हरेक दिन हराउँछन् २० महिला, कहाँ छन् १६ हजार महिला ?

चितवन गैँडाकोट नगरपालिका-४ कि २१ वर्षीया बिना सापकोटा असार १४ गतेदेखि बेपत्ता छिन् । साँझतिर नारायणी नदी किनारतिर देखिएकी उनको अहिलेसम्म अत्तोपत्तो छैन । उनी कहाँ र कस्तो अवस्थामा छिन् ? पत्ता लाग्न सकेको छैन । 

प्रहरीले विभिन्न टोली बनाएर खोजी गरिरहेको छ । तर, अहिलेसम्म उनको अवस्था अज्ञात नै छ ।  प्रेमी भनिएका प्रवेश कँडेलसँग अन्तिम पटक देखिएकी थिइन् उनी । हराएकै दिन उनी प्रवेशको घर गएकी थिइन् । प्रवेश कुनै अर्को युवतीसँग प्रेममा रहेको जानकारी पाएपछि बिना त्यहीँ बेहोस भएर लडिन् । त्यसपछि प्रवेशले नै घरसम्म पुर्‍याउन गए । नारायणी नदी नजिकै रहेको एटिएममा पैसा निकाल्न उनी भित्र पसे । पैसा निकालेर बाहिर आउँदा बिना थिइनन् ! नजिकै रहेको सिसी क्यामेरामा उनी नारायणी किनारतिर गएको देखिएको थियो ।  

चितवन प्रहरी प्रमुख (एसपी) ओम अधिकारीले उनको अवस्थाबारे कुनै जानकारी प्राप्त नभएको बताए । प्राविधिक र अन्य ढंगमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ।

चितवनकै राप्ती नगरपालिका-३ कि २३ वर्षीया सुजिता भण्डारी असार ११ गतेदेखि बेपत्ता भइन् । साथीको घर जान्छु भनेर बिहानै हिँडेकी उनी दिनभर सम्पर्कमा नआएपछि परिवारले प्रहरीलाई खबर गरेको थियो । 

बेपत्ता भएपछि प्रहरीले खोजतलासी गर्ने क्रममा ९ दिनपछि घर नजिकैको जंगलमा शव फेला प¥यो । साथीको घर जाने क्रममा दिउँसो १२ बजेतिर सुजिताले उनकी दिदीसँग फोनमा कुरा गरेकी थिइन् । त्यो समय उनले आफ्नो आँखामा धुलो छर्किएर कसैले गाडीमा हालेर लगेको बताएकी थिइन् । 

एकदमै आत्तिएको स्वरमा आफूलाई बचाउन उनले दिदीसँग गुहार मागेकी थिइन् । केही समयमै उनी अपहरणमा परेको हुन सक्ने भन्दै प्रहरीमा खबर गरिएको थियो । 
प्रहरीले उनको खोजतलास गर्ने क्रममा फोन उनको घर नजिकै क्षेत्रमा देखिएको थियो । उनले बोकेको फोन साथमा नहुँदा र अपहरण गर्नेले फिरौती वा केहीको लागि परिवारसँग सम्पर्क नगर्दा उनको बारेमा पत्ता लाग्न सकेको थिएन । 



‘सुजिताको फोनमा साथमा भएको भए वा अपहरणकारीले परिवारलाई फोन गरेको भए त्यही नम्बरलाई ट्र्याक गरेर उनी नजिक पुग्न सकिन्थ्यो,’ चितवन प्रहरी प्रमुख अधिकारीले भने, ‘प्राविधिक दृष्टिकोणबाट जटिलता आएपछि खोजतलास गर्न समस्या भयो ।’ 

खोजतलासमा ढिलाइ हुँदा ९ दिनपछि घर नजिकैको जंगलमा उनको शव फेला परेको थियो । शव पानीले भिजेको अवस्थामा थियो । पोस्टमार्टमबाट पनि उनको मृत्युको कारण खुल्न सकेन । भिसेरा परीक्षणपछि उनको मृत्युको कारण खुल्न सक्ने प्रहरीको भनाइ छ । प्रहरी भिसेरा रिपोर्टको प्रतीक्षामा छ । 



नागढुंगा, काठमाडौं पिपलामोडमा रहेको भित्ते घरका मालिक रामराजा प्रसाद दुई वर्षदेखि बेपत्ता छन् । आफ्नै घरमा बसिरहेका उनी एकाएक सम्पर्कविहीन भएका थिए । 

श्रीमतीसँग सामान्य विवाद भएको थियो । विवादपछि उनकी श्रीमती काठमाडौंको असनमा रहेका घर आएकी थिइन् । असनबाट उनका छोरा त्यही भित्ते घर जाँदा रामराजा प्रसाद थिएनन् । 

बाबुलाई घरमा नभेटेपछि उनले प्रहरीमा खबर गरे । साढे दुई करोड भन्दा बढीको लागतमा उनले नागढुंगामा अनौठो खालको घर निर्माण गरेका थिए । उनको अनौठो घरबार सञ्चारमाध्यममा निकै कभरेज भयो । तर, श्रीमतीसँगको सानो मनमुटावका कारण उनी एकाएक घर नै छोडेर हिँडे ! 

अहिलेसम्म उनी कहाँ र कस्तो अवस्था छन् भन्ने विषयमा केही जानकारी छैन । प्रहरीले उनको खोजी गरिरहे पनि अहिलेसम्म केही पत्ता नलागेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

यसरी हराउनेमा एक-दुई जना मात्र होइन, वर्षमा १० हजार भन्दा बढी मानिस नै रहेका छन् । नेपाल प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/७८ मा मात्रै १० हजार ४१८ जना बेपत्ता भएका छन् । हराएकामध्ये थोरै मात्र फेला पर्ने गरेको प्रहरीको तथ्यांकले देखाउँछ । 

हराउनेमध्ये बढी महिला र बालिका छन् । आव २०७४/७५ देखि २०७७/७८ सम्ममा १९ हजार ९५ महिला र ८ हजार २८५ बालिका हराएका छन् । 
यो अवधिमा १० हजार ९३६ जना महिला र बालिका भेटिएका छन् । अझै  १६ हजार ४४४ महिला र बालिका बेपत्ता छन् । त्यस्तै, ११ हजार ५८८ जना पुरुष हराएकोमा ७ हजार २३३ जना फेला परेका छन् । 

नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले हराउनेमा पुरुषको तुलनामा महिला बढी रहेको बताए । 

किन हराउँछन् मानिस ? 
मान्छेको आकांक्षा, इच्छा, कौतुहलताले गर्दा आफ्नो इच्छाअनुसार पनि घरबाट निस्किने गरेको देखिएको प्रवक्ता कुँवरको भनाइ छ । महिला तथा बालिका बढी हराउनुको पछाडि सामाजिक सञ्जालको बढ्दो प्रयोग पनि रहेको उनको भनाइ छ । ‘पछिल्लो समय अत्यधिक सामाजिक सञ्जालको प्रयोगले कोही कसैको प्रलोभनमा परेर पनि घरबाट निस्किने गरेका छन् । कोही सहर जाने र आफूलाई स्वतत्र राख्ने चाहनाले पनि यस्तो देखिएको छ । कोही कामका लागि पनि परिवार नै त्यागेर हिँडेका छन्,’ एसएसपी कुँवरले भने । 

हराएका महिला र बालिकामध्ये केहीलाई आपराधिक प्रयोजनमा प्रयोग हुने गरेको समेत पाइएको उनले बताए । पारिवारिक सम्बन्ध बिग्रिएको वा डिप्रेसनका कारण पनि हराउनेको संख्या बढि रहेको एसएसपी कुँवर बताउँछन् ।   
राष्ट्रिय मानवअधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारीले हराउनेमा बढीजसो गरिब तथा ग्रामीण क्षेत्रका मानिस रहेको बताइन् । 

नियमित रूपमा विभेद खेप्दै आएकाहरू पनि गाउँघर छोडेर हिँडिदिने गरेको उनको भनाइ छ । ‘विभेद सहन नसकेर अर्को परिवेशमा हिँडिदिने, तर घर–परिवार, गाउँ–ठाउँसँगको सम्बन्ध नै विच्छेद गरिदिने गरेकाले पनि यस्तो समस्या देखिएको छ,’ अन्सारीले भनिन् । 

हराउनेमध्ये केही मानव बेचबिखनमा पर्ने गरेको उनको भनाइ छ । ‘गाउँमा छोरी÷चेली वा छोरालाई बेचिदिने गरेको पाइन्छ । यो समस्या एकल परिवारमा बढी छ,’ उनले भनिन्, ‘बाबु–आमामध्ये एक जना मात्र भएकाले अलिकति पैसा आयो भने सुटुक्कै बेचिदिने र प्रहरीमा हराएको उजुरी दिने पनि धेरै देखिएका छन् ।’ 

अर्को डरलाग्दो पाटो भनेको, पढाउने नाममा गुम्बाहरूमा राख्ने पनि गरिन्छ । प्रहरीले बेलाबेला गुम्बाबाट धेरैको उद्दार पनि गरेको छ । पढाइदिने बहानामा गुम्बामा राख्ने र त्यहाँबाट बाहिर पठाउने गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ । 

‘गुम्बामा ल्याएर त्यहाँबाट बाहिर पठाइदिने, धर्मपुत्र/धर्मपुत्रीको रूपमा आर्थिक लाभ लिएर बेचिदिने पनि गरिन्छ,’ मोहनाले भनिन्, ‘अहिले यसको स्वरुप परिवर्तन भइरहेको छ । एकल परिवारमा यस्तो समस्या छ । सामान्य पैसा लिएर नक्कली कागजपत्र बनाएर धर्मपुत्र धर्मपुत्री बनाएर बेचिदिने गरेका छन् ।’

शक्ति समूहकी अध्यक्ष चरिमाया तामाङले देशमा संकट, विपद्जस्ता समस्या आइपर्दा महिला र बालबालिका बढी बेचबिखनमा पर्ने गरेको बताइन् । गरिब, आर्थिक विपन्नता, पिछडिएका परिवारका महिला र बालिकाहरू बेपत्ता हुने गरेको उनको भनाइ छ । ‘आर्थिक सम्पन्नता भएका परिवारमा त्यति धेरै समस्या छैन । कमजोर परिवारमा भने यो समस्या बढी देखिएको छ । केही न केही कारण उनीहरू घरबाट निस्किने गरेको देखिएको छ,’ चरिमायाले भनिन् । 

हुँदैन तथ्यांक अध्यावधिक
हराएकामध्ये केही आपराधिक क्रियाकलापमा सहभागी हुने गरेको देखिएको प्रहरीले जनाएको छ । पछि उद्दार गरेर ल्याउँदा उनीहरु विभिन्न अपराधिक क्रियाकलापमा सक्रिय रहेको देखिने गरेको प्रहरी प्रवक्ता एसएसपी कुँवरले बताए । 

हराएकामध्ये केही भने परिवारको सम्पर्कमा समेत आउने गरेका छन् । तर, सम्पर्कमा आएपछि परिवारले प्रहरीलाई जानकारी नगराउँदा उनीहरू फेला परेको विवरणमा समावेश नहुने गरेको उनले बताए । 

‘हराइसकेपछि धेरैजसो मानिस सम्पर्कमा आएका हुन्छन् । तर, भेटिएपछि प्रहरीलाई जानकारी नदिँदा लगतमा हराएकै देखाउँछ,’ प्रवक्ता कुँवरले भने, ‘हराइसकेपछि उजुरी पर्‍याे भने खोजतलासी गर्ने र हरेक आर्थिक वर्षमा प्रहरीले सम्बन्धित व्यक्तिको परिवारसँँग सम्पर्क गरेर फेला परेको वा नपरेकोबारे लगत लिने काम पनि भइरहेको छ ।’ 

हराउनेहरूको पनि पूर्ण विवरण प्रहरीसँग नरहेको आयोगकी पूर्व सदस्य अन्सारी बताउँछिन् । दूरदराजका क्षेत्रबाट हराएकाहरूको तथ्यांक प्रहरीसँग छैन । सम्पर्कमा आएकाहरूले पनि आफ्नो बेइज्जत हुने डरले प्रहरीलाई जानकारी नदिने गरेको अन्सारीको भनाइ छ । 

‘प्रहरीमा उजुरी दियो भने बढी हल्लाखल्ला हुन्छ । घरपरिवारको बेइज्जत हुन्छ भनेर उजुरी पनि दिँदैनन् । कहीँ कतैबाट प्रहरीमा उजुरी पर्छ । तर, सम्पर्कमा आएपछि जानकारी दिँदैनन्,’ उनले भनिन् । 

महिला हराएमा खोजी नै हुँदैन 
समाज सबैभन्दा डराउने भनेकै इज्जतसँग हो । त्यो पनि ग्रामीण परिवेशको समाजले आफूमाथि विभेद भयो भने पनि सहेर बसेको हुन्छ । 
आफ्नो घरबाट छोरी चेली हरायो भने ‘पोइल गयो’ होला भनेर सोधीखोजी नै गर्दैनन् । यसको उदाहारणको रूपमा लिन सकिन्छ', बैतडीकी भागरथी भट्ट । 

स्कुलबाट घर फर्किने क्रममा उनी सम्पर्कविहीन भइन् । साँझ अबेरसम्म पनि घर नफर्किएपछि उनको सोधीखोजी गरियो । तर, सबैले उनी कतै ‘पोइल’ गएको हुन सक्ने र केही दिनमा जानकारी भइहाल्ने भन्दै खोजतलासीमा चासो देखाएनन् ।
 
अधिकांशले उनी पोइल गएको हुन सक्ने लख काटेपछि प्रहरीलाई समेत ढिला खबर गरियो । प्रहरीले खोजतलास गर्ने क्रममा दोस्रो दिन घर नजिकैको जंगलमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला प¥यो । 

घरबाट  छोरा मान्छे हराएको खण्डमा तत्काल सोधीखोजी गर्ने र महिला तथा छोरीचेली हराएको खण्डमा गुपचुप बस्ने गरिएको शक्ति समूहकी अध्यक्ष चरिमाया बताउँछिन् । 

‘हराइसकेपछि महिलाको खोजीनीति गर्ने चलन त्यति धेरै छैन । विशेषगरी ग्रामीण क्षेत्रमा यो समस्या बढी देखियो,’ उनले भनिन्, ‘यदि घरबाट कुनै महिला हरायो भने खोजतलासी नगर्ने, बरु घरको बोझ हट्यो भन्ने सोच राख्ने गरेको देखिन्छ ।’ 

विवाह गर्ने उमेरको छ भने त खर्च नै जोगियो भन्ने सोचबाट समाज अझै ग्रसित रहेको मानवअधिकारकर्मी अन्सारीको भनाइ छ । ‘हराएकी छोरीचेलीको भविष्यमा विवाह नहोला भन्ने चिन्ता पनि परिवारलाई परिरहन्छ । समाजले के भन्ला, आफ्नो इज्जत जाने डरलगायतका कारणले पनि खोजतलास गर्दैनन्,’ अन्सारीले भनिन्, ‘हराएर फिर्ता ल्याएकी छोरीको विवाह होला वा नहोला जस्ता सोचका कारण हरायो भने पनि खोजतलासी नगर्ने देखिएको छ ।’

समाजमा पुनःस्थापित हुन सकस 
समाजले महिला तथा बालबालिकामाथि गर्ने गलत व्यवहारका कारण उनीहरूलाई फर्किएर स्थापित हुन कठिन पर्ने गरेको छ । ‘हराएका महिला खोजतलास गरेर परिवारमा पुनःस्थापित गराउन निकै गाह्रो हुने गरेको छ,’ शक्ति समूहकी अध्यक्ष तामाङ भन्छिन्, ‘पहिलाको तुलनामा अहिले परिवारले पूरै अस्वीकार गर्ने अवस्था चाहिँ छैन । तर, अझै पनि सम्मानपूर्वक स्वीकार्ने कुरामा धेरै समस्या छ ।’ 

हरेक नागरिकले आफ्नो घरपरिवारसँगै सम्मानपूर्वक बाँच्न पाउने अधिकार संविधानले दिएको छ । तर, हराएकाहरूलाई समाजले त के घरपरिवारले नै स्वीकार गर्न सकिरहेको छैन । त्यसमा पनि महिलाको हकमा त अवस्था झनै सकसपूर्ण छ । 

हराएको व्यक्ति पनि यही समाजको सदस्य हो । समाजमा फर्कन पाउने उसको अधिकार हो । अन्य नागरिक सरहको व्यवहार उसमाथि पनि गरिनुपर्छ । समाजकै समस्य भएकाले उसको पनि मानव अधिकार हनन हुनु हुँदैन । उसले पनि आफ्नो परिवार र समाजमा सम्मानपूर्वक बाँच्न पाउनुपर्छ भन्ने विचारबाट अहिले पनि समाज अघि नबढेको अन्सारी बताउँछिन् ।  

यदि कुनै व्यक्ति समाजमा पुनःस्थापित भयो अर्को समस्या आइपर्छ । ऊ सधैंका लागि ‘विचरा’ बन्ने र हेयको सिकार हुनुपर्ने अवस्था छ । शक्ति समूहले अहिलेसम्म यस्ता धेरैको उद्दार गरिसकेको छ । तर, समाजमा पुनःस्थापित गराउँदा समाजमात्र नभएर राज्यका निकायबाट पनि सहयोग नपाइएको चरिमायाको गुनासो छ । 

यस्ता समस्यामा परेकाहरूको उद्दार गरेर समाजमा पुनःस्थापित गराउन विभिन्न सामाजिक संघसंस्थाले सहयोग गर्दै आएका छन् । तर, यसमा राज्यको सहयोग हुन सकेको उनी बताउँछिन् । ‘समस्यामा परेकाहरूको उद्दार गर्ने काम हामी सबैको हो, तर राज्यले नै हामीलाई सहयोग गर्न अवरोध गरिरहेको छ,’ उनी भन्छिन् । 

हराउने क्रम कसरी नियन्त्रण गर्ने ? 
हराउने दर नेपालमा दिनप्रतिदिन बढ्दो छ । सामाजिक सञ्जालको बढ्दो प्रयोगले यसलाई झनै बढाइरहेको छ । 
सामाजिक सञ्जालमार्फत युवा–युवतीबीच चिनजान हुन्छ । कुराकानी गर्दै जाँदा नजिकिँदै जान्छन् । त्यसपछि भेटघाटका लागि जान्छन् । त्यहीँबाट उनीहरू घरपरिवारको सम्पर्क बाहिर रहेन गरेका छन् । 

त्यस्तै, विभिन्न प्रलोभनमा परेर जाने र बेचबिखनको सिकारसमेत बन्ने गरेका छन् । त्यसको एउटा उदाहरण नुवाकोट दुप्चेश्वरकी एक महिलालाई लिन सकिन्छ । 

श्रीमान्ले दिनहुँ कुटपिट गर्न थालेपछि उनी कामको खोजीमा थिइन् । एकातिर श्रीमान् रक्सी खाएर आउने, अर्कोतिर आफूमाथि नै पैसा नदिएको भन्दै कुटपिट गर्न थालेपछि उनलाई जसरी पनि काम गर्ने र केही कमाउने बाध्यता थियो । 

त्यही क्रममा एकजना चिनजानका मान्छेले काम मिलाइदिने आश्वासन दिए । काम सजिलो र तलब पनि बढी दिने भनेपछि उनी खुसी भइन् । उनले सोचेकी थिइन्, काठमाडौंमै काम पाइन्छ । 

एकदिन उनलाई ती व्यक्तिले बोलाए । गाडी चढाइयो । उनी चढेपछि पेय पदार्थ खान दिइयो । त्यसपछि उनी बेहोस भइन् । उनी होसमा आउँदा गाडी भारतीय सीमा नाका नजिकै पुगिसकेको थियो । 

त्यहाँबाट उनलाई गाडीमै हालेर नयाँ दिल्ली लगियो । जहाँ उनी कोठीमा सस्तो मूल्यमा बेचिइन् । यता उनको परिवारले हराएको भन्दै प्रहरीमा उजुरी दियो । प्रहरीले खोजतलास पनि ग¥यो, तर कतै फेला परिनन् । 

उनी हराएको तीन वर्षपछि दिल्लीमा रहेको पत्ता लाग्यो । विभिन्न निकायको सहयोगमा उनको उद्दार त भयो, तर उनी समाजमा पुनःस्थापित हुन सकिनन् । सुरुमा उनी सामाजिक सञ्जालमार्फत ती पुरुषसँग नजिक नभएको भए सम्भवतः आज यो अवस्थामा पुग्ने थिइनन् । 

यसरी विभिन्न कारणले मानिसहरू बेचबिखनको सिकार बनिरहेका छन् । यता घरपरिवारको सम्पर्कमा नहुने, तर उता भने बेचिइसकेका हुन्छन् । 

बेपत्ता हुने तथा बेचबिखनलाई पूर्ण रूपमा नियन्त्रणमा लिन सकिने आयोगकी पूर्व सदस्य अन्सारी बताउँछिन् । ‘कतिपय देशले बेचबिखनलाई पूर्ण रूपमा नियन्त्रण गरिसकेका छन् । दक्षिण एसियाको अवस्था एकदमै कमजोर छ । नेपालको अवस्था झन खराब छ,’ अन्सारीले भनिन् । त्यसका लागि सबैभन्दा तल्लो निकाय स्थानीय सरकारले अग्रसरता लिनुपर्ने उनको भनाइ छ । 

‘एउटा गाउँमा कति नै मानिस हुन्छन् ? दुई हजार÷अढाइ हजारको हाराहारीमा जनसंख्या हुन्छ । स्थानीय सरकार, इलाका प्रहरी कार्यालयलगायतका तल्लो तहमा रहेका सरोकारवाला निकायले नै आफ्नो गाउँको सुरक्षा गर्न सकिहाल्छ । तर, कसैलाई मतलब छैन,’ उनले गुनासो गरिन् । 

स्थानीय तहले आफ्नो गाउँलाई नियमन गर्नुपर्ने उनको सुझाव छ । आफ्नो गाउँमा कतिजना बालबालिका छन् ? कतिजना विद्यालय जान्छन् ? कतिजना विवाह गर्ने उमेर पुगेका छन् ? आदि कुरा स्थानीय तहले नियमन गर्न सक्छ । ‘त्यति काम गर्न सकियो भने बेपत्ता हुने क्रम रोक्न सकिन्छ,’ उनले भनिन् । तर, स्थानीय तह आफ्नो गाउँघरको हितका लागि अगाडि बढेको देखिँदैन । 

अर्को कुरा बालबालिकालाई कुटपिट गर्ने, उनीहरूमाथि अनावश्यक ‘टर्चर’ दिनेजस्ता कार्य पनि बन्द गरिनुपर्ने उनको भनाई छ ।  ‘कतिपय बच्चाहरु आमा–बाबुले कुटेपछि घर छोडेर हिँडेका छन्,’ अन्सारीले भनिन्, ‘गाउँघरमा बच्चालाई कुट्नु हुँदैन भन्ने ज्ञान नै छैन । बच्चामा पनि आमाबाबुले कुटेकै भरमा घर छोड्नु हुँदैन भन्ने ज्ञानको अभाव छ ।’ 

स्थानीय तहपछि जिल्लास्तरीय संयन्त्र हुन्छ । यो संयन्त्रले पनि जिल्लाभरको अवस्था रेखदेख तथा नियन्त्रण गर्न सक्छ । 

सन् २०१५ को मध्यतिर राष्ट्रिय मानव अधिकार आयोगले गृह मन्त्रालयमार्फत देशभरका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गरेको थियो । भूकम्पपछि बालबालिका हराउने क्रम बढेको थियो । त्यसैलाई रोकथाम तथा नियन्त्रणका लागि आयोगले बालबालिकालाई जिल्ला स्थानान्तरण गर्दा जिल्ला कार्यालय तथा महिला विकास कार्यालयमा जानकारी गराएर मात्र गराउनु भनिएको थियो । 

भूकम्पपछि बालबालिका हराउने क्रम तीव्र भएको थियो । त्यो पनि घरपरिवारबाटै थोरै आर्थिक लोभका आधारमा छोराछोरीलाई पाल्नको लागि भनेर अरूलाई बेचिदिने गरिन्थ्यो । त्यसरी बेच्ने घरपरिवारले नै आफ्ना छोराछोरी हराएको भन्दै प्रहरीमा उजुरी दिन्थ्यो । यस्तो समस्या निकै बढेपछि आयोगले सरकारको ध्यानाकर्षण गराएको आयोगकी पूर्वसदस्य अन्सारी बताउँछिन् । 

बालबालिका हराएको खण्डमा तत्काल खोज्न सकिने संयन्त्र नै नभएको अवस्था छ । यसका लागि कानुनदेखि सामाजिक संरचना समेत प्रभावकारी बनाइनुपर्ने अन्सारी बताउँछिन् । 

भारतमा कुनै बालबालिका हराएको तीन महिनासम्म पनि फेला परेन भने त्यो स्वतः मानव बेचबिखनको मुद्दामा जान्छ । त्यो उजुरी स्वतः मानव बेचबिखनमा ‘सिफ्ट’ हुन्छ । तर, नेपालमा हराएको कुनै व्यक्ति नभेटिएको खण्डमा के गर्ने भन्ने संयन्त्र नै छैन । 
 
कमजोर प्रहरी
प्रहरी पनि यो विषयमा संवेदनशील देखिँदैन । यसको ज्वलन्त उदाहरणका रुपमा चितवनकी सुजिता भण्डारी बेपत्ता घटनालाई लिन सकिन्छ । 
उनी अपहरणको परेको भन्दै परिवारले त्यही दिन प्रहरीलाई जानकारी गरायो । तर, प्रहरीले उल्टै घरपरिवारलाई नै आफैंले लुकाएको आरोप लगाउँदै पन्छिन खोज्यो । 

प्रहरीको ढिलासुस्ती तथा लापरबाहीका कारण बेपत्ता भएको ९ दिनपछि घर नजिकैको जंगलमा सुजिता मृत फेला परिन् । मानिस हराएको खण्डमा प्रहरीले खोजतलासमा गम्भीर नबन्दा यस्ता खालका घटना बढिरहेको अन्सारीको बुझाइ छ । 

‘हराएका मानिस खोज्ने कुरामा प्रहरी एकदम कमजोर छ । केही भन्यो भने हामीले के गर्नु त भन्ने जवाफ दिने गरिएको छ,’ उनले भनिन्, ‘त्यसरी प्रहरीले हामीले के गर्नु त भन्ने जवाफ दिन मिल्दैन । कानुनको अभावमा अपराधी छोड्न मिल्दैन । नागरिकको सुरक्षा गर्न सकिँदैन भनेर प्रहरी पन्छिन कुनै पनि हालतमा मिल्दैन ।’ यदि बच्चा हरायो भने यति दिन भित्रसम्म भेटिएन भने के गर्ने भन्ने खालको संयन्त्रको विकास गरिनुपर्ने अन्सारी बताउँछिन् छ ।  

अबको बाटो 
सबैभन्दा पहिला आफ्नो परिवारको सदस्यबारे अभिभावक नै चनाखो बन्नुपर्छ । आफ्नो घरका सदस्यहरू के गर्दै छन् ? कस्तो अवस्थामा छन् ? कुनै जोखिममा त परेका छैनन् ? आदि कुरामा ध्यान दिनुपर्छ । 

विवाह गर्ने उमेरका छोरा-छोरीप्रति आमाबाबुले विशेष ध्यान दिनुपर्ने हुन्छ । त्यसपछि परिवारको कुनै सदस्य हराएको खण्डमा तत्काल प्रहरीलाई जानकारी गराउनुपर्छ।

हराएको उजुरी परेसँगै प्रहरीले खोजतलासमा गम्भीर भएर लाग्नुपर्ने हुन्छ । त्यसका लागि प्रहरी मात्र नभएर सरोकारवाला सबैले समन्वय गरेर अगाडि बढ्नुपर्ने प्रहरी प्रवक्ता एसएसपी कुँवर बताउँछन् । 

‘अहिले कोही व्यक्ति हरायो भने पनि परिवारबाटै सहयोग नमिल्ने, हराएको व्यक्तिबारे पूर्ण जानकारी दिन आनाकानी गर्ने, अन्य निकायबाट पनि सहयोग नहुने जस्ता समस्या छन्,’ कुँवरले भने, ‘हरेक मानिसको उत्तिकै जिम्मेवारी हुन्छ । यो काम त प्रहरीको मात्र हो भनेर समाजले पन्छिन मिल्दैन । एक सेकेन्ड पनि ढिला भयो हराएको व्यक्तिको ज्यान नै खतरामा पर्न सक्छ । त्यसैले सबैले गम्भीर बन्नुपर्छ ।’

  • प्रकाशित मिति : साउन ७, २०७८ बिहीबार १२:४६:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया