काङ्ग्रेस जिल्ला सभापतिसँग फरकधार
‘अर्काको फेराे समाएर नेतृत्वमा पुग्न सकिँदैन’

(सम्पादकीय नाेट :१४औँ महाधिवेशनको काउन्टडाउन सुरु हुँदै गर्दा यतिबेला नेपाली कांग्रेसभित्र राजनीतिक सरगर्मी बढेको छ । पार्टी सभापतिदेखि केन्द्रीय समिति, प्रदेश, जिल्ला हुँदै वडास्तरसम्म यतिबेला कांग्रेसलाई महाधिवेशनले छोपेको छ । 

अब कांग्रेसले पाउने नेतृत्व कस्तो होला ? र, महाधिवेशनपछिको कांग्रेस कस्तो होला ? भन्ने प्रश्न जनमानसमा छ । त्यसो त कांग्रेस केन्द्रीय तहका नेताहरुलाई तल्लो तहका नेताले सुझाव पनि दिइरहेका छन् । 

फरकधारको यो शृंखलामा हामीले कांग्रेसका जिल्ला सभापतिहरुसँग महाधिवेशनपछिको कांग्रेस कस्तो हुनुपर्छ ? र, युवा नेतृत्वको सम्भावना के छ ? भनी सोध्ने छौँ । यसै क्रममा दाेलखा जिल्लाका नेपाली कांग्रेसका सभापति रुद्रबहादुर खड्कालाई हामीले यो शृंखलामा प्रस्तुत गरेका छौँ । )

हामी १४औँ महाधिवेशनको मुखमा छौँ । यतिबेला कस्तो प्रकारको नेतृत्व छान्ने भन्ने विषय पेचिलो बन्दै गइरहेको छ । हामीले नेतृत्व छान्नेभन्दा पनि देशभरका महाधिवेशनबाट आएका साथीहरुले आफ्नो नेतृत्व चयन गर्ने हुन् । त्यसकारण नेतृत्वमा सधैँ सोचेजस्तो पनि हुन्न । पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा पार्टीमा निरन्तरता, वरिष्ठतालगायत आधारमा नेतृत्व चयन गर्नुपर्छ । केन्द्रीय समिति होस् वा पदाधिकारी चयनमा होस्, अन्तर्राष्ट्रिय रुपमा मानिएकाहरुलाई हेर्नुपर्छ । 

युवा नेतृत्वको बहस

कांग्रेसमा युवा नेतृत्वको बहस चलिरहेकै हुन्छ । यसमा  कतिपय मान्छेका कडा टिप्पणी पनि आइरहेका हुन्छन् । म त भन्छु– अर्काको फेराे समाएर नेतृत्वमा पुग्न सकिँदैन । नेतृत्वमा पुग्नका लागि विचार चाहिन्छ, कार्यदिशा चाहिन्छ, अलिकति धरातल पनि चाहियो, नेतृत्वमा पुग्ने मान्छेले आफ्नो जिल्लाको धरातल पनि हेर्नुपर्छ होला । आ–आफ्नो प्रदेशबाट कत्तिको सर्वस्वीकार्य व्यक्ति हो भन्ने पनि हेर्नुपर्यो । अब केही मिडियाले मात्रै युवा नेता भनिदिएर मात्र सबै कुरा नेतृत्व विकास हुँदैन । 



युवाहरुले पनि अर्काको फेद समाउनुभन्दा आफ्नो लिडरसिपलाई बचाइराख्नुभएको छ भने त्यो नेतृत्व स्वीकार्न कार्यकर्तालाई गाह्रो हुँदैन । हल्लाखल्लाको राजनीतिमा त मिडियाले कसलाई कहाँ पुर्याउँछ भन्ने भरै हुँदैन । अहिले देखिएका युवा नेतृत्व पनि कसै न कसैको फेद समाउने मात्र देखिएको छ । उहाँहरुले आफ्नो छुट्टै पहिचान बनाउन सकेको देखिँदैन । हिजो शेरबहादुर दाइ, रामचन्द्र दाइ त्यहाँ पुग्नुको पनि आफ्नै पृष्ठभूमि छ । उहाँहरु जेल बस्नुभयो, विद्यार्थी राजनीतिमा अग्रणी रहनुभयो । उहाँहरुको आ–आफ्नो भूमिका छ । त्यो भूमिकालाई देखेर त्यही हाराहारीको म पनि त्यही हुँ भन्नचाहिँ पाइन्न । यहाँ क्षमता प्रदर्शन गर्नैपर्छ । 

परिवारवाद



कांग्रेसमा परिवारवादलाई ठूलो प्रश्रय दिएको भनेर टिप्पणी भइरहेको हुन्छ । तर, म यसलाई मान्दिनँ । राजनीतिक घराना भन्ने कुरा हरेक शासन पद्धतिमा जुनसुकै मुलुकमा मैले देखेको छु । अमेरिकामै कुरा गर्दा पनि त्यस्तै देखिन्छ । त्यहाँ कुनै न कुनै राष्ट्रपति पारिवारिक घरनाबाटै आएको देखिन्छ । कम्युनिस्टहरुमा त झनै बढी देखिन्छ । नेपालमा पनि राजनीतिक परिवारबाट माथि उठेका नेताहरु छन् । 

उहाँहरुको योगदानलाई गौण ठान्नु उचित होइन । त्यो ग्यापलाई उहाँहरुले पूर्ति गर्दै आउनुभएको छ । संगठनलाई महत्व दिने काम गरेका कारणले देशको महत्वपूर्ण ठाउँमा उनीहरु नै हुनुहुन्छ । त्यसकारण यो कुरालाई परिवारवादसँग मात्र जोडेर हेर्नुहुँदैन । 

रह्यो, परिवारभित्रकै भएका नाताले हामी परिवारभित्र एकता कायम गरेर अरुलाई निषेध गरौँ भन्ने लक्ष्य कसैले राखेको छ भने त्यो गलत हो । व्यक्तिगत रुपमा उहाँहरुको पनि पार्टीभित्र लगानी छ, त्यसलाई कार्यकर्ताले स्विकारेका पनि छन् । कसैको पारिवारिक पृष्ठभूमि हुन सक्छ, तर सँगसँगै उसले राजनीतिमा त्याग र तपस्या गरेको छ । हामी ४ परिवारका मानिस एक ठाउँमा उभिएर अरुलाई किनारा लगाउँछौँ भन्ने उहाँहरुको सोच हो भने त्यो दिवासपना मात्रै हो । एउटा खेमालाई समाप्त गरेर कोही बलियो हुन सक्दैन । दलीय राजनीतिमा सबैको सम्मान सबैको उपस्थिति, सबैको यथोचित व्यवस्थापनले मात्र दलीय राजनीतिलाई बलियो बनाउँछ भन्ने मेरो धारणा छ । 

सबैभन्दा बढी हामीले नबुझेको कुरा भनेकोे दलीय राजनीति हो । दलीय राजनीतिमा समूह जोडिन्छ । समूहमा गर्ने राजनीतिबाट नेतृत्व विकास हुन्छ । व्यक्तिवादी त हिजो राजाको कुरा गर्ने वा राजाको पछि लाग्ने कुरा पनि छन् । त्यहाँ व्यक्ति हावी हुन्थे, त्यसले अर्थ राखेन । समूह बलियो हुनुपर्यो र त्यसले राख्ने विचार बलियो हुनुपर्यो । उसको धरातल बलियो हुनुपर्यो । धरातल नै बलियो नभएको मान्छेले आफू नेतृत्वमा जान्छु भन्नु पनि मूर्खता हुन्छ । 

महाधिवेशन कसरी गर्ने ? 

महाधिवेशन गर्नका लागि चुनौती पनि छ । यसको छिनोफानो चाँडै लाग्छ । नेपाली कांग्रेसको क्रियाशील विवाद योपटक मात्र नभई यसअघि पनि हुने गरेको थियो । हाम्रो पार्टीमा के छ भने, हामीले क्रियाशील भर्न लागेको डेढ वर्ष भयो । यतिबेलासम्म हामी सुतेर बस्यौँ, त्यतिबेलासम्म केही नभन्ने, पछिल्लो समयमा आएर म पनि कांग्रेस बन्छु मेरो पनि क्रियाशीलमा नाम राख्देऊ भनेर हुँदैन । 

हिजोको भन्दा यसपटक यो क्रम अलिक कम भएको छ । १२ गतेसम्म आउँदा बढीमा ८–१० वटा समस्या मात्र बाँकी छन् । नयाँ क्रियाशीलको विषयमा एकाएक १०० प्रतिशत थप गर्ने भनियो, तर त्यसले पनि थेगिरहेको छैन । हाम्रो क्रियाशील अलिक खुला नै हुन्छ । यसको अन्तिम प्रतिवेदन आइसकेको छ । संविधानलाई उपयोग गरिएको समयलाई नभड्किने गरी महाधिवेशन गर्नुपर्छ । 

सँगसँगै कोरोना महामारीदेखि बाढी–पहिरोलगायत चुनौती पनि हामीसँग छ । तर, हामी महाधिवेशन सजिलैसँग गर्न सक्छौँ । हामीसँग अधिवेशन गर्ने थुप्रै विकल्प छन् । सबैभन्दा कठिन भनेको वडामै हो । वडा सम्पन्न गर्यौँ भने त्योभन्दा माथिको गर्न साह्रै समस्या नआउला । वडाबाट आउने प्रतिनिधिबाट अरु कुराहरु खुला हुन्छ । रह्यो प्रदेश र केन्द्रीय अधिवेशनको कुरा । यसलाई हामी नयाँ टेक्नोलोजीको प्रयोग गरेर अधिवेशन सम्पन्न गर्छौं । 

(खड्का नेपाली कांग्रेस, दाेलखाका सभापति हुन् ) 

यही सिरिजमा यसअघि प्रकाशित अन्य जिल्ला सभापतिका यी विचार पनि पढ्नुहाेस्–

पार्टीको वैधानिकताका लागि पनि त्याग गर्न सक्नुपर्छ– रामेछाप सभापति

युवामा क्षमता देखिनुपर्यो, अनि मात्र नेतृत्वमा दाबी गर्नुपर्छ – पर्सा सभापति

चार वर्षमा हुनुपर्ने महाधिवेशन पाँच वर्षमा पनि गर्न नसक्ने यो कस्तो नेतृत्व ?—नुवाकोट सभापति

‘कांग्रेसको इतिहास संरक्षण गर्ने नेतृत्व आवश्यक छ’— काठमाडाै‌ं सभापति

‘हामी संकटपूर्ण महाधिवेशनको मुखमा छौँ’— काभ्रेपलान्चाेक सभापित

‘नयाँ नेतृत्व, नयाँ विचार, नयाँ ढंग, नयाँ कार्यक्रमका साथ कांग्रेस अगाडि बढ्नुपर्छ’— सिन्धुपाल्चाेक सभापति

‘युवाहरुले धारणा नबदल्ने हो भने नेतृत्वमा आउँदैनन्’— भक्तपुर सभापति

 

  • प्रकाशित मिति : साउन १२, २०७८ मंगलबार १९:१:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया