एन्फाको राजनीतिमा रुमलिएको नेपाली फुटबल

नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) र विवाद एकअर्काका परिपूरक बन्न थालेको लामो समय भइसकेको छ । एन्फा नेतृत्वमा आउने यस्ता कमै पदाधिकारी होलान् जसको कार्यकाल बिना विवाद सकिएको होस् । 

पछिल्लो समय एन्फामा राजनीतिले कस्तो रूप लिएको छ भन्ने ज्वलन्त उदाहरण हो- आइतबार राष्ट्रिय पुरुष फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले सामाजिक सञ्जालमार्फत गरेका पद त्याग्ने घोषणा । आइतबार दिउँसो नेपाली फुटबल वृत्तमा एकाएक हलचल मच्चियो जसको कारण थियो- फुटबल टिमका मुख्य प्रशिक्षक अलमुताइरीको राजीनामा । 

उनले एन्फा वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङका कारण आफू पद छाड्ने मनस्थितिमा पुगेको बताएका थिए । तर, उनले नेम्वाङले आफूमाथि के–कस्तो दबाब सिर्जना गरे भन्ने केही खुलाएका छैनन् । नेपाली समर्थकमाझ सामाजिक सञ्जालमा निकै लोकप्रिय छन् अलमुताइरी । उनको आगमनले नेपाली फुटबलमा केही सकारात्मक संकेत देखिएको पनि हो । 

टोलीले केही आशलाग्दो प्रदर्शन गरिरहेका छ । उनले हारपछि खेलाडीको बचाउमा दिएको अभिव्यक्तिले खुबै प्रशंसा पाएको थियो । तर, अचानक अलमुताइरीबाट राजीनामा घोषणा होला भन्ने कसैले पनि सोचेका थिएनन् । अलुमताइरीको यो पोस्टपछि सतही बुझाइका आधारमा धेरै समर्थकले पंकजमाथि गालीको वर्षा गरे । मुख्य प्रशिक्षकले कुनै पदाधिकारीलाई दोष दिँदै समाजिक सञ्जालमा आफूले राजीनामा दिन लागेको बताउनु कतिको जायज हो भन्नेबारे कसैको ध्यान गएको छैन । 

यदि पंकजले कामै गर्न नसक्ने अवस्था सिर्जना गरेको भए प्रशिक्षक अलमुताइरीले एन्फा अध्यक्षलगायतका पदाधिकारीसँग छलफल गर्नुपर्ने हो । सिधै सामाजिक सञ्जालमा पोस्ट गर्नु आवश्यक थिएन ।

प्रशिक्षक अलमुताइरी आइतबार अचानक राजीनामा दिने बताउँदै एन्फा पुगेपछि अध्यक्ष कर्माछिरिङ शेर्पा र उनीबीच छलफल भयो । अध्यक्षसँगको छलफलमा उनले आफू तनावमा रहेको बताए । अध्यक्ष शेर्पाले अलमुताइरीलाई केही दिन आराम गर्ने सल्लाह दिँदै राजीनामा नदिन आग्रह गरेको एन्फा प्रवक्ता किरण राईले जानकारी दिए । साथै, उनले प्रशिक्षकबाट आधिकारिक रूपमा राजिनामा नआएको पनि बताए । 



आखिर राजीनामा नै दिनु थिएन भने प्रशिक्षक अलमुताइरीले पंकजलाई दोष दिँदै राजीनामा घोषणा गर्नुको आशय के हो त ? एन्फा अध्यक्षसँगको छलफलपछि उनको मन बदलिएको हो भने उनले सामाजिक सञ्जालमा पोस्ट गर्नुपूर्व यसको आवश्यकता किन देखेनन् ? 

सबैलाई थाहा छ, पछिल्लो एन्फा अध्यक्ष शेर्पा र वरिष्ठ उपाध्यक्ष नेम्वाङबीच राम्रो सम्बन्ध छैन । एन्फा चुनाव नजिकिँदै गर्दा उनीमाथि यस्तो आरोप लाग्दा यसले पक्कै पनि शंका उब्जाउने छ ।  



चुनाब नजिकिँदै गर्दा दुवै पक्षबीच मनमुटाव सुरु भइसकेको छ । शेर्पा अध्यक्ष हुँदा नेम्वाङले उनकै प्यानलबाट उपाध्यक्ष जितेका थिए । नेम्वाङले पछिल्लो समय शेर्पाको कार्यशैलीमाथि प्रश्न उठाउँदै आएका छन् । उनले कार्य समिति बैठकको माग राख्दै दुईपटक पत्र लेखेका थिए । 

उता, नेम्वाङ भने अलमुताइरीले आफ्ना कारण पद त्याग्ने घोषणा गरेको सुन्दा आश्चर्य लागेको बताउँछन् । नेम्वाङले सञ्चारमाध्यमसँग बोल्दै यसमा आफ्नो कुनै गल्ती भएको स्पष्ट पारे । र, यसबारे छानबिनको मागसमेत गरे । उनले यदि आफू यसमा दोषी देखिए एक मिनेट पनि पदमा नबस्ने बताए । 

नेम्वाङले प्रशिक्षकले आरोप लगाएजस्तो आफूहरूबीच पछिल्ला तीन सातामा प्रत्यक्ष रुपमा कुनै सम्पर्क नै नभएको दाबी गरे । उनले केही समयअघि प्रशिक्षक अलमुताइरीले विभिन्न सञ्चारमाध्यममा दिएको अभिव्यक्तिबारे भने एन्फा महासचिव इन्द्रमान तुलाधर र सहायक प्रशिक्षक किरण श्रेष्ठमार्फत उनीसँग स्पष्टीकरण माग गरेको चाहिँ स्वीकारे । 

एन्फामा पदाधिकारी वा प्रशिक्षकले राजीनामा दिनु कुनै नयाँ विषय होइन । केही दिनअघि मात्र प्राविधिक समितिका संयोजक कृष्णबहादुर थापाले पद त्याग गरेका थिए।

उनले प्रशिक्षक अलमुताइरीको सम्झौता नवीकरण, महिला टिममा सहायक प्रशिक्षक नियुक्तिलगायतका कार्य आफ्नो जानकारीबिनै भएको बताएका थिए । 
एन्फा होस्टल व्यवस्थापन समितिका सदस्यले पनि काम गर्ने वातावरण नभएको भन्दै राजीनामा बुझाएका थिए । 

एन्फामा राजीनामा दिने क्रम चलिरहँदा प्रवक्ता राई भने यसलाई चुनावसँग जोड्न नमिल्ने बताउँछन् । उनले यसअघिका सबै राजीनामा कुनै पदबाट नभएर विभिन्न समितिको जिम्मेवारीबाट मात्र भएको जनाउँदै यसलाई शक्ति संघर्षसँग जोड्न नमिल्ने बताए । 

राईले यसो भनिरहँदा एन्फा चुनावी खेलमा भने अहिले नै राजनीतिले विकराल रुप लिइसकेको अनुमान गर्न सकिन्छ । प्रशिक्षकले एन्फासँग कुनै जानकारी नै नगराई कुनै पदाधिकारीलाई दोष दिँदै सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गर्नुलाई पनि राजनीतिकै रुपमा हेरिएको छ । तर, यो कुनै सामान्य विषय भने पक्कै होइन।

‘प्रो-लाइन्सेन्स’ प्राप्त प्रशिक्षकलाई एन्फाले कतार फुटबल संघबाट सहयोग स्वरुप पाएको हो । नेपालका लागि यो गर्व गर्न लायक विषय हो, तर यसरी प्रशिक्षक विवादमा फस्दै जाने हो भने कतार फुटबल संघले एन्फालाई हेर्ने नजर कस्तो हुन्छ ? के फेरि नेपाललाई सहयोग गर्न तयार रहला ? नेतृत्व तहमा पुग्नेले यो कुरामा ध्यान दिनु जरुरी छ ।  

एन्फा चुनाव नजिकिँदै गर्दा यस्ता घटनाक्रम अझै बाहिर आउने सम्भावना रहेको एन्फा पदाधिकारी नै बताउँछन् । इतिहासलाई केलाउने हो भने पनि एन्फामा भएका शक्तिसंघर्षका उदाहरण प्रशस्तै छन् । राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नै कुनै पदाधिकारीलाई दोष लगाउँदै सार्वजनिक रुपमा देखा परेको भने सम्भवत? यो पहिलो घटना हो ।

एउटा संस्थाभित्रको व्यक्तिगत अन्तरद्वन्द्वका कारण खेलाडीको भविष्यमाथि खेलबाड गर्ने अधिकार कसैलाई पनि नभएको अधिकारीहरू बताउँछन् । एकअर्काबीचको आरोपप्रत्यारोपमा नेम्वाङ वा अलमुताइरी कुनै एक पक्षले जित्ला, तर यसले नेपाली फुटबलको बाटो कतातिर मोडिएला ? 


 

  • प्रकाशित मिति : साउन ११, २०७८ साेमबार १५:८:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया