२७ माघ, २०८२ मंगलबार
Feb. 10, 2026

लागुऔषध कारोबारको असर : बा-आमा जेलमा, सहारा खोज्दै दुई नाबालक

आमा बाबाको हात समातेर ताते ताते गर्दै गाउँभरी डुल्ने रहर कसलाई पो हुन्न र ? अभिभावकको मायामा हराउँदै साथीभाइसँग लडीबुडी खेल्दै स्कुल जाने रहर कुन बालकलाई हुन्न र ? यस्तै आश र रहर थियो, कसैको सहाराको आशमा, कसैको काखको अडेस खोजिरहेका सुरेन्द्र र लोकेन्द्र सिंहको पनि । तर, बाबा आमा जीवित हुँदाहुँदै पनि आमा बाबाको काख गुमाउन पुगे ८ वर्षका सुरेन्द्र सिंह र ४ वर्षका लोकेन्द्र सिंहले । 

दैलेखका पुरानो बासिन्दा रहेका डिल बहादुर सिंह करिब २१ वर्ष पहिले सुर्खेत झरेका थिए । ऐलानी जग्गामा टहरा बनाएर आफ्नो जीवनयापन गरिरहेका थिए । उनका ५ सन्तान थिए । तीन भाइ छोरा र दुई बहिनी छोरी । दुई छोरा शारीरिक रुपमा सक्षम भएपनि एक छोरा र दुई छोरी जन्मजातै अशक्त जन्मेका थिए ।



जेनतेन श्रम गरेर सुखले जीवन चलाइरहेका थिए । छोराहरुको बिहे भएको थियो । छोरीहरू पनि बिहे भएर आ-आफ्ना घर गइसकेका थिए । सबै ठीकठाक नै चल्दै थियो । तर, शारीरिक रुपमा सक्षम भएका दुई छोरा रमेश सिंह र मंगल सिंह तथा दुई बुहारीहरूकोे रातारात करोडपति बन्ने सपना मनमा जागेछ । गहभरी आँसु पार्दै मन खिन्न बनाएरै भएपनि कहानी सुनाइरहेका थिए डिल बहादुर । 

उनका सक्षम छोराबुहारी लागुऔषधको ओसारपसार गर्न थालेछन् । पछि प्रहरीको फन्दामा परे अनि दुई छोरालाई जिउँदै टुहुरा बनाएर कारागार चलान भए । डिल बहादुरले सो घटनाको बारेमा यो भन्दा केही बोल्न सकेनन् । यति बोलिसक्दा उनले रुमालको सहारा लिएर आँसुलाई थन्क्याउन थाले ।



कारागार चलान भएको केही समयपछि माइलो छोरा मंगल सिंहको धर्मपत्नी अर्थात लोकेन्द्र सिंहको आमा रिहाइ भएकी थिइन् । रिहाइ भएको केही दिनमा उनको रहस्यमय मृत्यु भयो । खाना खाएर वीरेन्द्रनगर बजार गएकी उनी मृत अवस्थामा फेला परिन् ।

झन् टुहुरा बने र लोकेन्द्र । उनीहरुलाई शिक्षाको कुरा त परको, एक गाँस खानाको लागि पनि अर्काको दैलो कुर्नुपर्ने बाध्यता रहेको छ । घरमा बुढा बाजे र बज्यैले के सपना पूरा गर्न सक्थे र । आमा बाबा लागुऔषध ओसारपसार अभियोगमा जेल जीवन बिताइरहेका छन् । बाहिर भने उनीहरुले संघर्षको कथा बुनिरहेका छन् ।

विभिन्न संघसंस्था तथा सामाजिक अभियन्तासँग हात जोड्दै बुढा बाजेले सहयोग मागिरहेका छन् । नातिहरूको भविष्यको भीख मागिरहेका छन्, डिल बहादुर । ‘उनीहरुलाई कतै जिम्मा लगाउन पाए सुखले श्वास जान्थ्यो होला’, डिल बहादुरले भने ।

छोरा बुहारी जेलबाट फर्के पनि केही गर्न नसक्ने भएर आउने उनको अड्कल रहेको छ । ‘यी नातीहरूको बिचल्ली हुन्छ । कसले पढाउला, कसले खुवाउला, कहाँ बस्लान् ?’, डिल बहादुरको मनमा बारम्बार यही प्रश्न खेलिरहेको थियो । मन खिन्न भएर, उराठ लागेर अहिलेसम्म छोरा बुहारी भेट्न जेलमा समेत पुगेका छैनन् उनी  ।



छोरा बुहारीको त्यो हर्कतले साथीहरुको अगाडि शिर ठाडो पारेर हिँड्न सकिरहेका छैनन्, डिल बहादुर । यस्तो परिस्थितिका कारण पनि आफू कसरी जिउँदो रहेको उनी अनौठो मान्छन् । गहभरी आँसुको भेल बनाउँदै पुनः एकपटक नातीहरुको भविष्यको भीख मागिरहे । उनको अनुरोध छ, ‘कोही भगवान भए आएर मेरा नातीहरूको सहारा बनिदेउन् ।’

  • प्रकाशित मिति : १३ साउन, २०७८ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया