काङ्ग्रेस र कम्युनिस्टको वैचारिक, चरित्रगत र नीतिगत कार्यशैली समान : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले काङ्ग्रेस र कम्युनिस्टबीच वैचारिक, चरित्रगत, नीतिगत कार्यशैली समान रहेको बताएका छन् । यी पार्टीमा कुनै भिन्नता नरहेको बताउँदै थापाले काङ्ग्रेस र कम्युनिस्टको विकल्प राप्रपा मात्र हुन सक्ने बताए । 

शनिबार काठमाडौं क्षेत्र नं ५ (क) ले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष थापाले १४ वर्षअघि आमूल परिवर्तनको नाममा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता षड्यन्त्रमूलक ढंगले लादिएको बताए । 

मुलुकमा व्याप्त विकृति, विसंगति र बेथितिको अन्त्य चाहने हो भने अब जनताको रोजाइ राप्रपा हुनुपर्ने अध्यक्ष थापाले बताए । अध्यक्ष थापाले धर्मनिरपेक्षताको आडमा  संगठित र योजनाबद्ध रुपमा सनातन धर्म माथि आक्रमण भइरहेको बताउँदै प्रमुख नेताहरुको अकर्मण्यताले विदेशी चलखेल बढेको समेत बताए । 

नेपालीको पहिचान, राष्ट्रिय एकताको आधार, समाज, राष्ट्र र परिवार सञ्चालन गर्ने आधारलाई नष्ट गरेर विदेशी संस्कृति र धर्म लाद्ने काम भएको अध्यक्ष थापाले आरोप लगाए । 

पार्टीको महाधिवेशन र स्थानीय तहको निर्वाचनको तयारी तीव्र पार्न कार्यकर्तालाई निर्देशन दिँदै थापाले संगठन सुदृढीकरण, सक्रिय सदस्यता वितरण अभियान र जनताको सुख–दुःखमा उच्च प्राथमिकता साथ काम गर्न आग्रह गरे । 

काङ्ग्रेस र कम्युनिस्टको असफलता, भ्रष्टाचार र कुशासनको भण्डाफोर गर्दै देशव्यापी आन्दोलनमा जानुपर्ने आवश्यकता औल्याउँदै थापाले अबको विकल्प राप्रपा बनाउनका निमित्त सक्रियतापूर्वक काम गर्न जोड दिए । 



कार्यक्रममा नेकपा एमालेका काठमाडौं जिल्ला सदस्य न्युक्षे महर्जनसहित सयौँ राप्रपा प्रवेश गरेका छन् । कार्यक्रममा पार्टीका कोषाध्यक्ष चन्द्रबहादुर गुरुङ, काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडा, केन्द्रीय सदस्य केशव रेग्मीलगायतले आफ्नो धारणा राखेका थिए । 



  • प्रकाशित मिति : साउन ९, २०७८ शनिबार १६:५२:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया