माओवादीबाट कसलाई मन्त्री बनाउँदै छन् प्रचण्ड ?

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले अहिलेसम्म सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाउन सकेको छैन । पाँच दलको गठबन्धनको आधारमा बनेको सरकार भएकाले अहिलेसम्म यी दलले कुनै दललाई कति मन्त्रालय दिने भन्ने अन्तिम टुंगो लगाउन सकेका छैनन् ।

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले यसका लागि गठबन्धनका दल माओवादी केन्द्र र जसपासँग नियमित छलफल गरिरहेका छन् । तर, मन्त्रालय बाँडफाँडको विषय अझै टुंगिएको छैन ।

एकातिर प्रधानमन्त्री देउवाले मन्त्रालय बाँडफाँडको टुंगो लगाउन सकेका छैनन् भने अर्कोतिर नेपाली कांग्रेसबाट कसलाई मन्त्री बनाउने भन्ने पनि उनले टुंगो लगाउन सकेका छैनन् । 

पार्टीमा धेरै नेता मन्त्रीका आकांक्षी भएकाले तर मन्त्रालय सिमित भएकाले उनी जस्तो अवस्थामा छन्, त्यस्तै अवस्थामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि रहेका छन् ।

शनिबार पार्टी कार्यालय पेरिस डाँडामा आयोजित एक कार्यक्रममा प्रचण्डले आफ्नो पार्टीका ४९ जना नै सांसद मन्त्री बन्न चाहेकाले आफूलाई निकै समस्या परिरहेको बताएका थिए ।

यसअघि २९ असारमा प्रधानमन्त्री पदको सपथ लिँदा प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका दुई नेता जनार्दन शर्मा र पम्फा भुसाललाई अर्थ र ऊर्जा मन्त्रालयको जिम्मेवारी दिइसकेका छन् । त्यही दिन माओवादी केन्द्रबाट अर्का एक नेता देव गुरुङ पनि मन्त्री हुनसक्ने सम्भावना थियो । त्यही दिन विहान बसेको स्थायी कमिटी बैठकले माओवादी केन्द्रबाट मन्त्री बन्नेहरुको टुंगो लगाउन अध्यक्ष प्रचण्डलाई जिम्मेवारी दिएको थियो । प्रचण्डले स्थायी कमिटी बैठक सकिएपछि सिंहदरबारमा देउवालाई दिएका तीन नाम थिए– देव गुरुङ, जनार्दन शर्मा र पम्फा भुसाल । 



तर, देउवाले त्यो दिन कांग्रेसबाट दुई मन्त्री बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्की र माओवादी केन्द्रका दुई जनालाई मात्र प्रारम्भिक मन्त्रिपरिषद्मा समावेश गराए । 

अब यही साताभित्र मन्त्रिपरिषद् विस्तार गर्ने योजना बनाएका देउवाले जसपा र माओवादी केन्द्रसँग मन्त्रीहरुको नाम मागेका छन् । आज विहान बालुवाटारमा प्रचण्डसँग भएको भेटघाटमा पनि देउवाले मन्त्रीको नाम मागेको स्रोतको दाबी छ । तर, देउवालाई भेटेर फर्किएका प्रचण्डले आफ्नो पार्टीमा सबै मन्त्री हुन्छु भन्ने गरेकाले आफू समस्यामा परेको बताएका छन् । अहिलेसम्म प्रचण्डले माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसँग यस विषयमा छलफल गरे पनि मन्त्री हुने नामको टुंगो भने लगाइसकेका छैनन् ।



‘अब मन्त्रीमा नयाँ अनुहार देखिने सम्भावना बढेको छ,’ प्रचण्डनिकट एक नेताले फरकधारलाई जानकारी दिए ।

  • प्रकाशित मिति : साउन ९, २०७८ शनिबार १४:३८:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया