'ओलम्पिकमा पदक जित्न खेलाडीले मात्र मेहनत गरेर पुग्दैन'
फरकधार / १० साउन, २०७८

दिपक विष्ट अब नेपाली खेलकुद इतिहासमा अविस्मरणीय नाम बनिसकेको छ। तेक्वान्दोबाट दक्षिण एसियाली खेलकुद (साग) मा चार स्वर्ण र एसियन गेम्समा दुई कास्य पदक जितेका उनी नेपाली खेलकुद क्षेत्रका एक सफल व्यक्ति हुन्।



दिपक छनोट चरण पार गरेर ओलम्पिक खेल्ने दोस्रा खेलाडी हुन्। यसले पनि उनी उत्कृष्ट भएको प्रमाण दिन्छ। दिपकले सन् २००८ को बेइजिङ ओलम्पिक खेलेका थिए।

सन् १९६४ देखि विश्व खेलकुदको महामेला ओलम्पिकमा सहभागिता जनाउन थालेको नेपालबाट हालसम्म जम्मा दुई खेलाडीले छनोट चरण पार गरेर प्रतियोगिता खेलेका छन्। दिपकभन्दा अघि तेक्वान्दोकै संगिना वैद्यले सन २००४ मा छनोट चरण पार गरेर ओलम्पिक खेलेकी थिइन्। 

३२ औं संस्करणको ग्रिष्मकालीन ओलम्पिक जुलाई २३ (शुक्रबार) देखि जापानको टोकियो सहरमा सुरु भएको छ। अगस्ट ८ सम्म चल्ने प्रतियोगितामा विभिन्न देशका ११ हजार भन्दा बढी खेलाडीले आफ्नो खेल कौशल प्रस्तुत गर्दैछन्।



यो प्रतियोगितामा नेपालको तर्फबाट पौडीमा गौरिका सिंह र एलेक्स शाह, जुडोकी सोनिया भट्ट, सुटिङकी कल्पना परियार र एथ्लेटिक्सकी सरस्वती चौधरी सहभागी छन्। 
ओलम्पिक चलिरहेको सन्दर्भमा दिपक विष्ट को ‘ओलम्पिक अनुभव’ यहाँ प्रस्तुत छ :

दुई पटकको असफल प्रयास

हरेक खेलाडीको सपना हुन्छ कम्तीमा पनि एक पटक ओलम्पिकमा सहभागिता जनाउने दिपकले पनि यो सपना पूरा गर्ने पहिलो प्रयास सन् २००० को सिड्नी ओलम्पिक छनोटमा गरेका थिए। तर त्यसमा कुनैपनि नेपाली खेलाडी सफल हुन सकेनन्। उनले सन् २००४ को एथेन्स ओलम्पिक छनोटमा पनि सफलता हात पार्न सकेनन्। छनोट चरण पार गर्ने नसके पनि नेपालका लागि भने एथेन्स ओलम्पिक छनोट ऐतिहासिक बन्न पुग्यो।  

यही प्रतियोगिताबाट तेक्वान्दोकी संगिना वैद्य छनोट चरण पार गरेर ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी बनिन्। एकातिर संगिनाले छनोट चरण पार गर्दा खुसी त थिए दिपक, तर अर्कोतिर उनलाई आफू असफल हुँदाको पीडा पनि उत्तिकै थियो। 

दक्षिण एसियाली खेलकुदमा दुई स्वर्ण र एसियन गेम्समा कास्य जितिसकेका दिपकबाट धेरै आशा गरिएको थियो। ‘साग र एसियन गेम्समा मैले पदक हात पारिसकेको थिएँ र उत्कृष्ट लयमा रहेकाले मलाई पनि ओलम्पिकमा छनोट हुन्छु जस्तो लागेको थियो।

तर, म त्यसमा सफल हुन सकिनँ,’ दिपक त्यो समय सम्झन्छन्, ‘संगिनाले छनोट चरण पार गर्दा जति खुसी लागेको थियो त्यति नै आफू असफल हुँदाको पीडा पनि। लगातार दोस्रो पटक असफल हुँदा मलाई ओलम्पिक खेल्ने सपना नै पूरा नहुने हो की भन्ने चिन्ताले सताएको थियो।’ 

दिपकलाई ओलम्पिकमा छनोट नहुँदा केही पीडा र चिन्ताले सताए पनि उनी हार नमान्ने खेलाडी थिए। लगातार दोस्रोपटक असफल भए पनि निरन्तर अभ्यासमा जुटिरहे। उनले कहिल्यै पनि हिम्मत हारेनन्। 
 
बेइजिङ ओलम्पिक छनोट 

सन् २००८ मा चीनको बेइजिङमा सम्पन्न ओलम्पिकको छनोट भियतनाममा भएको थियो। दिपकले राम्रोसँग बुझेका थिए यो उनका लागि अन्तिम अवसर हो। किनकि अर्को चार वर्षमा उनलाई उमेर र स्वास्थ्य दुवैले साथ नदिने निश्चित थियो। 

‘यो मेरा लागि अन्तिम अवसर थियो, किनकि मैले राम्रोसँग बुझेको थिएँ– अर्को चार वर्षमा मलाई स्वस्थ्य र उमेर दुवैले साथ दिने छैन,’ दिपकले भने। 

 

पहिलो ‘बाई’ पाएका दिपकले दोस्रो खेलमा विश्व च्याम्पियनसिप, एसियन कप तथा ओलम्पिकमा स्वर्ण जितिसकेका इरानी खेलाडी हादीसँग प्रतिस्पर्धा गर्नुपर्ने भयो। खेल जिते दिपक सीधै ओलम्पिकमा छनोट हुने थिए भने हारे पनि अर्को एक मौका पनि उनीसँग थियो। 

उनले आफूभन्दा बलिया हादीसँग राम्रो प्रदर्शन गरेको भए पनि जित भने हात पार्न सकेनन्। दिपकले तेस्रो खेलमा सिरियाली खेलाडीसँग भिड्नुपर्ने भयो। एसियन गेम्समा रजत जितिसकेका सिरियाली खेलाडीलाई हराउनु त्यति सहज नभए पनि उनीसँग ‘जित्नु’बाहेक अन्य विकल्प थिएन। 

‘मेरा लागि यो खेल गर वा मरको अवस्थाको थियो। जितले मलाई ओलम्पिक पुर्याउँथ्यो भने हारले रित्तै हात घर फकर्नु पथ्र्यो,’ दिपकले त्यो खेल सम्झिए ‘मैले त्यो खेलमा आफूले गरेका सारा दुःख मनमा राख्दै पूरै ताकत र दिमाग लगाएर खेलेँ। मैले उसलाई पराजित गर्दै ओलम्पिक खेल्ने अवसर प्राप्त गरेँ। यो मेरो जीवनको सबैभन्दा खुसीको क्षण र ठूलो सपना पूरा भएको दिन थियो।’ 

उनको सफलतामा सबै खुसी भए। ‘ओलम्पिक छनोट हुँदा मेरो त्याग र समर्पणले सार्थकता पाएको महसुस गरेको थिएँ,’ दिपक भन्छन्। दिपक प्रतियोगिताकै सर्वोकृष्ट खेलाडी घोषित भए। उनी यो सफलता प्राप्त गर्ने एक्ला नेपाली खेलाडी हुन्।

नेपाल फर्किएपछि उनको भव्य स्वागत गरियो। विभिन्न सम्मान थाप्न उनलाई भ्याइनभ्याइ भयो। यही सम्मानले खुट्टा भाचिँदा पनि खेल्ने उत्प्रेरणा मिलेको दिपक बताउँछन्।

बेइजिङ ओलम्पिक २००८ मा प्रदर्शन

दिपकले साग गेम्स र एसियन गेम्सका पदक जितिसकेको हुँदा ओलम्पिकमा पनि सबैले आशा गरेका थिए, तर उनको प्रदर्शन सोचे अनुरुपको हुन सकेन। ‘मार्चपासमा मैले नेपालको झण्डा बोक्ने अवसर पाएको थिएँ।

सारा विश्वले हेरिरहेको प्रतियोगितामा राष्ट्रको प्रतिनिधित्व गर्दै झण्डा बोक्न पाउनु गर्वको विषय थियो,’ दिपक भन्छन्, ‘ओलम्पिकमा खेल्ने सपना पूरा हुँदा खुसी नै थिएँ, तर सोचे अनुरुपको प्रदर्शन गर्न नसक्दा दुःखी पनि।’ ओलम्पिकमा दिपकको पहिलो खेल छनोट चरणमा पराजय बेहोरेका हादीसँग थियो। 

‘मबाट धेरैले आशा गरेका थिए, तर पहिलो खेलमै बलियो खेलाडीको सामना गर्नु परेको हुँदा सोचे अनुरुपको खेल प्रदर्शन गर्न सकिनँ,’ दिपकले भने, ‘सायद अन्य खेलाडीसँग परेको भए कुनै न कुनै पदक जित्न सक्थेँ कि जस्तो लाग्छ।’ 

खेल्नभन्दा प्रशिक्षण गर्न गाह्रो 

खेल्नभन्दा प्रशिक्षण गर्न निकै गाह्रो रहेको दिपकको बुझाइ छ। कोरियामा ८ महिनाको अभ्यास सम्झिँदा अहिले पनि उनको जिउ सिरिङ्ङ हुन्छ। 

‘खेलाडीले रिङमा बिताउने भनेको ६ देखि ९ मिनेट मात्र हो। खेलमा जति गाह्रो हुन्छ त्यसको कयौं गुणा बढी प्रशिक्षणमा,’ दिपकले भने, ‘हामीले ओलम्पिक छनोट तथा मुख्य प्रतियोगिताअघि कोरियामा अभ्यास गरेका थियौं। त्यो अभ्यास जीवनको सबैभन्दा पीडादायी क्षण थियो।’ त्यहाँ दिनको ३–४ चोटी अभ्यास गर्नुपर्थ्यो। कोरियन खेलाडी कुनै दयामाया नै नराखी लात्ता र मुक्का हान्थ्ये। घुँडा यति दुख्थ्यो कि राम्रोसँग उभिन पनि उनलाई गाह्रो हुन्थ्यो। 

‘घुँडा दुख्दा सधैं बरफले सेक्नु पथ्र्यो। एक त प्रशिक्षणले थाकेको जिउ, त्यसमाथि नेपाली खाना नपाइने, मैले कति रात त खानै नखाई बिताएको छु,’ दिपकले भने, ‘सहकर्मी पुष्पले मेरो घुँडाको मालिस गरिदिन्थे। बेलाबेलामा उनी यस्तो दुःख किन गरेको भनेर गुनासो पनि गर्थे, तर म यही दुःखले त ओलम्पिक छनोट हुने हो भनेर सम्झाउँथे।’ 

कोरियामा उनका प्रशिक्षक थिए क्वान हुन जोङ। उनले घुँडा नदुख्ने सुई लगाएर प्रशिक्षणमा सहभागी गराउँथे। ‘मैले कोरियामा रहँदा दैनिक जसो नदुख्ने सुई लगाएँ। यसको कुनै साइड इफेक्ट नहुने रहेछ,’ दिपकले सुनाए, ‘मेरो घुँडा पूरै ड्यामेज भइसकेको थियो, तर पनि अभ्यास छोडिनँ। यसले पछि खुट्टाले नै काम नगर्ने हो कि भन्ने चिन्ता पनि लागेको थियो।’

मेस्सीसँग भेट्दाको त्यो क्षण

दिपकलाई नामसँगै ओलम्पिकले दिलाएको अर्को अवसर हो, विश्व फुटबलका  उत्कृष्ट खेलाडी लियोनल मेस्सीसँगको भेट। ओलम्पिक भिलेजमा आफ्ना सबैभन्दा मन पर्ने खेलाडी लियोनल मेस्सीलाई आँखै अगाडि देख्दा सुरुमा त दिपकले विश्वासै गरेका थिएनन्, तर यो यथार्थ थियो।

‘ओलम्पिक भिलेजमा मेस्सीलाई भेट्दा निकै खुसी भएको थिएँ। विश्वका चर्चित खेलाडीसँग समान हैसियतले एकै ठाउँमा बस्न पाउनु जीवनको एक अविस्मरणीय क्षण थियो,’ दिपक भन्छन्, ‘मेस्सीजस्ता विश्व फुटबलमा नाम चलेका खेलाडीलाई भेट्न पाउनु हरेक नेपालीको सपना हुन्छ। ओलम्पिकले मलाई त्यो अवसर दिलाएको छ। यसले मलाई खेल जीवन सार्थक महसुस गराएको छ।’ 

उनले ओलम्पिककै माध्यमबाट रोनाल्डिन्हो, रोजर फेडेरर, कोबे ब्रायन्ट जस्ता विश्व खेलकुदका चर्चित हस्तीहरुलाई पनि भेट्ने अवसर पाए। जुन कुराको उनले कल्पना नै गरेका थिएनन्। ‘ओलम्पिक भिलेजको १५ दिने बसाइ स्वर्गमै बिताए जस्तो थियो,’ दिपक सम्झन्छन्।

जोखिम मोलेर साग गेम्स

धेरैले ओलम्पिकपछि दिपकले संन्यास लिने अनुमान गरेका थिए, तर उनले सन् २०१० को साग खेल्ने निर्णय गरे। उनको यो निर्णयले सबै आश्चर्यमा परेका थिए। किनकि, ओलम्पिक छनोट हुनअघि नै दिपकको एउटा खुट्टाको शल्यक्रिया भइसकेको थियो भने अर्को खुट्टामा पनि समस्या देखिन थालिसकेको थियो। 

डाक्टर, प्रशिक्षक, सहकर्मीलगायतले साग नखेल्न सल्लाह दिएका थिए, तर दिपकको जिद्दीको अगाडि कसैको केही लागेन। 
‘मबाट सबैले ओलम्पिकमा पदक जित्ने आशा गरेका थिए, तर आशा अनुसारको प्रदर्शन गर्न सकिनँ,’ दिपकले भने, ‘आफूले निराश बनाएको नेपालीलाई खुसी बनाउन भए पनि साग गेम्स खेल्ने निर्णय गरेँ।’

त्यसबखत उनले जीवनको सबैभन्दा ठूलो जोखिम मोलेका थिए। उनको एउटा खुट्टाको शल्यक्रिया भइसकेको थियो भने अर्कोको पनि शल्यक्रिया गर्नुपर्ने अवस्था थियो। उनले निकै आग्रह गरेपछि मात्र डाक्टर तथा प्रशिक्षक तयार भएका थिए। ‘घाइते खुट्टा लिएरै मैले साग स्वर्ण जितेँ र सारा नेपालीलाई खुसी बनाउन सफल भएँ,’ दिपक भन्छन्।
 
दीर्घकालीन योजना र लगानी आवश्यक

नेपालले लामो समयदेखि ओलम्पिकमा सहभागिता जनाउन थाले पनि हालसम्म कुनै आधिकारिक पदक हात पार्न सकेको छैन 
। सन् १९८८ को सोल ओलम्पिकमा नेपालका विधान लामाले कास्य पदक जिते पनि उनी सहभागी तेक्वान्दोलाई प्रदर्शनी खेलका रुपमा समावेश गरिएकाले त्यसलाई आधिकारिक मानिएको छैन। 

‘ओलम्पिकमा पदक जित्ने हो भने दीर्घकालीन योजना र लगानीको आवश्यकता छ,’ उनले भने। ‘नेपालले आधिकारिक रुपमा कुनै ओलम्पिक पदक जितेको छैन, तर प्रदर्शनी खेलमै भए पनि विधानले कास्य जितेका हुन्। प्रतिस्पर्धा गरेरै यो पदक हात पारेकाले उनको योगदानलाई भने हामीले भुल्नु हुँदैन।’ 

नेपाली खेलाडी ओलम्पिक पदकबाट धेरै टाढा नरहेको दिपकको मूल्यांकन छ। यसका लागि खेलाडीले मात्र मेहनत गरेर नपुग्ने, नेतृत्व तहमा रहेकाहरुले पनि आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्ने दिपक बताउँछन्। 

‘नेपालमा तेक्वान्दो, उस्सु, बक्सिङ, कराते, एथ्लेटिक्स जस्ता पदक जित्न सक्ने खेलका लागि दीर्घकालीन योजना र लगानीको आवश्यकता छ,’ उनी भन्छन्, ‘सम्बन्धित खेल संस्थाहरुले आफ्नो खेलाडीलाई कस्तो प्रशिक्षणको आवश्यकता छ, कसरी बढीभन्दा बढी खेल खेलाउने, राम्रो टिम व्यवस्थापन जस्ता कुरामा ध्यान दिनु जरुरी छ।’ 

नेपाल ओलम्पिक कमिटी, राष्ट्रिय खेलकुद परिषद्,  लगायतका निकायले विदेशी टोलीले खेलाडीलाई के–कस्ता सुविधा दिएका छन् भन्न बुझ्नुपर्ने दिपकको भनाइ छ। प्रशिक्षण कसरी गराएका छन्, त्यसलाई बुझेर नेपालमा पनि लागू गर्न पहल गर्नुका साथै लगानी पनि बढाउनुपर्ने उनी बताउँछन्। 

‘हामीले अहिलेको अवस्थामा त यति धेरै सफलता हात पारेका छौँ भने असल नेतृत्व, राम्रो योजना बनाएर कार्यान्वयन गर्ने तथा पर्याप्त लगानी हुने हो भने नेपाल ओलम्पिक पदकबाट त्यति टाढा छैन,’ दिपकले थपे।
  
पारा ओलम्पिकले दिलाएको आश

ओलम्पिकमा तेक्वान्दोले सन् २००० देखि मान्यता पाएको हो। यसपटक तेक्वान्दोबाट कुनै पनि खेलाडी ओलम्पिकमा छनोट हुन सकेनन्। 

जापानले ग्रिष्मकालीन ओलम्पिकपछि पारा ओलम्पिक पनि आयोजना गर्दै छ। यो प्रतियोगितामा भने नेपालले पदकको आश गरेको छ। 

‘ग्रिष्मकालीन ओलम्पिकमा तेक्वान्दोबाट कुनै पनि खेलाडी छनोट हुन सकेनन् यसले केही दुःखी बनाएको छ,’ दिपकले भने, ‘ग्रिष्मकालीन ओलम्पिकपछि जापानले पारा ओलम्पिक आयोजना गर्दै छ। यसमा हामीले पदकको आशा गरेका छौं।’

पारा ओलम्पिकमा नेपालको तर्फबाट तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले सहभागिता जनाउँदै छिन्। उनलाई पदक ल्याउन सक्ने गरी अभ्यास गराइरहेको दिपकले बताए। 
 

  • प्रकाशित मिति : साउन १०, २०७८ आइतबार १४:१८:२,   अन्तिम अपडेट : साउन १०, २०७८ आइतबार १४:३६:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया