बागमतीमा सत्ता समझदारीको प्रयास, माधव पक्ष निर्णायक

बागमती प्रदेश सरकार तत्काल नढल्ने देखिएको छ। निर्णायक रहेको एमालेको माधव नेपाल पक्ष बागमती प्रदेश सरकार सहभागी हुने तयारी गरेसँगै प्रदेश सरकारको आयु लम्बिएको छ। 

मिलेर जाने हो भने सहयोग हुन्छ : अष्टलक्ष्मी शाक्य 

नेपाल पक्षबाट मुख्यमन्त्रीको दावेदार समेत रहेकी नेतृ तथा प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यले यसबारे स्पष्ट पारेकी छिन्। केन्द्रमा जे भएता पनि अहिलेसम्म प्रदेश सरकारलाई सहयोग गरिरहेको शाक्यले बताइन्। 

‘प्रदेशमा  केन्द्रको राजनीतिबाट पक्कै प्रभाव पर्छ तर हामी अप्ठ्यारो नपर्ने गरी काम गर्नुपर्छ भनेर लागिरहेका छौं’ शाक्य भन्छिन्, ‘यसअघि जति हामीलाई पक्षपात गरेपनि अब समझदारी गरेर अगाडी बढाउने हो भने केन्द्रको जस्तो समस्या आउँदैन।’ 

यसबारे मुख्यमन्त्री डोरमणि पौडेलसँग पटक–पटक कुरा गरेको शाक्यले जानकारी दिइन्। ‘माथिको असमझदारी तल नल्याऊँ, संसद कसरी प्रभावकारी बनाउने भनेर सल्लाह गरौँ, छलफल गरौं भनेका छौं’ उनी भन्छिन्।

ओली पक्षले यो विषय सहज रुपमा लिएको र सरकारमा समेत आफूहरुको सहभागिता हुनसक्ने भएकोले भरसक सरकार नढाल्ने शाक्य बताउँछिन्। 



बागमतीमा ओली पक्ष जोखिममा रहेपनि मिलाएर, समेटेर जाने हो भने सहज वातावरण हुने उनको भनाइ छ। जटिल अवस्थामा समेत बजेट पास गरेर आफ्नो पक्षले प्रदेश सरकारलाई सहयोग गरेको उनले स्मरण गरिन्।  

सरकार ढाल्न माओवादी आतुर, काँग्रेस पर्ख र हेर मा 



मुख्यमन्त्री डोरमणि पौडेलको कुर्सी बचाउन एमालेको माधव नेपाल पक्ष, प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्र र नेपाली कांग्रेस मध्ये एकको साथ अनिवार्य देखिन्छ। 

माओवादी केन्द्र सरकार ढाल्न आतुर देखिन्छ भने कांग्रेस ‘पर्ख र हेर’ को स्थितिमा छ। प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका संसदीय दलका नेता  शालिकराम जमरकट्टेल डोरमणि पौडेलको सरकारलाई विदा गर्न ढिला गर्न नहुने बताउँछन्। 

यसबारे अन्य दलसँग पनि निरन्तर छलफल भइरहेको जमरकट्टेलले जानकारी दिए। 

‘संसदमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी छ, त्यसपछि  अहिलेको सरकारलाई सत्ताबाट निकाल्छौँ’ उनले भने। 

नेपाली कांग्रेसका सांसदहरु भने मिश्रित प्रतिक्रिया दिँदै आएका छन्। नेपाली कांग्रेसको बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बहादुर बानियाँले कांग्रेस तत्काल सरकार परिवर्तन गर्नुपर्ने मनस्थितिमा नरहेको बताउँछन्। 

तर आवश्यक परेको आएको खण्डमा भने तयार उनको भनाइ छ। उनले केन्द्रको राजनीतिले प्रदेशको भविष्य निर्धारण गर्ने भन्दै ‘वेट एन्ड सी’मा रहेको बानियाँले जानकारी दिए। 

नेपाली कांग्रेसका बागमती प्रदेश संसदीय दलका सचेतक छिरिङ लामा आफ्नो दल सरकारमा जान तयार रहेको बताउँछन्। उनी भन्छन ‘नेपाली कांग्रेस जहिले पनि  सरकारमा रहेर जनतालाई सेवा गर्न तयारी पार्टी हो। तर  केन्द्रको राजनीतिले धेरै कुरामा भर पर्छ।’  

मन्त्रिमण्डल फेरबदल हुनसक्छ : मुख्य सचेतक

अन्य दल र माधव पक्षसँग छलफल भइरहेको बागमती प्रदेश एमालेका मुख्य सचेतक दिपक निरौला बताउँछन्।
तत्काल सरकार परिवर्तन नहुने दावी उनको छ। 

केन्द्रको राजनीतिले हस्तक्षेप नगरेको खण्डमा सबै पक्षलाई समेट्ने गरी मन्त्रिपरिषद् हेरफेर गर्ने सल्लाह भएको निरौलाले जानकारी दिए। नेपाल पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यसँग मुख्यमन्त्री पौडेलको कुरा भइरहेकाले केन्द्रको जस्तो अवस्था प्रदेशमा नहुने उनको भनाइ छ। 

बागमती प्रदेश सरकारमा एमाले ओली पक्षको  सत्ता टिक्ने वा ढल्नेमा माधव पक्षकै निर्णायक भूमिका देखिन्छ।  बागमती प्रदेशमा एकल बहुमत रहेको एमालेका ५६ प्रदेशसभा सदस्य छन्।

जसमा ओली पक्षका ३५ र नेपाल पक्षका २१ जना छन्। यस्तो अवस्थामा नेपाल पक्षले केन्द्रमा जस्तै विपक्ष गठबन्धनलार्ई समर्थन गर्ने हो भने प्रदेशमा पनि सरकार ढल्ने निश्चित छ।

प्रदेशमा प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, विवेकशीलको ३, नेपाल मजदुर किसान पार्टीका २, राप्रपाका २ र एक स्वतन्त्र सांसद छन्।  प्रदेशमा एमालेको संसदीय दलको नेता चुन्दा तत्कालीन ५८ सांसदमध्ये २४ जनाले अष्ट लक्ष्मीलाई मत दिएका थिए भने ३४ जनाले पौडेललाई मत दिएका थिए।

यसपछि गत पुस १० गते मुख्यमन्त्री पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमा एमाले नेपाल पक्षका २२ सांसदले हस्ताक्षर गरेका थिए।
 

  • प्रकाशित मिति : साउन ५, २०७८ मंगलबार २१:४:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया