त्रिविको बेथितिविरुद्ध लडिरहेका आशिषको पीडा : लड्दालड्दै थाकेपछि आत्महत्या गर्नेसम्मको सोच

त्रिभुवन विश्वविद्यालयले २०७५ पुस २९ गते स्नातकोत्तर तह भौतिक शास्त्र प्रथम सेमेस्टर ‘पुरानो कोर्स’ क्वान्टम मेकानिक विषयको परीक्षा बहिष्कार गर्ने विद्यार्थी थिए– आशिष पौडेल । पाठ्यक्रमभन्दा बाहिरबाट प्रश्न सोधिएको भन्दै उनीलगायतका विद्यार्थीले परीक्षा बहिष्कार गरेका थिए । परीक्षा बहिष्कार गरेर तत्काल अर्को परीक्षा गर्न माग गर्दै आएका आशिषको मागको सुनुवाइ भएन । बरु एकपछि अर्को गल्ती गर्दै त्रिवि अधिकारी अगाडि बढ्न खोजे । 

यस विषयमा छानबिनको माग गर्दै आशिषले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, त्रिवि शिक्षाध्यक्ष, उपकुलपतिको कार्यालय, शिक्षा मन्त्रालय, प्रहरी हुँदै सर्वोच्च अदालतसम्म उजुरी गरे । तर, कतैबाट पनि यो विषयलाई गम्भीर रूपमा लिइएन । 

उनी साढे दुई वर्षदेखि यही विषयलाई लिएर लडिरहेका छन् । अहिलेसम्म के कस्तो समस्या भोग्नुपर्यो ? उनले आफ्नो संघर्षलाई यहाँ व्यक्त गरेका छन् ।  

पहिला त म विद्यार्थी मान्छे । मास्टर लेभल पढ्न थालेपछि घरबाट पनि पैसा कमाओस् भन्ने हुँदो रहेछ । कमाउनुपर्ने समयमा यसरी मुद्दा लड्दै हिँड्नुपरेको छ । जसले गर्दा मैले कमाउन पाएको छैन । 

एउटा विद्यार्थीले पाउन सक्ने सबै खालका दुःख मैले पनि पाएको छु । त्रिविमा पनि हरेक दिनजसो जानुपर्छ । त्यहाँ जाँदा पैसा खर्चदेखि समय पनि नास भइरहेको हुन्छ । पदाधिकारी समयमा भेटिँदैनन्, उनीहरूलाई कुर्नुपर्छ । पदाधिकारीहरू एकछिन कार्यालय आउने, त्यसपछि हराउने गर्छन् । यसले गर्दा समय खेर जान्छ । 

घरी अदालत, घरी अख्तियार कुदेको कुद्यै हुनुपर्छ । मेरो फाइल मात्रै हेर्ने हो भने १५ किलोजतिको भइसकेको छ । फाइल किन्नलाई पनि पैसा खर्च हुन्छ, त्यसलाई टाइप गर्न पनि खर्च नै हुन्छ । वकिल राख्नुपर्यो, कानुनी कुरामा ध्यान दिनुपर्यो ।  



आफ्नै हकहितको लागि संघर्ष गर्दा हरेकसँग लड्दै जानुपरेको छ । आफ्नै अधिकार लिन खोज्दा पनि प्रहरी हिरासतमा बस्नुपर्यो । परीक्षाको समयमा हिरासतमा राखिएको थियो । 

त्यति गर्दा पनि म हारिनँ । अहिलेसम्म म लागिरहेकै छु । अहिले पनि ज्यानको खतरा छ । यो मुद्दामा ठूल्ठूला व्यक्तिहरू मुछिएका छन् । जसले गर्दा उनीहरूबाट मलाई ज्यानको खतरा छ । त्यस्ता व्यक्ति मुछिएकाले कसैले पनि चासो दिएर कारबाही गरेको देखिएको छैन ।



यसमा प्रहरीले पनि चासो दिएको छैन, अख्तियारले पनि यो विषयलाई गम्भीर रूपमा लिएको छैन । सतर्कता केन्द्र मात्र होइन स्वयम् प्रधानमन्त्रीले समेत यो विषयलाई गम्भीर रूपमा लिएको देखिएन । 

अनेक निकायमा धाउँदा पनि न्याय नपाएपछि म यतिसम्म कमजोर बनेँ कि, कहिलेकाहीँ त आत्महत्या गरौं कि जस्तो पनि भयो । बिरक्तिएर सडकमा हिँडौँ जस्तो पनि भयो । म भाडामा बस्ने मान्छे । चार–पाँच महिनाको भाडा पनि तिर्न सकिएन । त्यो भाडा कसरी तिरौँ पनि भयो । ३४ दिनसम्म भोकै बसेँ । खाना के खाने भन्ने पनि टुंगो हुँदैनथ्यो ।

पैसा जति सबै यसमै खर्च भयो । खर्च कसरी जुटाउने भन्ने पनि भयो । भोलि निवेदन दिनु छ भने आजै सबै कागजात तयार पार्नुपर्छ । समयमै सबै तयारी गर्नुपर्यो । 

नेपालको न्याय प्रणालीबाट न्याय पाउन निकै दुःख पाइँदो रहेछ । आजसम्म मैले जे जस्तो दुःख पाएको छु, त्यो अरूले नपाउन् भन्ने लाग्छ । 

मेरो लडाइँ नै सरकारले ठीक ठाउँमा राम्रो मान्छे राख्नुपर्यो भन्ने हो । मैले यो सानो घटनालाई उठान गर्नुको एउटै कारण छ– विश्वविद्यालय भनेको ज्ञानको मन्दिर हो, त्यहाँ जस्तो जनशक्ति उत्पादन हुन्छन्, तिनैले हो देश चलाउने । त्यहाँबाट राम्रो प्रोडक्ट निस्कियो भने हरेक ठाउँ तथा निकायमा पनि राम्रै मान्छे जान्छ । 

त्यो राम्रो प्रोडक्ट निकाल्न त राम्रो मान्छे ठाउँमा हुनुपर्यो नि ! यो घटना मात्र नभएर यस्ता थुप्रै घटनाले उनीहरू राम्रो मान्छे छैनन् भन्ने त देखियो । उनीहरूलाई विस्थापन गर्न सकियो भने राम्रो मान्छे त आउन सक्छ । गलतलाई कारबाही गरियो भने पो अर्कोले गल्ती दोहोर्याउने आँट पनि गर्दैन । 

व्यक्तित्वको सम्मान गर्नुपर्छ । सबै व्यक्तिको सोच एउटै खालको हुँदैन । कसैले गलत गरेको छ भने त्यसलाई कानुनी दायरमा ल्याउनुपर्छ भन्ने मेरो माग हो । त्रिविमा यस्ताखालका गल्ती पटकपटक भइरहेको छ । यो किन भइरहेको छ भन्दाखेरी कसैले पनि यसलाई गम्भीर रूपमा लिएनन् । आज नेपालमा जति पनि बेथिति भइरहेको छ त्यसको जड भनेको एकेडेमी क्षेत्रमा हुने गल्तीलाई सुधार गर्नतिर नलागेर झन् मलजल गर्ने काम गर्दाको परिणाम हो । 

प्रमाणपत्र भनेको खेलाँचीको विषय होइन । चोरी गरेर प्रमाणपत्र लिएर, गलत तरिकाले प्रमाणपत्र बनाएर कसैको पनि प्रगति भएको छैन । 

विज्ञान र शिक्षाको क्षेत्रमा प्रगति भयो भने मात्र देशको प्रगति हुने हो । अहिले प्रमाणपत्र सिरानीमुनि राखेर बस्नुपर्ने अवस्था छ । त्यसको कारण यही हो, सही मानिस सही ठाउँमा नियुक्त नहुनु । जब व्यक्तिमा भएको योग्यता सही रूपमा मूल्यांकन गरिँदैन तबसम्म यस्तै प्रमाणपत्र बनाएर सिरानीमुनि नै राख्नुपर्ने हुन्छ । 

सामान्य ज्ञानको लागि १२ कक्षासम्म पढ्दा मात्र हुन्छ । त्यो भन्दा माथि पढ्ने भनेको त त्यो विषयमा विज्ञ हुनको लागि हो । मास्टर लेभल भनेको त्यो विषयको विज्ञ नै हो । त्यसैमा यसरी लापरबाही भयो भने कसरी हाम्रो सिस्टम परिवर्तन हुन्छ ? कसरी विकास हुन्छ ?

प्रमाणपत्रको आधारमा नै मान्छेले जागिर पाउँछ । त्यही प्रमाणपत्रको आधारमा कुनै संस्थाको नेतृत्वमा पुग्ने हो । तर, त्यही प्रमाणपत्र हचुवाको भरमा दियो भने के होला ? 

प्रगतिको दृष्टिकोणमा म अरु भन्दा निकै पछाडि परिसकेँ । मास्टर लेभलको पढाइ नसकाइकन १० कक्षाभन्दा तल पढाउन पनि पाइँदैन । अर्को कुरा, आय आर्जन पनि कम हुन्छ । तेस्रो कुरा, पिएचडी गर्न पाइँदैन । 

अहिले मलाई त खिन्न लाग्छ । मसँगैका अरु साथीहरूले धेरै प्रगति गरिसके, मैले भने एउटै मुद्दामा दुई वर्ष सम्म लड्दै आउनुपरेको छ । 

मैले दुःख त पाएँ, तर मेरो जस्तो दुःख अरुले नपाउन भनेर मैले यस्तो हिम्मत गरेर अगाडि बढिरहेको छु । यदि विद्यार्थीले परीक्षा दिएन वा फेल भयो भने एक वर्ष खेर जान्छ । तर, त्रिविको गल्तीका कारण हाम्रो समय किन खेर जानुपर्ने ? गल्ती गर्दा उनीहरूमाथि कुनै कारबाही नहुनुपर्ने ? यो मेरो प्रश्न हो । 

मलाई त समस्या भयो नै, तर अन्यले यसरी नै समस्या भोग्नु नपरोस् भनेर मैले संघर्ष गरिरहेको छु । दोषीलाई कारबाही भएर सिस्टम जोगिनुपर्यो भन्ने मेरो मुख्य माग हो । एक्लैले लडे पनि न्याय पाइन्छ भन्ने कुरा स्थापित हुनुपर्छ, म यसकै निम्ति लागिरहेको छु । दोषीले गल्ती अनुसार कारबाही भोग्नुपर्छ । यस्तो भयो भने भोलि गएर कसैले पनि गलत गर्ने हिम्मत गर्न सक्दैनन् । 

त्रिविमा चरम बेथिति, फस्ने डरले एकपछि अर्को गल्ती

खाल्डोमा पुरिएका उत्तरपुस्तिका विवाद पेचिलो बन्दै गएपछि निकालियो

  • प्रकाशित मिति : साउन १४, २०७८ बिहीबार १७:२८:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया