निर्मला पन्त प्रकरण नयाँ मोडमा

काठमाडाै – निर्मला पन्त प्रकरणले अब नयाँ मोड लिने देखिएको छ । प्रहरी अनुसन्धान क्रमशः गलत साबित हुँदै गएका छन् । निर्मला पन्त प्रकरणमा शंकास्पद ठानिएका एसपी डिल्लिराज विष्ट, उनका छोरा किरण विष्ट र भीमदत्त नगरपालिकाका मेयरका भतिजाको डिएनए रिपोर्टले उनीहरू बलात्कारमा संलग्न नभएको देखाएको छ । 

स्थानीयवासीको चर्को दबाबपछि सरकारले एसपी र मेयरका भतिजालाई अुनसन्धानको दायरामा ल्याएको थियो । साउन १० गते बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारी र हत्यारा पत्ता लगाउन सरकारले उच्चस्तरीय छानबिन समिति पनि गठन गरेको थियो । 

समितिले सरकारलाई असोज ९ गते नै प्रतिवेदन बुझाइसकेको छ । तर, समितिले बुझाएको प्रतिवेदन भने गोप्य राखिएको छ । प्रतिवेदन बुझेको ४ दिनपछि शनिबार गृह जिल्ला गुल्मी पुगेका गृहमन्त्री रामबहादुर थापा बादलले अपराधी पक्राउ गर्न खोज्दा सरकार ढाल्ने प्रयास भएको बताएका थिए ।

निर्मला पन्तको बलात्कारपछि हत्या भएपछि काठमाडौंबाट अनुसन्धान विभागका डिएसपी अंगुर जोशीको नेतृत्वमा खटिएको टोलीले निष्पक्ष छानबिन गर्न नसकेको भन्दै स्थानीयले आन्दोलन गरेपछि कञ्चनपुर तनावग्रस्त बनेको थियो । कञ्चनपुरमा दुई दिन कफ्र्युसमेत लगाइएको थियो । आन्दोलनमा प्रहरीले दमन गर्दा दर्जनभन्दा बढी मानिस घाइते भएका थिए भने सनी खुना नामका एक किशोरको मृत्युसमेत भएको थियो ।

जनता आक्रोशित बन्दै गएपछि गृह मन्त्रालयले कारागार विभाग प्रमुख हरिप्रसाद मैनालीको नेतृत्वमा भदौ ९ गते उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो । निर्मलाको हत्या भएको एक महिनापछि गठन गरिएको उच्चस्तरीय छानबिन समितिलाई १५ दिनको म्याद दिइएको थियो । 

समितिको म्याद सकिने दिनमा समितिका सदस्य तथा प्रदेश ७ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव वीरेन्द्र केसीले राजीनामा दिएका थिए । राजीनामा दिँदै गर्दा उनले ‘शक्तिशाली अपराधीबाट आफू र आफ्नो परिवारको ज्यानसमेत खतरा रहेको’ भन्दै सरकारसँंग सुरक्षा माग गरेका थिए । तर, राजीनामा दिएको एक दिनपछि केसीले गृहमन्त्रीको दबाबमा राजीनामा फिर्ता लिए ।



१५ दिनको म्याद राखिएको उक्त उच्चस्तरीय छानबिन समितिले समय अपुग भएको भन्दै फेरि थप १५ दिन म्याद माग गर्यो । थपिएको म्यादअनुसार समितिले असोज ९ गते गृह मन्त्रालयलाई आफ्नो प्रतिवेदन बुझायो । 

प्रतिवेदन बुझाएको ५ दिनपछि शंकास्पद ठानिएका एसपी विष्ट र अन्य दुईजनाको डिएनए परीक्षणको नतिजा आयो । नतिजाले शंका गरिएका व्यक्ति बलात्कारमा सामेल नभएको देखायो । तर, समितिले बुझाएको प्रतिवेदनले पनि अनुसन्धानमा प्रहरीले गम्भीर लापरबाही गरेको देखाएको छ ।



अनुसन्धानमा चरम लापरबाही 

स्थानीयवासी र अधिकारकर्मीले अनुसन्धानको दायरमा ल्याउनुपर्ने भनिएका व्यक्ति बलात्कारमा संलग्न नरहेको प्रमाण बाहिर आउँदा निर्मला प्रकरण थप जटिल बनेको छ । साउन १० यता निरन्तर अनुसन्धान गरिरहेको प्रहरीले अपराधी पत्ता लगाउनुको सट्टा आफ्नै साख गुमाइरहेको छ ।

निलम्बित कञ्चनपुर प्रहरी प्रमुख डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डिएनए रिपोर्टले उनीहरू बलात्कारमा संलग्न नरहेको देखाएपछि निर्मला प्रकरण थप रहस्यमयी बन्ने देखिएको छ ।

अाशंका

प्रहरीले अपराधी भनेर पक्राउ गरेका दिलीप विष्ट पनि निर्दोष भेटिएपछि विष्टलाई १९ दिनपछि छाडिएको थियो । त्यसपछि शंकाको घेरामा रहेका बम दिदी–बहिनीको पनि घटनामा संलग्नता नभेटिएको भन्दै प्रहरीले उनीहरूलाई छाडेको थियो ।

शंका गरिएका सबै निर्दोष साबित हुँदै छुटिरहेका छन् । त्यसमाथि छानबिन समितिका सदस्यले नै सुरक्षा माग गरेपछि घटनामा शक्तिशाली व्यक्तिकै हात रहेकोतर्फ उतिवेलै शंका गरेको थियो । पहिलो शंका उत्पन्न हुन्छ अनुसन्धानमा प्रहरीको चरम लापरबाही । अनुसन्धानमा प्रहरीले लापरबाही गरेको कुरा गृह मन्त्रालयको प्रतिवेदन र स्वयं प्रहरी महाननिरीक्षक सर्वेन्द्र खनालले स्वीकार गरिसकेका छन् ।

निलम्बित एसपी डिल्लिराज विष्टले कंञ्चनपुर प्रहरी प्रमुखको रूपमा रहँदा निर्मला परिवारलाई बारम्बार धम्की दिएका थिए । उनले पन्त परिवारलाई मानिसक दबाब पनि दिने गरेको कुरा सार्वजनिक भइसकेको छ ।

गृह मन्त्रालयको नेतृत्वमा गठित अनुसन्धान समितिका सदस्यले सुरक्षा माग गर्दै राजीनामा गरेपछि घटना थप जटिल बनेको थियो । समितिका सदस्य वीरेन्द्र केसीले लेखेको राजनीमा पत्रमा उच्चस्तरीय छानबिन समितिले निर्मलालाई न्याय दिलाउन नसक्ने कुरासमेत उल्लेख गरेका थिए ।

प्रचण्ड, ओली र बादल वाणी  

भदौ २८ गते निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले काठमाडौंमा आयोजित एक कार्यक्रममा ‘कि त न्याय देऊ कि गोली हानेर मारिदेऊ’ भनेर चिच्याइरहँदा सत्तारुढ दलका अध्यक्ष प्रचण्डको अभिव्यक्तिले सर्वसाधरण थप आक्रोशित बने । देशभर बढिरहेको बलात्कारका घटनालाई प्रचण्डले सरकारविरुद्धको षड्यन्त्रको संज्ञा दिएका थिए । 

कुरा यतिमै रोकिएन, त्यसैको एक दिनपछि शनिबार भदौ ३० गते देशभर निर्मलाका निम्ति न्याय माग्दै सडकमा ओर्लिएका जनतालाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले ‘सरकारको विरोधमा बोल्नेमाथि अरिंगालजस्तै जाइलाग्न’ आफ्ना कार्यकर्तालाई निर्देशन दिए ।

नेकपाका दुवै अध्यक्ष र प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिले सरकार बलात्कारका घटनाप्रति गम्भीर नरहेको पनि संकेत गरेको धेरैले बताए । प्रधानमन्त्री र पार्टी अध्यक्षभन्दा एक कदम अगाडि सरेर गृहमन्त्री रामबहादुर थापाले पुँजीवादका कारण बलात्कारका घटना बढेको बताउन भ्याए । यति मात्रै होइन, १३ असोजमा गुल्मी पुगेका गृहमन्त्रीले ‘अपराधी समाउन खोज्दा सरकार ढाल्ने खेल भइरहेको’ बताए ।

असोज ११ गते सत्तारुढ दलका नेता माधव नेपालले प्रतिनिधिसभाको बैठकमा ‘मेरो देश डुब्न लाग्यो, माझी छौ कि कोही किनारा लगाइदेऊ’ भन्दै सरकारको लाचारी र निरीहता पोखे । साउनदेखि असोज १ सम्म देशभरमा २ सय २५ जनाभन्दा धेरै बलात्कारको सिकार भइसकेका छन् । 

निर्मला प्रकरण कहिले के भयो ?
साउन १० : निर्मला साथीको घरमा होमवर्क गर्न गएकी ।
साउन ११ : दिउँसो निर्मलाको शव भेटिएको । अपराधी पत्ता लगाउन दबाब दिन भन्दै जनता आन्दोलित ।
भदौ ४ :   मानसिक सन्तुनल गुमाएका दिलीप विष्टलाई अपराधी भन्दै पक्राउ गरिएको । निर्मलाका निम्ति न्याय माग गर्दै कञ्चनपुर जिल्ला प्रसासनमा रिले अनशन ।
भदौ ६ : कञ्चनपुरमा प्रहरी र र आन्दोलनकारीबीच झडप । झडपमा १३ जना घाइते ।
भदौ ७ : दुई प्रहरी र ६ जना आन्दोलनकारीसहित ८ घाइते । १ सयभन्दा धेरै अश्रुग्यास प्रहार । साँझ ५ बजेदेखि कञ्चनपुरमा कफ्र्यु सुरु । गृह मन्त्रालयद्वारा पाँच सदस्यीय छानबिन समिति गठन । कञ्चनपुरका सिडिओ कुमारबहादुर खड्का, एसपी डिल्लीराज विष्ट निलम्बित ।
भदौ ८ : प्रहरीको गोली लागेर १४ वर्षीय बालक सन्नी खुनाको मृत्यु ।
भदौ ९ : शंकास्पद भनिएका बम दिदी–बहिनी पक्राउ । निर्मला पन्त र सन्नी खुनाको परिवारलाई १० लाख रुपैयाँ राहत प्रदान ।
भदौ २५ : उच्चस्तरीय छानबिन समितिका सदस्य वीरेन्द्र केसीद्वारा राजीनामा । 
भदौ ३० : देशभर ‘निर्मलाका निम्ति न्याय’ माग गर्दै प्रर्दशन ।
असोज ५ : वसन्तपुर डबलीमा ‘निर्मलाका निम्ति न्याय’ माग्दै कविता वाचन । पोर्न साइट बन्द गर्न सरकारको निर्देशन ।
असोज ९ : उच्चस्तरीय छानबिन समितिद्वारा गृह मन्त्रालयमा प्रतिवेदन पेस ।
असोज १४ : निलम्बित एसपी डिल्लिराज विष्ट र उनका छोरा तथा भीमदत्त नगरपालिकाका मेयरका भतिजाको डिएनए रिपोर्ट मेल नखाएको जानकारी ।


 

  • प्रकाशित मिति : असोज १४, २०७५ आइतबार १७:२३:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया