भत्किँदै गएको तीज गीतको बाटो
फरकधार / ७ साउन, २०७८

‘आहै ! आ... आ... मुने
लाहै ! मुने ला... ला...’
..............
‘पोहोर लगाएकी फरिया, छोपिएछ खुट्टा
अहिलेको तीजमा छपक्क कट्टु
कट्टुमा नि बुट्टा’
.................. 
‘मेरो त पिठ्युँमा बेस्सरी चिलायो
बैँस पो चढ्याे कि
जुम्रा पो पर्‍याे कि
ए होइ
मलाई कन्याइदेऊ न बाइ’



पछिल्ला केही वर्षयता तीज नजिकिँदै गर्दा यस्तै गीतका म्युजिक भिडियोले युट्युब भरिँदै आएका छन्। यो वर्ष पनि कलाकारले यस्तै प्रकारका गीत सार्वजनिक गर्न सुरु गरिसकेका छन् । भद्दा ठट्यौली समेटेर तयार पारिएका यस्तै गीतलाई तीज गीतको नाम दिइएको छ ।

पछिल्ला वर्षहरूमा तीजका नाममा सार्वजनिक हुने गीतले तीजको मर्म नबोकेको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गर्दै आएका छन् । तीज गीतका नाममा निर्माण भएका कतिपय म्युजिक भिडियो पनि उच्छृङ्खल बनाइएका छन् । त्यसैले पनि होला यो वर्षको तीज गीत रेकर्डको सिजन सुरु हुन नपाउँदै ‘नेपाल लोकदोहोरी प्रतिष्ठान’ले तीजका नाममा उच्छृङ्खल गीत निमार्ण नगर्न निर्देशन नै दिएको थियो ।

महिलाहरूले दिल खोलेर गाउने र उन्मुक्त भएर नाच्ने पर्व हो तीज । तीजको आफ्नै मर्म छ । तीज गीतको आफ्नै सौन्दर्य छ । तीज गीतको आफ्नै समयसीमा छ । उहिल्यै नाग पञ्चमीदेखि पञ्चमीसम्म तीज गीत गाउने प्रचलन थियो । हिजोआज वैशाख लाग्दा नलाग्दै रेकर्डिङ सुरु हुन्छ । केही वर्षयता सार्वजनिक भएका तीज गीतलाई हेर्ने हो भने अधिकांशले तीजको मर्म बोकेको पाइँदैन । तीज गीतको नाममा विभिन्न खाले द्विअर्थी शब्दावली राखेर बेसुरमा स्वर घुमाइएका गीतहरू सार्वजनिक भइरहेका छन् ।



समयसँगै सबै कुरा परिवर्तन हुँदै आइरहेको छ । समयसँगै परिवर्तन भएका संस्कार र पुस्ताको मारमा पर्दै गएको छ नेपाली गीत संगीतको इतिहास पनि । कुनै एक समय थियो- हरितालिका तीज नजिकिँदै गर्दा ‘तीजको रहर आयो बरिलै’ हर कुनै ठाउँमा गुञ्जने गर्थ्याे । यही गीत रेडियाबाट बज्न थालेपछि बल्ल तीजको सिजन सुरु भएको महशुस गर्थे दिदीबहिनीहरूले । चलचित्र कन्यादान लागि तयार पारिएको यो गीत निकै लोकप्रिय पनि बन्यो । यो गीतले लामो समय तीजको लहर ल्यायो । आज पनि उत्तिकै लोकप्रिय । हजारौँको संख्यामा तीजका गीतहरू तयार पारिएका भएपनि आज पनि तीज आउनासाथ धेरैले यही गीत सम्झन्छन् ।

पहिला पहिला तीज गीत मार्फत छोरीचेलीहरू आफ्ना पीडा पोख्थे । समयसँगै यी र यस्ता खालका पीडाका भावबाट चेलीहरू अलि माथि उठेर अधिकारका गीत गाउन थाले । केही वर्ष अघि तीजको छेको पारेर नारी अधिकार र नारी शक्तिका गीत खुब गुञ्जन्थे । पछिल्लो समय तीजको छेको पारेर नारी अधिकारको वकालत गर्ने खालका गीत संगीत पनि हराउँदै गए । गीत संगीतले मारेको फड्कोलाई हेर्दा नेपाली चेलीहरू अधिकार सम्पन्न भएछन् भन्ने लाग्छ । अहिले समयले त्यो चरण पनि पार गरेको छ । पछिल्लो समयका तीज गीतहरू श्रीमान, श्रीमती तथा प्रेमी प्रेमिकामा मात्रै सीमित बनेर उत्पादन हुन थालेका छन् । 

तीज गीतको सिजन सुरु भएसँगै विभिन्न कलाकार विवादमा आइरहन्छन् । तीज गीत विवादमा सबैभन्दा धेरै मुछिएकी कलाकार हुन् ज्योति मगर । उनीसँगै प्रिती आले, सोफिया थापा, एकनारायण भण्डारी, पशुपति शर्मा लगायतका कलाकार पनि विवादमा आइरहन्छन् । नेपाली तीज गीतको स्वरूप सोफिया, ज्योती र प्रितीहरूले मात्रै भत्काएका भने होइनन् । 

झन्डै १५ वर्षअघि गायिका कोमल वलीले ‘पोइल जान पाम्’ बोलको गीत गाएपछि तीज गीतले फरक बाटो समातेको हो । त्यतिबेला वलीकोे निकै आलोचना भएको थियो । ‘बाबाको दैलामुनि बोटै छ है बयर, छोरी धेरै भनेर हेला नगर’ जस्ता तीज गीत गाएकी वलीको विरोध मात्रै भएन, त्यतिबेला दण्डपाणि पाण्डेले ‘पोइल जान पाम’ भन्नेलाई मैले लान पाम’ भन्दै गीतै निकालेका थिए । 

त्यसपछि बिस्तारै तीज गीतको ‘ट्रेन्ड’ परिवर्तन हुँदै आयो । हरेक वर्ष सांगीतिक बजारमा तीज गीतका विषयमा केही न केही विवाद भइरहेकै हुन्छ । तीज गीतमा महिलाका वेदना समेटिएन भनेर धेरै आलोचना हुने गरेको छ । 

कलाकारका आफ्नै तर्क 

गायिका प्रिती आले तीज गीत गाउने नाउँमा अरूले हिँडेकै बाटो हिँड्न तयार छैनिन् ।  उनी भन्छिन्, ‘सबैले हिँडेको बाटोमा उही ढर्रामा हिँड्नुपर्छ भन्ने छैन । म युवा पुस्तालाई लक्षित गरेर गीत गाउँछु, उनीहरूले मन पराएका छन् । उनीहरूले पोख्ने भावना फरक छन् । समाज फरक भइसक्यो ।’

तीज भन्नेबित्तिकै साडी लगाएर नाच्नुपर्ने कुरा कहीं उल्लेख नभएको संगीतकार सुरेश अधिकारी बताउँछन् । अधिकारी भन्छन्, ‘कुनै समय थियो, नेपाली नारीहरूको पहिरन नै साडी मात्रै थियो । समय परिवर्तनसँगै उनीहरूले आफ्नो सहजता हेरेर पहिरन परिर्वतन गरे । तीजको एक दिन भए पनि साडी लगाउने चलन थियो,  लगाए । त्यसैले सारी तीजको पहिरन जस्तो बनिदियो । हेर्नेहरूले साडी बाहेकका अरू पहिरन लगाएका गीतलाई उछृंखल भनेर परिभाषित गरे । यो हाम्रै कमजोरी हो ।’

सर्जक एकनारायण भण्डारी पनि तीज गीतका नाममा महिलाले विगतमा झैं रोनाधोना नै गरिरहनुपर्छ भन्ने पक्षमा छैनन् । ‘हिजो गीतमा सासूले खान नदिएको, श्रीमानले माया नगरेका विषय प्रस्तुत हुन्थे । समाजको संरचना त्यस्तै थियो’, उनले भने,‘समाज जति परिवर्तन हुनुपथ्र्यो, हामी जति अगाडि जानुपर्थ्याे, त्यति भएकै छैन ।’ 

तीज गीतमा कला नपुगेको भने भण्डारी स्वीकार गर्छन् । सबै कुरा सबै मान्छेले स्वीकार गर्नैपर्छ भन्ने नभएको बताउँदै भण्डारी भन्छन्, ‘संसारमा सबै मान्छेलाई मन पर्ने कुनै चीज पनि छैन । मान्छेले भगवान् त फरक फरक मन पर्‍याउँछन्, अरू त सामान्य कुरा हुन् ।’

पाको पुस्ताको आफ्नै चिन्ता

लामो समयदेखि मौलिक तीज गीत गाउँदै आएकी हरिदेवी कोइराला पछिल्लो समयमा आधुनिकताका नाममा भड्किलो तीज गीत मौलाएको भन्दै चिन्ता व्यक्त गर्छिन् । अहिलेका कलाकारले सामान्य भेद समेत थाहा पाउन छाडेको कोइरालाको तर्क छ । पर्व विशेष गीतले संस्कृतिको जगेर्ना गर्नुपर्ने उनको भनाइ छ । पछिल्लो समयका तीज गीतले पर्वको मर्म समेत मारेको उनी बताउँछिन् । पर्व विशेष गीत गाउँदा विशेष ख्याल गर्न समेत उनले आग्रह गरेकी छिन् । 

संस्कृतिविद् जगमान गुरुङ पनि तीजको मौलिक संस्कृति हराउँदै गएको उनको भनाइ छ । उनी भन्छन्, ‘आधुनिकताका नाममा संस्कृतिको मर्म हराउँदै गएको छ, यसले समाजमा नकारात्मक असर गर्दछ ।’ अहिलेको तीज गीत सुनेर र म्युजिक भिडियो हेरेर भोलिको पुस्ताले तीजको वास्तविकता कसरी बुझ्लान् भन्ने गुरुङको चिन्ता छ ।

गायक-गायिका जन्माउने पर्व

नेपाली सांगीतिक क्षेत्रमा थुपै्र गायक गायिका तीज गीत गाएर आएका छन् । धेरै कलाकार तीजमा मात्रै चर्चामा आउँछन् । तीजको सिजन सुरु भएसँगै गीत गाउने र म्युजिक भिडियो बनाउनेहरूको सूची लामै बन्छ । तीज गायक-गायिका उत्पादन गर्ने कारखानाजस्तै बन्ने गरेको छ । 

तीज गीतमा पुरुष

तीजमा सबैभन्दा धेरै व्यस्त हुने कलाकार हुन् पशुपति शर्मा । तीज गीतमा पशुपति शर्मा हावी नै हुन्छन् । उनी हरेक तीजमा ठट्यौली शैलीका गीत सार्वजनिक गर्छन् । महिलाको पर्व तीजमा महिला गायिकाको भन्दा पशुपतिकै पल्ला भारी हुने गरेको छ । 

पशुपति मात्रै होइन् पछिल्ला केही वर्षयता तीज गीतमा पुरुषको सहभागिता बढ्दै गएको छ । खुमन अधिकारी, दुर्गेश थापा, हरि बिष्ट र खेम सेन्चुरी हरेक वर्ष तीजमा चर्चामा आउने कलाकार हुन् । यस वर्ष सार्वजनिक भएका अधिकांश गीतमा पनि पुरुष सहभागिता रहेको छ । 

पछिल्लो दशक ह्वात्तै बढेको पुरुष सहभागिताले महिलाको मुद्दा उठानमा सहयोग गर्‍याे गरेन भन्ने बहस सुरु भएको छ । कतिपय अवस्थामा तीज गीतको मर्ममै प्रश्न खडा गरिदियो भन्ने बहस पनि सुरु भएको छ । अधिकांश पुरुषले सिर्जना गरेका तीज गीतमा महिलाका मुद्दा उठानभन्दा पनि स्त्री अंगको वर्णन, सौन्दर्यको नाममा भद्दा मजाक र होच्याउने विषय समावेश भएको पाइन्छ । 

वरिष्ठ गायिका हरिदेवी कोइरालाले तीजका गीत महिलालाई नै गाउन र सिर्जना गर्न आग्रह गरेकी छिन् । उनी भन्छिन्, ‘अरू गीत त अरू बेलामा पनि गाउन सकिन्छ, कम्तीमा तीजमा तीजकै गीत गाउनुस् ।’ 

लोकगीत अनुसन्धाता नवीन खड्का तीज गीतमा पुरुष सहभागिता नेपाली लोक परम्परामा नपर्ने बताउँछन् । तीजका गीत, भैलेनी र रत्यौली पुरुषले गाउन नमिल्ने उनको तर्क छ । तीज गीत गाउने पुरुषहरूले चेली माइतीको गीत गाएको भन्ने तर्क गर्दै आएपनि आफूले ती गीतहरूमा माइतीको स्वाद नभेटेको खड्काले बताए । यस बारेमा खड्का भन्छन्, ‘पुरुष सहभागिता भए पनि बाबुले छोरीलाई दिएका ज्ञान, दाजुभाइले दिदीबहिनीसँग साट्ने भावना तीज गीतमा समावेश हुनुपर्छ ।’  
 

  • प्रकाशित मिति : साउन ७, २०७८ बिहीबार १३:५६:५६,   अन्तिम अपडेट : साउन ७, २०७८ बिहीबार १६:६:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया