दशैंमा किन छापिन्छ नयाँ नोट ?

काठमाडाैं– दशैं आयो,
खाउँला पिउँला, 
नयाँ लुगा लाउँला ।

 

यी पंक्ति अहिले पनि सहरबजार तथा गाउँघरमा दशैं नजिकिँदै गर्दा बालबालिकाहरुले सबैभन्दा बढी दोहोर्याउँछन् । त्यसो त अहिले नेपाली समाजको आर्थिक अवस्था र दशैं मनाउने परिपाटीमा ठूलो परिवर्तन आइसकेको छ ।

यही दशैं नजिकिँदै गर्दा नेपाल राष्ट्र बैंकमा नजानिँदो पारामा निकै ठूलो भीडभाड जम्मा हुन्छ । अन्य बैंकहरुमा पनि चेक लिएर पुगेका व्यक्तिहरुले चासो दिन्छन्– नयाँ नोट आएको छैन ?

२०७२ साल वैशाखमा गएको भूकम्पका कारण अहिले पनि थापाथलीस्थित नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन शाखा भताभुङ्ग छ । तर, अब त्यहाँको चटारो निकै बढ्न थालेको छ । 

भत्किएको भवन नै किन नहोस्, दशैंमा निस्कासन गरिने सबै नयाँ नोटको व्यवस्थापन यही भवनबाट हुन्छ । अन्य बैंकहरु तथा व्यक्तिहरु पनि नयाँ नोट लिन यही भवनमा पुग्छन् ।

केही दिनअघि राष्ट्र बैंकको मुद्रा व्यवस्थापन शाखामा पुग्दा गेटमा रहेका सुरक्षाकर्मी भित्र नयाँ नोट लिन पुगेका एक व्यक्तिलाई भन्दै थिए, ‘आज हैन, २१ गतेपछि मात्र आउनुहोस् ।’



नेपाल राष्ट्र बैंकले दशैंको छेको पारेर बजारमा नयाँ नोट पठाउने तयारी गरिरहेको छ । केही दिनअघि सुचना निकाल्दै उसले नयाँ नोट २१ असोजदेखि वितरण गर्ने बताएको थियो ।

पछिल्ला केही वर्ष कस्तो भइसकेको छ भने दशैंमा नयाँ नोट चाहिन्छ नै भन्ने ‘लहड’ नेपालमा बढेको छ ।



खासमा दशैंमा किन निकाल्छ त राष्ट्र बैंक नयाँ नोट ? के दशैं र नयाँ नोटको कुनै सम्बन्ध छ ?

यसको सोझो उत्तर हो– छैन । तर, अहिले मनोविज्ञान कस्तो भइसकेको छ भने मानिसहरु दशैं आए पछि नयाँ नोटको व्यवस्थापन लाग्न थालिहाल्छन् ।

‘दशैं र नयाँ नोटको सम्बन्ध भनेको नयाँ कपडा र दशैंको जस्तो मात्र हो, ’ नेपाल राष्ट्र बैंक मुद्रा व्यावस्थापन विभाग प्रमुख लक्ष्मीप्रपन्न निरौला भन्छन्, ‘इस्टमित्र र बालबालिकालाई दक्षिणा दिँदा नयाँ नोट दिने प्रचलन बढेको हो, दशैं र नयाँ नोट वा राष्ट्र बैंकको त्यस्तो ठूलो सम्बन्ध छैन ।’

 

के दशैंमा मात्र छापिने हो नयाँ नोट ?

नेपाल राष्ट्र बैंकले दशैंमा जति नयाँ नोट बजारमा पठाउँछ, त्यति धेरै नयाँ नोट वर्षको अरु कुनै समयमा पठाउँदैन । यस्तो किन भने नेपाली बजार दशैंमा चलायामान हुन्छ । 

दशैंको आउनै लाग्दा नेपाली बैंकहरुमा निक्षेप निकै धेरै बढ्छ । सँगसँगै घरेलु किनमेलका लागि पैसा धेरै बजारमा पनि जान्छ । यही मौका छोपेर नेपाल राष्ट्र बैंकले नयाँ नोट बजारमा धेरै पठाउँछ । 

यसको अर्थ के हो भने नेपाल राष्ट्र बैंकले अरु समयमा पनि नयाँ नोट बैंकहरुमा ‘सर्कुलेट’ त गरिरहेको हुन्छ, तर दशैंमा चाहिँ उसले निकै धेरै नयाँ नोटहरु निस्कासन गर्छ । यही समयमा नयाँ नोटको माग बढी हुने भएकाले पनि राष्ट्र बैंकले यो समयमा धेरै नयाँ नोट बजारमा पठाउने हो । त्यसरी पठाउने नयाँ नोट अहिले नै छापिएको भन्ने चाहिँ हुँदैन । ती नयाँ नोट निकै पहिले छापिएका पनि हुनसक्छन् जुन राष्ट्र बैंकको स्टकमा राखिएको हुन्छ ।

 

यो वर्षको व्यवस्था के छ ?

नेपाल राष्ट्र बैंकले यो वर्ष २१ असोजदेखि नयाँ नोट निस्कासन गर्दै छ । राष्ट्र बैंकका ७ कार्यालय र नेपाल बैंक लिमिटेड र वाणिज्य बैंकका विभिन्न कार्यालय गरि ५९ ठाउँबाट नयाँ नोट वितरण गर्ने जनाएको छ । राष्ट्र बैंकले अन्य निजी वित्तिय संस्थाहरुलाई पनि नयाँ नोट दिने भएकाले वाणिज्य बैंकहरुबाट पनि नयाँ नोट लिन सकिने जनाएको छ ।

यसपटक एकजना व्यक्तिले २७ हजार बराबर नयाँ नोट साट्न पाउने व्यवस्था गरिएको छ । 

नेपाल राष्ट्र बैंकले सटहीका लागि १३ अर्ब बराबरका नयाँ नोट निस्कासन गर्ने जनाएको छ । राष्ट्र बैंकले गत वर्ष १२ अर्ब ३३ करोडको खुद्रा मुद्रा सटहीका लागि बजारमा पठाएको थियो । यो रकम सय रुपैयाँ र त्यसभन्दा कम मूल्यका नोटहरुका लागि हो । 

अर्कोतिर, राष्ट्र बैंकले पाँच सय र हजारका नयाँ नोट बैंकिङ सिस्टमका लागि निस्कासन गर्छ । पाँच सय र हजारका नयाँ नोट ५५ देखी ६० अर्ब जारी गर्ने राष्ट्र बैंकको तयारी छ ।

 

नेपाली नयाँ नोटको आयु कति हो ?

नेपाल राष्ट्र बैंकले नयाँ नोट छाप्दा तीन वर्ष तीन महिनाको मागको प्रक्षेपण गर्छ । र, त्यो प्रक्षेपणअनुसार नयाँ नोट छाप्न ग्लोबल टेन्डर आह्वान गरेर विदेशी छापाखानामा पठाउँछ । 

नेपालका सबै नोट एउटै कम्पनीबाट नै छापिएका हुन्छन् भन्ने चाहिँ छैन । विभिन्न मुद्रा विभिन्न कम्पनीबाट छापिएका पनि हुन सक्छन् । 

यो वर्ष राष्ट्र बैंकले निस्कासन गर्ने नयाँ नोटमध्ये ५, १०, २०, ५० र १०० का नोटको आयु दुई वर्ष हुने अनुमान गरेको छ । पाँच सय र हजारका नोटको आयु साढे तीन वर्ष हुने अनुमान राष्ट्र बैंकको छ ।

  • प्रकाशित मिति : असोज १५, २०७५ साेमबार १९:२१:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया