नेपाल धार्मिक पर्यटकीय हब
हिन्दू र बुद्धिस्टको मुख्य केन्द्र
फरकधार / ५ साउन, २०७८

संसारका थुप्रै मुलुक पर्यटकीय गन्तव्यको रूपमा विकसित हुँदै गइरहेका छन् । हरेक देशले आफ्नो मुलुकमा पर्यटकीय गतिविधि बढाउनका लागि विभिन्न खालका योजना तथा कृत्रिम भूवनोट समेत बनाएर संसारको ध्यान आकर्षण गर्दै आइरहेका छन् ।   संसार घुम्न इच्छुकहरू फरक-फरक विशेषता र लक्ष्य लिएर निस्कने गर्छन् । हरेक व्यक्तिको फरक-फरक चाहना हुन्छन् । यी चाहनाकै कारण फरक-फरक मुलुकमा पर्यटक घुम्न पुगेका हुन्छन् । 

हरेक मुलुकको आ-आफ्नै परिवेश, विशेषता, वातावरण, संस्कृति र पर्यटकीय गन्तव्यहरू रहेका हुन्छन् । यस्तै विविधतामा एकता भएको मुलुक हो, नेपाल । जहाँ संसारका अन्य मुलुकभन्दा बिल्कुलै फरक तर पर्यटकका लागि प्रसिद्ध गन्तव्य हो । संसारभरि नेपाललाई हिमालको देश, बुद्ध जन्मिएको देश र विविधतामा एकता भएको देशका रूपमा चिनिन्छ । यहाँका हिमाल हेर्न र आरोहण गर्न आउने पर्यटकहरूको चाप छ ।

पहाडको घुम्ती पर्यटकीय पदमार्गमा ट्रेकिङका लागि आउनेहरूको चासो र इच्छा उस्तै वृद्धि हुँदै गइरहेकाे छ । यहाँका जलाशय, ताल तलैयामा रमाउन चाहनेदेखि चितवनको सौराहामा रमाउनेहरूको पुस्ता उत्तिकै लालायित हुने गरेको पर्यटन व्यवसायीहरू बताउँछन् ।

नेपाल पर्यटकका लागि प्राकृतिक अध्ययन केन्द्र पनि हो ।  यहाँ मनोरञ्जन, ट्रेकिङ, पर्वतीय आरोहण, साहसिक खेल, वाइल्ड लाइफका लागि खुल्ला पर्यटकीय पार्क जत्तिकै रहेको वातावरण प्रेमी तथा वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्यले आफ्नो पुस्तक ‘सोच’मा लेखेका छन् । उनले यति मात्रै होइन, नेपाल धार्मिक पर्यटकीय गन्तव्यको विषयमा समेत चर्चा गरेका छन् । जहाँ हिन्दु र बौद्ध धर्मको आस्थाको केन्द्र नेपाल हो । प्रत्येक वर्ष नेपाल भित्रिने पर्यटकको ३० प्रतिशत धार्मिक पर्यटक हुने गरेको पर्यटन मन्त्रालयको तथ्यांकमा उल्लेख छ । 

धार्मिक पर्यटक 

नेपाल मन्दिरैमन्दिर भएको मुलुक हो । यहाँ मन्दिर मात्रै होइन, हजारौँ गुम्बा र चैत्यहरू रहेका छन् । साथै मस्जिद र चर्च समेत रहेका छन् । नेपाल धार्मिक सहिष्णुता र सद्भाव भएको मुलुक भएकै कारण विश्वभरका पर्यटक नेपाल आउन इच्छुक रहने गरेको पर्यटनविद विके प्रधानको भनाइ छ ।​

पर्यटनविद प्रधानका अनुसार नेपालमा हजारौँको संख्यामा मठ, मन्दिर, गुम्बा, चैत्यहरू छन् । जसले सजिलै लाखौँ छिमेकी भारत र चिनियाँ धर्मावलम्बीहरूलाई आकर्षित गर्न सकिन्छ । नेपाल आएका पर्यटक कुनै न कुनै रूपमा धार्मिक विषयहरूबाट प्रभावित भएकै हुन्छन् । नेपालमा भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा हरेक वर्ष लाखौँको संख्यामा चिनियाँ तथा बुद्धिस्टहरू पुग्ने गरेका छन् । 

यता हिन्दूहरूको आस्थाको मूख्य केन्द्र पशुपतिनाथलाई लिने गरेका छन् । यस्तै जीवनमा एक पटक मुक्तिनाथ पुग्ने सबैको इच्छा हुन्छ । मुक्तिनाथ पुग्दा जीवनले मोक्ष प्राप्ति गर्ने धार्मिक विश्वासले ठूलो संख्यामा भारतीय पर्यटकहरू आउने गर्दछन् । यसका साथै आन्तरिक पर्यटक पनि मुक्तिनाथ जाने गर्दछन् ।

सीताको जन्मस्थल जनकपुरधाम, हलेसी महादेव मन्दिर, मनकामना मन्दिर, दामोदरकुण्ड, गोसाइँकुण्ड, देवघाट, रिडी क्षेत्र, वराह क्षेत्रजस्ता अति धार्मिक महत्वले भरिएका सयौँ यस्ता धार्मिक पर्यटकीय गन्तव्यहरू छन् । भारतमा १ अर्बभन्दा धेरै जनसंख्या हिन्दू रहेको तथ्यांक छ । यी संख्याको १० प्रतिशत मात्रै नेपाल भित्र्याउन सकेमा देशको पर्यटन बजारपछि फर्केर हेर्नुपर्ने पर्यटनविद प्रधानको भनाइ छ । 

ट्रेकिङ एजेन्सिस एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुम बहादुर सुवेदीले नेपाल धार्मिक पर्यटकीय गन्तव्य रहेको बताए । फरकधारसँग कुराकानी गर्दै अध्यक्ष सुवेदीले भने,‘नेपाल हिन्दू र बौद्ध धर्मको लागि ठूलो मन्दिर हो । जहाँ विश्वभरका पर्यटकका लागि खुल्ला संग्रहालय हो ।’ 

उनका अनुसार कैलाश पर्वत जाने बाटो नेपाल भएकाले हाम्रो मुलुक धार्मिक पर्यटकीय हवको रूपमा विकास भइरहेको छ । ‘यसकारण भारतीय हिन्दूहरूको लागि नेपाल मुख्य केन्द्र बिन्दु हो । जहाँ पशुपतिनाथ, मुक्तिनाथ रहेका छन्,‘अध्यक्ष सुवेदीले भने,‘उनीहरू जीवनमा एकपटक भए पनि पशुपतिनाथ दर्शन गर्न चाहन्छन् ।’

जनकपुर हिन्दू धर्मको पवित्र ग्रन्थ रामायणको केन्द्रबिन्दु हो । जानकी मन्दिरको मुख्य आकर्षण विवाह पञ्चमी महोत्सव हो । रामायणकालीन राम र सीताबीच भएको वैवाहिक समारोहको सम्झनामा हरेक वर्ष विवाह पञ्चमीको दिन रामजानकी विवाह महोत्सव आयोजना गरिन्छ । यो महोत्सवको प्रचार प्रसार र प्रवर्द्धन अन्तर्राष्ट्रिय रूपमा लैजानु पर्दछ ।

विश्व सम्पदाका १० सम्पदा

नेपालको पर्यटकीय तथा धार्मिक हिसाबले ऐतिहासिक तथा प्रसिद्ध रहेका १० वटा सम्पदाहरू विश्व सम्पदामा सूचीकृत रहेका छन् । जसमा बौद्धनाथ, पशुपतिनाथ,स्वयम्भूनाथ,वसन्तपुर दरबार क्षेत्र,चाँगुनारायण, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, लुम्बिनी, सगरमाथा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्ज छन् । 

बुद्धिस्ट पर्यटक

नेपालमा ठूलो संख्यामा विश्वभरका बुद्धिस्टहरू आउने गर्दछन् । नेपालमा बुद्धिजम सम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रम समेत हुने गरेका छन् । छिमेकी मुलुक चीनबाट हरेक वर्ष लाखौँको संख्यामा चिनियाँ पर्यटक आउने गरेका छन् । उनीहरू बौद्ध, लुम्बिनी, स्वयम्भू गुम्बा र चैत्यमा दर्शन र पूजाआजा गर्न आउने गर्छन् ।

गुम्बामा शिक्षा र ध्यान 

युरोप र अमेरिकालगायतका पर्यटक महिनौँसम्म गुम्बामा अध्ययन तथा ध्यान गरेर फर्कन्छन् ।बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक वसन्त लामाले अमेरिकनहरू बौद्ध धर्मप्रति गहिरो आस्था र विश्वास राख्ने बताउँछन् ।  उनका अनुसार विदेशीहरू बौद्ध गुम्बामा विशेषगरी धर्म अध्ययन तथा ध्यानका लागि आउने गरेका छन् । ‘धार्मिक पर्यटकहरू दर्शनको लागि मात्रै आउँदैनन् । वास्तु, बिहार, चैत्य मन्दिरको अवलोकन, अध्ययन तथा खोजी गर्न पनि आउने गर्छन’, उनले भने । 

अन्तमा :

अहिले कोरोनाका कारण अन्तर्राष्ट्रिय उडानहरू बन्द रहेका छन् । यद्यपि यो समय हिन्दू र बुद्धिस्ट सर्किटलाई एकीकृत गरेर कार्यान्वयनको पक्षमा लैजानु पर्ने पर्यटन व्यवसायीहरू बताउँछन् । एकीकृत प्रयास गर्न सके वार्षिक रूपमा ६ लाखभन्दा धेरै धार्मिक पर्यटक नेपालमा भित्र्याउन सकिने पर्यटन मन्त्रालयकै तथ्यांकमा उल्लेख छ । सरकारले नेपाललाई धार्मिक पर्यटकीय गन्तव्यको अस्तित्व दिलाउन र पर्यटकीय प्रवर्द्धनका कार्ययोजना ल्याउन सकेको छैन । यस विषयमा सरकारले विशेष कार्ययोजना बनाउनु पर्ने पर्यटन व्यवसायीहरूको भनाइ छ । 

नेपालमा धार्मिक पर्यटनका रूपमा भारत, चीन, मलेसिया, सिङ्गापुर, श्रीलङ्का, बेलायत, अस्ट्रेलिया, अमेरिका, क्यानाडा लगायतबाट आउने गरेका छन् । साथै, नेपाल परापूर्व कालदेखि नै धार्मिक पर्यटनको केन्द्र रहेकाले त्यसको संरक्षण र सौन्दर्यीकरण आवश्यक छ । 

  • प्रकाशित मिति : साउन ५, २०७८ मंगलबार १२:५६:२६,   अन्तिम अपडेट : साउन ५, २०७८ मंगलबार १२:५७:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया