पठाओ र टुटल मोडेलमा प्रदेशमा एम्बुलेन्स सञ्चालनको तयारी, बदमासी रोक्न जिपिएस ट्रयाकिङ

प्रदेश १ मा एम्बुलेन्सको मनाेमोनी र सेवा प्रवाहमा समस्या देखिएपछि एम्बुलेन्स सेवालाई प्रदेश सरकारले कडाइ गर्ने तयारी गरेको छ । एम्बुलेन्सलाई जिपिएस ट्र्याकिङ सिस्टममा हालेर कडाइ गर्ने तयारी भएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सामाजिक विकास मन्त्रालयमा छुट्टै कक्ष स्थापना गर्ने र त्यहाँबाट २४ सै घण्टा एम्बुलेन्सको मनिटरिङ गर्ने तयारी भएको सामाजिक विकासमन्त्री उषाकला राईले बताइन् ।

उनका अनुसार नागरिकलाई एम्बुलेन्स चाहिएमा मन्त्रालयको कल सेन्टरमा फोन गर्नेछन् । कल सेन्टरका कर्मचारीले सेवाग्राहीको नजिकै रहेका एम्बुलेन्स पठाउनेछन् । अहिले एम्बुलेन्स सेवा प्रयोग गर्नका लागि धेरै फोन गर्नुपर्ने बाध्यता रहेको छ । उनले भनिन, ‘अब कल सेन्टरमा फोन गरेपछि बिरामी भएको स्थानमा एम्बुलेन्स पुग्छ ।’

स्वास्थ्य महाशाखाका प्रमुख सागर प्रसाईंले एम्बुलेन्सको सेवालाई प्रभावकारी बनाउनका लागि सरकारले यस्तो तयारी गरेको बताए । यात्रु बोक्न प्रयोग भइरहेको पठाओ सेवाजस्तै प्रदेशको एम्बुलेन्स सेवालाई बनाउन खोजिएको हो ।

उनले भने, ‘जिपिएस ट्र्याकिङमा हालेपछि कुन एम्बुलेन्स कहाँ छ को बिरामी बोकिरहेको छ भन्ने कुरा मन्त्रालयलाई थाहा हुन्छ । यसरी मन्त्रालयको निगरानीमा २४ सै घण्टा भएपछि एम्बुलेन्सले फट्याइँ गर्न नपाउने प्रसाईंको दाबी छ ।

एम्बुलेन्स सेवा लिनका लागि सेवाग्राहीले कल सेन्टरमा फोन गर्छन् । मन्त्रालयमा रहेका कर्मचारीले जिपिएस सिस्टममा चेक गरेर सेवाग्राहीको नजिकमा रहेको एम्बुलेन्स पठाइदिन्छन् ।



यो मोडलमा एम्बुलेन्स सेवा सञ्चालनमा आएपछि बिरामीको ज्यान जोगाउन समेत सहयोग पुग्ने मन्त्री राईको दाबी छ । दुर्घटनाका बेला समयमा एम्बुलेन्स नपुग्दा समस्या हुँदै आएको र यसले जोखिम न्यूनीकरण हुने राईले बताइन् ।

एम्बुलेन्स सेवालाई जिपिएस ट्र्याकिङमा लैजानका लागि आवश्यक काम अगाडि बढिसकेको र अब कर्मचारी व्यवस्थापनको काम बाँकी रहेको प्रसाईंले बताए ।



एम्बुलेन्समार्फत अपराध

गएको जेठ १६ गते सुनसरीको कोशी गाउँपालिकामा को१च ६८८० नम्बरको एम्बुलेन्सलाई प्रहरीले पक्राउ गर्यो । पक्राउ गर्नुको कारण थियो, एम्बुलेन्समा लागुऔषध गाँजा फेला पर्नु । एम्बुलेन्समा एक सय ७७ केजी गाँजाका ४ वटा पोका थिए ।

पोकासँगै गणेश यादव पक्राउ परे । उनी गाँजा रिसिभ गर्न आएका थिए । एम्बुलेन्सका चालक भने प्रहरी आएको थाहा पाएपछि गाँजा छाडेर भागे । पछि एम्बुलेन्सको चेसिसका आधारमा खोजी गर्दा  एम्बुलेन्स चालक सुसन राई पक्राउ परे ।

उनले चलाएको एम्बुलेन्स धनकुटाको हिलेस्थित जनप्रगति बचत तथा ऋण सहकारी संस्थाको स्वमित्वमा थियो । जेठ १६ गते पनि सुनसरीको धरानबाट हुडेप नेपालले सञ्चालन गरेको एम्बुलेन्स र त्यसका चालक पक्राउ परे ।

चालक बलबहादुर राईले गाँजा लिएर आएका थिए । एम्बुलेन्समा एक सय केजी गाँजा थियो । प्रदेश प्रहरी कार्यालयका अनुसार उनको साथमा धनकुटाका पोषराज राई पनि थिए ।

उनलाई गाँजा ओसारपसारमा सहयोग पुगोस् भनेर चालकले राखेको अनुसन्धानबाट खुल्यो । मानवीय सेवाका लागि भन्सार छुट गरेर सञ्चालनमा रहेका एम्बुलेन्सले लागुऔषध ओसारपसार गरेको यो नै पहिलो घटना भने थिएन ।

प्रहरीको तथ्यांकअनुसार तीन यस वर्षयता आपराधिक क्रियाकलापमा संलग्न भएको आरोपमा नौवटा एम्बुलेन्स चालक र एम्बुलेन्स पक्राउ परेका छन् । तीमध्ये केही एम्बुलेन्स भारतीय बजारमा गएर अवैध सामान समेत नेपाल भित्र्याउन प्रयोग भएको देखिन्छ ।

मानवीय सेवाका लागि भन्सार छुटमा एम्बुलेन्स आएका छन्, तर उनीहरुले के काम गरिरहेका छन् भन्ने अनुगमन गर्ने संयन्त्र बलियो नभएका कारण प्रदेशमा एम्बुलेन्सले मनपरी गर्दै आएको गुनासो बढ्दै गएको थियो ।

एक वर्षअघिसम्म जिल्ला प्रशासन कार्यालयले एम्बुलेन्सको अनुगमन गर्दै आएका थिए । अहिले भने एम्बुलेन्सको अनुगमन र नियमन गर्ने जिम्मा प्रदेश सरकारले पाएको छ । प्रदेश १ मा ४ सय ५७ वटा एम्बुलेन्स सञ्चालनमा रहेका छन् ।

  • प्रकाशित मिति : साउन १०, २०७८ आइतबार १७:४९:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया