पहिलो कुरा नेकपा एमालेको पृष्ठभूमितिर फर्कनुपर्छ, २०१५ सालमा जम्मा ४ सिटमात्रै जितेको हो कम्युनिस्टले । ४ सिटमा सिमित रहेको पार्टीले विभिन्न लक्ष्य, उद्देश्यका साथ हिँड्दा अहिले यहाँसम्म आइपुगेको छ । अहिले नेकपा एमालेसँँग भएको १२१ सिट हो । माओवादी केन्द्रको ५३ सिट गरेर हामीले ०७४ साल फागुन ३ गते कम्फर्टेबल मेजोरिटिको सरकार बनाएका थियौं । त्यसमा उपेन्द्र यादवको पार्टी अलग थियो, त्यसलाई समेत ल्याएर दुईतिहाइ बनाइएको हो । यस्तो निर्वाचन प्रणालीमा बहुमत आउनु पनि ठूलै उपलब्धि थियो । किनभने, समानुपातिक अनिवार्य छ, समानुपातिकको एउटा निश्चित पद्धति छ भने समावेशीसहित हुनुपर्यो । त्यसकारण यो प्रत्यक्ष निर्वाचन प्रणाली होइन । यसमा प्रत्यक्ष र समानुपातिक छ । यस्तोमा पनि लोकप्रिय मतका साथ हामी आएका थियौं ।
हाम्रो हतारो के रह्यो भने, दुईवटा कम्युनिस्ट स्कुलिङबाट आएका नेकपा माओवादी केन्द्र र एमालेबीच भिन्न शैली, भिन्न प्रवृत्ति र सोच नै भिन्न थियो । डेमोक्रेटिक प्रक्रियाबाट आएको एमाले र कब्जावादी तथा अधिनायकवादी चिन्तनका साथ आएको माओवादी । निर्वाचनको माध्यमबाट शान्तिपूर्ण प्रक्रियामा जाने भएपछि एउटा उद्देश्य त मिल्यो, तर ‘स्कुल अफ थट’ र शैली, प्रवृत्ति फरक थियो । संगठनात्मक प्रवृत्तिमा पनि आदेशात्मक र कुनै डेमोक्रेटिक भयो । अर्कोतिर जनतामाझ उत्तरदायित्व बहन गर्दै वा वडा सदस्य, वडा अध्यक्ष, गाउँ विकास समिति अध्यक्ष वा प्रधानपञ्च अथवा मेयर हुँदै जनतासँग हामी जोडियौँ । जनताको पानी, कुलो, बाटो, सिँचाइ, स्कुल, नागरिकता, राहदानी, बिरामी, सञ्चोबिसञ्चोजस्ता कुराहरुमा हामी प्रत्यक्ष जोडियौँ । त्यसकारण हामी डेमोक्रेटिक बन्दै आयौं । उता, माओवादी भने सोझै गिरिजाबाबुले ८७ सिट दिनुभयो । माथिबाटै सत्ता कब्जा गर्न सकिन्छ भन्ने चिन्तनका साथ आउँदाखेरी दम्भ र अहंकारले ०६४ सालमा जित्यो । जितेपछि अब २५ वर्ष वा ५० वर्ष शासन गर्न सक्छु भन्ने दाबी गर्न थाले । केही दिन अघिमात्रै मैले एउटा टेलिभिजनमा प्रचण्डजीले भनेको सुनेको थिएँ– ‘हामीले एकीकरण गरेर कम्युनिस्ट पार्टी बनाएको ५० वर्ष शासन गर्न हो नि !’ यो अहिले पनि प्रकट भयो । तर, एमाले त्यस्तो होइन ।
हामी निर्वाचित भए सत्तामा र नभए प्रतिपक्षमा बसेर पनि जनताको सुरक्षा गर्ने, जनताको जीवनसँग जोडिने नीतिका साथ आएका हौं । त्यसकारण हाम्रो विचार, शैली र दृष्टिकोण पनि आधारभूत रुपमा भिन्न रह्यो । यी भिन्नताहरुलाई कम गरेर एकले अर्कोलाई बुझेर, उद्देश्य पनि फरक गरेर एकैठाउँमा उभिएर समाजवादको यात्रामा जान उपयुक्त हुन्थ्यो । तर, हामीले निकै दुस्साहसका साथ पार्टी एकीकरण गर्यौं । त्यसपछि यता पार्टी कमिटीहरु नियमित भएनन्, भद्दा भए, पार्टी सञ्चालन पनि भएन, सरकारमा पनि भागबण्डाको कुरा मात्र भए । समाजवादको आधार कसरी निर्माण गर्ने भन्ने पनि भएन । यो दुर्घटना हुनु नै थियो, तर कम क्षतिका साथ हामी अवतरण गरेका छौं अहिले । त्यसकारण हामी उठ्न सक्छौं ।
नेकपा एमाले विभाजन गर्ने र केपीलाई बाहिर पारेर जाने माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाको एउटा धारणा बन्यो । के कारणले यो धारणा बन्यो भने उहाँहरुमा हामी प्रधानमन्त्री हुँदा केही गर्न सकेनौँ, सीमाका विषयमा केही बोल्न सकेनौँ, नाकाबन्दीको सामना गर्न सकेनौँ, अरु जे भए पनि अब ओलीलाई ढाल्नुपर्छ भन्ने चिन्तन देखियो । त्यसमा माधव नेपालले साथ दिए, जुन गर्नु हुँदैनथ्यो । कांग्रेसले त झन् ठूलो गल्ती गर्यो । टाउकाको मूल्य तोकेको अधिनायकवादी, कब्जावादी चिन्तनको साथ आएको माओवादीलाई रुपान्तरित गर्न सक्नुपथ्र्यो । उनीहरुको हिजो सहकार्य हुँदै चितवनका घटना भए मेयरको चुनावमा, अरु अरु ठाउँमा पनि भयो । सहकार्य त कांग्रेस र माओवादीको हुनै सक्दैन । कांग्रेसले त एमालेको लोकप्रियता ओराल्न सकिन्छ भनेर कार्यक्रम तय गरेको हो ।
अमेरिकी परियोजना एमसीसीको विरोध गर्दै आएको माओवादी अब त्यसको संकल्पको बुँदा बनाएर जाँदा त्यो पार्टी सकिन्छ । माओवादीको अडान जस्तै गरी अन्तर्राष्ट्रिय गिरोहलाई हामी यो पास गर्छौं भनेर लिइरह्यो भने कांग्रेस सकिन्छ । त्यसकारण अहिले उनीहरुको कार्यनीतिको हिसाबले त मिल्नै सक्दैन, रणनीतिक रुपमा त झनै मिल्नै सक्दैनन् । एउटा, वर्गसंघर्षको माध्यमबाट समाजवाद, साम्यवाद ल्याउने, अर्को यसैलाई उपलब्धि भयो भनेर ठान्ने ! त्यसकारण पनि उनीहरुबीच कुरा मिल्नै सक्दैन । जमिन्दार, दलाल पुँजीपति, वैदेशिक दलाल पुँजीपति, राष्ट्रिय जमिन्दार वर्गको पक्षमा उभिने कांग्रेस र सर्वहारा श्रमजीवी पक्षमा उभिने एमाले । यिनीहरुसँग मिल्न आउने माओवादी केन्द्रको कार्यशैली लोकतान्त्रिक थिएन, वैचारिक रुपमा बरु नेकपा एमालेसँगै मिल्थ्यो ।
लोकतान्त्रिकरणको महान् प्रक्रियामा ०१७/०१८ सालदेखि अविच्छिन्न काम गर्दै आएको नेकपा एमालेको पृष्ठभूमि छ । ०४२ साललाई जनपक्षीय उपयोग गरेको पृष्ठभूमि, ०४६ सालको आन्दोलनको निर्णायक शक्ति मध्येको एउटा, ०४७ साल संविधान निर्माता मध्येको, अब त्यो पार्टीसँग सहकार्य जति सहज कांग्रेसलाई हुन्थ्यो माओवादीसँग हुँदैन । अहिले त एमालेको रिसले मात्र मिल्न गएको हो, त्यसको क्षति उसको छविमा पनि भयो, सत्ता र अवसरवादिताको लागि लागेको भयो । उता, माधव नेपालको स्पष्टीकरणको माध्यम बन्ने गठबन्धन जुन छ, त्यसको न फेद हुन्छ, न टुप्पो नै ! यी सबै प्रवृत्ति बुझेको ठूलो पंक्ति छ । त्यसैले यसलाई पुनर्जागृत गरेर पुनः संगठित गर्दै जाँदा जनताले विश्वास गर्ने पार्टी एमाले नै हो ।
जनताले विश्वास गर्ने आधार
त्यसो त अब चाँडै देश निर्वाचन केन्द्रित बन्दै छ । यो परिस्थितिमा जनताले विश्वास गर्ने आधारहरु छन् । एमाले जहिले सत्तामा रह्यो, विकास निर्माणका कामलाई तीव्रता दियो । आफ्नो गाउँ आफैं बनाऔं जस्ता नमूना कार्यक्रम जनस्तरमा ल्यायो । अहिलेको बजेटकै कुरा गर्दा पनि, वृद्धभत्तादेखि लिएर कोभिड महामारी हुँदाहुँदै पनि कर्मचारीदेखि सबै क्षेत्रमा सम्बोधन गरेको छ । साथै, एमालेले एउटा भिजन दिएको छ ।
अत्यन्तै विचार प्रेमी, जनप्रेमी दृष्टिकोणका साथ जो आइरहेको छ, विकासले पनि अहिले गति लिएको छ । गाउँगाउँमा पुनःनिर्माण प्राधिकरणमार्फत करोडौं करोडका विद्यालय बनेका छन् । त्यतिमात्र होइन, अनेकौं स्वास्थ्य चौकी बनेका छन्, बाटो बनेका छन् । रेलको सम्भावनाबारे अध्ययन भइरहेका छन्, रेल नै आएर दुईवटा परीक्षणमा पुगेका छन् । हवाई यातायातलाई सरलीकरण गरियो । मध्यपश्चिम लोकमार्ग, मदन भण्डारी लोकमार्ग, पोखरा-मुग्लिन खण्ड वाइडर बनाउने कुरा, सुरुङ युगमा प्रवेश गरिएको कुरालगायतका विकास कार्य अगाडि बढेका छन् । विकासलाई कस्तो मोडलमा लाने भन्ने पनि एमालेले देखायो । यस्तो बाटो अरु कसैले पनि देखाएको थिएन । विगतमा खाली निजीकरण गर्ने काममात्र भयो । अहिले पनि व्यापारीहरु र स्वार्थ बाझिएकाहरुलाई नै ल्याएर मन्त्री बनाएको देखिन्छ । त्यसकारण उहाँहरु (सत्ता गठबन्धन)को कार्यशैलीले के देखाउँछ भने, देश केवल लुट्नको लागि हो ।
जग्गाधनी प्रमाणपूर्जाको जो तयारी गरिरहेको छ, त्यसलाई पनि चुनौती दिन खोजिरहेको छ । झण्डै १४÷१६ लाख भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास भएकाहरु दुश्मन बन्न थाली नै सके । त्यसकारण नेकपा एमालेका लागि धेरै आधारहरु छन्, जुन जनताले बुझेका छन् । खाली संगठनात्मक रुपमा पार्टी विभाजित मनस्थितिले खेलेको पनि देखिन्छ । हिजो वामदेव गौतमले आधाभन्दा बढी लिएर जाँदा पनि नेकपा एमाले आफ्नो ठाउँमा उभिएको इतिहास छ । त्यो भोगेर आएका कार्यकर्ताहरु पार्टी विभाजनको पक्षमा जाँदैनन् । मूलधारमा उभिएर पार्टी निर्माण हुन्छ । नेकपा एमालेले सर्वाधिक लोकप्रिय मत ल्याउँछ ।
समस्या : पुँजीवादी वर्ग चिन्तनको उपज
पहिलो कुरा, वर्गीय दृष्टिकोण हो । दर्शनमा विचलन, राजनीतिमा विचलन, वर्गको दृष्टिकोणमा विचलन भएपछि यस्तो अवस्था बेला–बेला आइरहने हुँदो रहेछ । पार्टीका महासचिव केशरजंग रायमाझी पनि दरबारको पक्षमा उभिनुभयो, तर पार्टी अघि बढ्यो । अहिले पनि पार्टीभित्र निम्न पुँजीवादी वर्ग चिन्तन छ, जो छोटो समयमै धेरै धन कमाउने, इज्जत कमाउने, पद कमाउने चाहना राख्छ, त्यो प्रवृत्ति सत्तामा जाँदा झनै मौलाउँछ । त्यो खराब प्रवृत्ति हो । यो हामीले बेलाबेला भोग्दै पनि आएका छौं । कुनै नेतृत्व अघि बढ्यो भने त्यसको आरिस गर्ने, डाह गर्ने र षड्यन्त्रकारी बाटोमा लाग्ने पनि यहीँ छन् । यही काम भयो अहिले । वर्ग शत्रुलाई प्रधानमन्त्री बनाउने र आफ्नो पार्टीको प्रधानमन्त्रीले विश्वासको मत माग्दा संसदबाट बाहिर जाने अनि त्यसपछि ‘संसद् जोगाउन भोट दिएका हौं’ भन्नेसम्म देखियो । यही खालको वर्गदुश्मनलाई सहयोग गर्ने चिन्तनका कारण अहिले पार्टी यो ठाउँमा पुगेको हो । हुन त संस्थापन पक्षका पनि कार्यगत त्रुटि होलान् । सबैलाई समेट्न पर्ने, संसदीय राजनीतिलाई बुझ्न पर्ने कुरामा कमजोरी रह्यो होलान् । तर, आपराधिक कर्ममा संलग्न भई देशीविदेशी मालिकहरुसँग साँठगाँठ गरेर पार्टीभित्रबाटै जुन काम पूर्वप्रधानमन्त्रीहरुले गर्नुभयो, त्यसैको कारण पार्टीको यो अवस्था आएको हो ।
कार्यकर्ताहरुले विस्तारै यी कुरा बुझ्दै जान्छन् । संस्थापन पक्षका कमीकमजोरीलाई सच्याउँदै पार्टी अघि बढ्छ । अलिकति अप्ठेरो भने छ । पीपल पनि पहराको कापमै हुन्छ भन्ने कुरा हामीले बुझ्नुपर्छ । चराले कहाँबाट लगेर बिस्ट्याउँछ अनि त्यहाँ पीपलको बिउ जान्छ र त्यसपछि पहराको कापमै हुर्कन्छ । नेकपा एमाले पहराको कापमै हुर्किएको हो । पार्टी एकता भइहाल्छ कि भन्ने माइन्डसेट भएका कारण हाम्रो गतिमा तीव्रता आएको छैन । अब गति तीव्र बन्दै पार्टी अघि बढ्छ ।
कमजोर लोकतन्त्र
नेपालका राजनीतिक दलका यस्ता हर्कतले हाम्रो लोकतन्त्र नै कमजोर भइरहेको छ । निर्दलीय चरित्रको व्याख्या अदालतले पनि ग¥यो । अदालतको यो व्याख्या अवसरवादी, सिद्धान्तहीन, लोकतन्त्रविरोधी र संविधानको प्रस्तावना विपरीत छ । अब के हुन्छ भने, कुनै पनि दलको बहुमत आउँदैन । अर्को चुनावपछि पनि त्यही अवस्था आउँछ । त्यसपछि ७६(२) अनुसारको प्रधानमन्त्री बनाउन कोही पनि लाग्दैनन् । किनभने, सबै सांसदहरुको इन्ट्रेस्ट आफू मन्त्री हुने नै हुन्छ । त्यसका लागि दलबाहिर हुन पाइयो नि ! त्यसपछि ७६(३) मा लार्जेस्ट पार्टीको हुन्छ । त्यसमा विश्वासको मत कसैले दिँदैन र ७६(५) मा जान्छ । स्वतन्त्र भएर सांसदहरुले विश्वासको मत दिन जान्छन र मन्त्रीको सौदावाजी गर्न थाल्छन् । अस्थिरता हुन्छ र संविधानको धज्जी उड्छ । अब सबैले यस्तो गर्न सक्ने सम्भावना बढेर गयो ।
दलीय व्यवस्था र स्वतन्त्रताको सवालमा मुलुक गम्भीर खतरातर्फ गएको छ । लिम्पियाधुरा, कालापानी र लिपुलेक फर्काउनका लागि एक–दुईजना सांसदलाई देशीविदेशीले प्रभावित पार्दियो भने त्यो अवस्था आउँदैन । हामीले बनाएको व्यवस्थाप्रति नै घृणा हुन्छ, मान्छेले आक्रोश व्यक्त गर्छन् । निरंकुश राजतन्त्रको बाटो समात्नेहरुका लागि प्रश्रय मिल्नसक्छ ।
अब कसरी एमाले हिँड्ने ?
कम्युनिस्ट पार्टीको नीति निष्ठा, सिद्धान्त प्रतिको आस्था, वर्गसंघर्षमा निरन्तर खारिँदै जाने हो । संस्कार, राजनीतिक अभ्यास, नेतृत्वमा आएको विचलनजस्ता कुराहरुमा निर्ममतापूर्वक प्रहार गर्न सक्नुपर्छ । नयाँ नेतृत्व छान्ने कुरामा ध्यान दिनुपर्छ । यदि नेतृत्व यही रहे पनि नवीन सोच राख्नुपर्छ । नयाँ पुस्तालाई समेत हस्तक्षेपकारी भूमिका खेल्ने ठाउँमा पुर्याउनपर्छ । पार्टी पुनर्गठनसहित अघि बढेमा हामी ठाउँमा आउँछौं ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।