुन्छ । त्यो बेला प्रहरी पनि चुप लागेर बस्छ । साँझ प¥यो कि डबलीमा भुइँमा खुट्टा राख्न नमिल्ने जस्तो भीड हुन्छ । तर, प्रहरी भने घडी हेरेर बस्छ । सात बज्यो कि सिठी बजाउँदै माइकिङ गर्दै डबलीमा बसेकाहरूलाई भगाउँछ । जुन कुराले चन्द्रकलालाई अचम्मित पारिरहेको हुन्छ । 

सबै क्षेत्रमा जथाभावी भीडभाड हुनेगरी खुल्ला भइरहेको हुन्छ । तर, स्वास्थ्य मापदण्ड अपनाएर पनि पसल खोल्दा कोरोनाको जोखिम भन्दै सरकार डराउँछ । चन्द्रकला तथा लक्ष्मीले दिनभर पसल खोल्न त पाएका छन् । तर, ठमेलमा नाइट क्लब चलाउने सुरज शाक्यले त लामो समयदेखि क्लब नै खोल्न पाएका छैनन् । 

‘सबै जना आफ्नो पेसा व्यवसायमा फर्किसके । हाम्रो त अहिलेसम्म खोल्न पाएका छैनौँ । अझै कति दिन कति समय बस्नु । कहिले खुल्छ त हाम्रो व्यवसाय ?’ उनले प्रश्न गरे । जुन प्रश्नको जवाफ न उनीसँग छ, न त राज्यले नै दिन सकेको छ । 

कोरोना महामारीका बेला सबैलाई डर थियो । जुन डर उनलाई पनि थियो । त्यही कारण सरकारले जारी गरेको निषेधाज्ञाको पालना गर्दै गए । तर, आफू घरभित्र बसिरहँदा नेता तथा कार्यकर्ता भने सडकमा कुर्सीको लडाइँमा हुँदा उनको साह्रै चित्त दुख्छ । 

‘सरकार, नेता, कार्यकर्ताहरूले जति भीड गरेपनि, सडकमा प्रदर्शन गरेपनि तिनीहरूलाई कोरोना लाग्दैन ? कोरोना त हाम्रो व्यवसाय खोल्दा मात्र लाग्ने होला नि हैन ?’ उनले प्रश्न गरे ।  

के नेता तथा राजनीतिक दलका कार्यकर्तालाई कोरोना लाग्दैन ? यो हरेक व्यवसायी तथा नागरिकको प्रश्न हो । उनीहरू कोही आफ्नो कुर्सी जोगाउन सडकमा छन्, भने कोही कुर्सीमा रहेकालाई सडकमा ल्याउनको लागि सडकमै छन् । उनीहरूको यस्ता हर्कतको मारमा छन्, आम सर्वसाधारण । जनता भने कोरोनाको डरले घरभित्र बसिरहेका छन् । तर, राजनीतिज्ञ भनाउँदाहरु भने आफ्नो स्वार्थ पूर्तिका लागि सडकमा तमासा गरिरहेका छन् । 

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष उमेश राज प्रधान अब सबै व्यापार व्यवसाय सहज रूपमा खोल्न पाउने वातावरण बनाउनुपर्ने बताउँछन् । चाडपर्वको आगमनसँगै व्यवसाय पूर्ण रुपमा खुल्न पाउनुपर्ने उनको माग छ । व्यापार व्यवसाय गर्दा स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न सकिने उनको बुझाइ छ । 

उनले राजनीतिक दलहरूलाई पनि कोरोना महामारीको समयमा सत्ता स्वार्थभन्दा पनि सजगता अपनाउन अनुरोध गरे । ‘हरेक नागरिकले कोभिड विरुद्धको व्यवहार गर्नुपर्छ । व्यापारीले पनि यो भन्दा धेरै आशा गर्नु गलत हो ।’ उनले भने । 
अन्य देशमा ५ प्रतिशत कोरोना संक्रमति भए पनि बन्द हुने तर नेपालमा भने २५ प्रतिशतभन्दा बढी संक्रमित हुँदा पनि खुल्ला रहेको उनको भनाइ छ । 
‘राजनितिक कार्यकर्ताले जे जसो गरे पनि हुने भन्ने चाँही हुँदैन । उनीहरुले पनि स्वास्थ्यको मापदण्ड पालना गर्नुपर्छ”, प्रधानले भने ।

पहिला मापदण्ड सिकाउने अहिले सडकमा
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराउन सबैमा पटक पटक अनुरोध गर्दै आए । भीडभाड नगर्न तथा मापदण्डको पालना गर्न सबैमा अनुरोध मात्र गरिएन, कारबाहीको समेत चेतावनी दिइयो । 

ओली सरकारको पालामा तत्कालीन नेकपाको एक घटक पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल समूह भने सडकमा उत्रिएको थियो । त्यो प्रदर्शनमा यतिसम्म भएको थियो कि कसले बढी कार्यकर्ता सडकमा उतार्ने भन्नेमा होडबाजी नै चलेको थियो । 

त्यो समयमा प्रचण्ड-नेपाल समूह जसरी पनि ओलीलाई सत्ताच्युत गर्ने भन्दै सडकमा थियो । त्यही नाममा आफ्नो शक्ति प्रदर्शन गर्ने भन्दै कार्यकर्तालाई सडकमा उतारिएको थियो । त्यसका लागि काठमाडौंमा मात्र नभएर अन्यत्र जिल्लाबाट पनि कार्यकर्ता ल्याइएको थियो । त्यही सिको गर्दै निवर्तमान प्रधानमन्त्री ओलीले पनि शक्ति प्रदर्शन गर्दै गए । दुवै पक्षबीच शक्ति प्रदर्शनको होड नै चलेको थियो । 

जबकि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको जोखिम हुने भन्दै त्यस्तो खालको भीडभाड नगर्न अनुरोध गर्दै आएको थियो । मन्त्रालय दुवै पक्षका गतिविधिबाट असन्तुष्ट बनेको थियो । लामो समय सत्तारुढ दलका दुई पक्ष सडकमा उत्रिए । उनीहरूले गरेको सडक प्रदर्शनका कारण नेपाली जनताले कोरोना महामारीको दोस्रो लहर उपहार पाए । 

गत चैतदेखि कोरोना महामारीको दोस्रो लहर आएको थियो । स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले उक्त समयको विरोध प्रदर्शनलाई प्रमुख जिम्मेवार मानेका थिए । 
अहिले अवस्था फेरिएको छ । त्यो समय जनतालाई घरभित्रै बस्नुहोस् भन्दै आफू चाहिँ सडकमा रमिता गर्दै हिँड्ने पक्ष यतिबेला सत्ता बाहिर छ । 

अहिले सत्ता बाहिर रहेको नेकपा एमालेले राजनीतिको नाममा उपद्रो गर्न थालेको छ । एमाले अध्यक्ष ओलीले नै अब सशक्त भएर प्रतिकारमा उत्रिन निर्देशन दिएका छन् । ओलीको निर्देशनसँगै उनका कार्यकर्ता अचेल दिनहुँजसो सडकमा विरोध प्रदर्शन गर्न थालेका छन् । 

ठ्याक्कै उल्टो त्यो बेला सडकमा रमिता गर्दै कोरोना महामारीको समयमा पनि स्वास्थ्य सुरक्षा मापदण्डको बेवास्ता गर्दै हिँड्नेहरू यतिबेला सत्तामा छन् । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा माओवादी केन्द्र र जसपाले सरकार चलाइरहेका छन् । अब उनीहरूको बोली फेरिएको छ । उनीहरू अहिले आएर स्वास्थ्य सुरक्षा मापदण्डको पाठ सिकाइरहेका छन् । 

माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ कोरोना जोखिम कायम रहेपनि बाध्य भएर सडकमा आउने गरेको बताउँछन् । 
‘हामीलाई पनि त कोरोनाको डर हुन्छ । तर, जब देशमा संकट आइलाग्छ, तब आफ्नो ज्यानको प्रवाह नगरेर भएपनि त्यो संकट समाधानका लागि सडकमा आउँछौँ’, तामाङले भने । 

राजनीतिक दललाई कारबाही गर्न सकिँदैन
स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्नेमाथि प्रहरीले कारबाही गर्दै आएको छ । तर, निषेधाज्ञाको अवज्ञा गर्दै विरोध प्रदर्शनमा हिँडेका, सडकमा नाराबाजीमा उत्रिएकाहरुलाई भने कारबाही गर्न सकिरहेको छैन । नेपाल प्रहरी प्रवक्ता एसएसपी वसन्त बहादुर कुँवरले राजनीतिक दलका गतिविधिमाथि प्रहरीले नियन्त्रण गर्न नसकिने बताए । 

‘एक सचेत नागरिकको हिसाबले सबैले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्नुपर्छ । हामीले राजनीतिक गतिविधिमा रोक वा कारबाही गर्न थालियो भने अर्को लफडा आउन सक्छ’, प्रवक्ता कुँवरले भने । 

  • प्रकाशित मिति : साउन ५, २०७८ मंगलबार ६:५६:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया