भर्खर जुँगाको रेखी बस्दा रुमालले मुख छोपेर हिँड्थेँ

किशोर अवस्थाको स्मरणले मलाई अहिले पनि रोमाञ्चित बनाउँछ। हुनत औसत किशोरझैँ काम, पढाइ र खेलको त्रिवेणीमा बग्दै जिन्दगीको उक्त कालखण्ड बिताइयो। घरको काम सकेर स्कुल जान्थेँ।

स्कुलबाट फर्केर घरको काम गरिन्थ्यो। बचेको समयमा अनेक स्थानीय खेल खेलियो। यो अर्थमा म त्यो बेला पूर्णकालीन विद्यार्थी हुन सकिनँ। हाम्रो ग्रामीण परिवेशमा हुर्केका हरेक किशोरको साझा अवस्था थियो यो।

निम्नमध्यम वर्गीय परिवारमा हुर्किएको हुनाले घाँस, दाउरा, मेला पर्म गर्नैपर्थ्यो। मलाई स्मरण छ, १५÷१६ वर्षकै उमेरमा मैले आफ्नो घरको छानो आफैंले हालेको थिएँ। क्रमशः उमेरसँगै रहर पनि बढे। गाउँमै खुम्चिएर बस्न मन लाग्न छाड्यो। बाआमा मलाई धेरै पढाउने चाहनुहुन्थ्यो। तर परिस्थिति कठिन थियो। मलाई चाहिँ बढै पढ्न मन नलाग्ने हुँदै गयो।

यद्यपी, स्कुल पढ्दाका केही अनुभूति रोचक छन्। गर्मीयाममा बिहान स्कुल लाग्थ्यो। स्कुल जाँदा घरबाट काँचो आँपको अचार र गहुँको रोटी लगिन्थ्यो। स्कुलमै खाइन्थ्यो। फर्कँदा ऐंसेलुका झ्याङ चहार्दै हिँडिन्थ्यो। 

गाउँलेका बारीमा फलेका काँक्रा नचोरी चित्तै बुझ्दैनथ्यो। काँक्रो चोरेर भाग्दा थुप्रै जोर चप्पल चुँडिए। कहिलेकाहीँ स्कुलबाट भागेर सिम्ले खोलामा पौडी खेल्न गइन्थ्यो। त्यो दिन सम्झदा निक्कै रोचक लाग्छ अहिले। गाउँमा पानीको अभाव थियो। स्कुल गएका बेला तिर्खा लाग्यो भने धारामा गएर आधा घण्टा जति लाइन नै बस्नुपर्थ्यो। त्यो बेला पानी पिउन गरेको संघर्ष सम्झँदा अहिले पनि मन कटक्क खान्छ। 

लेखनसँगै गीत, संगीतमा रुची



त्यतिबेला हरेक शुक्रबार स्कुलमा अतिरिक्त क्रियाकलाप हुन्थ्यो। विभिन्न कार्यक्रम हुन्थे। जसमा म सहभागी हुन्थें। निबन्ध तथा कविता लेखन प्रतियोगितामा प्रतिस्पर्धा गर्थेँ। प्रतिस्पर्धाले मान्छेलाई तिखार्दो रहेछ। क्रमशः राम्रा गीत, कविता लेख्न थालेँ।

लेखनसँगै संगीतमा पनि रुची थियो। गाउँमा बाजा बनाउन थालेँ। त्यो बेला मैले १०० वटा भन्दा बढी त बाँसुरी नै बनाएर बजाएँ हुँला। सानो, सुरिलो बाँस देख्यो कि काटिहाल्न मन लाग्ने। 



छाताको टुप्पोले बाँसमा प्वाल पारेर, चप्पलको टुक्रा वा गुन्दर गानोले प्वाँल टालेर बाँसुरी बनाउँथे। तर, आफैंले बनाएको बाँसुरी राम्रोसँग बजाउन पाउँदिनथेँ। बाँसुरी देख्यो कि आमाले फुटाइदिनुहुन्थ्यो, छोराले पढाइ बिगार्यो भन्ने पीर थियो आमालाई। 

सँगसँगै गीत पनि गाउन थालेँ। तर आमालाई मैले गीत गाएको मन पर्दैनथ्यो। किनकी, उहाँ छोराले धेरै पढोस् भन्ने मात्रै चाहनुहुन्थ्यो। गीत गाउने मामलामा आमा र मेरो लुकामारी नै चल्थ्यो।

बिस्तारै रेडियो सुन्नमा रस बस्यो। त्यतिबेला घरमा एउटा सानो रेडियो थियो। बाले समाचार सुन्न ल्याउनु भएको रेडियो बगलीमै बोकेर हिँड्थेँ। रुखमा चढेर ब्याट्रीले धानुञ्जेल गीत सुन्थें। तर बालाई भने समाचार सुन्न रेडियो बोकेको भनेर ढाँट्थेँ।

लुकीलुकी तास खेल्दा...

आठ कक्षा पढ्दा ताकाको कुरा हो। साथी, संगतले तास खेल्न सिकेँ। अनि त छिटै नै तासको लत लागिहालेछ। बा, आमासँग लुकेर जुनेली रातमा रातभर बारीको कान्लामुनि बसेर तास खेलेको स्मरण ताजै छ। एकदिन बाले त्यसरी तास खेलेको थाहा पाउनु भएछ। म खूब डराएँ, बाले बेस्मारी पिट्नुहुन्छ भनेर। तर उहाँले पिट्नु भएन। शान्त भएर सोध्नुभो, ‘कसैले तेरो छोराले के गर्छ भनेर सोध्दा तास खेल्छ भनौं कि पढ्छ भनौँ ? केटा !’ म एकछिन चुप बसेँ। 

बाले फेरि सोध्नुभयो, ‘तास खेल्छस् भने तासै किन्दिन्छु, पढ्न पाउँदैनस्, पढ्छस् भने जे नि गर्दिन्छु, तास खेल्न छाड्।’ मैले निकै विचार गरेर जवाफ दिएँ, ‘पढ्छु, तर सहर गएर।’ 

त्यसको भोलिपल्टै बाले वालिङस्थित मामाघरमा राखेर पढाउन थाल्नु भो। मामाघरमा काम गर्न पर्दैनथ्यो। स्कुल पनि नजिकै थियो। त्यहाँ गएर तास चाहिँ खेलिँन, तर स्कुलका अतिरिक्त क्रियाकलापमा भने सहभागी भइरहेँ।

जिल्लास्तरीय विभिन्न प्रतियोगितामा सहभागी भएर विजयी भएँ। भित्तेपत्रिकामा विभिन्न रचना प्रकाशन गर्न थालेँ। यसरी तासले मलाई बजार ल्यायो। बजारले धेरै कुरा सिकायो। बुबाको बुद्धिमानीप्रति म अहिले पनि नतमस्तक छु। 

पहिलो गीत रेकर्ड

एकदिन घरभन्दा अलिमाथिको जंगलस्थित चौतारोमा बसेर होमवर्क गर्दै थिएँ। म होमवर्क गर्न र विभिन्न रचना गर्न त्यहीँ जान्थेँ। बिहे गरेर चेलीलाई माइतबाट घर ल्याउँदै गरेको मैले देखेँ। त्यो दृश्यले मन छोयो। अनि त्यतिबेलै लेखेँ, ‘देउरालीमा हावा’ बोलको गीत। 

जुन गीत पछि रेकर्ड भयो। मैले लेखेको पहिलो रेकर्डेड गीत पनि त्यही हो। किशोर अवस्थामा नै मैले सिर्जनाको पाइला अघि बढाएको थिएँ।

मन परेकी केटी नपाउँदा

किशोरावस्थामा धेरै साथी बने, छुटे। केटी साथी पनि बनाइयो। मन परेकी केटी नपाउँदा रुँदै पनि हिँडेको छु। तर, मैले उनलाई मन पराउँछु भन्नै सकिनँ। किनकी, आमाले रक्सी खाने र लभ गर्ने काम नगर भन्नुभएको थियो। बा आमाको इज्जतको ख्याल गरेरै प्रस्ताव राखिँन। तर पनि उनीसित छुटिँदा खूब पीर पर्यो।

म अलि बढी नै लजालु स्वभावको थिएँ। भर्खर जुँगाको रेखी बस्दा रुमालले मुख छोपेर हिड्थेँ, मान्छेहरुले खिसी गर्छन् भनेर। पछि जुँगा काटेँ। जुँगा काट्दा झन् लाज लाग्यो। तर डन्डीफोर आउँदा चाहीँ खुसी लाग्यो, बैँस आयो भनेर। अहिले सम्झँदा पो रमाइलो लाग्छ।

किशोरावस्थामा नै धेरै कुरा पाएँ, धेरै कुरा छुटे। तर गीत,संगीतप्रतिको प्रेम भने झन् बढ्दै गयो। र, अहिले यो ठाउँमा छु।

(सर्जक एकनारायण भण्डारीसँगको कुराकानीमा आधारित)

  • प्रकाशित मिति : साउन १२, २०७८ मंगलबार १५:१:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया