अमेरिकी सेना फर्किएपछि अफगानिस्तानमा रहेका नेपाली जोखिममा
फरकधार / ५ साउन, २०७८

२० वर्ष लामो द्वन्द्वपछि अमेरिकाले अफगानिस्तानबाट आफ्ना फौज फिर्ता लग्यो। तालिवान र अल–कायदाविरुद्धको लडाइका लागि सन् २००१ को डिसेम्बरमा अमेरिकी नेतृत्वको गठबन्धन फौज (नेटो सैनिक) अफगानिस्तानमा तैनाथ गरिएको थियो। त्यो समयमा १० हजार भन्दा बढी अमेरिकी र सहयोगी सेना बस्न मिल्ने गरी शिविर खडा गरिएको थियो। 

अफगानिस्तानमा अमेरिकी सेना बस्नुको कारण थियो,– ११ सेप्टेम्बर २००१ मा भएको हमला। 

विमान अपहरण गरेर न्यूयोर्कको वल्र्ड ट्रेड सेन्टर र भर्जिनियाको पेन्टागनमा ठोक्काइएको थियो। जुन आक्रमणमा तीन हजार भन्दा बढी अमेरिकी मारिएका थिए। 

ती घटनामा आतंकवादी समूह अल–कायदाका प्रमुख ओसामाबिन लादेन जिम्मेवार रहेको अमेरिकाको ठहर थियो। अफगानिस्तानमा कट्टर इस्लाम वादी तालिवानले शासन गरिरहेको थियो। तालिवानले लादेनलाई बचाएको थियो। तालिवानले अमेरिकालाई हस्तान्तरण गर्न अस्वीकार गरेपछि अमेरिकाले अफगानिस्तानमा हवाई हमला गरेको थियो। 

आक्रमण शुरु गरेको दुई महिनापछि तालिवानको शासन ढल्यो र उसका लडाकुहरूअफगानिस्तानबाट भागेर पाकिस्तान गए। त्यस पछिबाट अमेरिकी सेना अफगानिस्तानमा कब्जा जमाएर बसेको थियो। 

अमेरिकी गठनबन्धन सेनाको क्याम्पमा खाना पकाउने, सहयोगीको भूमिका निभाउने काममा थुप्रै नेपालीहरू गएका छन्। राम्रो पारिश्रमिक पाउने भएकाले जोखिम मोलेर थुप्रै नेपाली अफगानिस्तान गए। 

अफेरिकी गठबन्धन सेनाको प्रवेशपछि नै अफगानिस्तान नेपालीका लागि रोजगारीको गन्तव्य मुलुक बन्यो। 

नेपालले अफगानिस्तानलाई पहिला देखिनै ‘डेन्जर जोन’मा राखेको थियो। तर, संयुक्त राष्ट्रसंघ अन्तर्गतका निकायमा खाना पकाउने, सुरक्षा गार्डको रूपमा भने नेपालीहरूले अवसर पाइरहे। 

२० जुन २०१६ मा अफगानिस्तानको काबुलमा आत्मघाती बम हमला हुँदा १२ जना नेपाली मारिए। बिहानै काबुलको जलालावाद रोडमा आत्मघाती बम हमला भएको थियो। यो आक्रमणमा क्यानडाको  राजदूतावासमा सुरक्षा गार्डका रूपमा कार्यरत नेपालीहरू परेका थिए। उनीहरू चढेको मिनी बसमा आक्रमण भएको थियो।

त्यो आक्रमणपछि नेपालले कामदार अफगानिस्तान पठाउन रोक लगायो। अमेरिकी र पश्चिममा कम्पनीहरूमा काम गर्दै आएका नेपाली पनि आतंकवादी समूहको निगरानीमा पर्दै आएका थिए।  रोक लगाए पनि गैरकानुनी रुपमा नेपाली जानेक्रम रोकिएन। 

अमेरिकी सेना फिर्ता भएपछि उनीहरूको क्याम्पमा काम गर्दै आएका नेपाली जोखिममा पर्नसक्ने नेपाली सेनाका पूर्व सहायक रथी डा. प्रेमसिंह बस्न्यात बताउँछन्। 

‘अमेरिकी सेना फर्किएपछि उसको समर्थित ठानेर नेपाली दाजुभाइमाथि हमला हुनसक्छ। त्यसमा हामी समयमै सचेत हुनुपर्छ’ पूर्व सहायक राथी डा. बस्न्यात भन्छन्।  उनीहरूले समयमै नेपाल फर्काउनुपर्ने उनको माग छ। 

कति छन् अफगानिस्तानमा नेपाली ? 

डेन्जर जोनमा रहेको अफगानिस्तानमा नेपालले कामदार पठाउन रोक लगाएको छ। तरपनि धेरै नेपालीहरू गैरकानूनी बाटो हुँदै जाने गरेका छन्। 

गैरकानुनी रूपमा अफगानिस्तान जानेको संख्या एकदमै ठूलो रहेको अनुमान छ। नेपाल वैदेशिक रोजगार व्यवसायी संघका कार्यवाहक अध्यक्ष कमल तामाङ पनि यस कुरामा सहमत छन्। ‘कानुनी रूपमा जाने भए पो यतिको संख्यामा छन् भन्न सकिन्थ्यो’ तामाङ भन्छन्,  ‘गैरकानूनी रूपमा जानेको संख्या एक लाख भन्दा पनि बढी हुनसक्छ।’ 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २०७३ सालमा गरेको एक अध्ययन अनुसार अमेरिकी सेनाको क्याम्पमा झण्डै ३ हजार भन्दा बढी नेपाली काम गर्दै आएका थिए। 

२०१६ को आक्रमणपछि त्यहाँ जानेको संख्यामा कमी आएको थियो। अहिले कानुनी रुपमा सय भन्दा बढी नेपाली अमेरिकी सेनाको क्याम्पमा काम गर्दै आएको हुनसक्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। 

सरकारले २०६२ सालमा निश्चित क्षेत्रको रोजगारीमा जान खुला गरेको थियो। तर सरकारले तोकेको निश्चित क्षेत्र भन्दा बाहिर पनि धेरै नेपाली भारतीय बाटो हुँदै जाने गरेका छन्। उनीहरूको सुरक्षामा सरकारले ध्यान सक्ने अवस्था समेत नरहेको संघका कार्यवाहक अध्यक्ष तामाङको भनाइ छ। 

‘कानुनी हिसाबले गएको भए सरकारसँग तथ्यांक हुन्थ्यो। पछि केही समस्या पर्दा पनि सहयोग गर्न सकिन्थ्यो। गैरकानुनी रूपमा दलालमार्फत, व्यक्तिगत रूपमा जाने गरेका छन्’ तामाङ भन्छन्, ‘उनीहरूले नै उद्धारका लागि अपिल गरेको खण्डमा मात्र उद्धार गर्न सकिन्छ।’ काव अध्यक्ष तामाङले भने।  

प्रतिबन्ध लागेको देशमा कसरी जान्छन् नेपाली ? 

कामदारको रूपमा अफगानिस्तान जान प्रतिबन्ध लागे पनि धेरै नेपाली त्यहाँ छन्। अफगानिस्तानमा संयुक्त राष्ट्रसंघीय एजेन्सी र कुटनीतिक निकायमा सुरक्षा गार्डका रूपमा काम गर्न पूर्वसैनिक र प्रहरीलाई स्वीकृति दिँदै आएको वैदेशिक रोजगार विभागका निर्देशक महेन्द्रनाथ भट्टराईले जानकारी दिए। 

नेपालले अफगानिस्तानमा ग्रिन जोनको आधारमा पठाउने गरेको छ। भारतको दिल्लीमा रहेको दूतावासबाट फलानो कम्पनीका लागि नेपाली कामदार पठाउन सिफारिस गरियो भने त्यही आधारमा श्रम स्वीकृति दिने गरेको निर्देशक भट्टराईले बताए। 

‘दूतावासले कम्पनी ठिक छ, काम गर्ने ठाउँ पनि ठिक छ भनेर सिफारिस गरेको आधारमा नेपालबाट कामदार पठाउने हो। नत्र अन्यत्र ठाउँमा हामीले पठाउँदैनौँ।’ निर्देशक भट्टराईले भने। 

नेपालबाट गैरकानुनी रूपमा भारतको बाटो हुँदै जाने गरेका छन्। अत्यन्तै जोखिमपूर्ण ठाउँमा पनि पैसाका लागि दलालमार्फत भारतको बाटो हुँदै जाने गरेको संघका कार्यवाहक अध्यक्ष तामाङ बताउँछन्। 

जुन कामको लागि गएको हो त्यो काम सकिएपछि वा बन्द भएपछि त्यहाँ गएका नेपालीले फर्किनुपर्ने उनको भनाइ छ। 

के गर्दैछ नेपाल सरकार ? 

अमेरिकी सेना फर्किएको विषयमा नेपाल सरकार जानकार छ। सेना फर्किएसँगै तिनका क्याम्पमा कार्यरत नेपालीबारे जानकार रहेको परराष्ट्र मन्त्रालयका सह–प्रवक्ता सेवा लम्सालले बताइन्। 

अहिले अमेरिकी सेनाको क्याम्पमा कार्यरत १०० भन्दा बढी नेपाली रहेको उनले बताइन्। आफ्नै हिसाबले गएकाहरूको तथ्यांक नभएपनि कानूनी रूपमा गएकाहरूबारे सरकार जानकार रहेको उनको भनाइ छ। 

‘यो विषयमा हामी जानकार नै छौँ। अहिले १०० जना जति दिल्ली दूतावासको सम्पर्कमा आउनु भएको छ। आवश्यक परेको खण्डमा हामी उद्दार गर्न तयार छौँ।’ सह–प्रवक्ता लम्सालले भनिन्। 

अहिलेसम्म कतैबाट पनि समस्यामा परेको भन्ने जानकारी नआएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ। अफगानिस्तानमा रहेका नेपालीहरूसँग दूतावास निरन्तर सम्पर्कमा छ। 
 

  • प्रकाशित मिति : साउन ५, २०७८ मंगलबार १८:२०:२१,   अन्तिम अपडेट : साउन ५, २०७८ मंगलबार १९:४६:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया