काङ्ग्रेस जिल्ला सभापतिसँग फरकधार
कांग्रेसको नेतृत्व महाधिवेशन सम्पन्न गराउने सामर्थ्य राख्छ

(सम्पादकीय नाेट :१४औँ महाधिवेशनको काउन्टडाउन सुरु हुँदै गर्दा यतिबेला नेपाली कांग्रेसभित्र राजनीतिक सरगर्मी बढेको छ । पार्टी सभापतिदेखि केन्द्रीय समिति, प्रदेश, जिल्ला हुँदै वडास्तरसम्म यतिबेला कांग्रेसलाई महाधिवेशनले छोपेको छ । 

अब कांग्रेसले पाउने नेतृत्व कस्तो होला ? र, महाधिवेशनपछिको कांग्रेस कस्तो होला ? भन्ने प्रश्न जनमानसमा छ । त्यसो त कांग्रेस केन्द्रीय तहका नेताहरुलाई तल्लो तहका नेताले सुझाब पनि दिइरहेका छन् । 

फरकधारको यो शृंखलामा हामीले कांग्रेसका जिल्ला सभापतिहरुसँग महाधिवेशनपछिको कांग्रेस कस्तो हुनुपर्छ ? र, युवा नेतृत्वको सम्भावना के छ ? भनी सोध्ने छौँ । यसै क्रममा नेपाली कांग्रेस धादिङ जिल्लाकाका सभापति  रमेश धमलालाई हामीले यो शृंखलामा प्रस्तुत गरेका छौँ । )

हामी १४ औं महाधिवेशनको मुखमै रहँदा अब कस्तो नेतृत्व छान्ने भन्ने विषय उठेको छ । मूल कुरा, नेपाली कांग्रेसको नेतृत्व कस्तो ल्याउने भन्ने प्रारम्भिक जिम्मेवारी क्रियाशील सदस्यहरुको हातमा छ । 

जिल्लामा हिजोदेखि काम गरिरहनुभएका सिनियर पुस्ताका साथीहरु हुनुहुन्छ, त्यसपछि अहिले आफूलाई दोस्रो पुस्ता, तेस्रो पुस्ता भन्ने पनि हुनुहुन्छ । उहाँहरुको बीचबाट क्रियाशील सदस्यहरुले भावी राजनीतिक व्यवस्थापनको निम्ति नेताहरु छनौट गर्ने प्रक्रिया छ । विधानतः समावेशी चरित्रको कार्यनीति, समावेशी ढंगबाट महाधिवेशन प्रतिनिधि छनौट गर्ने प्रक्रियामा अडेर अत्यन्त गम्भीरताका साथ छलफल चलिरहेको देखिन्छ । त्यसका निम्ति तलदेखि माथिसम्म लोकतान्त्रिक विधि पद्धतिमा अनुशासित पार्टीपंक्ति निर्माण गर्ने प्रयासमा पार्टी जानुपर्छ । 

भोलि आउने कुनै पनि अवसर र अप्ठेराहरुमा नेपाली कांग्रेसको नेतृत्वले काम गर्न सक्ने स्थिति निर्माण गर्नुपर्छ । मलाई लाग्छ, धादिङबाट केन्द्रीय नेतृत्वको लागि पठाइने महाधिवेशन प्रतिनिधिहरु समय सान्दर्भिक, समय सापेक्षित नै हुने छन् । नेपाली कांग्रेसको नीति–सिद्धान्त, विचार र आमजनताको आवश्यकतालाई राम्रोसँग बुझ्न सक्ने साथीहरुको पंक्ति निर्वाचित हुन्छ भन्ने कुरामा विश्वस्त छु । धादिङमा कांग्रेसले जसरी पनि आगामी तीनै तहको निर्वाचन जित्नुपर्छ । र, निर्वाचन जिताउने गरी हाम्रो मूल नेतृत्व छनौट गर्नुपर्छ भन्ने कुरामा हामी दृढ छौं । 



हामी अहिले ठूलो महामारी भोगिरहेका छौं । अन्य समस्याहरु पनि छन् । तिनको समाधान गर्ने जिम्मेवारीमा कांग्रेस पुगेको छ । हिजो प्रतिपक्षमा रहेको पार्टी एकाएक सत्तापक्ष बनेको छ । प्रत्यक्ष निर्वाचनमा २३ सिटमात्र जितेको पार्टी अहिले मुलुकको बागडोर सम्हाल्ने परिस्थितिमा पुगेको छ । 

राजनीतिक तरलताको बीचबाट हाम्रो नेतृत्वले आजको आवश्यकतालाई परिपूर्ति गर्न सक्नुपर्छ । हाम्रो आवश्यकता मुलुक निर्माण र सञ्चालनको सन्दर्भमा अपरिहार्य छ भन्ने पुष्टि गर्नुपर्ने छ । अहिले महाधिवेशन आइरहेको छ, त्यसलाई सही ठाउँमा, सही ढंगबाट, सही नेतृत्वको हातमा पार्टी जिम्मा लगाउनुपर्छ । यसमा हाम्रा क्रियाशील सदस्यहरु सक्रिय भएको पाइन्छ । हामी एकदमै आशावादी भएर १४ औं महाधिवेशनलाई सम्पन्न गराउने, मूल नेतृत्वबाट केन्द्रीय कार्यसमिति सञ्चालन गर्ने, प्रदेश तह निर्माण गर्ने, जिल्ला तहमा त्यही ढंगको उपस्थिति गराउने, तहगत रुपमा गाउँदेखि टोलसम्म पुग्दा राम्ररी पार्टीलाई बुझेको मानिस चयन गर्नुपर्छ । र, सैद्धान्तिक विचलन नभएको मानिसहरुको पंक्तिबाट नेतृत्व चयन गर्नुपर्छ । 



अहिले हामी अनुमानको भरमा कुनै कुराको व्याख्या गर्न सक्दैनौं । हाम्रो पदाधिकारीको बैठकले रिसेड्युल निर्माण गर्ने र हामीलाई पठाउने प्रक्रिया चलिरहेको छ । जिल्ला सभापतिका नाताले मैले पनि केन्द्रीय निर्देशनलाई स्वीकार गर्नुपर्छ । केन्द्रको निर्देशनलाई मान्दै व्यवस्थित ढंगबाट सकेसम्म सर्वसम्मत, नसके लोकतान्त्रिक विधि–पद्धति अँगालेर सही नेतृत्व सही ठाउँमा ल्याउने कार्यमा हामी लागिपरेको छौं । 

युवा नेतृत्वको बहस

नेपाली कांग्रेसमा लामो समयदेखि चल्दै आएको युवा नेतृत्वको बहस एकातिर छ । कस्तो खालको नेतृत्व ल्याउने भन्ने कुरा, केन्द्रीय कार्यसमितिमा भर पर्छ । केन्द्रीय कार्यसमितिले निर्देशन गर्ने कुरा, निर्वाचन समितिले निर्माण गर्ने निर्देशिकाको कुरा, तहगत रुपमा जिम्मेवारीमा बसेका साथीहरुले ‘क्यारी अन’ गर्ने कुरा महत्वपूर्ण हुन्छ । अहिले हामीले जुन प्रकारको विश्लेषण गरिरहेका छौं, नेपाली कांग्रेसको नेतृत्व यस्तो हुनुपर्यो, उस्तो हुनुपर्यो भनेर, त्यसलाई एक ठाउँमा कम्पाइल गरेर अध्ययन गर्नुपर्छ । र, पार्टीको भविष्य सुदृढ गर्न सक्ने नेतृत्व कसरी निर्माण गर्ने भन्ने कुरा मुख्य हो । 

अग्रपंक्तिमा रहेका कार्यकर्ताको भूमिकामा यो निर्भर रहन्छ । केन्द्रीय नेतृत्वको लागि महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य र जिल्ला नेतृत्वको लागि क्षेत्रीय प्रतिनिधिहरुले यसको व्यवस्थापन गर्नुपर्छ । यसको छनौट र यसबाट स्वीकृत हुने मान्छे भनेको नेपाली कांग्रेसलाई राम्रोसँग बुझेको र राम्रो ढंगबाट नेतृत्व हाँक्न सक्ने साथीहरु नै हुनुपर्छ भन्ने मेरो मान्यता हो । 

हामी नकारात्मक दृष्टिकोणका साथ व्याख्या–विश्लेषण नगरी सकारात्मक दृष्टिकोणबाट कांग्रेसको भविष्यमा केन्द्रित छौं । कांग्रेसको माध्यमबाट मुलुकको भविष्यलाई कसरी उजागर गर्न सक्छौं भन्ने कुरामा लागिपरेका छौं । हाम्रो तहको पार्टीपंक्ति अत्यन्तै क्रियाशील भएको हुनाले सफलताका साथ महाधिवेशन सम्पन्न गर्न सकिन्छ भन्नेमा विश्वस्त छौं । 

परिवारवाद हाबी भएको हो ? 

पार्टीमा परिवारवाद हाबी भयो भनेर कसले, किन भनिरहेको छ ? पहिला यो कुरा बुझ्नुपर्छ । नेपाली कांग्रेसलाई बचाएर यहाँँसम्म ल्याउने अग्रजलाई हेर्नुपर्छ । नेताहरुको कन्ट्रिब्युसन कति रह्यो, कुन परिवारको कन्ट्रिब्युसन कति रह्यो ? परिवारबाट कति मान्छेहरु सेक्रिफाइस गर्न तयार रहे भन्ने हामीले बुझ्नुपर्यो । हामी आन्दोलन गर्छौं, त्यो आन्दोलनमा कुनै परिवारबाट १० जना, १५ जना सहभागी भएको पनि देखिन्छछ । कुनै परिवारबाट आन्दोलनमा आउनुपर्ने मान्छे खोज्दा हामी भेट्दैनौं । त्यसैले यी कुरा बुझेर मात्र परिवारवादको नारा लगाउनुपर्छ । 

नेता र उसको परिवारले गरेको त्याग, तपस्याको आधारमा हामीले नेताहरुको पहिचान र छनौट गर्नपर्छ । अहिले हामीले ‘लिगेसी पोलिटिक्स’लाई इग्नोर गरेर जान सक्ने परिस्थिति छैन । हाम्रो स्कुलिङ नै यही हो । पार्टीमा क्रियाशील व्यक्ति, जो हिजो राजनीतिमा निरन्तर जोडिएर आएको छ वा मेरो बा–हजुरबाट पार्टीमा हुनुहुन्थ्यो र मैले पनि यसमै काम गर्नुपर्छ भनेर लाग्ने र पार्टीको जिम्मेवारीमा पुग्ने पनि एउटा पंक्ति छ । अर्को पंक्ति कांग्रेस सबैको पार्टी हो यसमा आदिवासी, जनजाति, दलित, मधेसी, महिलालगायतका समावेशी चरित्रको व्याख्या गर्ने खालको पनि छ । यी सबैको व्याख्याको आधारमा कांग्रेस समावेशी चरित्रको बनेको हो । 

अहिले अधिवेशनको बेलामा परिवारवाद हाबी भयो भन्ने कुरा त कसैले कसैलाई होच्याउन वा सिध्याउने चलाएको हल्लामात्रै हो । आफू अब्बल छु भन्ने देखाउन यस्तो कुरा गर्नु आवश्यक छैन । हामी स्वच्छ प्रतिस्पर्धामा छौं । हिजो राजनीतिक लिगेसीमा हुर्केर आउनुभएका आदरणीय नेताहरुले पनि प्रतिस्पर्धा गर्न पाउनुहुन्छ र अन्यले पनि पाउँछन् भनेपछि केको परिवारवाद ? यदि हामी नोमिनेटेड व्यवस्थामा गएको भए हामीहरु ती कुराहरु उजागर गर्न जरुरी हुन्थ्यो । हाम्रो पार्टीको विधान भनेको, जसरी पनि निर्वाचनमा जाने नै हो । पदाधिकारीमा एकजना कोषाध्यक्ष– त्यो पनि निर्वाचित पदाधिकारीबाटै आउन पाउने, बाँकी पदाधिकारी प्रत्यक्ष निर्वाचनको प्रक्रियामा जाने नीति छ ।
 
कांग्रेसको हिजोको ऐतिहासिक कालखण्डलाई आजको दिनसम्म राम्रोसँग नबुझेर व्याख्या गर्ने परिपाटी मात्र हो परिवारवादको मुद्दा । यसको मतलब यो होइन कि, हिजोको लिगेसीले मात्र नेतृत्व लिनुपर्छ । उहाँहरुको आवश्यकता छ भने उहाँहरुमध्येबाटै आउनुहुन्छ । त्यो भन्दा बढी अरुकै आवश्यकता ठानेका छौं भने अन्य नै आउने छन् । 

एउटा उदाहरणः शेरबहादुर देउवाको नेतृत्वमा बनेको वर्तमान सरकारले प्रदेशको प्रमुखको नेतृत्वको निर्णय गर्दै गर्दा, जनजाति, आदिवासी, सीमान्तकृततर्फ कतिको संवदेनशील छौं भन्ने त हाम्रो निर्णयले देखाउँछ नि । हामीले गरेका राम्रा कामहरुको प्रचार गरेर जनताबीच जाने कुरामा ध्यान किन नदिएको ? यस्तै कुराबाट विचलित बनेकाले नै आज कांग्रेस जुन ठाउँमा पुग्न सक्ने सामर्थ्य राख्थ्यो, त्योभन्दा निकै तल छ । यो कुरामा सचेत हुने जिम्मा महाधिवेशन प्रतिनिधिको हो । 

कांग्रेसको नेतृत्व युवा, सिनियर पुस्ता, विभिन्न समुदाय र वर्गबाट छनौट गर्न सक्नुपर्छ । यही भावना अनुरुपको स्कुलिङ हामीले क्रियाशील सदस्यहरुलाई गराइरहेका छौं । कुनै पनि बहानाबाजीमा कसैलाई पनि ‘कर्नरिङ’ गर्ने कुरा राजनीतिमा असल होइन । 

महाधिवेशन कसरी गर्ने ?

यतिबेला हामीलाई महाधिवेशन गर्नका लागि विभिन्न कुराले चुनौती दिएको छ । म त भन्छु, नेतृत्व भनेको नै समस्या र चुनौतीको बीचबाट निस्कने हो । समस्या समाधान गरेर अवसरको खोजी र उपयोग गर्ने वातावरण जसले तयार पार्छ, नेतृत्व उसैलाई दिनुपर्छ । संवैधानिक संकटका साथै अहिलेको महामारीबारे सबैलाई थाहा छ । यो अप्ठेरो, यो बाध्यता र विकराल परिस्थितिबाट पार लगाउन सक्ने व्यक्ति नै नेतृत्वमा पुग्नुपर्छ । जिल्लाको नेतृत्व यो कुरामा तयार छ । एकाध ठाउँबाहेक विवाद पनि व्यवस्थापन भइसकेको स्थिति छ । हामीले महाधिवेशन तयारीको काम कहीँ पनि नरोकिने गरी अघि बढाएका छौं । 

राजनीतिमा चुनौती हुन्छन् नै, त्यसकै बीचबाट समाधान खोज्ने हो । आवश्यकताको पहिचान र त्यसको व्यवस्थापन गर्ने हो । हाम्रा पार्टी सभापतिले प्रतिपक्षमा रहँदा पनि अहिलेको आवश्यकता भ्याक्सिन, भ्याक्सिन, भ्याक्सिन भन्नुभएको थियो । अहिले हामी सत्तामा छौं । अब त भ्याक्सिन झनै ल्याउनुपरेको छ । त्यसमा सरकार लागिपरेको देखिएको छ । 

संवैधानिक संकटका कुरा पनि छन् । त्यसलाई सहज पार्न पनि कांग्रेस अग्रसर हुनुपर्छ । अरु जेसुकै भए पनि कांग्रेसको महाधिवेशन यो वा त्यो बहानामा सार्ने कुरा अब गर्नु हुँदैन । यसमा हाम्रो सहमति बिल्कुलै छैन । हामीले हिजो पनि समयमै महाधिवेशन गर्नुपर्छ भनेका हौं र अहिले पनि त्यही भन्छौं । महाधिवेशन गर्ने काममा हामी सहयोगी हुने नै छाैं । 

कोरोना र तथा बाढी–पहिरोले डरलाग्दो अवस्था सिर्जना गरिदिएको छ, तर भर्चुअल माध्यमबाट पनि अघि बढ्न सकिन्छ । हामी अनलाइन भोटिङ विधि अपनाउन सक्छौं । हामीले गाउँ–टोलबाट प्रविधिको प्रयोग गर्ने कुरा नेतृत्वलाई भनेका छौं । कांग्रेसको नेतृत्वले यो महाधिवेशन सम्पन्न गराउने सामर्थ्य राख्छ/राख्नैपर्छ ।

(धमला नेपाली कांग्रेस, धादिङका सभापति हुन् ) 

यही सिरिजमा यसअघि प्रकाशित अन्य जिल्ला सभापतिका यी विचार पनि पढ्नुहाेस्–

शेरबहादुरजी, रामचन्द्रजीहरुले धेरै अवसर पाउनुभयो, दोस्रो पुस्तालाई नेतृत्व दिनुपर्ने बेला आएको छ- धनुषा सभापति

‘अर्काको फेरो समाएर नेतृत्वमा पुग्न सकिँदैन’– दोलखा सभापति

पार्टीको वैधानिकताका लागि पनि त्याग गर्न सक्नुपर्छ– रामेछाप सभापति

युवामा क्षमता देखिनुपर्यो, अनि मात्र नेतृत्वमा दाबी गर्नुपर्छ – पर्सा सभापति

चार वर्षमा हुनुपर्ने महाधिवेशन पाँच वर्षमा पनि गर्न नसक्ने यो कस्तो नेतृत्व ?—नुवाकोट सभापति

‘कांग्रेसको इतिहास संरक्षण गर्ने नेतृत्व आवश्यक छ’— काठमाडाै‌ं सभापति

‘हामी संकटपूर्ण महाधिवेशनको मुखमा छौँ’— काभ्रेपलान्चाेक सभापित

‘नयाँ नेतृत्व, नयाँ विचार, नयाँ ढंग, नयाँ कार्यक्रमका साथ कांग्रेस अगाडि बढ्नुपर्छ’— सिन्धुपाल्चाेक सभापति

‘युवाहरुले धारणा नबदल्ने हो भने नेतृत्वमा आउँदैनन्’— भक्तपुर सभापति

  • प्रकाशित मिति : साउन १४, २०७८ बिहीबार १९:२:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया