पेगासस रिपोर्टमा क–कसको नाम छ ?
फरकधार / ५ साउन, २०७८

पेगासस–जासुसी मामिलामा जुन कथित सूची जारी गरिएको छ, त्यसमा २०१९ मा भारतका तत्कालीन मुख्य न्यायाधीश रन्जन गोगोईमाथि यौन उत्पीडनको आरोप लगाउने महिलाले प्रयोग गरेको तीनवटा फोन नम्बरसमेत छ । सुप्रिम कोर्टको एक आन्तरिक समितिले गोगोईलाई ‘क्लिन चिट’ दिएको थियो । उनी सेवानिवृत्त भएलगत्तै सरकारले उनलाई राज्यसभामा मनोनयनसमेत गरेको थियो ।

‘दि वायर’का अनुसार यी महिलाको नम्बरहरुका साथै उनका पति र दुई भाइले प्रयोग गरेको अन्य आठ वटा नम्बर निगरानीको सूचीमा राखिएको छ । यो त्यस्तो समय थियो जतिखेर पूर्व सीजेआईविरुद्ध उनले आरोप लगाएकी थिइन् । 

‘इन्डियन एक्सप्रेस’को खबर अनुसार, महिलाका देवरमध्ये एकले सोमबार इन्डियन एक्सप्रेसलाई आफ्नो फोन नम्बर निगरानीमा रहेको आफू र आफ्नो परिवारलाई थाहा नभएको बताए । उनले भने, ‘हामीले केही गल्ती गरेका छैनौं ।’ यसभन्दा बढी उनले केही पनि बताएनन् ।

दिल्ली प्रहरीले ती महिलाका पति र देवरलाई २०१८ डिसेम्बरमा निलम्बित गरिदिएको थियो । प्रहरीले उनको निलम्बन र महिलाको आरोपबीच कुनै सम्बन्ध नभएको पनि बताएको थियो । तर जुन २०१९ मा दुवैलाई पुनःबहाली गरिएको थियो ।

‘दि हिन्दू’ को खबर अनुसार, पेगासस जासुसीबारे जारी कथित सूचीमुताबिक कांग्रेस नेता राहुल गान्धी, पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीका भतिजा अभिषेक बनर्जी तथा पूर्व निर्वाचन आयुक्त अशोक लवशा, निर्वाचन रणनीतिकार प्रशान्त किशोर, केन्द्रीय मन्त्री अश्विनी वैष्णव र प्रह्लाद पटेलको मोबाइल नम्बर पनि जासुसीको सम्भावित सूचीमा राखिएको छ ।

सोमबार साँझ कांग्रेस पार्टीले एक पत्रकार सम्मेलन गर्यो, त्यसमा पार्टीले सत्तारुढ पार्टीमाथि आरोप लगाउँदै गृहमन्त्री अमित शाहको राजिनामा माग्यो र जासुसीको यो घटनामा प्रधानमन्त्री नरेन्द्र मोदीको भूमिकाको जाँच गर्नुपर्ने मागसमेत गर्यो । डिजिटल न्युज प्लेटफर्म दि वायर ती १६ मिडिया कम्पनीमध्ये एक सहयोगी हो, जसले ‘नम्बर जासुसी’सँग जोडिएको रिपोर्ट प्रकाशित गरेको थियो ।

उक्त रिपोर्ट अनुसार, राहुल गान्धीका कम्तीमा पाँच नजिकका मित्र र कांग्रेसका अन्य नेताहरुको मोबाइल नम्बर पनि सम्भावित मानिसको सूचीमा सामेल छ, जसको या त जासुसी गरियो या ती निगरानीमा परे । दि वायरको रिपोर्टमुताबिक, २०१९ को मध्यमा राहुलका दुई नजिकका मित्र अलंकार सवाई र सचिन रावको नम्बरको जासुसी गरियो ।

१६ मिडिया कम्पनीमध्ये एक दि गार्जियनका अनुसार, डेटाबेसमा एक फोन नम्बर हुनुले यो कुरा पुष्टि हुन सक्दैन कि, सम्बन्धित डिभाइसमा जासुसी गरिएको छ या गर्न खोजिएको थियो । साथै, लिक भएको यो कथित सूचीमा निर्वाचन रणनीतिकार प्रशान्त किशोरको नाम पनि उल्लेख छ । दि वायरका अनुसार, २०१८ मा प्रशान्त किशोरको फोनमा पेगासस हमला गर्ने प्रयास गरिएको थियो– तर त्यो असफल भएको थियो ।

५० हजार टेलिफोन नम्बर लिक भएको विश्व डेटाबेस सबैभन्दा पहिला फर्बिडन स्टोरिज र एमनेस्टी इन्टरनेसनलले पाएका थिए । तिनैले संसारभरका १६ मिडिया कम्पनीलाई यो कुरा बताएका थिए । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कुनै बेला प्रयोग गर्ने एक नम्बर पनि त्यो सूचीमा थियो ।

स्पाइवेयरले गोप्य रुपमा फोन, कम्प्युटर तथा अन्य उपकरणहरुको अनलक गर्न सक्छ । त्यसले जानकारी एकत्र गर्न सक्छ र प्रयोगकर्ताको अनुमतिविनै अन्य कुनै डिभाइसमा स्थानान्तरित गर्न पनि सक्छ । इजरायली कम्पनीले भनेको छ कि, उसले चरमपन्थी र अन्य गम्भीर अपराधविरुद्ध लड्नका लागि केवल सरकारी एजेन्सीहरुलाई पेगासस बेच्ने गरेको छ ।

जनसत्ता अखबारका अनुसार, एमनेस्टी इन्टरनेसनलको रिपोर्टमाथि प्रश्न उठाइएको छ । इजरायली कम्पनी एनएसओले जाँच रिपोर्टमाथि प्रश्न गर्दै एमनेस्टी इन्टरनेसनल र फर्बिडन स्टोरिजको तथ्यांक लुकाउने काम हुने लागेको बताएको छ ।

सरकारले निगरानी गरिरहेको डेटा ती नम्बरहरुको नहुन पनि सक्ने कम्पनीको भनाइ छ । साथै, आफ्ना ग्राहकहरुको जासुसी गतिविधिबारे जानकारी नरहेको एनएसओले बताएको छ । पेगासस सफ्टवेयर सम्बन्धित फोन नम्बरमा आउने–जाने हरेक कलको व्यहोरा जुटाउन सक्षम छ ।

मनसुन सत्रको पहिलो दिन केन्द्रीय दूरसञ्चार तगा प्रौद्योगिकी मन्त्री अश्विनी वैष्णवले लोकसभामा फोन ट्यापिङ मामिलामा सरकारको पक्षमा बोलेका थिए । हिन्दुस्तान टाइम्सको एक रिपोर्ट अनुसार वैष्णवले त्यहाँ भने, ‘एक वेबपोर्टलमा हिजो राति एउटा अति संवेदनशील रिपोर्ट प्रकाशित भयो । त्यसमा बढाइचढाइ गरेर आरोप लगाइएको छ । यो रिपोर्ट संसद्को मनसुन सत्रभन्दा एक दिनअघि प्रकाशित भयो । यो कुनै संयोग मात्रै हुन सक्दैन ।’

उनले थपे, ‘यसअघि वाट्सएपमा पेगासस प्रयोगलाई लिएर मिल्दोजुल्दो दाबी गरिएको थियो । त्यो बेकारको कुरा थियो र सबै पार्टीले त्यसको खण्डन गरे । जुलाई १८ मा प्रकाशित रिपोर्ट पनि भारतीय लोकतन्त्र र यसका स्थापित संस्थाहरुलाई बदनाम गर्ने कोसिस प्रतीत हुन्छ ।’

आइतबार प्रकाशित उक्त रिपोर्टमा दाबी गरिएको छ कि, संसारभरका सयौं पत्रकार र चर्चित मानिसहरुको फोन ट्याप गयरिएको छ । यसमा भारतका थुप्रै मानिस सामेल छन् । स्वयम् मन्त्री वैष्णवको नाम पनि सम्भावित सूचीमा छ । संसद्मा आईटी मन्त्रीले आफ्नो पहिलो भाषणमा भने, ‘अत्यधिक सनसनीखेज कहानीले थुप्रैखालका संगीन आरोप लगाएको छ, तर त्यसको कुनै सार छैन ।’
(बिबिसी)
 

  • प्रकाशित मिति : साउन ५, २०७८ मंगलबार १६:४५:२७,   अन्तिम अपडेट : साउन ५, २०७८ मंगलबार १६:४५:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया