चट्टानी अडान : माधव नेपालले दूधको चिया पिए कि कालो चिया ?

२०६२–०६३ को आन्दोलन सफल भएको केही महिनापछि कीर्तिपुरको नगाउँ दोबाटोमा नागरिक समाजले बृहत् साँस्कृतिक कार्यक्रम आयोजना गरेको थियो । 

त्यतिबेला च्याङ्बा होई च्याङ्बा डम्फुले आज के भन्छ.....भन्ने गीत निकै चर्चित थियो । त्यही गीतसँग जोडेर हास्यकलाकार मनोज गजुरेलले त्यति बेलाका मुख्य तीन दल कांग्रेस, एमाले र माओवादीको राजनीतिक लाइनबारे व्यंग्य गरेका थिए । 

च्याङ्बा होई च्याङ्बा कांग्रेस आज के भन्छ किङ, सेरेमोनियल किङ...., च्याङ्बा होई च्याङ्बा माओवादी आज के भन्छ जाऊँ, गणतन्त्र जाऊँ...

अनि एमालेका तत्कालीन महासचिव माधव नेपालको स्वर निकाल्दै भनेका थिए, ‘वर्तमान परिप्रेक्ष्यमा एमाले आज के भन्छ जाऊँ कता जाऊँ.. जाऊँ कता जाऊँ... जाऊँ कता जाऊँ.. ?

एमाले र तत्कालीन महासचिव माधव नेपाल ढुलमुले रहेको भन्ने अर्थमा उनले यस्तो व्यंग्य गरेका थिए । 

एमालेको ढुलमुले चरित्रबारे गजुरेलको व्यंग्य यति मात्रैमा सीमित थिएन । उनको चिया पसलमा कांग्रेस, माओवादी र एमाले चिन्ने सूत्र निकै रमाइलो थियो । 



गजुरेलको तर्क थियो, ‘चिया पसलमा कांग्रेस, माओवादी र एमाले सजिलै चिन्न सकिन्छ । 

चिया पसलमा कोही आएपछि पसलेले सोध्छ कुन चिया पिउने ? 



कांग्रेस भए उसले भन्छ– सेतो ल्याऊ, माओवादी भए भन्छ– रातो बनाऊ रातो (कालो चिया भनिए पनि त्यो रातो–रातो हुन्छ) ।  एमालेले भन्छ– जे भए पनि हुन्छ बनाउनू न !’

एमालेमाथिको यो आरोप प्रतिगमन आधा सच्चियो भन्दै राजतन्त्र कालमा शेरबहादुर देउवा सरकारमा सहभागी भएदेखि लागेको देखिन्छ।

०५९ असोज १८ मा तत्कालीन राजा ज्ञानेन्द्रले शेरबहादुर देउवालाई अक्षम भन्दै प्रधानमन्त्रीबाट हटाएका थिए । 

त्यसलाई प्रतिगमन भन्दै कांग्रेस, एमाले, सद्भावना, जनमोर्चालगायत सात दल गठबन्धन बनाएर आन्दोलनमा उत्रिएका थिए । 

उनीहरुको माग देउवाको सिफारिसमा राजाले गरेको प्रतिनिधिसभा पुनःस्थापित हुनुपर्ने थियो । 

यसबीचमा ज्ञानेन्द्रले क्रमशः राप्रपाका नेताहरु लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाए । 

अन्य दलको आन्दोलन र दबाबका कारण उनीहरुको सरकार लामो समय टिक्न सकेन। 

०६१ जेठमा शेरबहादुर देउवालाई राजाले प्रधानमन्त्री बनाए । देउवालाई प्रधानमन्त्रीबाट हटाएर भएको प्रतिगमन देउवालाई नै प्रधानमन्त्री बनाएपछि आधा सच्चियो भन्दै आन्दोलनमा रहेको एमाले सरकारमा गयो । 

त्यसपछि एमालेलाई ढुलमुले दलको रुपमा चर्चा गरिने गरेको थियो । 

गणतन्त्रकालमै फर्कौ‌ं

 ०६४ सालको पहिलो संविधानसभामा सबैभन्दा ठूलो दल बनेको माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्दा मुख्य सत्ता साझेदार दल एमाले नै थियो । 

निर्वाचनमा पराजित भएका माधव नेपाललाई उनीजत्तिको मान्छे संविधान निर्माणमा चाहिन्छ भन्दै प्रचण्डले संविधानसभा सदस्य बनाए ।  कटुवाल काण्डमा माओवादीको साथ छाडेर एमाले कांग्रेसतिर गयो । माधव नेपाल कांग्रेसको समर्थनमा प्रधानमन्त्री बने । 

यसलाई माधव नेपाल र एमालेले दिएको ठूलो धोका ठान्यो, माओवादीले । एमाले र माधव नेपाललाई ‘न भाले न पोथी’ भन्दै उछितो काडियो । त्यतिबेला एमालेको अध्यक्ष झलनाथ खनाल भइसकेका थिए । तर, नेपाल प्रधानमन्त्री भएकाले माओवादीको निशानामा उनी परे । 

एमाले र माधव नेपालको लिंग नछुट्टिएको भन्दै माआवादीका नेता–कार्यकर्ताले खुब आलोचना गरे । धेरै खिसिट्युरी गरे । त्यो बिल्लाले माधव नेपाललाई दशक बित्दा पनि छाडेन । 

अब फेरियो परिचय 

यसरी नेता माधवकुमार नेपालको लामो सममदेखि अडान नभएका नेताको आरोप खेप्दै आएका थिए । तिनै माधव नेपालको चट्टानी अडानकै कारण केपी ओली सत्ताबाट बाहिरिनुपरेको छ । शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने मौका पाएका छन् ।


माधव नेपालले लिएको यस अडानका कारण ओली समर्थकबाहेक राजनीति शक्तिका लागि उनी नायक भएका छन् । एमालेको ओली समूहका लागि माधव नेपाल अहिले सबैभन्दा ठूलो खलनायक सिद्ध भएका छन् । उनी ओली समूहका नेता–कार्यकर्ताको तारो बन्न पुगेका छन् । 

ओलीविरुद्ध संघर्ष गरिरहेका शक्तिले अहिले माधव नेपाललाई संविधान बचाउने, संसद बचाउने नायककै रुपमा चर्चा गरिरहेको छ । 

थियो आशंका

प्रचण्डले तत्कालीन नेकपाभित्र ओलीविरुद्ध संघर्ष गर्ने क्रममा माधव नेपालको साथ लिँदा उनीबाट धोका पाउने चर्चा धेरैले गरेका थिए । थोरै आश्वासन पाए माधव नेपाल ओलीसँग मिल्ने, त्यसपछि प्रचण्ड एक्लिने भन्दै धेरै टिप्पणी आए । यस्ता आरोपका बाबजुद माधव नेपालले ओलीविरुद्धको संघर्षमा प्रचण्डलाई निरन्तर साथ दिए । 

सर्वोच्च अदालतको फैसलाले नेकपा विभाजन भएर प्रचण्ड र नेपाल छुट्टा–छुट्टै पार्टीमा पुग्दा पनि उनी ओलीविरोधी मोर्चामा डटिरहे । गत वैशाख २७ गते ओलीले संसदमा विश्वासको मत लिए। ओलीले विश्वासको मत नपाएपछि संविधानको धारा ७६(२) अनुसारको प्रधानमन्त्रीका लागि राष्ट्रपतिले आह्वान गरिन् । 

जसपाको महन्थ ठाकुर पक्षले ओलीलाई साथ दिएपछि एमालेबाहेक बहुमत पुग्ने अवस्था देखिएन ।
 
माधव नेपालले आफूसहित आफ्नो पक्षका सांसदलाई राजीनामा गर्न लगाएर भए पनि बहुमत पुर्याउने वातावरण बनाउने आश्वासन दिएका थिए । शेरबहादुर देउवाको पक्षमा बहुमत पुर्याएर राष्ट्रपति समक्ष दाबी गर्ने समय घर्किंदा पनि नेपाल पक्षको राजीनामा आएन । विपक्षी दलले सकारमा दाबी गर्न सकेनन् । वैशाख ३० गते फेरि ओली ठूलो दलका नेताको हैसियतमा प्रधानमन्त्री नियुक्त भए । 

संसदबाट राजीनामा दिने, देउवालाई प्रधानमन्त्री बनाउन दाबी प्रस्तुत गर्ने समयमा नेपाल चपली हाइटस्थित एक व्यापारीको घरमा ओलीसँग छलफलमै व्यस्त भए । 

यसपछि माधव नेपालमाथि फेरि शंका उत्पन्न भयो । कांग्रेस–माओवादीका नेता–कार्यकर्ताले उनले पुरानै ढुलमुले चरित्र देखाएको आरोप लगाए । उनको विश्वासमा परेर धोका पाएको, अब विश्वास गर्न नहुने भनी नेपालको निकै आलोचना भयो । 

तर, प्रचण्डले उनले धोका दिएको भन्न नमिल्ने धारणा राखे । संविधानको धारा धारा ७६(५) अन्तर्गत प्रधानमन्त्री दाबी गर्दा आफूहरुको सहकार्य हुने प्रतिक्रिया उनले दिएका थिए । प्रचण्डको त्यो भनाइमाथि खासै विश्वास कसैले गरेको थिएन । राष्ट्रपतिले सोही धाराअनुसार प्रधानमन्त्री आह्वान गरेपछि माधव नेपाल देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा उभिए । 

यति अडानका साथ उभिएकी राष्ट्रपति कार्यालय, अदालतमा रिट हुँदै देउवालाई विश्वासको मत दिँदासम्म कुनै बहानामा टसमस भएनन् । 

नेता नेपाल र उनी पक्षका केही सांसदको अडानकै कारण समयअगावै हत्या गर्न खोजिएको प्रतिनिधिसभा पूर्ण कार्यकालका लागि बच्ने भयो । 

ओलीको दम्भ, अहंकार र निरन्तरको असंवैधानिक कदममा पूर्णविराम लाग्यो। कोरोना महामारीबाट आक्रान्त नेपाली जनतालाई जबरजस्ती मध्यावधि निर्वाचनको भारी बोकाउन खोजिएको थियो । त्यो टन्टा अहिलेलाई साफ भएको छ । अन्योलपूर्ण अवस्थाबाट देशको राजनीति एउटा ट्रयाकमा आएको छ। 

आफ्नो राजनीतिक भविष्यलाई दाउमा राखेरै भए पनि माधव नेपालले अडान कायम राखे । ओलीलाई सत्ताबाट गलहत्याउने उद्देश्य नेपालले पूरा गरे । 

यसको उपलब्धिले देश र जनताले कति पाउँछ भन्ने कुरा भने अब बन्ने सरकारको भूमिकामा भर पर्छ । 

जेहोस्, माधव नेपालले अडान नभएको नेताको पगरी निकालेर फ्याँके । ‘नेताले आवश्यक परेका बेलामा अडान लिने हो । अरु बेला लचिलो हुनुपर्छ । ओलीले अनावश्यक अडान लिएर संविधान मास्न खोजे, माधव नेपालले आवश्यक समयमा अडान लिएर संविधान बचाए’ भन्ने चर्चा भइरहेको छ । 

मनोज गजुरेलले व्यंग्य गरेजस्तो चिया पसलमा गएर कुन चिया खाने ? भन्दा जुन भए नि हुन्छ भन्ने माधव नेपाल अब रहेनन् । स्पष्टताका साथ एउटा रोज्ने नेताका रुपमा उनी दर्ज भए । 

मात्र रमाइलोका लागि गजुरेलको चियाको त्यो विम्बसँग तुलना गर्न हो भने माधव नेपालले दूधको चिया अर्डर गरे कि कालो चिया भन्ने प्रश्नको जवाफ भने पाउन सकिँदैन । 

  • प्रकाशित मिति : साउन ४, २०७८ साेमबार २०:३०:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया