लेखक तथा नागरिक समाजका अगुवा खगेन्द्र संग्रौलाले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्दा हुने बताएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमार्फत संग्रौलाले यस्ताे बताएका हुन् ।
संग्रौलाले ट्विट गर्दै लेखेका छन्,‘न साझा न विवेकशीलका सम्भ्रान्त श्री रवीन्द्र मिश्रलाई संघीयताको खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रह चाहिएछ । कुराको चुरो यही हो भने यी नवमण्डलेले खुरुक्क कमल थापाको राजावादी राप्रपामा प्रवेश गरे भइगो नि !’
अध्यक्ष मिश्रले हिजो(सोमबार) संघीयता खारेज र धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने प्रस्ताव अगाडि सारेका थिए । सोही प्रस्तावलाई लिएर संग्रौलाले यस्तो अभिव्यक्ति दिएका हुन् ।
मिश्रको प्रस्तावलाई लिएर अहिले चारैतिर चर्को आलोचना भइरहेको छ । विवेकशीलकै नेता मिलन पाण्डेले मिश्रको प्रस्तावमा मतभेद देखाएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्,‘यसले हामीलाई फेरि वैकल्पिक राजनीति र हिजो हामीले संविधानवाद र प्राप्त उपलब्धि भनेर जे भनेका थियौँ, त्यसमाथि प्रश्न उठाएको छ, हामी छलफलमा रहेका छौँ ।’
पाण्डेले मिश्रको धारणा पार्टीको आधिकारिक धारणा नभएको र यसबारेमा पार्टीमा छलफल गरिने पनि बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।