प्रदेशका सरकारी अस्पतालमा डाक्टरको चरम अभाव
नर्सको नेतृत्वमा जिल्ला अस्पताल

सानी शेर्पा जिल्ला अस्पताल सोलुखुम्बुकी नर्स हुन् । उनलाई  जिल्ला अस्पताल सोलुखुम्बुमा नर्सिङ अस्पताल निरीक्षकको रुपमा सरकारले नियुक्ति दिएको छ । 

उनी कार्यरत अस्पतालले १५ शय्या सञ्चालनको स्वीकृति पाएको छ । तर, कोभिडका कारण अहिले अस्पतालमा ५२ शय्या सञ्चालन छ । ५२ शय्याको अस्पतालको नेतृत्व अहिले यिनै सानी शेर्पाले गरिरहेकी छन् । 

दरबन्दीअनुसार सो अस्पतालको नेतृत्व नवौँ तहको मेडिकल अधिकृतले डाक्टरले गर्नुपर्ने हो । तर दुई वर्षदेखि सानीभन्दा उच्च पदको कोही पनि स्थायी चिकित्सकले अस्पतालमा पाइला टेकेका छैनन् । अस्पतालमा दरबन्दीअनुसार मेडिकल अधिकृत नहुँदा दुई वर्षदेखि शेर्पाले नै कार्यालय प्रमुखको जिम्मेवारी लिइरहेकी छन् । 

 १५ शय्याको अस्पतालमा विशेषज्ञ डाक्टरसहित ३६ जना चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको दरबन्दी हुनुपर्ने हो । तर, भएको दरबन्दी पनि कटाएर जिल्ला अस्पताल सोलुखुम्बुमा अहिले १८ जनाको दरबन्दी कायम गरिएको छ । दरबन्दीको आधाभन्दा बढी चिकित्सक र स्वास्थ्यकर्मी नहुँदा सेवा प्रवाहमा समस्या भएको शेर्पाले बताइन् । 

अस्पतालमा डाक्टरबाहेक तीनजना अहेब, १ जना अनमी र एकजना स्टाफ नर्सको दरबन्दी खाली छ । छात्रवृत्ति करारमा रहेका तीनजना चिकित्सक अस्पतालमा छन् । तर, उनीहरु कहिलेसम्म रहन्छन् भन्ने टुंगो नभएको शेर्पाले बताइन् । 

११ जना विशेषज्ञ डाक्टरको दरबन्दी, तर पाँच वर्षयता कोही आएन 



जिल्ला अस्पताल उदयपुरको हालत पनि उही छ । जहाँ  दैनिक पाँचदेखि सातजना गर्भवतीको अप्रेसन हुन्छ । अर्थात्, यस अस्पतालमा दैनिक ५ देखि सातजना बच्चा अप्रेसनबाट जन्मिन्छन् । 

दैनिक तीन सयजना बिरामीको ओपिडीमा चेकजाँच हुन्छ । तर, अस्पतालमा ११ जना विशेषज्ञ डाक्टर आवश्यक छ । तर, एकजना पनि छैनन् । चारजना मेडिकल अधिकृतको दरबन्दी रहेको यस अस्पतालमा एकजना मात्रै कार्यरत छन् । ११ जना विशेषज्ञ डाक्टरको स्थायी दरबन्दी भएको जिल्ला अस्पतालमा पाँच वर्षदेखि विशेषज्ञ डाक्टर जान सकेका छैनन् । 



प्रदेश १ कै उत्तर पश्चिम क्षेत्रको ठूलो भनिएको अस्पताल १५ शय्याको अस्पतालबाट ५० शय्यामा स्तरोन्नति भएको पाँच वर्ष भयो । तर, दरबन्दीअनुसारको चिकित्सक र स्वास्थ्यकर्मी नहुँदा अस्पतालको स्तरोन्नति भने हुन नसकेको अस्पताल व्यवस्थापन समितिका संयोजक तथा जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर परियारले बताए । 

दरबन्दीअनुसारका डाक्टर नहुँदा दुईजना मेडिकल अफिसर र दुईजना छात्रवृत्ति करारका डाक्टरहरुले अस्पताल धानिरहेका छन् । 

पटक–पटक दरबन्दीअनुसारको डाक्टर माग भए पनि डाक्टर नपठाउँदा अस्पतालमा जडान गरेर सञ्चालनको तयारीमा रहेको भेन्टिलेटर र आइसियू सेवासमेत सञ्चालनमा आउन सकेको छैन । करार छात्रवृत्तिमा रहेका दुई डाक्टरले अल्ट्रासाउन्ड र रेडियोलोजिस्टको समेत काम गरिरहनुपरेको छ । 

५० बेडको अस्पताल बनाउने भनिएको भए पनि त्योअनुसारको दरबन्दी नभएको उदयपुर जिल्ला अस्पतालका मेडिकल अधिकृत डा. जेएन मण्डलले बताए । भेन्टिलेटर चलाउन सक्ने डाक्टर पाउन मुस्किल भएकाले उपकरण भएर पनि सञ्चालनमा आउन नसकेको उनको भनाइ छ । ‘समितिले डाक्टर राख्न सक्ने अवस्था छैन,’ उनले भने, ‘अहिलेको तलबमा काम गर्न कोही पनि आउँदैनन् । 

प्रदेश सरकारको घोषणा मात्रै

प्रदेश १ सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ । जसअन्तर्गत प्रदेशका सबै जिल्ला अस्पताललाई ५० बेडको बनाउने घोषणा बजेटमै गरिएको  छ । प्रदेश सरकारले पाँचथर र धनकुटा जिल्ला अस्पतालको क्षमता विकास गरी एक सय बेडको बनाउने योजना अघि सारेको छ । तर, भएकै बेड सञ्चालन गर्न समेत ती अस्पताललाई समस्या छ । दरबन्दीअनुसारका चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या देखिएको छ । 

दरबन्दी १४ जना, कार्यरत तीनजना

जिल्ला अस्पताल धनकुटामा १४ जना डाक्टरको दरबन्दी रहेको छ । तर, अस्पतालमा अहिले तीनजना मात्रै डाक्टर कार्यरत छन् । अस्पतालमा १० जना कन्सलटेन्ट (विशेषज्ञ डाक्टर) र तीन जना मेडिकल अधिकृतको दरबन्दी भए पनि दुईजना छात्रवृत्ति करार र एकजना मेडिकल अधिकृतका भरमा जिल्ला अस्पताल धनकुटा सञ्चालनमा रहेको छ । 

दरबन्दीअनुसार डाक्टर पठाउन माग गर्दै पटक–पटक प्रदेश सरकारसँग डेलिगेसन गए पनि समस्या समाधान नभएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा समन्वय प्रमुख टंक चौहानले बताए । 
‘सरकारले घोषणा गर्यो, तर काम गरेन,’ उनले भने, ‘अस्पतालको समस्या लिएर १५ दिनमा एकपटक मन्त्रालयमा धाउँदा पनि समस्याको सुनुवाइ भएको छैन ।’

प्रदेश सरकारको मातहतमा रहेका अस्पतालहरुमा पाँच सय ५१ जना स्वास्थ्यकर्मीको दरबन्दी रहेको छ । जसमा दुई सय ४८ जना मात्रै कार्यरत छन् । तीन सय तीनजनाको पद रिक्त रहेको प्रदेश १ सामाजिक विकास मन्त्रालयको तथ्यांकमा उल्लेख छ । 

सामाजिक विकास मन्त्रालयका अनुसार मेची अस्पतालमा एक सय तीनजनाको दरबन्दी रहेकोमा ५२ जना रिक्त रहेको छ । इनरुवा अस्पतालमा ३३ जना, इलाम अस्पतालमा ३० जना, उदयपुर अस्पतालमा ३५ जना र  संखुवासभा अस्पतालमा ४२ जनाको दरबन्दी खाली रहेको छ । 

मन्त्रालयका अनुसार ओखलढुंगामा २० जना, खोटाङमा २४ जना, धनकुटामा १०, पाँचथरमा ६ जना, भोजपुरमा १६ जना, ताप्लेजुङमा १० जना, तेह्रथुममा १५ जना र सोलुखुम्बुमा १० जना स्वास्थकर्मीको पद रिक्त रहेको छ । 

मन्त्री भन्छिन्– अब पूर्ति हुन्छ 

प्रदेश १ की सामाजिक विकासमन्त्री उषाकला राईले स्वास्थ्यकर्मीलाई आकर्षित गर्ने योजना ल्याएकाले अब प्रदेशमा स्वास्थ्यकर्मीको अभाव नहुने दाबी गरिन् । प्रदेश १ मा डाक्टरहरुलाई प्रोत्साहन गर्नका लागि तीन सय प्रतिशतसम्म भत्ता दिने योजना ल्याएको उनले बताइन् । 

प्रदेश सरकारले हिमाली जिल्लामा काम गर्ने डाक्टरहरुलाई तलबको तीन सय प्रतिशतसम्म भत्ता दिने निर्णय गरेको छ । यस्तै, पहाडी जिल्लामा २ सय ५० प्रतिशत र तराईका जिल्लामा दुई सय प्रतिशत भत्ता दिने निर्णय भएको राईले बताइन् । 

छिट्टै लोकसेवाले काम गर्ने र प्रदेशमा देखिएको स्वास्थ्यकर्मीको अभाव समाधान हुने मन्त्री राईले दाबी गरिन् । प्रदेश सरकार प्रदेशको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन लागेको र यसका लागि बजेट विनियोजन पनि बढी गरेको उनले जानकारी दिइन् ।  

‘हामी घोषणा गरेअनुसारको काम गर्न लागेका छौँ,’ मन्त्री राईले भनिन्, ‘अहिले दरबन्दीअनुसार पदपूर्ति नहुँदा समस्या भएको छ, हामी यसमा लागेका छौँ।’ दरबन्दीसँगै अस्पतालहरुको स्तरोन्नतिका लागि भौतिक पूर्वाधार निर्माणमा समेत प्रदेश सरकार लागेको मन्त्री राईले बताइन् । 

  • प्रकाशित मिति : साउन १४, २०७८ बिहीबार २१:३:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया