खाल्डोमा पुरिएका उत्तरपुस्तिका विवाद पेचिलो बन्दै गएपछि निकालियो

पहिलो भागमा त्रिविमा चरम बेथिति, फस्ने डरले एकपछि अर्को गल्ती शीर्षकमा समाचार प्रकाशित गरेका थियौं। त्रिभुवन विश्वविद्यालयभित्र कतिसम्म मनपरी हुन्छ भन्ने कुरा यो भागमा देखाउँछौँ। 

त्रिविले अदालतमा विचाराधीन मुद्दाको महत्वपूर्ण प्रमाण लुकाउने गरेको पाइएको छ। विवादित परीक्षाको उत्तरपुस्तिका नष्ट प्रमाण फेला परेको छ। यसमा रोचक कुरा त के छ भने सर्वोच्च अदाललतबाट उत्तर पुस्तिका सुरक्षित राख्न अन्तरिम आदेश आउनुअगाडि नै धुलाइ गरेकाले आदेश कार्यान्वयन गर्न नसकिने ब्यहोराको जवाफ दिएको थियो। 

तर, पछि राष्ट्रिय सूचना आयोग र राष्ट्रिय सतर्कता केन्द्रलाई भने ‘उत्तरपुस्तिका सुरक्षित छ’ भन्दै जवाफ दिइयो। यो भन्दा अर्को अचम्मको कुरा के भयो भने आफू फस्ने डरले त्रिविका अधिकारीहरूले उत्तरपुस्तिका खाल्डोमा पुरेको पाइयो। यो विषय थप पेचिलो बन्दै गएपछि खाडलमा गाडिएका उत्तरपुस्तिका पुनः निकालिएका थिए। 

अनुसन्धान तथा अदालतमा विचाराधीन रहेको मुद्दासँग सम्बन्धित रहेका महत्वपूर्ण कागजपत्र नष्ट गर्न मिल्दैन। तर, त्रिविका अधिकारीहरु विद्यार्थीको उत्तरपुस्तिका कहिले खाल्डोमा पुर्ने, कहिले निकाल्ने खेलमा लागेको देखिन्छ।  

२०७५ पुस २९ गते लिइएको स्नातकोत्तर तह भौतिक शास्त्र प्रथम सेमेस्टर पुरानो कोर्स क्वान्टम मेकानिक विषयको परीक्षामा विवाद भयो। पाठ्यक्रम भन्दा बाहिरबाट प्रश्न सोधिएको भन्दै महेन्द्ररत्न क्याम्पस ताहाचलका २२ परीक्षार्थीले परीक्षा बहिस्कार गरे। केहीले भने परीक्षा दिए। 

परीक्षा बहिस्कार गरेका परीक्षार्थीहरूको उजुरी त्रिवि, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, प्रहरी, सरकारी वकिलको कार्यालय हुँदै सर्वोच्चसम्म पुग्यो।



पीडित विद्यार्थीका तर्फबाट आशिष पौडेलले उजुरी दिएका थिए। उक्त विवादित परीक्षाको विषयमा कानुनी प्रक्रिया चलिरहँदा २०७६ बैशाख ११ गते परीक्षाफल प्रकाशित गरियो। 



जबकी त्यही दिन शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठी, विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डिन प्रा.डा. रामप्रसाद खतिवडा, भौतिक शास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा. विनिल अर्यालबीच छलफल भएको थियो। उनीहरुले भोलि थप छलफल गर्ने सहमति गरेका थिए। तर, हतार–हतारमा डिनले परीक्षाफल प्रकाशित गरिदिए।   

परीक्षा फल परीक्षामा सहभागीहरुको नतिजा राम्रो देखिएको छ। परीक्षा बहिस्कार गर्ने विद्यार्थीहरुको दावी अनुसार परीक्षा दिनेहरुले पनि लेख्न सकेका थिएनन्। पाठ्यक्रमभित्र बाट करिब १० नम्बर जतिको मात्रै प्रश्न सोधेकाले उनीहरु अलिअलि लेखेर निस्किएका थिए। तर लेख्दै नलेखेको अवस्थामा पनि डिन कार्यलयले बढी नम्बर चढाएर पास गराएको आरोप परीक्षा बहिस्कार गर्ने विद्यार्थीहरुले लगाए। 

उत्तर पुस्तिका हेरेमा त्यो पुष्टि हुने दावी उनीहरुको थियो। यस विषयमा छानबिन गर्नु पर्ने माग उनीहरुको थियो। 

परीक्षाफल प्रकाशित भएपछि त्रिविले उत्तरपुस्तिका धुल्याउने काम गर्छ। परीक्षाफल प्रकाशित भएको चार महिनापछि उत्तरपुस्तिका धुल्याउने त्रिविको प्रावधान छ। पीडित विद्यार्थीका तर्फबाट आशिष पौडेलले २०७६ असोज ७ गते त्रिविका कार्यवाहक उपकुलपति समेत रहेकी प्रा.डा. त्रिपाठीलाई ‘उत्तर पुस्तिका धुल्याउनबाट निषेध गरी सुरक्षित रुपमा शिलबन्दी गरी पाउँ’ भनेर निवेदन दिए। 

अनियमितताको बलियो प्रमाणका रुपमा रहेको उत्तर पुस्तिका धुल्याउन सक्ने डरले पौडेलले त्यो रोक्न निवेदन दिएका थिए। त्रिपाठीले ‘उत्तर पुस्तिकाहरू आफूले जोगाउन सक्दिनँ’ भनेर जवाफ दिइन्। उनीहरुले राष्ट्रिय सतर्कता केन्द्र र राष्ट्रिय सूचना आयोगमा निवेदन दिए। 

सूचना आयोगले २०७६ असोज १४ गते त्रिविलाई ‘सूचना संरक्षण गर्न अर्थात् उत्तर पुस्तिका र त्यससँग सम्वन्धित सबै अभिलेख सुरक्षित राख्नू’ भनेर पत्राचार गर्यो। त्यस्तै, सतर्कता केन्द्रले पनि असोज ३० गते पत्र पठाएर उत्तरपुस्तिकाबारे जानकारी माग्यो। 

त्रिविले यस विषयमा कुनै जवाफ दिएन। जवाफ नपाएपछि राष्ट्रिय सतर्कता केन्द्रले फेरि २०७६ कात्तिक २१ गते अर्को पत्र पठायो। यो ताकेतापछि डिन खतिवडाले कात्तिक २४ गते ‘उत्तर पुस्तिकाहरू सुरक्षित छन्’ भनेर जवाफसहितको पत्र पठाए। 

यो मुद्दा सर्वोच्च अदालतमा पनि पुग्यो। सर्वोच्चले पनि मुद्दा टुंगो नगालेसम्म उत्तर पुस्तिका सुरक्षित राख्न अन्तरिम आदेश दियो। २०७७ असार ३० गते सर्वोच्चले अन्तिरिम आदेश दिएको थियो। 

अन्तरिम आदेशपछि उत्तरपुस्तिका धुल्याइसकिएकाले आदेश कार्यान्वय गर्न नसक्ने भन्दै जवाफ पठाएको थियो। कानुनी प्रक्रिया चलिरहेको मुद्दामा त्यो विषयको छिनोफानो नहुँदासम्म कुनैपनि प्रमाण नष्ट गर्न पाइँदैन।

त्यसमा पनि सतर्कता केन्द्र, राष्ट्रिय सूचना आयोगले उत्तरपुस्तिका नधुल्याउनु भनेर निर्देशन दिइसकेको थियो। सुरक्षित रूपमा राख्नू भनिएको उत्तरपुस्तिका नै धुल्याइएको भनेर जवाफ दिनु गम्भीर लापरबाही देखिन्छ।

छानबिन समिति लामो समयदेखि बन्यो पंगु 

प्रा.डा.ओम प्रसाद बरालको नेतृत्वमा रहेको छानबिन समितिले प्रतिवेदन शिक्षाध्यक्षलाई बुझाएको थियो। उक्त प्रतिवेदनप्रति चित्त नबुझेपछि पीडित विद्यार्थीहरूले छानबिन गरीपाउँ भन्दै शिक्षाध्यक्षसमक्ष उजुरी गरेका थिए। 

उजुरीपछि बराल प्रतिवेदनमाथि छानबिन लागि गत वर्षको माघ २९ गते गंगाबहादुर थापाको संयोजकत्वमा समिति गठन गरिएको थियो। बराल संयोजकत्वले बनाएको प्रतिवेदन बदनीयत हो भन्दै त्यसमाथि नै छानबिन गरीपाउँ भन्दै परेको उजुरीपछि समिति गठन गरिएको थियो।  

समितिले सुरुमा केही समय काम गर्‍यो। त्यो बेला पनि मुद्दासँग जोडिएका त्रिविका अधिकारीहरूले सहयोग गरेनन्। काम गर्दै गर्दा केही समयपछि देशमा लकडाउन भयो। जसले गर्दा लामो समय समितिले काम गर्न सकेन। 

‘लकडाउनका कारण चैतदेखि असारसम्म काम गर्न सकेनौँ। अहिले फेरि काम अगाडि बढाएका छौं,’ समितिका सदस्य उप–प्राध्यापक पुस्करसिंह राइखोलाले भने। 

थप पाँच वटा विषयमा पनि छानबिन गर्न समितिलाई भनिएको छ। छानबिनको विषय थपिएको थपिएै भएकाले प्रतिवेदन फाइनल गर्न फाइल गर्न नपाएको समितिका संयोजक थापाले बताए।

‘रेक्टर कार्यालयबाट अहिलेसम्म पाँच वटा उजुरी आइसकेको छ,’ संयोजक थापाले भने, ‘सुरुमा दिएको विषयमा सबै छानबिन गरिसकेका थियौं। केही दिन अगाडि फेरि तीन वटा विषयको छानबिन गरिपाऊँ भनेर आएको थियो। थप आइरहेकाले यो विषय टुंगोमा पुग्न सकेको छैन।’

सुरुमा प्रा.डा. बराल संयोजकत्वको छानबिन समितिले बनाएको प्रतिवेदनमाथि अनुसन्धान गर्न भन्दै रेक्टर कार्यालयले समितिलाई कार्यादेश दिएको थियो। पछि नयाँ–नयाँ बुँदा थपिँदै गएपछि काम गर्न समस्या भइरहेको संयोजक थापाको गुनासो छ।

समितिलाई त्रिविका अधिकारीहरूले असहयोग गर्दै आएका छन्। मुद्दासँग जोडिएका अधिकारीहरूले समयमै जवाफ दिँदैन। जानकारी लिन खोज्दा रेस्पोन्स नगर्ने गरेर समितिप्रति उनीहरू रुष्ट देखिएको समितिका पदाधिकारीहरूको बुझाइ छ। 

फसिने डरले डिन कार्यलय हतार–हतार उत्तरपुस्तिका खाल्डोमा पुरेको र व्यापक दवाव भएपछि खाल्डोबाट निकालिएको पीडित विद्यार्थीको दावी छ। 

डिन कार्यालयले उत्तरपुस्तिका धुल्याउने विषयमा यसअघि नै टिप्पणी उठाएको थियो। सूचना आयोगले डिनलाई कारबाही गरेपछि भने उत्तरपुस्तिका धुल्याएको नभएर धुल्याउने टिप्पणी मात्र गरिएको प्रष्ट पारेको थियो। धुल्याउने टिप्पणी उठाउनु भनेको धुल्याए सरह मानिन्छ। 

त्यो त कर्मचारीले नभ्याएर वा अन्य कुनै कारणले धुल्याउन मात्र बाँकी रहेको नत्र टिप्पणी उठाउने बिक्तिकै धुल्याउने काम गरिने पीडित विद्यार्थी आशिष बताउँछन्। 

‘अदालतमा मुद्दा चलिरहेको विषयको महत्वपूर्ण प्रमाणलाई नष्ट गर्ने भनेर टिप्पणी उठाउनु भनेको नै ठूलो अपराध हो’ आशिष भन्छन्, ‘त्यो त संयोगवश धुल्याउन छुटेको होला। यसमा उनीहरूमाथि कडा कारबाही हुनुपर्छ।’ आशिषले भने। 

समितिले उत्तरपुस्तिका सुरक्षित नष्ट गरिएकोबारे समेत जानकारी पाएको थियो। उक्त जानकारीपछि समितिले आवश्यक सोधपुछ गरेको थियो। सोधपुछका क्रममा उत्तरपुस्तिका सुरक्षित नै पाइएको संयोजक थापा बताउँछन्। तर, समिति सदस्य राइखोलाले भने उत्तरपुस्तिका सुरक्षित रहे नरहेकोबारे आफूले जानकारी नपाएको प्रष्ट पारे। 

महेन्द्ररत्न क्याम्पस ताहाचाल परीक्षा केन्द्रका ४७ विद्यार्थीको उत्तरपुस्तिका सुरक्षित नै रहेको संयोजक थापाको भनाइ छ।   

अनावश्यक उत्तरपुस्तिका धुल्याइएको र मुद्दासँग सम्बन्धित उत्तरपुस्तिका सुरक्षित नै रहेको उनले जानकारी दिए। ‘अनावश्यक उत्तरपुस्तिका धुल्यायो होला। तर, मुद्दासँग सम्बन्धित उत्तरपुस्तिका जलाएको छैन। सबै सुरक्षित नै रहेको जानकारी पाएका छौं।’ संयोजक थापाले भने। 

उत्तरपुस्तिका खाल्डोमा पुरेर फेरि निकालिएको बारे आफूले पनि जानकारी पाएको समिति सदस्य राइखोलाले बताउँछन्। 

‘गाडेर फेरि निकालको विषय जानकारीमा आएको छ। धुल्याउनको लागि डम्पिङ गरेको र पछि निकालेको भन्ने सुनेका छौं। आगो लगाएर जलाउनुभन्दा खाल्डोमा गाडेर पुर्नु राम्रो हुने भन्दै गाडिएको थियो। तर, पछि निकालिएको र सुरक्षित राखिएको भन्ने समेत जानकारीमा आएको छ।’ उनले भने। 

अब यो विषय चाँडै टुंगोमा पुग्ने संयोजक थापा बताउँछन्। ‘धेरै लामो गयो। अब जति सक्दो चाँडो टुंगोमा पुर्‍याउँछौँ। जति लम्बियो त्यति नै समस्या देखिन्छ। अब यसको समाधानतिर लाग्छौं।’ थापाले भने।  

त्रिविमा चरम बेथिति, फस्ने डरले एकपछि अर्को गल्ती

  • प्रकाशित मिति : साउन १२, २०७८ मंगलबार १८:५३:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया