प्रचण्डले मनको कुरा खोल्दा माओवादीमा असन्तुष्टि

‘हाम्रा अध्यक्ष बुढा कहिलेकाँही बोल्न नपर्ने कुरा सार्वजनिक समारोहमा बोलिहाल्नुहुन्छ र आलोचित बन्नुहुन्छ। पेटमा कुरा राख्नै सक्दैनन् क्या !’ केहीदिन अघि माओवादी केन्द्रका एक केन्द्रीय नेताले गफको सिलसिलामा फ्याट्ट भने।

खुमलटारसँग दैनिकजसो सम्पर्कमै रहने ती केन्द्रीय सदस्यलाई प्रचण्डको पछिल्लो अभिव्यक्तिले मन गिजोलिरहेको रहेछ।

प्रचण्डले ९ साउनमा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको स्मृति दिवसमा आयोजित कार्यक्रमा यस्तो भनाइ राखेका थिए। आफ्ना ४९ जनै सांसदलाई मन्त्री चाहिएको र त्यही कारणले आफू निकै तनावमा रहेको उनले भनेका थिए। 

प्रचण्डको यो अभिव्यक्तिले ती माओवादी नेता नभइ अन्य धेरै नेताहरुको पनि मन गिजोलिएको छ।

प्रचण्डलाई पीडा : कति मन्त्रालय पाउने, कसलाई मन्त्री बनाउने ?

खुमलटार स्रोतका अनुसार देउवा प्रधानमन्त्री नियुक्त भएपछि मन्त्री बनाउनुपर्ने प्रस्तावसहित खुमलटारमा सांसदहरुको लर्को लाग्यो। प्रधानमन्त्री देउवाले माओवादीलाई कुन–कुन मन्त्रालय दिने टुंगो लागेको छैन। 



अर्कातिर आफ्नै पार्टीका सांसदहरुको दवावले प्रचण्ड तनावमा परेका हुन्। यो कुरा उनले मनमा राख्न सकेनन्। अनि सार्वजनिक कार्यक्रम बाटै भने, ‘म तीन–चार दिनदेखि निकै तनावमा छु। सके त मैले ४९ जनालाई नै मन्त्री बनाइदिन पाए हुन्थ्यो जस्तो लागेको त छ नि, तर यो मिल्दैन।’ 

प्रधानमन्त्री नियुक्त भएको झण्डै ३ हप्ता हुँदा पनि देउवाले मन्त्रालय विस्तार गर्न सकेका छैनन्। एमालेको माधव नेपाल समूह सरकारमा सहभागी नहुने घोषणा गरेसँगै मन्त्रिपरिषद् विस्तारको काम पेचिलो बन्दै छ। उता, जसपाले पनि मन्त्रीहरुको टुंगो लगाउन सकेको छैन्। 



माओवादीमा असन्तुष्टि 

प्रचण्डले पार्टी कार्यालय पेरिसडाँडामा आयोजित उक्त कार्यक्रममा व्यक्त गरेको सो अभिव्यक्ति धेरैका लागि अनपेक्षित थियो। बेला–बेलामा आफ्नै र पार्टीका बारेमा दिएका अभिव्यक्तिले प्रचण्ड विवादमा परिरहन्छन्।

उक्त भनाइपछि पार्टीभित्र प्रचण्डको आलोचना खुलेर कसैले गरेका त छैनन्। तर, पार्टीभित्रका जिम्मेवार नेताहरु भने यसबाट खुसी छैनन्। ‘उहाँले अपेक्षा गरेको जायज हुने, अरुले गरेको चाँही नाजायज हुने हुन्छ र ? उहाँको त्यो अभिव्यक्ति ठिक थिएन।’ एक स्थायी समिति सदस्यले फरकधारसँग भने। 

‘अध्यक्ष ज्युको त्यो प्रस्तुती ठिक थिएन। त्यो कुरा माओवादीमा मात्र नभई सबैमा हुन्छ नि’ ती स्थायी समिति सदस्यले भने, ‘त्यसरी सार्वजनिक रुपमा भन्नै परेन्। उहाँले नै बसालेको परिपाटी हो त्यो।’

लामो समयदेखि पार्टीलाई नेतृत्व गरेका प्रचण्डलाई ती नेताले सुझाव पनि दिए। ‘यदि त्यही समस्या पार्टीमा देखिएको हो भने उहाँले एउटा कार्यदल बनाएर मन्त्री छान्ने जिम्मा दिए भैगोनि त !’ ती स्थायी कमिटी सदस्यले प्रश्न गरे, ‘सधैं मन्त्रालय बाँडफाँडका बेलामा आफैँ साँचो ताल्चा गोजीमा राखेर बस्ने अनि तनाव भयो भन्ने ?’

मन्त्रिपरिषद विस्तार गर्दा सक्षमता, समावेशी र स्वच्छता लगायतका विषयहरुलाई हेर्नुपर्ने उनको भनाइ छ। त्यस्तै अर्का एक स्थायी समिति सदस्यले पनि प्रचण्डले त्यस्ता अभिव्यक्ति सार्वजनिक रुपमा नराखेको भए हुने बताए। 

‘प्रचण्डजीको नेचर कस्तो थियो भन्ने पनि देखाउँछ। पोलिटिसियन भित्र हुनपर्ने कुराहरुलाई दबाएर राख्न सक्नुहुन्न।’ उनले भने, ‘उहाँले आफूलाई परेको समस्यालाई रिफ्लेक्ट गरेको मात्र हो। आफूलाई भएको प्रेसरलाई थेग्न नसकेर भन्नुभएको हो। पार्टीमा छलफल गर्नुहुन्छ त्यसपछि पनि विवाद देखिँदा उहाँ बाहिरै बोल्नुहुन्छ।’

मन्त्रिपरिषद् विस्तारमा छलफल गरौं भन्ने भावना अध्यक्ष प्रचण्डको भएको भन्दै ती नेताले अघि भने, ‘पार्टीमा छलफल त समावेशी गरौं भन्ने हुन्छ नै। समावेशी भयो भने आफू परिन्छ कि भन्ने आशामा पनि परेको हुन्छ। त्यही विधि बसालियो भने आफू पनि त्यहाँ परिन्छ भन्ने हुन्छ।’

माधव नेपाल ब्याक भएपछि सकस

यतिबेला प्रधानमन्त्री देउवालाई मन्त्रिपरिषद विस्तर गर्न नसकेको भन्दै दवाव पर्न थालेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरुले त ३ हप्तासम्म मन्त्रिपरिषद् विस्तार गर्न नसक्ने प्रधानमन्त्रीले देशलाई कसरी हाँक्छन् ? भनेर प्रश्न गरिसकेका छन्। 

एमाले ओली पक्षका नेता विष्णु रिजालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तीन हप्तासम्म आफ्नो सचिवालय बनाउन र मन्त्रिमण्डल गठन गर्न नसक्ने अनि एकाध व्यक्ति छान्दा नै पारिवारिक र व्यापारिक स्वार्थ देखाइहाल्ने प्रधानमन्त्रीबाट चुनौतीपूर्ण अवस्थामा देशको नेतृत्व कसरी र कस्तो होला भन्ने छनक त आइसकेको छ।’

सत्ता गठबन्धनमा सरिक भएका एमाले असन्तुष्ट पक्ष नेपाल समूहको सहभागिता के हुने भन्ने विषय किनारा लागेको छ। सत्ता गठबन्धनको बैठकमा सहभागी भएर नेपाल समूहको प्रतिनिधित्व गरेका डा. विजय पौडेलले आफूहरु सरकारमा नआउन जानकारी गराइसकेका छन्। 

माओवादीका एक स्थायी समिति सदस्यले माधव नेपाल पक्षको बाहिरबाट मात्रै समर्थन रहेको र कांग्रेस, माओवादी र जसपा मिलरे सरकार बनाउने बताए। ‘सरकारले पूर्णता पाएको छैन, त्यसपछि काम पनि भएको छैन’ ती स्थायी समिति सदस्यले भने, ‘माधव नेपालहरु पहिला जाने भन्नुभयो, पछि उहाँहरुको इन्टर्नल समस्या देखियो। यसपछि केही समस्या देखिएको हुनसक्छ।’ 

  • प्रकाशित मिति : साउन १५, २०७८ शुक्रबार १४:२४:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया