सुरु हुँदै नेपाल आइडलको चौंथो सिजन, सबै निर्णायक फेरिने

गायन रियालिटी शो ‘नेपाल आइडल’को चौथो सिजन सुरु हुने भएको छ । तेस्रो सिजनसम्मका लागि पाएको फ्रेन्चाइजको अनुमति सकिएको र कोरोना महामारीका कारण रोकिएको नेपाल आइडलको चौँथो सिजन छिट्टै सुरु हुने शोका निर्देशक सुरेश पौडेलले जानकारी दिए ।

फ्रेन्चाइजको अनुमति पाउने वित्तिकै चौँथो सिजनको छायांकन सुरु गर्ने पौडेलले जानकारी दिए । उनले सन् २०२१ भित्र नै शोको छायांकन सुरु गर्ने बताएका छन् । चौँथो सिजनमा यसअघिका सिजनका सबै निर्णायक परिवर्तन गर्ने समेत पौडेलको भनाइ छ ।

नेपाल आइडलमा निर्णायकको भूमिका निर्वाह गरेका संगीतकार न्ह्यू बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र गायिका इन्दिरा जोशीसँग ३ सिजनसम्मका लागि मात्रै सम्झौता भएको पौडेलले बताए । उनले भने, ‘निर्णायकहरु अन्य देशमा पनि परिवर्तन भइरहेका हुन्छन् । अहिले उहाँहरु पनि अन्य काममा व्यस्त भइसक्नुभयो ।’

नेपाल आइडलको नयाँ सिजनमा निर्णायकमा कसलाई राख्ने भनेर अहिले सूची तयार पार्ने काम भइरहेको छ । निर्णायकमा कसैको नाम पक्का भने नभएको पौडेलले बताए ।

नेपाल आइडलको पहिलो, दोस्रो र तेस्रो सिजनको उपाधि क्रमशः बुद्ध लामा, रवि ओड र सज्जा चौलागाईंले उचालेका थिए ।





  • प्रकाशित मिति : साउन ६, २०७८ बुधबार १३:१४:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया