कर्मचारीबाटै थुनिएका टेलिकमका हाकिम भन्छन् : सबै माग पूरा गर्न म सक्दिनँ

मंगलबार कर्मचारीको घेराबन्दीमा परेका नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराज अधिकारीले कर्मचारीको सबै माग आफूले पूरा गर्न नसक्ने बताएका छन्।

कर्मचारीबाट मंगलबार साँझदेखि बुधबार बिहानसम्म कार्यकक्षमै थुनिएका अधिकारीले विधि–विधानले पाउने सेवा सुविधाबाहेक अन्य सुविधाको विषयमा आफूले सिफारिस गर्न नसक्ने बताएका हुन् । 

‘कर्मचारी विनियमावली संशोधनको विषयलाई लिएर आफूलाई घेराबन्दीमा पारेर कार्यकक्षमा मंगलबार रातभर थुनियो,’ आफूलाई कर्मचारीले कार्यकक्षमा थुनेको स्विकार्दै उनले भने, ‘बुधबार बिहान ६ बजे मात्रै घर गएँ । यो अत्यन्तै अमानवीय व्यवहार भएको छ ।’ ‘मैले नसक्ने विषयलाई लिएर ममाथि दुर्व्यवहार भएको छ,’ आफूले गरेर हुने भए सबै चिज गरिदिने उल्लेख गर्दै अधिकारीले थपे, ‘यस विषयमा कर्मचारीसँग थप छलफल हुँदाहुँदै पूरै घेराबन्दीमा पारेर मलाई थुनियो ।’
 
विनियमावली संशोधनका लागि लोकसेवाको परामर्शका आधारमा विनियम मन्त्रालयमा प्रस्ताव पठाइएको र सो विनियममा अहिले पाइरहेको सेवा, सुविधा र अवसरमा केही कटौती भएको उनले जानकारी दिए । 

विनियम संशोधन गर्ने अधिकार सञ्चालक समितिलाई मात्रै रहेकाले आफूलाई थुनेर केही नपाइने उनको भनाइ छ । 





  • प्रकाशित मिति : साउन ६, २०७८ बुधबार १८:१९:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया