काङ्ग्रेस जिल्ला सभापतिसँग फरकधार
चार वर्षमा हुनुपर्ने महाधिवेशन पाँच वर्षमा पनि गर्न नसक्ने यो कस्तो नेतृत्व ?

(सम्पादकीय नोटः नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन काठमाडौंमा १६-१९ भदौमा हुने तय भएको छ । यही सन्दर्भमा फरकधारले नेपाली काङ्ग्रेसका जिल्ला सभापतिहरुसँग उनीहरुले यो महाधिवेशनलाई कसरी हेरिरहेका छन् र पार्टीमा के होस् भन्ने चाहन्छन् भन्ने दुई प्रश्नमा आधारित रहेर प्रश्न गरेको थियो । जिल्ला सभापतिहरुसँग फरकधारले गरेको कुराकानी अब क्रमशः फरकधारमा प्रकाशित हुनेछ ।)

हामी नेपाली कांग्रेसको १४ औं महाधिवेशन गर्नै पर्ने बाध्यतामा छौं । अबको नयाँ नेतृत्वमा २१ औं शताब्दिको नेपाली कांग्रेसलाई ड्राइभ गर्न सक्ने योग्यता, क्षमता, लोकप्रियता भएको व्यक्तित्वको आवश्यकता छ । अहिले हामी त्यही खोजीमा छौं । यो टिममा भएका ७÷८ जना नेताहरु सभापतिका लागि उम्मेदवारी दिने भनेर अगाडि सर्नुभएको छ । उहाँहरुमध्ये १ जनालाई सभापतिमा उम्मेदवारी बनाउने र संस्थापन पक्षको अहिलेको सभापति भर्सेस १ जना हुँदा पनि ६० प्रतिशत आममहाधिवेशन प्रतिनिधिको मत यो पक्षमा छ । र, सभापतिको निर्वाचनमा उहाँहरुले जित्नु हुनेछ । खासमा अब हामीले वैचारिक बहस गर्न सक्ने नेतृत्व खोज्नुपर्ने अवस्था देखिएको छ । 

कमसेकम १ घण्टा सत्तापक्षको नेताको हैसियतले वा प्रतिपक्षकै नेताको हैसियतले बहस गर्न सक्ने, राष्ट्रिय–अन्तर्राष्ट्रिय रुपमा आफ्ना विचार व्यक्त गर्न सक्ने नेतृत्वको खोजीमा छौं हामी । अहिले भएको नेतृत्वमा त्यो क्षमता देखिएन, त्यो खालको परिस्थिति पनि देखिएन । जसको कारण हामी कांग्रेस इतिहासमै सानो भएर खुम्चिनुपर्ने अवस्थामा पुग्यौं । त्यो इतिहासमै खुम्चिएको सानो कांग्रेसलाई फेरि हिजोको जस्तै इतिहासकै बलियो पार्टीको रुपमा स्थापित गर्नका लागि हामी लागिपरेका छौं । 

त्यसका लागि यो नेतृत्वमा सक्षमता देखिएको छैन । जसरी प्रस्तुत हुनपर्ने थियो, त्यो अवस्थामा प्रस्तुत भएको देखिएन । हिजोको हाम्रो इतिहासको जस्तै कांग्रेस पार्टीको रुपमा रुपान्तरण गर्न धैरै चुनौती छन् । त्यसकारण हामी आगामी नेतृत्वका लागि सक्षम, योग्य र २१ औं शताब्दि सुहाउँदो र युवालाई पनि समेट्न सक्ने र पार्टीभित्र ४०–६० भागबण्डाको अन्त्य गर्न सक्ने व्यक्तिको खोजीमा छौं । पार्टीभित्र योग्यता, क्षमता, बलिदानी, पपुलारिटी, त्याग–तपस्यालगायतका विषयलाई मूल्यांकन गर्न सक्ने नेतृत्व आवश्यक छ । 

बिपी कोइरालाले भन्नुहुन्थ्यो– पार्टीमा सुकिला–मुकिला, चिल्ला गाडी चढ्ने र सुटकेस बोक्नेहरु हावी हुनेछन् । त्यो बेलामा इमानदार, कर्तव्यनिस्ठ कार्यकर्ताहरुले आन्दोलित हुनुपर्नेछ । त्यो आन्दोलनबाट आएको लोकतन्त्र सधैंका लागि हुन्छ भनेर भन्नुभएको थियो । त्यस्तै, आज नेपाली कांग्रेसभित्र सुकिला–मुकिला पैसावालहरु हावी भएको अवस्था छ । यसलाई अन्त्य गर्ने र निष्ठावान् कार्यकर्ताको मूल्यांकन गर्ने क्षमता भएको नेतृत्वको खोजीमा हामी छौं । 

युवा नेतृत्वको बहस 



अहिले पार्टीमा पुराना नेताहरुको वा उमेर बढी भइसकेका नेताहरुको जोश र होस दुवैलाई मिलाएर अघि बढ्नुपर्ने अवस्था छ । होसपूर्ण रुपमा पार्टीलाई अघि बढाउन व्यवस्थापन पनि मिलाउनुपर्छ । युवाहरुको जोशलाई पनि पार्टीभित्र स्थापित गर्दै लैजानुपर्छ । पार्टीभित्र देखिएको जोश र होसलाई समायोजन गरेर १४ औं महाधिवेशनले पदाधिकारी स्थापित गर्ने वातावरण बनाउनुपर्छ । ८४ वर्षको उमेरमा गिरिजाप्रसाद कोइरालाले २० वर्षको जस्तो गरेर संगठनका लागि काम गर्नुभयो । यसले गर्दा जसले जतिबेला पनि २० वर्षको युवाजस्तो जोश देखाउँछ त्यसलाई पार्टीले मूल्यांकन गर्नुपर्छ । 

उमेरलाई भन्दा पनि उसको जोश र जाँगरलाई हेर्नुपर्छ । जोश र होस दुवै मिलाएर १४ औं महाधिवेशनमा पदाधिकारी छान्नुपर्छ । नेपाली कांग्रेसलाई हिजोकै अवस्थामा ठूलो पार्टीको हैसियतमा पुर्याउन सकिन्छ । 



 

कांग्रेसमा परिवारवाद ?

जसले पार्टीमा त्याग–तपस्या गर्छ, जसले बलिदानी गर्छ, जसले निरन्तर रुपमा काम गर्दै आउँछ त्यसले स्थान पाउनपर्छ । परिवारका नाममा राजनीति गर्ने, अरु केही पनि नगर्ने, सुतेर बस्ने, जागिर खाने विदेश जाने अनि परिवारका नाममा यहाँ आएर राजनीति गर्न थाल्यो भने परिवारवादको कुरा पनि आउँछ । 

अब सधैं हामीसँगै बसेर राजनीति गरेकाहरुलाई परिवारवाद भन्न मिल्दैन । जो जेलमा बस्यो, आन्दोलनमा लड्यो, विभिन्न चरणमा सहभागिता रह्यो भने त्यहाँ परिवारको कुरा गर्नु हुँदैन । उसले पनि परिवारको नाताको रुपमा धेरै कुरा त्यागेको हुन्छ । म त्यसरी कुनै वादका कुरा गर्दिनँ, उसको त्यही परिवारमा जन्म भयो, त्यहाँ त्यही राजनीतिको बारेमा सुन्यो भने किन राजनीति गर्न नपाउने ? ऊ त्यो परिवारको सदस्य भएको हुनाले जेल बस्यो, लठ्ठी खायो भने उसको पनि त्याग हुन गयो नि ! त्यसलाई चाहिँ परिवारवाद भन्न मिलेन । अरु कोहीभन्दा मेरो भूमिका कम छैन भने मलाई परिवारवाद भन्न मिल्दैन । 

म भन्दा बढी लगानी छ, त्याग–तपस्या छ, पार्टीभित्र संगठन गरेको छ भने अरु कोही आउन सक्छन् । नत्र त मैले नै खोज्ने हो नि ! ऐतिहासिक आन्दोलनहरुमा लागेको, पार्टीभित्र काम गरेको, अन्य लगानी सबै कार्यकर्ताले मूल्यांकन गर्छन् । हामीले कहीँ–कसैलाई परिवारका नाममा भन्ने भन्दा पनि उहाँहरुको हिजो पार्टीभित्र भएको लगानीलाई मूल्यांकन हुनुपर्छ । 

 

कसरी गर्ने महाधिवेशन ?

महाधिवेशन नेपाली कांग्रेसको विधानले स्पष्टसँग ४ वर्षभित्र गर्नपर्छ भनेको छ । १३ औं महाधिवेशन सकिएको दिनमा हाम्रो सभापतिलाई के थाहा छ भने, आजको ४ वर्षपछिको यही मितिमा गर्नुपर्छ भन्नेपनि स्पष्ट छ । त्यो कुनै भूकम्प आएको होइन, बाढीपहिरो आएको होइन, कोभिड आएको  पनि होइन । उहाँले ४ वर्षभित्र महाधिवेशन गर्ने इच्छाशक्ति राख्नु भएन । ५ वर्ष पुग्यो । त्यो पनि कांग्रेसको विधान अनुसार नै पुग्यो । 

विधान अनुसारको मिति सकिएर नेपालको संविधान २६९ को उपधारा ४ को शरणमा छौं । यो अवधिभित्र नेपाली कांग्रेसको वैधानिकताको प्रश्न उठेको छ । नेपाली कांग्रेसको वैधानिकतामा कतै आँच आउने भयो भने इतिहासमै सबैभन्दा बढी कलंकित नेतृत्व नै हुन्छ भन्ने तथ्य समयले प्रमाणित गर्ने छ । 

त्यसकारण यो कलंक पार्टी सभापतिलाई लाग्ला, उहाँका पदाधिकारीलाई अनि ७७ वटै जिल्लाका पदाधिकारीहरूलाई पनि लाग्न सक्छ । कहीँ न कहीँ छाप त अलिअलि लाग्छ नै । हाम्रो स्पष्ट दायित्व के हो भने, भदौ १९ गतेभित्र कांग्रेसको महाधिवेशन सक्नुपर्ने छ । निर्वाचन आयोगमा हाम्रो अधिवेशन सकियो भन्नुपर्ने छ । आयोगले के भन्छ भने, प्रदेश र संघको निर्वाचन हुनुपर्ने छ, नेपाली कांग्रेसको १२४ औं महाधिवेशन संविधानले चिन्दैन । संघको पदाधिकारी र प्रदेशको पदाधिकारी हुनुपर्ने भन्नेमात्र चिन्छ । उसले निर्वाचन चिन्छ । त्यसले गर्दा हामीले प्रदेश र संघको पदाधिकारीको निर्वाचन भएको आयोगमा जानकारी गराउनै पर्छ । त्यसपछि नेपाली कांग्रेसको पदाधिकारीको प्रश्न बन्द हुन्छ । नत्र हामीलाई संकट छ । यसको दायित्व र जिम्मेवारी हामीसँगै छ । कुनै पनि हालतमा कुनै षड्यन्त्र नगरी महाधिवेशन हुनुपर्छ । 

अहिले पनि महाधिवेशन गर्न नदिने केही षड्यन्त्र भइरहेको जस्तो देखिन्छ । त्यसकारण अधिवेशन सम्पन्न गर्नुपर्छ भन्ने म जस्तै देशभरका सभापतिहरूले ३ वर्ष भएदेखि महाधिवेशन समयमै गर्नुपर्छ भनेर आवाज उठाइरहेका छौं । तर, ५ वर्ष बित्दा पनि महाधिवेशन गर्न नसक्ने कस्तो नेतृत्व चयन गरे छौं भन्ने कुरामा पश्चाताप पो छ त !

(केसी सभापति नेपाली कांग्रेस, नुवाकोटका सभापति हुन् ।) 

यही सिरिजमा यसअघि प्रकाशित अन्य जिल्ला सभापतिका यी विचार पनि पढ्नुहाेस्–

‘कांग्रेसको इतिहास संरक्षण गर्ने नेतृत्व आवश्यक छ’— काठमाडाै‌ं सभापति

‘हामी संकटपूर्ण महाधिवेशनको मुखमा छौँ’— काभ्रेपलान्चाेक सभापित

‘नयाँ नेतृत्व, नयाँ विचार, नयाँ ढंग, नयाँ कार्यक्रमका साथ कांग्रेस अगाडि बढ्नुपर्छ’— सिन्धुपाल्चाेक सभापति

‘युवाहरुले धारणा नबदल्ने हो भने नेतृत्वमा आउँदैनन्’— भक्तपुर सभापति

 

  • प्रकाशित मिति : साउन ८, २०७८ शुक्रबार १७:४२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया