संसदबाट किन भाग्दै छ बागमती प्रदेश सरकार ?
प्रदेश सभा बिजनेसविहीन

नेकपा एमाले केन्द्रमा दुई धारमा देखिए पनि बागमती प्रदेशमा बजेट र नीति तथा कार्यक्रम एक भएर पास भयो । एमालेको माधव नेपाल पक्षले साथ दिँदा बागमतीमा बजेट बहुमतले पास भएको हो । 

नेकपा एमाले एक हुँदा बागमती प्रदेशमा एमालेले एकल बहुमतको सरकार चलाउँछ, तर केन्द्रको विवाद पछ्याएर प्रदेशमा सत्ता समीकरणको प्रयास भएमा एमाले अल्पमतमा पर्छ । यसअघि त्यो प्रयास भए पनि ठोस रुप पाउन भने सकेको थिएन । विवादबीच प्रदेश सरकारले संसदमा आफू आलोचित हुनपर्ने डरले संसद बैठक समेत नराख्न सभामुखलाई दबाब दिँदै आएको छ । 

समीकरण नमिल्दासम्म संसद बन्धक !

बागमती प्रदेशमा सत्ता समीकरण नमिल्दासम्म प्रदेशसभा बन्धक हुने देखिएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले आफूनिकट मात्रैलाई समेटेर मन्त्रिमण्डल विस्तार गरेको भन्दै माधव पक्षले असन्तुष्टि राख्दै आएको छ । प्रदेश सरकार गठन भएदेखिको असन्तुष्टिलाई मुख्यमन्त्री पौडेलले अहिले ‘सत्ता समझदारी’का नाममा सरकारको आयु लम्ब्याउन खोजिरहेका छन् । माधव नेपाल पक्षको दरिलो साथको विश्वसनीयता नभएसम्म डोरमणि सरकारलेसंसद नचलाउने देखिएको छ ।  

बजेट पास भएपछि एकपटक पनि प्रदेशसभाको बैठक बसेको छैन । बागमती प्रदेशसभा सञ्चालन कार्यान्वयन प्रभावकारी नभएको भन्दै प्रदेशसभाको बैठकमा सांसदहरुले आवाज उठाउँदै आएका छन् । विवेकशील साझाका प्रदेशसभा सदस्य विराजभक्त श्रेष्ठले सरकारले कर्मकाण्डी रुपमा मात्रै संसद चलाएको आरोप लगाएका छन् । 

यस्तै, राप्रपाकी सांसद रीता माझी पनि सरकार संसदप्रति उत्तरदायी नभएको बताउँछिन् । भन्छिन्, ‘सरकार संसदप्रति जिम्मेवार हुनुपर्नेमा, औपचारिकता मात्रै पूरा गर्ने गरेको छ ।’ 



नेकपा माओवादी केन्द्रका ओम ग्लानले सरकारले सदन छलेर आलोचनामुक्त हुन खोजेको आरोप लगाए । एक दिन सत्य बाहिर आएरै छाड्ने उनको भनाइ छ । 

नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्य एमाले संसदीय बोर्डको बैठकमा प्रदेशसभाको प्रभावकारी कार्यान्वयनको विषय उठान गरेको दाबी गर्छिन् । उनले भनिन्, ‘बागमती संसद प्रभावकारी रुपमा चल्न सकेको छैन, यसलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा दलमा गम्भीर छलफल भएको छ ।’  



नेपाली कांग्रेसका सचेतक छिरिङ दोर्जे लामाले सरकारले बजेट पास गर्नु नै ठूलो उपलब्धि मानेको बताए । संसद औपचारिकता र कर्मकाण्डीको रुपमा मात्रै प्रयोग हुन थालेको उनको भनाइ छ । 

बिजनेस नभएर चलेन  ः  सभामुख

बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ प्रदेशसभा कसैको दबाब र प्रभावले नचल्ने बताउँछन् । संसदमा पर्याप्त विजनेस नहुँदा सभा नराखेको उनले बताए । बजेट पास हुनुभन्दा अगाडि सबै दललाई सांसद अनुसार समय विभाजन गरेर विशेष समयमा बोल्न दिएको र मुख्यमन्त्री डोरमणि पौडेललाई जवाफ दिन लगाएको स्मरण गराउँदै  उनले प्रदेशसभा अहिले काम नभएर नै नचलेको बताए । सभामुख श्रेष्ठले बिजनेसविना संसद किन चलाउने ? भन्दै प्रतिप्रश्न समेत गरे ।
 
श्रेष्ठका अनुसार बागमती प्रदेशमा हालसम्म ६४ विधेयक प्रदेशसभा सचिवालयमा दर्ता भएका छन् भने जसमध्ये ६२ वटा ऐन नै बनिसकेको छ । यस्तै, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलले दर्ता गरेको पर्यटनसम्बन्धी विधेयक, र सामाजिक विकास मन्त्रालयले दर्ता गरेको  शिक्षासम्बन्धी विधेयक पारित हुन बाँकी रहेको छ । यी दुईवटै विधेयक प्रदेशसभाअन्तर्गतको सम्बन्धित संसदीय समितिमा छलफलको क्रममा छन् ।

  • प्रकाशित मिति : साउन ११, २०७८ साेमबार २०:८:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया