राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले चुनाव जित्नका लागि खर्च गर्ने तर चुनाव जितेपछि भ्रष्टाचार गर्ने सर्वस्वीकार्य विषय भएको समेत बताए ।
४३ औँ पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा आयोजित नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक प्रवचन कार्यक्रममा बोल्दै केसीले चुनाव जितेपछि भ्रष्टाचार गर्ने सर्वस्वीकार्य विषय भएको बताएका हुन् ।
कार्यक्रममा बोल्दै अध्यक्ष केसीले ५ दलको एकताले संविधान र संसद जोगाएको पनि बताएका छन् । अध्यक्ष केसीले सर्वोच्चको फैसला स्वीकार्य रहेको बताउँदै राष्ट्रपतिको भूमिका अलोकतान्त्रिक भएको समेत आरोप लगाए ।
अहिलेको संविधान जोगिएको र अबको दिनमा संसोधन गरेर अझै उत्कृष्ट संविधान बनाउने बताउँदै केसीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले विचित्रको काम गरेको बताए ।
अध्यक्ष केसीले जनता कोरोनाबाट बच्न खोप उपलब्ध गराउनुपर्ने बेलामा ओली नेतृत्वको सरकारले भोट मागिरहेको र संविधान च्यात्न खोजेपछि संघर्षमा जानुपरेको समेत बताए ।
केसीले भने, ‘हामीले समर्थन गरेका हौँ, तर तिघ्रामा पिप जम्मा भएपछि निचोरेर फाल्नुपर्छ, पार्टीभित्रकै साथीहरुले संघर्ष गर्नुभयो, ५ दलको एकताले धर्मनिरपेक्षता गणतन्त्र लगायतका उपलब्धिहरुलाई बचाउने काम भएको छ, संसद कम्तिमा पनि १८ महिना बच्ने भयो, यो फैसला हामीलाई स्वीकार्य छ, तर राष्ट्रपतिको भूमिका अलोकतान्त्रिक देखिन्छ, केपी ओलीको सरकारले विचित्रकै काम गरेको छ, जनता खोप भनिरहेको बेलामा सरकार भोट भनिरह्यो ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।