एसियन महिला भलिबल च्याम्पियनसिप खेल्न नपाएको नेपालको अबको तयारी के ?

नेपाली भलिबल टोलीको पहिलो पटक एसियन कप खेल्ने सपना टुटेको छ । प्रतियोगिताका लागि नेपालले असार १ गतेबाट २७ जना खेलाडीलाई बन्द प्रशिक्षणमा राखेको थियो । कोभिडको नयाँ भेरियन्ट देखिएको भन्दै नेपाल र भारतलाई यस प्रतियोगितामा भाग लिनबाट वञ्चित गराइएको हो ।  

प्रतियोगितामा सहभागी हुन नपाउने भएपछि टोली घर फर्किएको छ । ‘लामो समयपछि प्रशिक्षण गर्न पाएका खेलाडीहरु निकै निराश थिए । हामीले सम्झाएर पठाएका छौं,’ प्रमुख प्रशिक्षक जगदीश भट्टले भने । पछिल्लो समय १३ औं दक्षिण एसियाली खेलकुदमा रजत पदक हात पारेको थियो । नेपाली भलिबल टोलीका लागि पहिलो पटक एसियन कपजस्तो ठूलो प्रतियोगिताको पहिलो कदममै ठेस लागेको छ । 

खेलाडीलाई ठूलो धक्का
कप्तान अरुणा शाही यस प्रतियोगितालाई लिएर निकै उत्साहित थिइन् । करियरमा नै पहिलो पटक एसियन कप खेल्न लागेको र नेपालको प्रतिनिधित्व गर्ने अवसर पनि उनले प्राप्त गरेकी थिइन् । झण्डै १५ वर्ष लामो खेल करियरमा उनले पहिलो पटक यस्तो अवसर प्राप्त गर्न लागेकी थिइन् । करियरमै पहिलो पटक एसियन कप खेल्न जान पाउने भएपछि अन्य खेलाडी पनि उत्तिकै पुलकित थिए । 

टोलीका खेलाडीले अनेक सपना बुनेका थिए । शाही भन्छिन्, ‘धेरै रहरहरु पलाएका थिए । एक्कासि खेल्न नपाउने समाचारले निकै निराश भयौं । हाम्रो ठुलो सपना हुरीले उडाएको आभास भयो ।’ 

यो समाचारले सबै खेलाडीको मुख अँध्यारो भयो । ‘कप्तान भएर पनि मैले कसैलाई सम्झाउन सक्ने भइनँ । म आफैं निराश थिएँ । अर्काे खेलाडीलाई के भनेर सम्झाउने जस्तो भयो,’ उनले थपिन्, ‘निराश भएका हौं । हाम्रो मनोबल भने थप दृढ भएको छ । हामीले आगामी प्रतियोगिताहरूमा झन् राम्रो प्रदर्शन गर्ने छौं ।’ यस प्रकारको निर्णयपछि प्रशिक्षक तथा व्यवस्थापन टोली बसेर खेलाडीहरुलाई सम्झाइबुझाइ गरेका थिए ।   

३० जनालाई राखेर बन्द प्रशिक्षण सुरु गरिएको थियो । पुलिस क्लबले ३ जना खेलाडी पठाउन नमानेपछि २७ जना जनालाई पहिलो चरणको प्रशिक्षणमा राखियो । दोस्रो चरणमा १८ जना लाई प्रशिक्षणमा राखिएको थियो । यसबाट पनि छानेर १२ जना उत्कृष्ट खेलाडीलाई फिलिपिन्स पठाउने तयारी थियो ।



अब नेपालको लक्ष्य के होला ?
आन्तरिकभन्दा पनि फिलिपिन्स सरकारको निर्णयका कारण नेपालले यो प्रतियोगितामा भाग लिन नपाएको हो । यो निर्णयपश्चात नेपाल भलिबल संघ र एसियन भलिबल कन्फडरेसन अब हुने प्रतियोगितामा नेपाल र भारतलाई जति सक्दो धेरै प्रतियोगितामा संलग्न गराउने निर्णय गरेको छ ।
 
प्रमुख प्रशिक्षक, भट्ट भन्छन्, धेरै भन्दा धेरै प्रतियोगितामा सहभागिता जनाउने हाम्रो लक्ष्य रहेको छ ।’ धेरै खेलका लागि छनाेट खेल हुन्छ । नेपालले त्यसको पनि तयारी गर्नुपर्ने उनले बताएका छन् । 

एसियन कप जित्नुभन्दा पनि राम्रो प्रदर्शन गर्ने लक्ष्य नेपालको रहेको थियो । ‘पावर हाउस कन्ट्री’ मानिने देशहरुसँग खेल्न नेपाललाई गाह्रो नै हुने थियो,’ भट्टले भने । 
नेपालको अबको बाटो भनेको जति सक्दो धेरै प्रतियोगिता खेल्ने र आफ्नो स्तरका टोली भारत, बंगलादेशजस्ता देशहरुलाई पराजित गर्ने लक्ष्य रहेको भट्टले बताए । 



साउथ एसियन च्याम्पियनसिप गर्ने भन्ने सेन्ट्रल जोनबाट निर्णय आए अनुरुप अब नेपालले त्यसको तयारीतर्फ ध्यान दिने पनि उनले जानकारी दिएका छन् । कोरोना भाइरसको महामारीका कारण प्रतियोगिताहरु रोकिएका हुन् । २०२२ को क्यालेन्डरमा १० देखि १२ वटा अन्तर्राष्ट्रिय प्रतियोगिता हुने तयारी रहेको उनले बताए । यी प्रतियोगिताहरुमा सकेसम्म सबैमा भाग लिने नेपालले तयारी गरिरहेको पनि प्रशिक्षक भट्टले जानकारी दिए । 

कसरी गुम्यो एसियन कप खेल्ने अवसर ?
नेपाल भलिबल संघका अनुसार नेपालले एसियन कप गुमाउनुको मुख्य कारण भनेको नै कोरोनाको नयाँ भेरियन्ट नेपालमा पनि देखिनु हो । ‘रेड जोन’ मा परेको नेपालले यो प्रतियोगिता गुमाएको हो ।
  
नेपालले करिब एक महिना लामो प्रशिक्षण तथा तयारी गर्दागर्दै पनि यो प्रतियोगिता गुमाएको हो । प्रमुख प्रशिक्षक भट्टले भने, ‘यति राम्रो तयारी तथा व्यवस्थापन सायद नेपाल भलिबल संघले पहिलो पटक गरेको थियो । तर, हामीले यही प्रतियोगिता गुमायौँ ।’ कोरोनाका कारण नेपालले यो अमूल्य मौका गुमाएको उनले दुःखेसो पोखे । 

प्रशिक्षक भट्टले खेलाडीका रुपमा सन् १९९८ मा १३ औं एसियन गेम गुमाएका थिए । त्यो पीडा अझै उनको मनमा ताजै छ । त्यो पीडा भुल्न नपाउँदै थप पीडा उनमा थपिएको छ । ‘एउटा खेलाडी भएर खेल्न नपाए पनि प्रशिक्षक भएर एसियन कपमा सहभागी हुन्छु भन्ने थियो, त्यो पनि सफल भएन ।’

एसियन च्याम्पियनसिपमा विभिन्न कारणबस घटे टोली
१७ टोली सहभागी हुने एसियन च्याम्पियनसिपमा अहिले ८ वटा टोलीमात्रै छन् । नेपाल र भारतमा कोरोनाको नयाँ भेरियन्टको उच्च जोखिम रहेको भन्दै फिलिपिन्स सरकारले सहभागी बनाउन नसक्ने निर्णय गरेको हो । साथै, जापान र हङकङले आफ्नो टोली फिलिपिन्समा सुरक्षित नहुने भन्दै प्रतियोगिताबाट नाम फिर्ता लिएका थिए । 

जुलाई १५ सम्ममा यस प्रतियोगिताका अन्तिम टोलीको टुंगो लाग्ने बताइएको थियो । जसअनुसार फिलिपिन्स, काजकिस्तान, चाइनिज ताइपेई, उज्वेकस्तान, थाइल्यान्ड, दक्षिण कोरिया, इरान र अस्ट्रेलियाले मात्रै यो प्रतियोगितामा भाग लिने भएका छन् । 

  • प्रकाशित मिति : साउन ६, २०७८ बुधबार १७:१५:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया