मिश्रजी ! हेलो रवीन्द्र मिश्रजी !!

रवीन्द्र मिश्रजी,

यत्तिचाहिँ सुन्नुस् है !

 -२०४० सालमा मैले यो देशको नागरिकता लिने क्रममा नागरिकता प्रमाणपत्रमा श्री ५ को सरकारको छाप हान्नका लागि पाँच रुपैयाँ घूस खुवाएको थिएँ । किनकि, पैसा नदिँदा छाप हान्ने जिम्मेवारीमा रहेका कर्मचारीले नागरिकतामा छापै हान्दैनथे ।  

-२०४३ सालमा एउटा सामान्य कविता लेखेको विषयमा रत्नपार्कस्थित अञ्चलाधीश कार्यालयमा स्पष्टीकरण दिएको थिएँ मैले ।

-सोही समयको छेउछाउमा मोटरसाइकल सिक्ने क्रममा त्रिभुवन विमानस्थल नजिकको सडकमा मैले एक बालकको खुट्टामा किचेको थिएँ । १२-१४ वर्षको त्यो बालक कुदेर कतै गयो, किनकि उसको खुट्टामा मोटरसाइकलको चक्काले यस्सो छोएको मात्रै थियो । तर मलाई त्यहाँको एक प्रहरीले घाँटीमा समातेर जथाभावी शब्दमा आमाचकारी गाली गर्दै लछारपछार गरेको थियो । मोटरसाइकल जफत गरेर महिना दिनपछि मात्रै फिर्ता दिएको थियो । 

मिश्रजी यी तीनवटा निकै सामान्य लाग्ने घटनाको उदाहरण मैले दिनुको कारण भने निकै ठूला छन् । यसले तत्कालीन सरकारको भ्रष्टाचार, वाक्स्वतन्त्रतामाथिको अविश्वास र सुरक्षा निकायको ज्यादति बयान गर्छ । म तपाईंकै समयवयको र तपाईंजस्तै काठमाडौंवासी एक नागरिक । समाजबाट ग्राह्यता पाउँदै आएको एक ब्राह्मण, हिन्दू धर्मावलम्बी । दुई-चार अक्षर पढेर साहित्य अनि पत्रकारितामा रमाइरहेको एक सर्वसाधारण । ममाथि त त्यो समयमा राज्यसत्ताबाट त्यतिविधि ज्यादति थियो भने दलित, मधेसी, अल्पसंख्यक, किनारीकृत, जनजाति र महिलामाथि कस्तो अवस्था थियो भनी तपाईंजत्तिको विद्वानलाई  मैले स्मरण गराइरहनु पर्दैन ।  



उल्लिखित उदाहरणहरूमध्ये मलाई सबैभन्दा खट्किने पहिलो घटना नै हो । नागरिकता लिनका निम्ति जिल्ला कार्यालय काठमाडौंको निम्न तहको कर्मचारीलाई पाँच रुपैयाँ घूस खुवाएको त्यो घटना कसैगरी पनि म बिर्सन सक्दिनँ । त्यो समयबाट गुज्रेर यहाँसम्म आउनु, सामान्य र कुनै चासो नै राख्नुनपर्ने विषयमा प्रहरीको अन्याय सहनु र अत्यन्तै सामान्य सात वाक्यको कविता लेखेवापत् बागमती अञ्चलाधीश कार्यालयमा बयान दिएको मानिसका निम्ति अहिलेको नेपाल र यो व्यवस्था निकै कमीकमजोरीका बाबजुद प्रिय छ, विशिष्ट छ । भ्रष्टाचार बढ्यो भन्ने चिन्तासहित जुन व्यवस्थाविरुद्ध तपाईं अहिले जनमत संग्रहको माग गरिरहनु भएको छ, यो व्यवस्था मैले भोगेको पञ्चायतीकालभन्दा कयौँ गुना अब्बल छ । तपाईंलाई मैले उदाहरणमा दिएको २०४० को पूर्वार्द्धकाे समय सायद पञ्चायतको ‘स्वर्णयुग’ लागिरहेको छ । मंगलबार तपाईंले जारी गरेको विज्ञप्तिमा यस्तै मनोविज्ञान छताछुल्ल भएको छ । 

मिश्रजी, म जानीनजानी २०३६ सालको विद्यार्थी आन्दोलन (१५ वर्षको उमेरमा) मा लागेको एक व्यक्ति हुँ । २०४६ सालमा त ज्यानको माया नै नगरी प्रजातन्त्रका लागि हरेक दिनजसो आन्दोलनमा भाग लिएको मानिस हुँ । २०६२-६३ को आमूल परिवर्तनकारी जनआन्दोलन मेरा निम्ति सबैभन्दा सफल आन्दोलन हो । २००७ सालको परिवर्तनको बलमा २०४६ साल सफल भयो, अनि ४६ को बलमा ६२-६३ सफल भयो । त्यसैका बलमा अहिले देशले धर्मनिरपेक्षता, लोकतन्त्र र संघीयता प्राप्त गरेको छ । मलाई यो देशमा मेरो पनि हक छ र यो मेरो पनि हो भन्ने महसुस यही परिवर्तनले बलियो गरी गराएको छ । तपाईं यही उपलब्धिलाई ‘फोस्रो’ ठानिरहनु भएको छ र यसविरुद्धको जनमत गराउन चाहिरहनु भएको छ । 



२०३६ होस्, २०४६ होस् या २०६२-६३ को आन्दोलन, यिनमा तपाईंको किञ्चित पनि विश्वास थिएन र छैन पनि । तर, मलाई यी सबै आन्दोलन र यिनले दिएको परिवर्तन महान् लाग्छन् । किनकि यी सबै परिवर्तनमा धेरथोर मेरो पनि लगानी छ । भलै, यी परिवर्तनबाट जे जति उपलब्धि जनताको जीवनस्तरमा हुनुपर्ने हो, त्यो भएन । तर, जनताको उन्नति नहुनुमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको के दोष ? दोष त राज्यसत्तामा बस्ने नेताहरूको हो । जसले परिवर्तनका निम्ति लडे, तर परिवर्तनपछि के गर्ने भन्ने दूरदृष्टि तयार पार्न सकेनन् । देश र जनतालाई कता र कसरी डोर्‍याउने भन्ने योजना बनाउन सकेनन् वा त्यतातिर तिनको बुद्धि गएन । यसको अर्थ यो संविधान नै खराब र यसका विरुद्ध नयाँ जनमत संग्रह गराउनुपर्छ भन्ने तपाईंको सोच कुनै पनि अर्थमा परिवर्तनकारी छैन ।

परिवर्तनले स्थापित गरेका नेताहरूमा इच्छाशक्ति भएन, तिनले देश र जनताको हितमा काम गर्न सकेनन् भन्ने तपाईंको धारणामा शतप्रतिशत समर्थन छ मेरो । तिनको जति आलोचना गरे पनि कमै हुन्छ । त्यही कारण त तपाईंको पार्टी वैकल्पिक राजनीतिक शक्ति बन्ला कि भन्ने अपेक्षा राखेर विगतको निर्वाचनमा जनताले केही मत दिएका थिए । तपाईंले नेपाली कांग्रेसका चर्चित नेता प्रकाशमान सिंहलाई काठमाडौंमा झण्डै हराउनु भएको थियो । तर, धर्मनिरेपक्षता र संघीय लोकतान्त्रिक गणतन्त्रबारे जनमत संग्रह गराउने तपाईंको नयाँ विचार कुनै पनि कोणबाट अग्रगामी छैन, यो त पूर्णतः देशलाई २०३६ सालको अवस्थातिर फर्काउने खालको छ । 

मिश्रजी, तपाईंलाई सायद कुनै पनि राजनीतिक परिवर्तन मन परेको छैन । न २०४६ को न त २०६२-६३ को आन्दोलन र त्यसले दिलाएको परिवर्तनप्रति नै तपाईंको विश्वास छ । किनकि यी दुवै आन्दोलनमा तपाईं केवल ‘तमासे’ बन्नु भएको थियो । तमासा कहिले नेपालमै (विद्यार्थीकाल)बसेर हेरिरहनु भएको थियो त कहिले बेलायतमा (पत्रकारिताकाल) बसेर । सबै मान्छे, सबै खाले आन्दोलनमा सहभागी हुनुपर्छ भन्ने मेरो आशय होइन, तर परिवर्तनको माया र त्यसप्रतिको विश्वास आन्दोलनमा लाग्नेहरूलाई नै बढी हुने रहेछ । तपाईंलाई त यी परिवर्तनलाई ‘परिवर्तन’ गर्नु परेको छ । तर, म यी परिवर्तन स्थापित बनून् र मुलुकले यही संविधान (केही संशोधनसहित) मा टेकेर लय पक्रोस् भन्ने चाहन्छु । 

तपाईं एक ‘मिसन’सहित राजनीतिमा आउनु भएको स्पष्ट छ । त्यो मिसन सुरुमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमै टेकेर पूरा गर्न सकिन्छ भन्ने तपाईंलाई लागेको थियो, तर तपाईं अधीर बन्नु भयो । र, अहिले आएर आफ्नो मिसन पूरा गराउन जनमत संग्रह गर्नुपर्ने देख्न थाल्नुभयो । यसले वर्तमान नेपालले लिएको बाटो बलियो बन्दै गएको स्पष्ट पारेको छ । यो बलियो बन्नु भनेको देश २०३६ सालको अवस्थातिर फर्कन नसक्ने हुनु हो । त्यसो हुनु भनेको तपाईंको मिसन पूरा नहुनु हो । अहिले सत्तामा पुगेका नेताहरूबाट देशको हितमा काम हुन नसकेको पक्कै हो । मैले माथि पनि भनिसकेँ, तीमध्ये अधिकांशले मुलुक चलाउने ल्याकत राख्दैनन् । त्यही कारण त देशले वैकल्पिक शक्तिको खोजी गरिरहेको छ । मजस्ता लाखौँ मानिस वैकल्पिक राजनीतिक शक्तिलाई मत दिन थालेका छाैँ ।

एउटा गोप्य कुरा खोलौँ है मिश्रजी । गत आमनिर्वाचनमा मैले आफ्नो क्षेत्र काठमाडौं क्षेत्र नम्बर दुईमा तपाईंको दलका उम्मेदवार डा. सूर्यराज आचार्यलाई मत दिएको थिएँ । उनले पाएको करिब साढे सात हजार मतमध्ये एक मत मेरो पनि हो । तर, त्यो पार्टीको मुखियाका हिसाबले तपाईंले अहिले जुन धारणा अघि सार्नुभयो, म आगामी निर्वाचनमा कसलाई मत दिने होला भनी चिन्तामा अहिलेदेखि नै डुब्न थालेको छु । वैकल्पिक शक्ति बन्ने विवेकशील साझाको ‘शक्ति र सम्भावना’लाई तपाईंले क्षयीकृत गरिदिनु भएको छ । 

तपाईं आफ्नो धारणाबाट पटकपटक अविश्वसनीय बन्दै आउनु भएको छ । त्यही कारण तपाईंले पटकपटक प्रष्टीकरण दिनु परेको । विवेकशील साझाप्रति केही विश्वास बढ्दै गएका कारण तपाईंका धारणा र प्रष्टीकरण मानिसले सुन्दै आएका हुन् । तपाईंले आफ्ना विगतका प्रष्टीकरणमा संविधानवादका साथै धर्मनिरपेक्षता, संघीयता स्वीकार्ने प्रतिबद्धता जनाउनु भएको थियो । तर, अहिले आएर तपाईंको मिसन यी प्रतिबद्धताबाट पूरा नहुने देख्नुभयो र संघीयता र धर्मनिरपेक्षताको जनमत माग्न थाल्नु भयो भन्ने कुरा बुझ्न धेरै दिमाग खियाइरहनु पर्दैन । 

अचम्म त के छ भने, तपाईंको पछि फर्कने यो विचारको समर्थन गर्ने पनि देखिएका छन् । तर, तपाईंले बिर्सनु के हुँदैन भने यी समर्थक ‘राजालाई विष्णुको अवतार’ मान्नेहरूको जमात हो । यिनले विगतको राजतन्त्रबाट केही न केही प्रत्यक्ष-परोक्ष लाभ लिइरहेका थिए । मिश्रजी, अब समय त्यो रहेन- तपाईंले र मैले पानी पिएको बागमती अहिले ढलमती बनेको छ । मानिसका पाइला पछि होइन, अघि सर्छन् । तपाईंजत्तिको चतुर मानिसले यत्ति सामान्य कुरा पनि किन हेक्का राख्न नसकेको ?
तपाईं राजनीतिमा ‘इमानदार’ र ‘सदाचारी’ को खोज गरेर कहिल्यै नथाक्ने मानिस । तर, तपाईं आफैं बेइमान देखिनु भयो । यही संविधानमा टेकेर देशलाई समृद्ध बनाउनुपर्छ भन्ने तपार्इं संविधान नै खराब भन्ने आशयका कुरा गर्न थाल्नुभयो ! एउटा देश स्थिर बन्न र विकसित हुनका लागि कतिपटक संविधान फेरिनु पर्छ ? संविधान साधन मात्रै हो, साध्य होइन भन्ने हामी कनि बुझिरहेका छैनौं ? तपाईंले भनेको जस्तो नयाँ संविधान कसले बनाउँछ ? कि पुनः संविधानसभाको निर्वाचन गर्ने ? अथवा राजा-महाराजा र तिनका आसेपासेले बसेर बनाएको पञ्चायती संविधान जस्तै बनाउने फेरि पनि ?

राजनीतिमा सबैभन्दा ठूलो बेइमानी भनेको वैचारिक स्खलन हो । तपाईं केही वर्षअघि आफैंले भनेको कुरामा अडिन सक्नु भएन । यो संविधान बलियो बन्दै गयो भने आफ्नो मिसन पूरा नहुने डर तपाईंभित्र बढ्दै गएको हो ? मिश्रजी, तपाईं किन यतिविधि रहस्यमय बन्दै जानु भएको ? प्रष्ट कुरा सीधा विचार, भनिदिनुस् न प्लिज- मलाई एकात्मक राज्य चाहिएको छ, जसमा राजा पनि हुन्छन् । मलाई हिन्दु अधिराज्य फिर्ता चाहिएको छ । त्यसैले संघीयता नै खारेजी हुनुपर्छ । यति भन्नलाई तपाईंको वैकल्पिक राजनीतिक शक्ति किन चाहियो ? राप्रपा नामक पार्टी छँदै छ नि !

पछाडि नै फर्कनु भन्दा त यथास्थिति राम्रो हैन र मिश्रजी ! त्यसका निम्ति कांग्रेस र कम्युनिस्ट छँदै छन् नि ! तपाईंको विवेकशील साझा किन चाहियो ?
तपाईं राजनीतिमा ‘कम्फोर्ट जोन’ खोज्दै प्रवेश गर्नुभयो र अहिले पनि त्यही अवस्था खोजिरहनु भएको छ । जता ताली बज्छ त्यतै पल्टनु भएको छ । पहिलो पटक तपाईं काठमाडौं क्षेत्र नम्बर एकबाट निर्वाचन लड्दा नेपाली कांग्रेसभित्र गुटबन्दी चरममा पुगेको थियो, त्यसैले तपाईं प्रकाशमानलाई आत्थुआत्थु पार्न सफल हुनु भएको हो । राजनीतिमा कम्फाेर्ट जोनमा बस्नेले केही बेर ताली त पाउन सक्लान्, तर अमूल्य मत भने पाउन सक्ने छैनन् । आगे आगामी निर्वाचनमा जनताको मर्जी !

  • प्रकाशित मिति : साउन १४, २०७८ बिहीबार १२:४४:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया