देउवालाई विश्वासको मतः एकाएक किन युटर्न भए महन्थ ठाकुर ?

३ असारमा प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत मागेपछि नेपाली राजनीतिमा भएका केही ‘ट्विस्ट एन्ड टन्र्स’ लामो समयसम्मका लागि सम्झिइनेछन् ।

देउवाले ३ असार विहान अचानक आफूले त्यही दिन विश्वासको मत लिने बताएपछि नै नेपाली राजनीति तरंगित भएको थियो । विघटित प्रतिनिधि सभा पुनस्र्थापना भएपछि बसेको पहिलो दिनको बैठकमै देउवाले विश्वासको मत लिने तयारी गर्लान् भन्ने धेरैले अनुमान गरेका थिएनन् । 

२८ असारमा सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएपछि देउवासँग संवैधानिक प्रावधानअनुसार २७ साउनसम्म विश्वासको मत लिने समय थियो । तर, प्रधानमन्त्री दाबी गर्दा नेकपा एमालेका २६ जना सांसदले पनि देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्दै हस्ताक्षर गरेका थिए । पछि सर्वोच्चमा पुग्दा यो संख्या तीनले घटेको थियो । 

सर्वोच्चले परमादेश दिएको अघिल्लो दिन मात्रै नेकपा एमालेमा विवाद मिलाउन बनेको कार्यदलले १० बुँदे सम्झौता सुझाव तयार पारेको थियो । यसका कारण नेकपा एमाले मिल्न सक्ने र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधरले पनि आफूलाई विश्वासको मत नदिने हुन् कि भन्ने आशंका देउवामा पलाएको थियो । यस्तो भएको खण्डमा देउवाले प्रतिनिधिसभाको बाँकी अवधि नेतृत्व गर्न पाउने थिएनन्, ६ महिनाभित्र मध्यावधि निर्वाचनको घोषणा गर्नु पर्ने हुन्थ्यो ।

एमालेमा मिल्न खोजिरहेको समीकरण, सर्वोच्चको आदेश आएकै दिन नेपालले आफू गठबन्धनबाट बाहिरिनु पर्ने अवस्था आएको भन्दै दिएको अभिव्यक्ति, नेपालपक्षीय नेताहरुले विश्वासको मत दिनु हुँदैन भन्न थालेकाले देउवाले प्रतिनिधिसभाको पहिलो दिनको बैठकमा नै विश्वासको मत लिने निर्णय गरे ।

र, उनले आइतबार आफ्नो पक्षमा १ सय ६५ सांसदको मत पनि पाए । उनको विपक्षमा ८३ मतमात्र खस्यो । एक जना सांसद तटस्थ रहे ।



देउवालाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षधर केही नेताहरुले नै पनि विश्वासको मत दिए । यीमध्ये एक थिए, किसान श्रेष्ठ । श्रेष्ठले आफूले सर्वोच्चको आदेशअनुसार देउवालाई विश्वासको मत दिएको फरकधारलाई यसअघि बताइसकेका छन् । पढ्नुहोस्, उनीसँग गरिएको कुराकानीः । उनलाई नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्री बनाउने आश्वासन दिएको पनि फरकधार स्रोतले जानकारी दिएको थियो । पढ्नुहोस्, त्यो समाचारः 

आइतबार नै विश्वासको मत माग्ने बैठक सुरुअगाडि बानेश्वर संसद भवन परिसरमा अरु केही रमाइला प्रसंगहरु पनि देखिएका थिए । एमाले सांसद भीम रावलले राजीनामा दिनु, संसद भवनमा जनता समाजवादी पार्टीका महन्थ ठाकुर र शरदसिंह भण्डारीले देउवालाई भेट्नु निकै अर्थपूर्ण रहे । 



आइतबारको यो प्रसंगमा आउनुभन्दा पहिले १० वैशाख २०७७ मा जाऔँ । त्यति बेला नेकपा अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीमा विग्रह ल्याउने प्रयास गरेका थिए । यसका लागि यो दिन जसपा नेता डा. सुरेन्द्र यादवलाई काठमाडौं ल्याइएको थियो ।

तर, राजनीतिक दल विभाजन सहज हुनेगरि ओलीले ल्याएको अध्यादेश उनका लागि नै ठूलो ‘अभिशाप’ बन्यो, उनले यसलाई फिर्ता लिनु पर्यो । यो अध्यादेशले कस्तो कम्पन ल्याइदियो भने यी दुई पार्टी फुट्लान् भन्ने जुन अनुमान थियो, त्यसलाई गलत सावित गरिदिए । मध्यरातमा यी दुई पार्टी मिलेर नयाँ दल बनाए– जनता समाजवादी पार्टी ।

पार्टी एकीकरणको एक वर्ष पुग्दानपुग्दै यो पार्टीमा फेरि विग्रह देखियो । महन्थ ठाकुर र राजेन्द्र महतो एउटा समूहका साथ अगाडि बढे भने उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले अर्को समूहको नेतृत्व गरे । 

ठाकुर तथा महतो पक्षले पछिल्लो समय ओलीले गरेको संसद विघटनलाई स्वागत मात्र गरेनन्, त्यसपछि बनेको सरकारमा सहभागी पनि भए । उनीहरुको पक्षमा भएका अधिकांश सांसदले विभिन्न मन्त्रालयको जिम्मेवारी पाए । महतो स्वयं उपप्रधानमन्त्री बने । तर, सर्वोच्चको फैसलाका कारण उनीहरु लामो समय मन्त्री पदमा रहन पाएनन् ।

अर्कोतिर जसपाको अर्को समूहका नेतृत्व यादव र भट्टराईले ओलीको कदमको व्यापक विरोध गरे, अन्य चार दलसँग मोर्चाबन्दीसमेत गरे । उनीहरुले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति देउवालाई समर्थन गरे ।

त्यसैले यो निश्चित थियो, ३ असारमा देउवालाई यादव–भट्टराई समूहले विश्वासको मत दिँदै थियो । ३ असारमा नै जसपामा ठाकुर पक्षमा रहेका केही सांसदहरु यता यादव पक्षमा आएको खुलेर घोषणा गरिरहेका थिए । यो संख्या साँझसम्म बढिरहेको थियो ।

तर, देउवाले विश्वासको मत माग्ने संसदको बैठक सुरु हुनुभन्दा केहीअघि मात्रै महन्थले देउवालाई समर्थन गर्ने भए । यसका लागि उनी र देउवाबीच केहीबेर वार्ता भएको पनि थियो । देउवाले आफूलाई समर्थन गर्न औपचारिक रुपमा पत्र पनि महन्थलाई पठाएका थिए ।

विहानसम्म ओली सरकारमा गएको ठाकुर पक्ष आखिर साँझ ढल्दै जाँदा किन देउवा पक्षमा देखियो त ? ठाकुरमा यो यूटर्न कसरी आयो ?

‘यसको पहिलो कारण भारतको दबाब हुनसक्छ,’ ठाकुरहरुको राजनीतिसँग निकट तथा भारतीय मामिलाका जानकार एक नेताले फरकधारलाई भने, ‘पछिल्लो समय उहाँहरु दैनिकजसो भारतीय दूतावास धाइरहनु भएको थियो । भारतले उहाँहरुलाई देउवाको पक्षमा मत हाल्न भनेको हुनुपर्छ, उहाँहरुले हाल्नु भयो ।’

हामीले यही प्रश्न केही कांग्रेसका नेता तथा केही एमालेका नेताहरुलाई पनि गरेका थियौँ ।

उनीहरु अधिकांशको आशय थियो– यसमा भारतीय प्रभाव छ ।

यही विषयमा कुराकानी गर्न हामीले जसपा नेता राजेन्द्र महतोलाई पनि सम्पर्क गर्ने प्रयास गरेका थियौँ । तर, उनीसँग सम्पर्क हुन सकेन । 

‘यो खुलेरै थाहा भएको कुरा हो, नेपालमा भारतीय लबिइङमा महन्थ ठाकुरहरु काम गरिरहनु भएको छ, उहाँहरुका अरु केही राजनीतिक अजेन्डा पनि छैनन्, उहाँहरु भारतीयहरुको इशारामा चल्नुहुन्छ,’ नेपाली कांग्रेसका एक नेताले भने, ‘सायद देउवाले जसरी पनि विश्वासको मत पुर्याउने भएपछि उहाँहरुलाई उताबाट त्यही खबर आयो होला ।’

अर्का एक एमालेका केन्द्रीय सदस्य पनि यही कुरा दोहोर्याउँछन् । ‘केही साता यता दिनहुँ जसो भारतीय दूतावासमा राजेन्द्र महतो र महन्थ ठाकुर भन्ने समाचार आइरहेका छन्,’ ती नेताले भने, ‘दिनभर देउवालाई विश्वासको मत नदिने भनेका उनीहरु साँझ परेपछि सायद उतैको इशारामा त्यता लागे ।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डनिकट अर्का एक नेताले पनि हाम्रो यो प्रश्न सुनिनसक्दै भने, ‘उहाँहरुलाई उतैबाट निर्देशन आयो होला ।’

नेपालमा भारतीय ‘इन्ट्रेस्ट’बारे अध्ययन गरिरहेका र जसपाका नेताहरुसँग पनि नजिक एक जानकार भने महन्थहरुले देउवालाई विश्वासको मत दिने पहिले नै तय भइसकेको दाबी गर्छन् ।

‘नेपालको अहिलेको संविधान डिरेल गर्ने प्रयास भइरहेको छ, यसमा छिमेकीहरुको हात भएको प्रष्ट छ,’ उनले भने, ‘यसअघि ओलीलाई साथ दिन्छु भनेर उनीहरुले ओलीलाई उचाले, अहिले आफैं नागिंएर भए पनि उताको निर्देशनमा उनीहरुले काम गरिरहेका छन् ।’

  • प्रकाशित मिति : साउन ४, २०७८ साेमबार २०:१०:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया