पहुँच हुनेलाई लाइनै नबसी खोप, सर्वसाधारण दिनभर लाइन बसेर घर

कैलालीको धनगढी उपमहनगरपालिका-२ सरस्वती नगर बस्ने ४५ वर्षीया सौरा कोली बिहीबार दिउँसो कोरोना खोप लगाउन लाइन बसिन्।

बुधबारबाट कोरोना खोप अभियान सुरु भएको थाहा पाएपछि उनी बिहीबार खोप केन्द्र पुगेकी थिइन्। सौरा धनगढी–२ स्थित शारदा माध्यमिक विद्यालयमा दिउँसो ठीक १२ बजे लाइनमा बसिन्। 

उनी खोप लाउने पालो कहिले आउला भनेर लाइनमा कुरिरहिन्। उनीभन्दा पछि आएकाको पालो आयो तर सौराको पालो आएन। खोप लगाउने खटिएकाहरु आफूले चिनजानेका व्यक्तिहरुलाई लाइनमै नराखी खोप लगाएर पठाइरहेका थिए।  

दिउँसो ४ बजेसम्म पनि पालो नआएपछि उनी घर फर्किन्। ‘तपाई नै खोप लगाउनुस्। म लगाउदैन’ सौरा आक्रोशित भइन् ‘मान्छे नहुनेका पालो नै नआउने रैछ हामी यहाँ बसेर के गर्नु।’ 

दिउँसोको चर्को घाममा खोप लगाउन लाइन बसेका धेरै स्थानीय स्थानीय खोप नलगाइ घर फर्किए। स्वास्थ्य सेवा विभागको निर्देशन अनुसार ५० देखि ५५ वर्ष उमेर समूहका लागि बुधबारबाट खोप अभियान सुरु भएको थियो। यस अभियानमा विश्वविद्यालय तथा विद्यालयका शिक्षक, प्राध्यापक, कर्मचारीलाई खोप लगाइने भनिएको थियो।  

त्यसैगरी सार्वजनिक यातायातमा कार्यरत सवारी चालक र सहचालक, अत्यावश्यक सेवामा कार्यरत व्यक्तिहरु र खोप अनिवार्य गरेका देशमा जाने नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन सक्ने व्यवस्था सरकारले गरेको छ। सुदूरपश्चिमका अधिकांश स्थानीय तहमा खोप अभियान सञ्चालन भएको छ। 



तोकिएको समूहमा नपरेपनि पहुँच हुनेहरुले खोप लगाउन पाएका छन्। लक्षित समूहका व्यक्तिहरु लाइन बसेर उसै फर्किएका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका–४ का ५२ वर्षीय वीरे सार्कीले कोरोनाविरुद्धको खोप लगाउन बुधबार र बिहीबार स्थानीय भृकुटी माध्यमिक विद्यालयमा गए। तर दुवै दिन खोप लगाउन पालो नआएर उनी फर्किए।  

सुरुमा भारतबाट आएको खोप लगाउन डराउनेहरु पनि अहिले खोप लगाउनका लागि भनसुन गरिरहेका छन्। खोप लगाउनेहरुमा अधिकांश सरकारी कर्मचारी, विभिन्न उच्च पदस्थ पदमा व्यक्ति र राजनीतिक दलका कार्यकर्ता र तिनका आफन्त छन्।



सुदूरपश्चिममा ३ लाख ३० हजारलाई खोप लगाउने

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार यस अभियानमा भेरोसेल र जोन्सन एन्ड जोन्सन कम्पनीका गरी करिब ३ लाख ३० हजारले खोप लगाउन पाउने छन्। निर्देशनालयका अनुसार २ लाख डोज भेरोसेल र करिब १ लाख ३० हजार डोज जोन्सन खोपको मात्रा धनगढीबाट अन्य जिल्लामा पठाइएको छ। 

कैलाली र कञ्चनपुरमा बुधबारदेखि खोप अभियान सुरु भएको स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले जानकारी दिए। अन्य जिल्लामा पनि खोप अभियानको तयारी भइरहेको छ। 

जोन्सन एन्ड जोन्सन खोप भने ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, पूर्ण तथा अति अशक्त, शरणार्थी, स्वास्थ्यकर्मी र सरसफाइकर्मीले पाउने निर्देशनालयले जानकारी दिएको छ। 

कैलालीमा भेरोसेलको पहिलो मात्रा ६३ हजार र जोन्सन एन्ड जोन्सनको ४८ हजार ५०० मात्रा खोप प्राप्त भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख लालबहादुर धामीले जानकारी दिए। ‘बुधबारदेखि १३ वटै पालिकामा एकैसाथ सुरु गरेका छौं,’ धामीले भने। 

बैतडीमा बिहीबारदेखि तेस्रो चरणको खोप सुरु हुने स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर हरिश भट्टले बताए। उनका अनुसार १५–१६ गतेबाट पछिल्लो चरणको खोप लगाउने तयारी भइरहेको छ। पहिलो चरणको कोभिडशिल्ड र दोस्रो चरणमा भेरोसेल खोप पाएका छन्। पहिलो मात्रा लगाउने १९ हजार बढी भए पनि दोस्रो मात्रा ६ हजार ३ सय ५ जनाले मात्र पाएका छन्।

कञ्चनपुरमा तेस्रो चरणको खोप अभियान अन्तर्गत बुधबारदेखि भेरोसेल खोप लगाउन सुरु भएको छ। त्यसपछि मात्रै जोन्सन एन्ड जोन्सन लगाइने स्वास्थ्य कार्यालयले जानकारी दिएको छ। 

व्यासमा ३५ देखि ३९ वर्षकालाई खोप

दार्चुलामा साउन १६ गतेदेखि सञ्चालन हुने  खोप अभियानमा ५५ वर्ष उमेरमाथिको समूहकालाई भेरोसेल खोप लगाइने भनिएको छ।

तर व्यास गाउँपालिकाको हकमा ३५ देखि ३९ वर्ष उमेर समूहकालाई खोप लगाइने स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले जानकारी दिए।

दार्चुलामा भेरोसेलको १० हजार १६० डोज खोप बुधबार बेलुकी दार्चुला पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ।  कोभिड–१९ खोप समन्वय तथा अनुगमन समितिको बैठकले साउन १६ गतेदेखि १८ गतेसम्म भेरोसेल र साउन २० गतेदेखि २२ गतेसम्म जोन्सन एन्ड जोन्सनको खोप लगाउने निर्णय गरेको कार्यालयले जनाएको छ।

१ लाख ६७ हजारले पाएनन् खोप

सुदूरपश्चिममा यसअघि कोभिशिल्ड र भेरोसेलको पहिलो र दोस्रो मात्रा खोप अभियान सञ्चालन गरिएको थियो। स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म ४२ हजार ८८३ जनाले भेरोसेलको पहिलो मात्रा लगाएका छन। 

तीमध्ये दोस्रो मात्रा लगाउनेको संख्या ३४ हजार ५० जना छ। यस्तै, यस प्रदेशमा कोभिशिल्ड पहिलो मात्रा २ लाख ५ हजार ५०६ जनाले पाएका छन्। तीमध्ये ३७ हजार ९०६ जनाले मात्रै दोस्रो मात्रा पाएको निर्देशनालयको तथ्यांक छ।
 

  • प्रकाशित मिति : साउन १५, २०७८ शुक्रबार १०:५६:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया