आफ्नो इच्छा राख्दा नम्रतालाई किन यति धेरै गाली ?

अभिनेत्री नम्रता सापकोटा अहिले चर्चाको शिखरमा छिन् । उनको चर्चा हुनुको कारण हो ‘अविवाहित आमा बन्ने चाहाना’ । नम्रताले अघिल्लो साता एक टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा बिहे नगरे पनि आमा बन्ने चाहाना रहेको बताएकी थिइन् । त्यसपछि सुरु भएको नम्रताको चर्चा सेलाएको छैन । 

नम्रताको उक्त अभिव्यक्तिलाई लिएर धेरै मिडियाले ‘नम्रताले विवाह नगरी आमा बन्ने घोषणा नै गरिन्’ भनेर समाचार सम्प्रेषण गरे । तर, उनले विवाह भएन भनेपनि बच्चा जन्माउने चाहाना छ मात्रै भनेकी थिइन् । त्यसपछि नम्रताका फ्यान दुई कित्तामा विभाजित भए । 

सामाजिक सञ्जालमा केहीले नम्रतालाई निक्कै गाली गरे । केहीले भने उनको इच्छालाई सकारात्मक हिसाबले लिएका छन् । उनको यो अभिव्यक्तिलाई लिएर टिकटकमा निक्कै चर्चा भयो । धेरैले ‘यौन’सँग जोडेर पनि गाली गरेका छन् । प्रयोगकर्ताहरुले भनेका छन्, ‘म बिहे गर्न चहान्न तर सेक्स गर्न चहान्छु भन न सिधा सिधा : यो बच्चासच्चा बीचमा ल्याएको सुहाएन ।’ धेरैले सकारात्मक भन्दा धेरै नकारात्मक प्रतिक्रिया दिएका छन् । 

अर्काथरीले सामाजिक सञ्जालमा नम्रताको पक्षमा विचार राखेका छन् । फेसबुकमा हेमन्त गिरीले  लेखेका छन्, ‘म बिहे नै नगरी बच्चा जन्माउन चाहन्छु’ पनि भन्न पाउनुपर्छ । व्यक्तिको प्रजनन अधिकारमाथि कसैको दवाब र हस्तक्षेप सह्य हुँदैन!’ धेरैले नम्रताको इच्छा उचिन नै भएपनि उनले चाहेको जस्तो भएमा त्यसले दुरगामी असर पर्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । 

सामाजिक सञ्जालमा आएका नकारात्मक प्रतिक्रियासँग नम्रता आत्तिएकी भने छैनन् । उनले आफ्ना लागि आएका ताली र गाली दुवैलाई स्वीकार गर्ने क्षमता रहेको बताएकी छिन् । 

सामाजिक सञ्जालमा चर्को बहस र आलोचना भइरहँदा सिने क्षेत्रका कलाकारले खासै केही बोलेका छैनन् । अभिनेत्री सुरक्षा पन्तले फेसबुकमा स्टाटस पोस्ट गरेकी छिन् । उनले लेखेकी छिन्, ‘म बिहे नै नगरी बच्चा जन्माउन चाहन्छु ! म बिहे नगरे पनि बच्चा चाँही जन्माउन चाहन्छु ! पहिलो कुरो: यी दुई कुराको आशय र भावनामा आकाश र धर्तीको भिन्नता छ । दोस्रो कुरा, फरक नै नभए पनि बाल भएन ।’



सुरक्षाको यो स्टाटसमा पनि प्रयोगकर्ताहरुले लामो बहस गरेका छन् । स्टाटसमा सुरक्षाले नम्रताको नाम उल्लेख नगरेपनि प्रयोगकर्ताले भने नम्रतालाई जोडेका छन् ।  यहाँ पनि सकारात्मक र नकारात्मक दुवैखाले प्रतिक्रिया आएका छन् । 

नम्रतालाई चर्चामा आउनका लागि बेला–बेलामा विवादास्पद अभिव्यक्ति दिने गरेको भन्दै धेरैले गाली गरेका छन् । नम्रताले भने आफूले भन्न खोजेको कुरालाई गलत तरिकाले बुझिएको दावी गरेकी छिन् ।



उनले भनेकी छिन्, ‘यदि मैले बिहे गरिनँ भने पनि बच्चा जन्माउँछु भनेर भन्न खोजेको थिएँ । अहिलेको युगमा बच्चा जन्माउनका लागि बिहे नै गर्नुपर्छ भन्ने पनि छैन । बच्चा जन्माउनका लागि विभिन्न प्रविधिहरु आइसकेका छन् ।’

उनले अहिलेको समयमा बच्चा जन्माउन शारीरिक सम्पर्क नै राख्नु नपर्ने बताएकी छिन् । उनी भन्छिन्, ‘टेस्टट्युबदेखि विभिन्न तरिकाले बच्चा जन्माउन सकिन्छ । बच्चा कोख लिन पनि सकिन्छ । तर, यो मेरो सोच मात्र हो । कुनैपनि कुरा सोच्न त पाइन्छ होला नी ? फेरि किन यति धेरै आलोचना ।’

आफ्नो यो अभिव्यक्तिपछि धेरै युवतीहरूले आफूलाई म्यासेज गरेको नम्रता बताउँछिन् । म्यासेजमा युवतीहरूले नेपालमा अविवाहित आमाका लागि कस्तो कानुनी व्यवस्था छ ? 

भनेर प्रश्न गरेको सुनाइन् । परिवार र समाजको डरले धेरै महिलाहरुले अविवाहित आमा बन्ने रहरलाई दबाएर राखेको नम्रताको बुझाइ छ । नम्रताले समाज र समय विस्तारै परिवर्तन हुँदै गएको बताउँदै ‘सिंगल मदर’को ट्रेन्ड पनि बढेर गएको उल्लेख गरेकी छिन् । 

  • प्रकाशित मिति : साउन ५, २०७८ मंगलबार १३:५४:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया