काङ्ग्रेस जिल्ला सभापतिसँग फरकधार
‘युवामा क्षमता देखिनुपर्यो, अनि मात्र नेतृत्वमा दाबी गर्नुपर्छ’

(सम्पादकीय नाेट :१४औँ महाधिवेशनको काउन्टडाउन सुरु हुँदै गर्दा यतिबेला नेपाली कांग्रेसभित्र राजनीतिक सरगर्मी बढेको छ । पार्टी सभापतिदेखि केन्द्रीय समिति, प्रदेश, जिल्ला हुँदै वडास्तरसम्म यतिबेला कांग्रेसलाई महाधिवेशनले छोपेको छ । 

अब कांग्रेसले पाउने नेतृत्व कस्तो होला ? र, महाधिवेशनपछिको कांग्रेस कस्तो होला ? भन्ने प्रश्न जनमानसमा छ । त्यसो त कांग्रेस केन्द्रीय तहका नेताहरुलाई तल्लो तहका नेताले सुझाव पनि दिइरहेका छन् । 

फरकधारको यो शृंखलामा हामीले कांग्रेसका जिल्ला सभापतिहरुसँग महाधिवेशनपछिको कांग्रेस कस्तो हुनुपर्छ ? र, युवा नेतृत्वको सम्भावना के छ ? भनी सोध्ने छौँ । यसै क्रममा पर्सा जिल्लाका नेपाली कांग्रेसका सभापति  अजयकुमार द्विवेदीलाई हामीले यो शृंखलामा प्रस्तुत गरेका छौँ । )

कांग्रेसको नेतृत्व सबैलाई मिलाएर लैजाने खालको नै खोज्नुपर्ने बेला भइसकेको छ । राष्ट्रिय परिस्थिति झन्झन् नयाँ बन्दै गइरहेको छ । चुनौतीहरु पनि नयाँ-नयाँ छन् । समाजका आकांक्षा पनि नयाँ छन् । 

युवा जनसंख्या उल्लेख्य रुपमा बढी छ । यो वर्गलाई समेट्नु आवश्यक त छ नै साथमा नेतृत्व भने सम्पूर्ण देशलाई मिलाएर लैजान सक्ने, पार्टीलाई मिलाएर लैजान सक्ने हुनुपर्छ । राजनीतिक मुद्दाहरु पनि यतिखेर निकै थपिएका छन् । ती मुद्दालाई पनि समयमै बुझ्न सक्ने र त्यसका लागि समग्र पार्टी पंक्तिलाई तयार गरेर कौशलतापूर्वक लिड गर्न सक्ने खालको नेतृत्व आवश्यक छ । 

युवा नेतृत्वको बहस



कांग्रेसलाई युवाले नेतृत्व गर्नुपर्ने भन्दै आएको लामो समय बितिसक्यो । युवाहरु अक्षम छैनन्, तर नेतृत्वमा युवा हुन् कि उमेर पाकेका, त्यसले केही फरक पार्ने होइन । उमेरकै आधारमा सबै कुराको मूल्यांकन गरिनु न्यायसंगत हुँदैन । युवाले नै राम्रो गर्छन् भन्ने कुरामा मचाहिँ विश्वास गर्दिनँ । हामी बिपी कोइरालाका ‘फलोअर्स’ हौं । उहाँ भन्नुहुन्थ्यो– मान्छे उमेरले हैन कि स्पिरिटले युवा हुन्छ । उहाँले तरुणको परिभाषा दिनुहुन्थ्यो, तरुण को हो ? जो तरुणलाई चिन्छ, गर्न सक्ने आँट राख्छ र त्यसका लागि क्रियाशील छ, अघि बढ्ने त्यही नै हो । त्यो नै तरुण हो । 

त्यसकारण सचेत हुनुपर्यो, समाजका प्रति, राजनीतिका प्रति, भविष्यका प्रति, आउने हाँकहरुका प्रति पनि सचेत हुनुपर्यो । पार्टी बुझ्नेले गहिरो ढंगमा बुझ्नुपर्यो । पार्टीमात्र भनेर पनि भएन, त्यसमा गहिराइ पनि हुनुपर्यो । विगतलाई, वर्तमानलाई र भविष्यलाई आकलन गर्ने खालको युवा हुनुपर्यो । कहिलेकाहीँ उमेरको ऊर्जाले पनि युवामा आँट भर्ने काम गर्न सक्छ । त्यो युवा जतिसुकै परिपक्व भए पनि स्पिरिट छैन भने काम गर्न सक्दैन भन्ने मेरो बुझाइ हो । 



उमेरले युवा छु त्यसकारण मैले नेतृत्व पाउनुपर्छ भन्ने कुरो कुनै पनि हालतमा मिल्दैन । पहिलो कुरो युवामा क्षमता देखिनुपर्यो । त्यसपछि उसले दाबी गर्नै पर्दैन उसलाई पार्टीले र कार्यकर्ताले आफैं खोज्छन् । 

कांग्रेसमा परिवारवाद

नेपाली कांग्रेसमा परिवारवाद चल्दै आएको भन्दै विभिन्न टिप्पणीहरु बेलाबेलामा हुने गरेका छन् । तर, म भन्छु– कांग्रेसमा परिवारवाद छँदै छैन । प्रकाशमान सिंह हुनुहुन्छ, खाली उहाँ गणेशमान सिंहको छोराको रुपमा आउनुभएको हो ? होइन नि ! उहाँको आफ्नै पृष्ठभूमि छ । लामो समय संघर्ष गर्नुभएको छ । नेपाल विद्यार्थी संघको राजनीतिबाट उहाँ यो ठाउँसम्म आइपुग्नुभएको हो । विमलेन्द्र निधिको पहिचान महेन्द्रनारायण निधिको छोरामात्र  होइन, यसले मात्रै उहाँको परिचय बनेको हो ? होइन । उहाँ १४ वर्षको उमेरमै जेल परेको मान्छे हुनुहुन्छ । विद्यार्थी राजनीतिबाट उठेर आजको दिनमा राष्ट्रिय राजनीतिमा आउनुभएको हो । 

डा. शंशाक कोइराला पार्टीको महामन्त्री हुनुहुन्छ । सारा कार्यकर्ताले देशभरका महाधिवेशन प्रतिनिधिले रोजेर बन्नुभएको हो उहाँ । कसैले टीका लगाइदिएर उहाँ महामन्त्री बन्नुभएको हो ? बिपी कोइरालाको छोरा भनेर टीका लगाइदिएर उहाँ आउनुभएको होइन । हो, उहाँहरुको पारिवारिक पृष्ठभूमि राजनीतिक छ । तर, त्यो भनेको सम्पदा हो, सम्पत्ति पनि हो । प्रकाशमानका लागि गणेशमान, विमलेन्द्रका लागि महेन्द्रनारायण र शंशाकका लागि बिपी उहाँहरुको सम्पदा र अविचलित सम्पत्ति हो भन्छु म । तर, आफ्नो पृष्ठभूमि राजनीतिमा छ वा छैन भन्ने महत्वपूर्ण विषय हो । आफ्नो मातापिताको नाम भजाएर उहाँहरुले राजनीति गर्नुभएको भए त्यो गलत हो । तर, सारा देशलाई थाहा छ उहाँहरुको आफ्नो पृष्ठभूमि छ । हो, विरासतचाहिँ उहाँहरुलाई प्राप्त छ, त्यो उहाँहरुको आफ्नो सम्पदा हो । 

कसरी गर्ने महाधिवेशन ? 

नयाँनयाँ राजनीतिक घटनाक्रमका बीच नेपाली कांग्रेसले महाधिवेशन गर्नुपर्ने अवस्था यतिबेला छ । महाधिवेशन गर्न सकिन्छ जस्तो लाग्छ । मुख्य कुरा अहिले पार्टीले क्रियाशीलको विवाद नै टुंग्याउन सकेको छैन । क्रियाशील विवाद टुंग्याउन पार्टीले अहिले जुन तरिका अपनाएको छ, यो आपत्तिजनक र सरासर गलत छ । न पार्टीको विधान मानेको छ न विधि मानेको छ ! खाली मिलाउने नाममा पार्टीको यो विधि र विधान मिचेर सारा काम भइरहेको छ । 

त्यसकारण मलाई लाग्दैन कि सजिलै यो क्रियाशील विवाद टुंगिन्छ । क्रियाशील विवाद नै नटुंगीकन महाधिवशेनका अन्य प्रक्रिया अघि बढ्दैन, बढ्नै सक्दैन । तैपनि सबैको साझा प्रयास भने भइरहेको छ । सबैजना लाग्ने हो भने महाधिवेशन गर्न सक्छौं भन्ने मलाई लागिरहेको छ । 

साथै, हामी बाढी–पहिरो, कोभिडलगायतको समस्या पनि भोगिरहेका छौं । यसलाई दृष्टिगत गर्दै हामीले नयाँनयाँ प्रविधिको भरपूर प्रयोग गर्नेतिर ध्यान दिनुपर्छ । टेक्नोलोजीको युग हो नि यो त । त्यसकारण प्रविधिको प्रयोगबाट हामीले महाधिवेशन सम्पन्न गर्न सक्छौं । मुख्यतः हामीसँग दृढ इच्छाशक्ति हुनुपर्यो, महाधिवेशन गर्न समस्या हुँदैन ।  

(द्विवेदी नेपाली कांग्रेस, पर्साका सभापति हुन् ।) 

यही सिरिजमा यसअघि प्रकाशित अन्य जिल्ला सभापतिका यी विचार पनि पढ्नुहाेस्–

चार वर्षमा हुनुपर्ने महाधिवेशन पाँच वर्षमा पनि गर्न नसक्ने यो कस्तो नेतृत्व ?—नुवाकोट सभापति

‘कांग्रेसको इतिहास संरक्षण गर्ने नेतृत्व आवश्यक छ’— काठमाडाै‌ं सभापति

‘हामी संकटपूर्ण महाधिवेशनको मुखमा छौँ’— काभ्रेपलान्चाेक सभापित

‘नयाँ नेतृत्व, नयाँ विचार, नयाँ ढंग, नयाँ कार्यक्रमका साथ कांग्रेस अगाडि बढ्नुपर्छ’— सिन्धुपाल्चाेक सभापति

‘युवाहरुले धारणा नबदल्ने हो भने नेतृत्वमा आउँदैनन्’— भक्तपुर सभापति

 

 

  • प्रकाशित मिति : साउन १०, २०७८ आइतबार १८:१२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया