बाहिरिँदै नेकपाभित्रकाे असन्तुष्टि !

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली ६ असोज साँझ संयुक्त राष्ट्रसंघको ७३औं महासभामा भाग लिन अमेरिका प्रस्थान गर्नुपूर्व अकस्मात् नेकपाले एक सर्कुलर जारी ग¥यो । नेकपाको लेटरहेडमा जारी गरिएको उक्त सर्कुलरमा प्रदेशका अध्यक्ष र इन्चार्ज तोकिएको थियो । नेकपाले सर्कुल जारी गरेको केही घण्टामा नै नेकपाभित्रका विवाद विस्तारै छताछुल्ल हुन थाले । 

एकतामा झलनाथ नभएपछि

प्रदेश र प्रतिनिधिसभाको चुनावमा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रले १७ असोजमा वाम गठबन्धन बनाएर जाने निर्णय गरे । पार्टीको निर्णयपछि सिंगो देशमा नै प्रदेश र प्रतिनिधसभाको चुनावमा नेकपाले बहुमतसहित चुनाव जित्यो । यसैबीच, ३ जेठमा एमाले र माओवादी केन्द्रबीच एकता भयो । पार्टी एकता घोषणासभाको एक साताभित्र नेकपाका नेताहरूको असन्तुष्टि बिस्तारै बाहिरिन थाल्यो । र, सुरु भयो नेकपा नेताका विवादकाे शृंखला । 

३ जेठमा एकता भएपछिको केही दिनमा नै तत्कालीन नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले आफ्नो असन्तुष्टि पोखे । पार्टी एकता घोषणासभा हुँदा खनाल काठमाडौंमा थिएनन् । उनी छिमेकी राष्ट्र चीनमा व्यावसायिक कामले व्यस्त थिए ।

आफू विदेशमा भएको वेला पार्टी एकता गरेको र आफ्नो वरीयता खोसिएकोमा खनालले नेपाल फर्किएपछि असन्तुष्टि पोखे । उनको असन्तुष्टिलाई नेकपाले अहिलेसम्म पनि सम्बोधन गर्न सकेको छैन । त्यसो त उनी पनि त्यसपछि यस विषयमा मौन छन् । स्रोतका अनुसार प्रधानमन्त्री ओलीसँगको छलफलपछि खनाल यो विषयमा केही नबोल्ने मनस्थिति बनाएर बसेका छन् । 


वामदेवलाई सांसद बनाउन खोज्दा...



तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकताको सूत्रधार मानिएका नेता वामदेव गौतमले चुनावमा पराजित भए । पावरफुल मन्त्री नै बन्ने आकांक्षा राखेका गौतमले चुनाव हारेका कारण मन्त्री त परै जाओस् संसद्भित्र पनि छिर्न सकेनन् । अनि नेकपामा हल्ला चल्न थाल्यो वामदेवलाई सांसद बनाउने भनेर । 

डोल्पाबाट निर्वाचित सांसद धनबहादुर बुढालाई राजीनामा गर्न लगाएर वामदेवलाई सांसद् बनाउने भनेर उनलाई मनाउने प्रक्रिया सुरु भयो । तर, प्रधानमन्त्री ओलीसँगको परामर्शपछि आफ्ना मतदातासँग कुरा गर्न डोल्पा पुगेका बुढाले काठमाडौं आएर आफूले राजीनामा नदिने बताए । फेरि, यतिवेला नेकपाबाट निर्वाचत ललितपुरका सांसद नवराज सिलवाललाई राजीनामा गराएर वामदेवलाई संसद् छिराउने प्रयास भइरहेको स्रोतले बताएको छ ।



त्यसमा नेकपाका सांसद तथा नेताहरू सहमत नरहेको पनि स्रोतको भनाइ छ । एक नेताका अनुसार नेकपाका अधिकांश नेताहरू वामदेवलाई संसद्मा ल्याउन सहमत छैनन् । तर, प्रचण्ड आफूलाई प्रधानमन्त्रीमा स्थापित गर्नका लागि पनि वामदेवलाई सांसद बनाएर संसद्मा छिराउन आतुर छन् । ओलीपछि आफू प्रधानमन्त्री बन्ने कुरा अध्यक्ष प्रचण्डले सार्वजनिक गरेका छन् । जसका लागि सबैभन्दा सहज हतियार वामदेव गौतम नै हुन सक्छन् । तर, पार्टीका अधिकांश युवा नेता वामदेवलाई सांसद बनाउने कुरामा असन्तुष्ट छन् ।


प्रचण्डको भारत भ्रमण

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही हप्ताअघि भारत भ्रमण गरे । भारत भ्रमणमा रहेका वेला एक अन्तर्वार्तामा उनले दिएको अभिव्यक्तिले ओली–दाहालबीच दूरी बढेको बताउन थालिएको छ । सरकार र पार्टीको नेतृत्व आलोपालो गर्ने सहमति भएकाे भनेर प्रचण्डले गरेको खुलासालाई अर्थपूर्ण रूपमा हेर्न थालिएको छ । 

उनले भारतीय मिडियासँगको कुराकानीमा आफूलाई अबको प्रधानमन्त्रीका रूपमा हेर्न सकिने बताएका थिए । दाहालको भारत भ्रमणपछि ओली–दाहालबीच चिसोपना देखिएको नेकपाका एक नेता बताउँछन् । अझ, नेपालले आयोजना गरेको चियापानलाई दाहाल तथा ओलीबीचको बढ्दो दूरी र ओली विकल्पको प्रयासका रूपमा समेत हेरिएको ती नेताको दाबी छ । अध्यक्ष दाहालले आफ्ना आन्तरिक कुरा भारतीय मिडियामा बताएका कारण प्रधानमन्त्री ओली उनीसँग रुष्ट भएको ती नेता बताउँछन् ।

नेकपाको सर्कुलर र माधव नेपालको ‘चियापान’

प्रदेशका अध्यक्ष र इन्चार्जको सर्कुलर जारी हुँदा वरिष्ठ नेता माधव नेपाल अफ्रिकी देश ‘घाना’मा थिए । नेपाल नेकपाका तेस्रो वरीयतामा पर्ने नेता हुन् । उनी मात्र होइन, नेकपा हाइकमान्ड सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि देशबाहिर नै थिए । 
सर्कुलर जारी भएको केही घन्टाभित्र नै नेकपाभित्रका विभिन्न नेताहरूको असन्तुष्टि पैदा भयो । प्रधानमन्त्री ओलीले विदेश जानुअघि सुटुक्क जारी गरेको उक्त सर्कुलरमाथि धेरैको असन्तुष्टि रहेको नेकपाका एक नेता बताउँछन् । नेपालले आफ्नो असन्तुष्टि झल्किने गरी उनले राजधानीको बानेश्वरस्थित होटल इन्द्रेणीमा ‘चियापान समारोह’ नै आयाजना गरे । 

नेपालले आयोजना गरेको उक्त चियापानमा नेकपाका नेताहरू सुवास नेम्वाङ, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, वेदुराम भुसाललगायत स्थायी कमिटीका अधिकांश सदस्यको उपस्थिति थियो । तर, उक्त समारोहमा कार्यवाहक प्रधानमन्त्री तथा नेकपा हाइकमान्ड सदस्य ईश्वर पोखरेलको भने उपस्थिति भएनन् । माधव नेपालको निम्तो आउनुअघि नै अर्को एक बैठकमा व्यस्त रहेका कारण पोखरेल चियापानमा सहभागी हुन नसकेको उनका प्रेस संयोजक लोकेन्द्र केसीले बताए ।

सचिवालयका सबै सदस्यको उपस्थितिविना नै पार्टी नेतृत्वले गरेको उक्त निर्णयप्रति यतिवेला माधव नेपाल समूह भिन्न मत राख्दै आएको छ । माधव नेपाल समूहले सचिवालयभन्दा स्थायी कमिटी बलियो हुनुपर्नेे, स्थायी कमिटीबाटै नियमित काम गरिनुपर्नेे, कमिटीको निर्णय प्रक्रिया हुनुपर्नेे, सामूहिक नेतृत्व चाहिनेजस्ता माग अघि सारेको छ । यी मागको सम्बोधन हुन नसकेको र वरीयताको आधारलाई ख्याल नगरी प्रदेशको अध्यक्ष र इन्चार्ज तोकिएको भन्दै माधव नेपाल समूहले असन्तुष्टि पोखेको हो । 

माधव नेपालले आफ्नो असन्तुष्टि अब बस्ने बैठकमा राख्ने भनेर सार्वजनिक रूपमा नै भनिसकेका छन् । नेकपाको ४५ सदस्यीय स्थायी कमिटीबाट नेपाललाई साथ दिन झलनाथ खनाल, वामदेव गौतम, योगेश भट्टराई, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, भीम रावल, गोकर्ण विष्टलगायत तयार रहेको नेकपा स्रोतको दाबी छ । 

अमेरिकाबाट ओलीको जवाफ

माधव नेपालले बानेश्वरमा नेतासँग चियापन समारोहमा सहभागी हुँदै गर्दा न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीलाई समेत झड्का लाग्यो । र, प्रधानमन्त्री ओली उताबाट चुप भने बस्न सकेनन् । 

अमेरिकामा रहेर पत्रकारिता गर्दै आएका पत्रकार सूर्य थापासँगको एक अन्तर्वार्तामा उनले माधव नेपालको असन्तुष्टिमाथि जवाफ दिन भ्याए । आफू विदेश भ्रमणमा रहेको समयमा माधव नेपालले बोलाएको स्थायी समिति सदस्यको भेलाप्रति पनि प्रधानमन्त्री ओलीले अमेरिकाबाटै नै चित्त दुखाए । 

प्रदेश कमिटीबारेको असन्तुष्टिलाई ओलीले असन्तुष्टिका लागि असन्तुष्टि भनेर टिप्पणी गरे । उनले भनेका थिए– ‘यो असन्तुष्टिका लागि असन्तुष्टि हो । पार्टीमा फलानो गुटको फलानो प्रतिनिधि, फलानो गुटको फलानो प्रतिनिधि होइन, योग्यता, क्षमता र आवश्यक्ताअनुसार हुन्छ ।’

एकातिर प्रधानमन्त्री ओली सचिवालयको निर्णय ठीक हो भन्दै छन् भने वरिष्ठ नेता नेपाल उक्त निर्णयप्रति असन्तुष्ट छन् । प्रधानमन्त्री ओलीको अमेरिकाबाट आएको अभिव्यक्ति र माधव नेपालले काठमाडौंमा गरेको चियापानले नेकपाभित्रको विवाद बाहिरिएको प्रस्टै बुझ्न सकिन्छ । 

तर, ओलीले देश एकदमै सही दिशाबाट मार्गनिर्देशित भएको उल्लेख गर्दै काठमाडौंमा व्यक्त असन्तुष्टि गम्भीर नभएको भनेर सरकारको र आफ्नोे बचाउ गरे ।

विष्णु रिमाल र योगेश भट्टराईको दोहोरी

काठमाडौंमा माधव नेपाल समूहले चियापान समारोह गर्यो । समारोहपछि पार्टीको आन्तरिक विवादबारे सामाजिक सञ्जाल र मिडियामा ठूलो बहस नै सुरु भयो ।
प्रधानमन्त्री ओलीसँगै अमेरिकामा रहेका प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले सामाजिक सञ्जालमा एक ट्विट गरे । उनले उक्त ट्विटमा नेपालले आयोजना गरेको चियापानको केही घन्टामै अमेरिकाबाट ट्विट गरेर घुमाउरो शैलीमा नेपाल बाहिरी सांठगाँठमा सरकारविरुद्ध लागेको बताएका थिए । 

उनको ट्विट थियो– ‘मानिसको पतन त्यस समय सुरु हुन्छ, जब आफ्नैलाई ढाल्न पराईसँग सल्लाह लिन सुरु गरिन्छ !’ उनको उक्त ट्विट वरिष्ठ माधव नेपालप्रति लक्षित थियो । वास्तवमा उनको अभिव्यक्ति र नेपालको चियापानको सेरोफेरोमा भएको अन्य केही गतिविधिबारे पनि ओली पक्षमा विश्लेषण हुन थालेको नेकपाका नेताहरू बताउँछन् । 

प्रधानमन्त्री ओलीसँगै अमेरिकामा रहेका रिमालको उक्त ट्विटलाई लक्षित गर्दै माधव नेपाल समूहका भनिने नेकपाका प्रभावशाली नेता योगेश भट्टराईले अर्को ट्विट गरे । उनले रिमाललाई कटाक्ष गर्दै लेखेका थिए– ‘सत्ता र शक्तिको चुचुरोबाट हेर्दा अरू पतन भएको देख्दा रहेछन् ! कठै दोसी चस्मा !’ पार्टीमा भएका विवाद र असन्तुष्टिलाई नजिकबाट नै नियाल्ने योगेश भट्टराई पार्टीका बैठकमा पनि अफ्ना विचार प्रष्ट राख्ने नेताका रूपमा चिनिन्छन् ।

त्यसो त, उनीहरूको सामाजिक सञ्जालको द्वन्द्व यो पहिलोपटक भने होइन । यसअघि, तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकताको प्रयास चलिरहेको समयमा पनि रिमाल र भट्टराईबीच आरोप–प्रत्यारोप चलेको थियो । 

युवालाई नेतृत्वको अवसर दिनुपर्ने भन्दै नेता भट्टराईले दुवै पार्टीका अध्यक्षले सन्न्यास लिनुपर्ने बताएका थिए । उनको उक्त कुराको ट्विटमा रिमालले ‘माकाफुइँले सगरमाथा चढेको’ टिप्पणी गरेका थिए । तर, नेकपाका पूर्वमाओवादी केन्द्रका नेता भने यसबारे अहिलेसम्म मौन नै देखिन्छन् ।

ओलीको अरिंगाल बन्न निर्देशन, भुसालको प्रतिकार

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओलीले केही हप्ताअघि पार्टी कार्यालयमा नै नेता तथा कार्यकर्तालाई एक निर्देशन दिए । उनको उक्त निर्देशन उनी आफैँलाई अभिशाप बन्न पुग्यो । प्रधानमन्त्री ओलीले सरकारविरुद्ध आवाज उठाउनेलाई अरिंगालझँै झम्टिन निर्देशन दिए । उनको उक्त अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएर मजाकको विषय नै बन्यो ।

एक सातापछि ओलीले आफ्नो बोली फेर्दै नेता–कार्यकर्तालाई निर्देशन दिए– अब कर्मी माहुरीझैँ भएर काम गर्नू । 

प्रधानमन्त्रीको उक्त भनाइपछि विभिन्न राजनीतिक विश्लेषकले प्रधानमन्त्रीको बोली ठेगानमा नभएको टिप्पणी गरे । त्यति मात्र होइन, नेकपाका केन्द्रीय सदस्य घनश्याम भुसालले आक्रोश नै पोखे । नेकपाका नेता तथा कार्यकर्ता उनको अभिव्यक्तिको प्रतिरक्षा गर्ने अवस्थामा देखिँदैनन् । नेकपाका नेता भुसालले कार्यकर्ताले मात्र होइन, नेतृत्वले पनि अरिंगालबाट सामूहिकताको पाठ सिक्नुपर्ने भन्दै प्रतिक्रिया दिएका थिए । 

उनले नेतृत्वलाई नै सामूहिकताको पाठ सिक्न भन्दै प्रतिपाद गर्नुले बुझ्न सकिन्छ, नेता भुसाल पनि नेतृत्वको कार्यशैलीप्रति सन्तुष्ट छैनन् ।
 


  • प्रकाशित मिति : असोज १५, २०७५ साेमबार १४:३७:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया