नेकपा एमालेमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधरले आज बैठक गरेर आगामि यात्राबारे रणनीति बनाएका छन् ।
आगामि दिनमा आफूहरु कसरी अगाडि बढ्नेबारे आफूहरुले बैठकमा छलफल गरेको एमाले सांसद रामकुमारी झाँक्रीले जानकारी दिएकी छिन् । उनले आफ्नो समूह सरकारमा नजाने पनि बताएकी छिन् ।
उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएकै आधारमा कारवाही गर्न नमिल्ने सर्वोच्चको फैसलाका कारण आफूहरुलाई स्पष्टिकरण सोधिएको पत्र नआएको बताएकी छिन् ।
यतिमात्र होइन, उनले अब पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरुसँग आवेग र रिस राग लिएर कुरा गर्न नहुने पनि बताएकी छिन् ।
‘उहाँले पार्टी एकता चाहनुहुन्छ भने उहाँले पार्टी अध्यक्षबाट राजीनामा दिनु पर्छ,’ झाँक्रीले भनेकी छिन्, ‘मार्गप्रशस्त गर्नुस्, पार्टी अध्यक्ष छोड्नुस् अनि बल्ल एमाले एक हुन्छ ।’
उनले पार्टी अध्यक्षले अहिले पनि बदला लिइरहेको आरोप लगाएकी छिन् ।
‘तपाईं क्षमाशील हुनुहोस्,’ झाँक्रीले भनेकी छिन् । उनले अध्यक्ष पदबाट ओलीलाई तत्काल राजीनामा दिन पनि सुझाएकी छिन् । उनले दलको सदस्यको बैठक भएकाले अहिले नयाँ पार्टी खोल्ने भन्नेबारे कुनै छलफल नभएको पनि बताएकी छिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।