पार्टीलाई दृढताका साथ अघि बढाउन नेतृत्व लिन चाहन्छु : निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीलाई दृढताका साथ अगाडि बढाउन आफूले नेतृत्व लिन चाहेको बताएका छन् । आफूले कसैलाई पराजित गर्ने मनसायका साथ नभई पार्टीलाई जिताउनका लागि सभापतिमा उम्मेदवारी दिन लागेको उनको भनाइ छ ।
 
बिहीबार महोत्तरीको जलेश्वरमा महेश्वरप्रसाद सिंह स्मृृति भवनको उद्घाटन एवं नेता महेश्वर सिंहको सालिक अनावरण कार्यक्रममा प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै नेता निधिले पार्टीलाई थप सुदृढ बनाएर अगाडि बढाउने इच्छाका साथ सभापतिमा आफ्नो उम्मेदवारी घोषणा गरेको स्पष्ट गरे। 

उनले भने, ‘पार्टीले पछिल्लो निर्वाचनमा बेहोरेको हारलाई बिर्संदै थप ऊर्जा प्रदान गर्नका लागि मैले उम्मेदवारी दिन लागेको छु र यसमा सम्पूर्ण नेता कार्यकर्तालाई साथ र सहयोग गर्न अपिल समेत गर्दछु ।’

नेपाली कांग्रेस परिवर्तन, प्रणाली र संविधान पक्षधर पार्टी रहेकाले पार्टीको यस लाइनलाई थप मजबुत बनाउने उनको प्रतिबद्धता थियो । नेपाली कांग्रेसकै नेतृत्वमा संविधानको शतप्रतिशत कार्यान्वयन हुने नेता निधिको दाबी थियो ।
 
निधिले नेपाली कांग्रेसको नेतृत्वमा स्थायी सरकार बनिसकेको र यो सरकारलाई कसैले हल्लाउन नसक्ने दाबी समेत गरे । अबको डेढ वर्षपछि हुने निर्वाचन गराउने जिम्मेवारी पनि नेपाली कांग्रेसकै काँधमा रहेकाले यो अवधिमा अहोरात्र जनतामाझ गएर खट्न नेता कार्यकर्तालाई उपसभापति निधिले निर्देशन समेत दिए ।

उपसभापति निधिले प्रजातान्त्रिक आन्दोलनका योद्धा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं मन्त्री महेश्वरप्रसाद सिंहको सालिक अनावरण गरेका छन् ।

काठमाडौंबाट सडक मार्ग हुँदै महोत्तरीको बर्दिबाससम्म आइपुगेका निधिलाई नेता कार्यकर्ताहरुले भव्य स्वागत गरेका थिए । 
उपसभापति निधिलाई स्वागत गर्न सयौँ सवारीसाधन लिएर नेता–कार्यकर्ता बर्दिबास पुगेका थिए । मोटरसाइकल र चारपाङ्ग्रे सवारी साधनको लावालस्करले पूर्वपश्चिम राजमार्ग अवरुद्ध बनेको थियो ।

बर्दिबासबाट जलेश्वरसम्म करिब २५ किलोमिटरको यात्रा गर्दा उनलाई विभिन्न पालिकामा स्वागत गरिएको थियो ।



बिहीबार अनावरण गरिएकाे कांग्रेस नेता महेश्वर सिंहको सालिक । तस्बिर दीपक कर्ण/फरकधार



  • प्रकाशित मिति : साउन ७, २०७८ बिहीबार २०:५५:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया