अभिनेत्रीका चिया-कफी र रेस्टुराँ

अभिनेत्री वर्षा राउत नयाँ बानेश्वरको ‘चिया अड्डा’मा चिया पिउने ग्राहक कुरिरहेकी हुन्छिन् । अभिनेता सञ्जोग कोइरालासँग लगनगाँठो कसेपछि चिया अड्डातिर लागेकी वर्षालाई श्रीमानले पनि साथ दिएका छन् । चिया अड्डाको सुरुवात सञ्जोग एक्लैले गरेका हुन् । पछि त्यहाँ मिसिन आइपुगे दीपकराज गिरी र दीपाश्री निरौला पनि । बिहेपछि वर्षाको समय चिया अड्डातिरै बित्ने गरेको छ।

‘चिया अड्डा’मा युवा पुस्ताको आकर्षण लोभ लाग्दो छ । चियाप्रेमीहरूको रोजाइमा परेको चिया अड्डामा हरेक दिन बिहानैबाट चहलपहल सुरु हुन्छ । युवापुस्ताको फुर्सदिलो समय कटाउने राम्रो गन्तव्य बनेको ‘चिया अड्डा’मा बसेर दैनिक ५/६ कपसम्म चिया पिउने ग्राहक छन् । धेरै प्रेमी-प्रेमिकाको डेटिङ स्पट समेत बनेको चिया अड्डामा बसेर गफको तालमा ५-७ कपसम्म चिया पिउनेको संख्या ठूलै रहेको वर्षा बताउँछिन् । 

कोरोनाका कारण केही समय बन्द भएको चिया अड्डा नयाँ ठाउँमा सरेको धेरै भएको छैन । नयाँ ठाउँमा सरे यसका ग्राहक भने पटक्कै घटेका छैनन् । अवस्था सामान्य नभएका कारण पहिलाको जस्तो राम्रो व्यापारचाहिँ हुन नसकेको वर्षा बताउँछिन् । 

अभिनेत्री श्वेता खड्का पनि ‘कफी सप’मा रमाउन थालेको लामै समय भयो । ‘हिमालयन जाभा’ सञ्चालन गरेकी श्वेता राइजिङ मल र बालुवाटारमा धेरै भेटिन्छिन् । राइजिङ मलबाट सुरु भएको श्वेताको हिमालयन जाभाले विभिन्न स्थानमा शाखा विस्तार गरिसकेको छ ।

श्वेताको ध्यान फिल्मतिर त थियो नै साथै व्यापारमा पनि उनको ‘रुचि’ रहेको थियो । उनी हिमालयन जाभा सुरु गर्नुअघि नै इन्टेरिअर इन्जिनियरिङ कम्पनी सञ्चालन गर्थिन् । उक्त कम्पनी थालेपछि आफूमा आत्मविश्वास पलाएको श्वेताले बताउँछिन् । समाजशास्त्र र अर्थशास्त्रद्वयमा ब्याचलर्स गरेकी श्वेताले इन्जिनियरिङ कम्पनीको पनि विभिन्न स्थानमा शाखा विस्तार गरेकी छन् ।

अभिनेत्री कृति भट्टराई बानेश्वरको थापागाउँमा ‘कफीशाला’ सञ्चालन गरेर बसेकी छन् । अभिनय छोडेर सञ्चारमा आएकी यिनले व्यवसायको आरम्भ ‘कफीशाला’बाट गरेकी हुन् ।  



कफीशालाको नाम कसरी जुर्‍याे त भन्ने प्रश्नमा उनी भन्छिन्, ‘अल्कोहल मादक पदार्थ पिउने स्थललाई मधुशाला, पढ्ने स्थान पाठशाला भनेजस्तै कफी पिउने स्थल भएकाले कफीशाला नामकरण गरिएको हो ।’

एकताका कफीशालामा कफी पिउने मानिसमात्रै होइन कफी बनाउन सिक्नेहरू पनि आउने गर्थे । कफीशालाले अर्गानिकदेखि विभिन्न स्वादका कफी बनाउने तालिम प्रदान गरेको थियो । कोरोनाका कारण अहिले कफीशालाको तालिम बन्द भएको छ । 



रेस्टुराँमा नम्रता र ऋचा

नेपाली सिने उद्योगमा अभिनेत्री नम्रता श्रेष्ठको बलियो पकड छ । दर्जनभन्दा बढी ‘हिट फिल्म’ दिइसकेकी नम्रता दर्शकको रोजाइमा पर्ने कलाकार हुन् । नम्रता चलचित्र छनोटमा निकै ध्यान दिन्छिन् । 

यी अभिनेत्री चलचित्र क्षेत्रबाहेक रेस्टुराँ व्यवसायमा समेत आवद्ध छिन् । उनी रेस्टुराँसँग जोडिएको धेरै भइसक्यो । उनले सञ्चालनमा ल्याएको ‘एटिक रेस्टुराँ तथा बार’ गज्जब चलिरहेको छ । यो रेस्टुराँ सुरुमा नक्साल नजिकै थियो । अहिले ज्ञानेश्वरमा सञ्चालन भैरहेको छ । 

अभिनयबाहेक नम्रताको अधिकांश समय व्यापार-व्यवसायमा नै बित्ने गरेको छ । उनले आफ्नो कामको डिल पनि आफ्नै रेस्टुराँमा गर्दै आएकी छन् । भन्छिन्, ‘सहज पनि हुन्छ ।’

अभिनय अब्बल भएका कारण निर्माता-निर्देशकको रोजाइमा पर्ने अर्की अभिनेत्री हुन्- ऋचा शर्मा । उनले पनि केही वर्षअघि रेस्टुराँ व्यवसाय सुरु गरिन् । ‘पाङ्ग्रो’ नामक रेस्टुराँ ऋचाले सुरुमा दरवारमार्गमा सञ्चालन गरेकी थिइन् । पछि नक्सालमा सारिन् । 

अहिले यी अभिनेत्री कमेडी च्याम्पियनमा निर्णायकका रूपमा देखिँदै आएकी छन् । उनी आमा बन्ने तयारीमा समेत रहेकी छन् ।

दीपिकाको सहकारी

अभिनेत्री दीपिका प्रसाईंले सहकारी सुरु गरेकी छन् । उनलाई उनका श्रीमान् तथा निर्देशक दिवाकर भट्टराईले साथ दिएका छन् । उद्योग सुस्ताएका कारण चलचित्र निर्माणमा असहज अवस्था भएकाले वैकल्पिक पेशामा हात हालेको दीपिका बताउँछिन् । उनी श्रीमानसँग मिलेर एक क्याफे पनि सञ्चालन गर्ने तयारीमा छिन् । अहिले चलचित्रको काम नभएको र यो क्षेत्रबाट जीवन जिउन कठिन पर्ने देखेपछि वैकल्पिक पेशा शुरु गरेको उनको भनाइ छ ।

साम्राज्ञीको अनलाइन व्यवसाय

देश कोरोना महामारीको चपेटामा पर्नुअघि चलचित्रमा निकै व्यस्त थिइन् अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह । चल्तापूर्जा यी अभिनेत्रीले अनलाइन व्यवसाय सुरु गरेकी छन् ।  उनले, अनलाइनको माध्यमबाट विभिन्न डिजाइनका पहिरन बेच्दै आएकी छन् । पछिल्लो समय सामाजिक सञ्जालमा साम्राज्ञीको दिनहुँजसो नयाँनयाँ डिजाइनका पहिरन लगाएको तस्बिर पोस्ट हुने गर्छन् । ‘प्याप’ नामको साम्राज्ञीको अनलाइन व्यवसायमा महिलाका पहिरन उपलब्ध छन् ।

 

  • प्रकाशित मिति : साउन १५, २०७८ शुक्रबार १२:४५:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया