नेपाली क्षेत्रमा कल्भर्ट निर्माणमा भारतीयको अवरोध

भारतीय सिमाना नजिक पर्ने विराटनगर-१७ इस्लामपुरमा नेपाली भूमिमा बन्न लागेको नाला (ड्रेन ) र कल्भर्ट निर्माणमा भारतीयले रोक लगाएका छन् । नेपाली भूमिभित्रै पानी निकास गराउन निर्माण भइरहेको पक्की नाला र कल्भर्ट निर्माणमा भारतीय सीमा सुरक्षा बलले अवरोध गरेपछि काम रोकिएको छ ।

दुई महिना अघिदेखि निर्माण सुरु भएको नाला र कल्भर्ट निर्माणमा १५ दिन अघिदेखि अवरोध भएको वडा अध्यक्ष समिर कमरले बताए । १६ लाख रुपैयाँको लागतमा निर्माण सुरु भएको योजनामा कल्भर्टका विषयमा विवाद झिकेको कमरले बताए ।

उनका अनुसार दशगजाभन्दा ५ मिटर उत्तरमा कल्भर्ट बन्न थालेको छ । नाला बनाइसकेर कल्भर्टकाे काम थालेपछि भारतीय सीमा सुरक्षा बलका अधिकारी आएर धाक धम्की दिँदै नाला नबनाउन भनेपछि काम रोकिएको छ ।

नाला र कल्भर्ट नभएका कारण वर्षेनी इस्लामपुर डुबानमा पर्दै आएको छ । वर्षा सुरु भएपछि इस्लामपुरका एक सय घरपरिवार हरेक वर्ष डुबानमा पर्दै आएका छन् ।  

‘नेपाली भूमिमा जलमग्न भएको पानी निकास गरेर भारतीय भूमि र बस्ती डुबानमा पार्न खोजेको भन्दै भारतीय एसएसबीले गालीगलौज गर्दै हाम्रो भूमिभित्रै बन्दुक तेर्स्याएर नाला निर्माण गर्न अहिलेसम्म दिएको छैन,’ वडाअध्यक्ष कमरले बताए ।

स्थानीयका अनुसार हप्ता दिन अगाडि नाला बनाएर अहिले इँटाको गाह्रो उठाउन सुरु गरिएको थियो । भारतीय सुरक्षाकर्मीहरुको डरले नाला निर्माण गर्न कामदारहरु आउन नमानेको स्थानीयले बताए



‘नाला बनाउन सुरु गरेको २/३ दिनपछि एसएसबीले धम्की दिएपछि अहिले नाला निर्माण हुन सकेको छैन,’ एक स्थानीयले बताए । इलास्मपुरमा जमेको पानी निकास भएर भारतमा पुगेर परमान नदीमा मिसिन्छ । यसैले उक्त निकासको पानीले भारतीयहरुको बस्ती र भूमि डुबानमा पार्दैन’, ती स्थानीयले भने ।

उनीहरुले एकोहोरो जसरी पनि कल्भर्ट निर्माण गर्न रोक्नुपर्ने भन्दै नेपाली भूमिभित्रै संरचना बनाउन नदिएको स्थानीय महमद इनाम मियाँले बताए । उनले भने, ‘भारतको जोगबनीदेखि हाम्रो नेपाल तिर आएको पानीले इस्लामपुर क्षेत्र जलमग्न हुने गरेको छ ।



विराटनगर १७ र १८ नम्बर वडामा पर्ने जोगबनी बजारसँग जोडिएको सीमावर्ती बस्तीहरु इस्लामपुर, राइसमिल र रामसेवी टोलमा तीन सय बढी घरपरिवार बसोबास गर्दै आएका छन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले दुई दिन अगाडि सो क्षेत्रको निरीक्षण गरेका थिए । त्यसबेला उनले चाँडै भारतीयहरुसँग वार्ता गरेर निर्माण कार्य सूचारु गराउन पहल गर्ने बताएका थिए ।

तर, दश दिन वितिसक्दा पनि भारतीयसँग कुनै वार्ता नहुँदा निर्माण कार्य ठप्प छ । भारतीयहरुले अझै वार्ता गर्न चाहेका छैनन् । प्रमुख जिल्ला अधिकारी निरौलाले भने भारतीय पक्षसँग वार्ताको तयारी भइरहेको बताए । उनले दुवै पक्षका बीचमा कुराकानी गरेर समस्या समाधन गर्ने प्रयास भइरहेको बताए । 

  • प्रकाशित मिति : साउन ६, २०७८ बुधबार ११:४९:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया