विदेशमा बस्दै नेपालका लागि खेल्ने दुई पौडीबाज

नेपालका लागि २०२० ओलम्पिकमा दुई पौडीबाजले भाग लिएका छन् । गौरिका सिंह र एलेक्सजेन्डर (एलेक्स) शाह यी दुई खेलाडी विदेशमा रहँदै प्रशिक्षण लिँदै आएका छन् । दुवै खेलाडीले नेपालका लागि राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

विदेशमा राम्रो सेवा सुविधासहित प्रशिक्षण गर्दै आएका यी दुई खेलाडीले अन्तर्राष्ट्रिय स्तरमा पनि नेपालको नाम राख्ने गरेका छन् ।

विदेशमा बस्ने हुनाले कतिले नेपाली नै होइन पनि भन्ने गर्छन् । यसै कुरामा पछिल्लो पटक गौरिका सिंहले सागमा पहिलो स्वर्ण हात पार्ने बित्तिकै पदक राष्ट्रको नाममा समर्पित गरेकी थिइन् । विभिन्न प्रतियोगितामा पदक जित्दै गर्दा नेपालको नाम जोडेर उनीले आफ्नो देश प्रेम जताउने गरेकी छन् ।

दुवै खेलाडीले यस पटकको ओलम्पिकमा १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गरेका हुन् । एलेक्सले हिट्स वानको प्रतिस्पर्धामा अगाडि आए पनि उनी सेमिफाइनलमा भने पुग्न सकेनन् । गौरिका भने हिट्स वानबाट नै बाहिरिएकी छन् । उनी हिट्स वानमा रहेका ४ खेलाडी मध्ये तेस्रो स्थानमा रहन सफल भइन् । 

यी दुवै खेलाडी मध्ये एलेक्सले आफ्नो नामको रेकर्ड तोडेका छन् भने गौरिकाले आफ्नै रेकर्ड पछ्याउन असफल रहेकी छन् । फ्रि स्टाइलमा रहेको रेकर्ड तोड्न असफल उनले लङ कोर्समा भने राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । 

एलेक्स शाह
एलेक्सजेन्डर (एलेक्स) शाह २०२० ओलम्पिकमा नेपालका लागि एक्लो पुरुष प्रतिस्पर्धी हुन् । 



३२ औँ गृष्मकालीन ओलम्पिकमा उनले आफ्नो राष्ट्रिय कीर्तिमान सुधार गरेका हुन् । उनले आफ्नो नाममा रहेको रेकर्डमा २.८७ सेकेन्डले सुधार गर्दै हिट्स वानमा जित हात पारे । उनले हिट्समा अग्रस्थान हाँसिल गरे पनि सेमिफाइनल भने पुग्न सकेनन् । 

१८ वर्षीय उनले दुई वर्षअघि दक्षिण कोरियाको ग्वाङ्जाओमा भएको १८ औँ फिना वर्ल्ड च्याम्पियनसिप २०१९ मा बनाएको ५६.२८ सेकेन्डको कीर्तिमान टोकियो ओलम्पिकमा सुधार गरेका हुन् ।



पछिल्लो समय आमासँग डेनमार्कमा रहँदै ट्रेनिङ गर्दै आएका एलेक्स विभिन्न प्रतियोगिताहरुमा सहभागी हुन मात्रै नेपाल आउँछन् । उनी नेपालकी चर्चित पौडीबाज सोफिया शाहको भाइ हुन् । विदेशी आमा र नेपाली बुबाका सन्तान एलेक्सले राष्ट्रको लागि ओलम्पिकमा सहभागी भएर यहाँसम्म आइपुग्दा खुसी रहेको प्रतिक्रिया दिए ।

ओलम्पिकमा नेपालका तर्फबाट पौडीमा भाग लिने दुवै खेलाडी गौरिका र एलेक्सले विदेशमा बस्दै ट्रेनिङ लिँदै आएका छन् । विदेशमा बसेर प्रशिक्षण लिए पनि यी खेलाडीले नेपालको नाम भने निकै चम्काउने गर्छन् ।

गौरिका सिंह  
१३ औँ दक्षिण एसियाली खेलकुद (साग)मा ४ स्वर्ण, २ रजत र ३ कास्यसहित ९ पदक जितेर अत्यधिक चर्चामा आएकी खेलाडी हुन् गौरिका सिंह । 

१८ वर्षीया गौरिकाले लगातार दोस्रो पटक ओलम्पिकमा प्रतिस्पर्धा गरेकी हुन् । उनी ५ वर्ष अघि रियो दी जेनेरियोमा प्रतिस्पर्धा गर्ने सबैभन्दा कान्छी खेलाडी भएर चर्चामा आएकी थिइन् । 

यस वर्ष उनले महिला १ सय मिटर फ्रिस्टाइलमा चुनौती पेस गरेकी हुन् ।  उनले पहिलो हिट्समा नाइजेरिया, मोन्टेनेग्रो र गुआमका खेलाडीसँग प्रतिस्पर्धा गरेकी हुन् ।    
                                                                                                                                                                          
तर, उनी हिट्स वानबाटै बाहिरिएकी छन् । उनी हिट्स वानमा रहेका ४ प्रतिस्पर्धी मध्ये तेस्रो स्थानमा आएकी छन् । उनले १ः००ः११ सेकेन्डको समय निकालेकी हुन् । यसअघि उनले १३ औँ दक्षिण एसियाली खेलकुद (साग)मा बनाएको रेकर्ड पछ्याउन सकिनन् । 

गौरिकाले सागमा ५८.१३ सेकेन्डको समय निकालेकी थिइन् । उनले १३ औँ फिना विश्व च्याम्पियनसिपमा १ः००ः६२ सेकेन्डको रेकर्ड राखेकी थिइन् । तर, सँगसँगै उनले लङ कोर्समा भने आफ्नो नाममा रेकर्ड राख्न सफल भएकी हुन् । 

उनीले फ्रिस्टाइलको आफ्नै नामको रेकर्ड तोड्ने आश गरिए पनि उनको कीर्तिमान लङ कोर्समा मात्रै सीमित बन्यो । उनले सागमा देखाएको प्रस्तुति निकै लोभ लाग्दो भएकाले उनीबाट नयाँ राष्ट्रिय कीर्तिमानको आश गरिएको थियो ।

  • प्रकाशित मिति : साउन १३, २०७८ बुधबार १९:६:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया