(सम्पादकीय नाेट :१४ औँ महाधिवेशनको काउन्टडाउन सुरु हुँदै गर्दा यतिबेला नेपाली कांग्रेसभित्र राजनीतिक सरगर्मी बढेको छ । पार्टी सभापतिदेखि केन्द्रीय समिति, प्रदेश, जिल्ला हुँदै वडास्तरसम्म यतिबेला कांग्रेसलाई महाधिवेशनले छोपेको छ ।
अब कांग्रेसले पाउने नेतृत्व कस्तो होला ? र, महाधिवेशनपछिको कांग्रेस कस्तो होला ? भन्ने प्रश्न जनमानसमा छ । त्यसो त कांग्रेस केन्द्रीय तहका नेताहरुलाई तल्लो तहका नेताले सुझाब पनि दिइरहेका छन् ।
फरकधारको यो शृंखलामा हामीले कांग्रेसका जिल्ला सभापतिहरुसँग महाधिवेशनपछिको कांग्रेस कस्तो हुनुपर्छ ? र, युवा नेतृत्वको सम्भावना के छ ? भनी सोध्ने छौँ । यसै क्रममा नेपाली कांग्रेस सिन्धुलीजिल्लाकाका सभापति उज्ज्वलप्रसाद बराललाई हामीले यो शृंखलामा प्रस्तुत गरेका छौँ । )
हामी १४ औं महाधिवेशनको संघारमा छौं । महाधिवेशनको काउन्टडाउन भइरहँदा यसको सुनिश्चितता हुनुपर्नेमा अनिश्चिततातिर धकेलिएको छ । भरसक महाधिवेशनमा हामीले पहिल्यैदेखि नै मुद्धाको रुपमा उठाउँदै आएको विषय हो- नेतृत्व । यतिबेला नेतृत्व परिवर्तन आवश्यक छ भन्ने हामी सबैको साझा बुझाइ छ ।
नेपाली कांग्रेसको नेतृत्व जुन किसिमले अघि बढ्नुपर्थ्यो, विधि-विधानलाई अगाडि बढाउनुपर्थ्यो त्यसो हुन सकेन । अहिले अधिवेशन हुन नसक्नुमा पनि नेतृत्वको कार्यशैली जिम्मेवार छ । कांग्रेसको विधि–विधानलाई अवलम्बन गरेर हिँड्न सक्ने, आधुनिक कांग्रेसलाई बुझ्न सक्ने, जनतासँग भिजेको मान्छे नेतृत्वमा आउनुपर्छ । आधुनिक प्रविधिसहित बुझेको नेता पार्टीको नेतृत्वमा आउनपर्छ भन्ने मेरो बुझाइ छ ।
युवा नेतृत्वको बहस
कांग्रेसमा युवा नेतृत्वमा आउनुपर्यो भन्ने आवाज उठिरहेको छ । युवाहरु आउनुपर्छ भन्ने मान्यता राख्ने मध्येको एउटा म पनि हुँ । तर, पार्टीमा युवाको खाँचो छ भन्ने चाहिँ बिलकुलै होइन । पुराना र पाका नेताहरुको पनि कांग्रेसमा आवश्यकता छ । पाका र युवा नेताहरुको सम्मिश्रणबाट नेपाली कांग्रेसको नेतृत्व छानिनुपर्छ । युवाहरुले अहिले जुन किसिमले हाँक्नुपर्ने, जनस्तरमा पु¥याउनुपर्ने हो, त्यो हुन सकेको छैन ।
कांग्रेसका सैद्धान्तिक विषयहरुलाई पु¥याउनुपर्ने ठाउँसम्म बूढा नेतृत्वले पु¥याउन सकेका छैनन् । पाका नेतृत्वको पनि आवश्यक छ र सँगसँगै पुस्तान्तरणको आवश्यकता पनि छ । किनभने धेरै लामो समयदेखि कांग्रेसका युवा नेता ‘जाम’मा बसे । कांग्रेसको नेतृत्वमा जो पुग्यो, त्यसले पद नछोड्ने परिपाटीले गर्दा आगामी अधिवेशनबाटै युवा पुस्तालाई पुर्याउने काम हुनुपर्छ । र, काम गर्न योग्य पाका नेतालाई पनि नेतृत्वमा केही अंश दिनुपर्छ ।
परिवारवादको बहस
नेपाली कांग्रेसमा परिवारवादको कुरा उठिरहेको छ । जसको पारिवारिक योगदान छैन त्यसले परिवारवादको कुरा गर्छ । तर, कांग्रेसभित्र एउटै परिवारका धेरै सदस्यले सहादत भोगेको, जेलनेल भोगेकोदेखि पार्टीका लागि एउटै परिवारका सदस्यले लामो समयसम्म तपस्या गरेको अवस्था छ ।
नेपाली कांग्रेसलाई अगाडि बढाउन, लोकतन्त्रलाई जीवित राख्न, प्रजातन्त्र स्थापना गर्नदेखि राणाशासन धपाउनसम्म योगदान गरेको परिवार पनि यो पार्टीभित्र छ । त्यसकारण हिजोको संघर्षको समयमा जुन परिवारले योगदान पु¥याएको छ त्यसलाई परिवारवादमात्र भन्न मिल्दैन । उनीहरुको योगदानको कदर हुनुपर्छ । कांग्रेसमा नयाँ पुस्ता आएको छ, उसको परिवारको पार्टीमा योगदान छैन । राणाकालदेखि नै लाग्दै आएको पुरानो पुस्तामा कतिपयको पारिवारिक योगदान रहेको देखिन्छ ।
हाम्रो पार्टीमा अहिले पनि ३÷४ पुस्ता छ । शेरबहादुर देउवा, रामचन्द्र पौडेलका पनि दोस्रो–तेस्रो पुस्ता भइसके । त्यो भन्दा अघिको दुई पुस्ता कांग्रेसभित्र आइसक्यो । पारिवारिक पृष्ठभूमि नबाँधिकन जो संघर्ष गरेर आए, उनीहरुले परिवार हैन हामी हौं भन्छन् । अबको नेतृत्वको कर्मले यस्ता कुराको निर्क्यौल गर्न सक्नुपर्छ । कर्म कम गर्ने अनि परिवारवाद हाबी भयो भनेर कराउनुको कुनै तुक छैन । परिवारवाद छ भने कहाँ कहाँ छ ? के हो यथार्थ ? यसको पनि खोजीनीति हुनुपर्छ । परिवारवाद हाबी हुनुहुँदैन, तर पृष्ठभूमि के हो भन्ने कुरालाई हेरिनुपर्छ ।
महाधिवेशन र क्रियाशील विवाद
मैले पाएको सूचना अनुसार क्रियाशील विवाद समाधानका लागि छानबिन समिति गठन भएको छ । त्यो समितिले प्रतिवेदन तयार गरेर नेतृत्वसमक्ष पु¥याएको खबर छ । समितिले आफ्नो ढंगको कर्म गरेर दिएको होला । त्यसमाथि पनि छलफल र बहस भइरहेको छ । छानबिन समितिका सदस्यहरुका अनुसार अब हामीले टुंग्यायौं केही अनसन बसेका साथीहरुको हकमा रामचन्द्र पौडेल, शेरबहादुर देउवा लगायतको टिमलाई यसको जिम्मा दिइएको छ । नेतृत्वले नै यसलाई टुंग्याउँछ भन्ने सूचना हामीले पाएका छौं ।
साथै हामी सम्भावित संवैधानिक र वैधानिक संकट भोग्नुपर्ने अवस्थामा छौं । यसलाई दृष्टिगत गर्दै क्रियाशील विवाद सुल्झाइ हाल्नुपर्छ । नयाँ क्रियाशीलले विवाद सिर्जना गरेको छ भने यसलाई थाती राखेर नवीकरण गरेका पुराना क्रियाशीललाई लिएर अधिवेशनमा जानुपर्छ । विवाद नै सकिएन भने एक-दुई जिल्ला सहभागी नभएको परम्परा हाम्रो महाधिवेशनको छ । विवादको निदानका लागि अनशन बसेका साथीहरुले केही न केही सोच्लान् नै ।
महाधिवेशन कसरी ?
हिजो प्रतिपक्षमा बसेको नेपाली कांग्रेस यतिबेला सत्तामा छ । हिजोको भन्दा बढी जिम्मेवार र जनताप्रति उत्तरदायी बन्नुपर्ने कांग्रेसले यी सबै कुरालाई ध्यानमा राखेर अघि बढ्नुपर्ने छ । महाधिवेशन गर्नै पर्ने र गर्दा ध्यान दिनुपर्ने अवस्था पनि छ । हामी सरकारमा जानुअघि निर्वाचन हुन्छ वा हुँदैन, सरकारमा जान्छौं वा जाँदैनौं भन्ने द्विविधा छँदै थियो । हाम्रो महाधिवेशनको जुन बेलामा कार्यतालिका प्रकाशन भयो, त्यतिबेला हामीसँग धेरै चुनौती थियो ।
कोभिडको महामारी झनै अघिदेखि नै थियो । तर, नेतृत्वले समयमा सबै काम गर्न सकेन । यदि समयमा भएको भए यो सबै चपेटामा परिँदैनथ्यो । अहिले कांग्रेसलाई बढी जिम्मेवार बन्नु छ । जिम्मेवार पार्टीले भीडभाड ग¥यो, स्वास्थ्य मापदण्ड अपनाएन भन्ने पनि आरोप आउन सक्छ । कसरी महाधिवेशन गर्ने भन्ने विधि कांग्रेसले खोजिरहेको छ ।
कतिपय जिल्लामा एउटा गाउँबाट अर्को गाउँमा जान सक्ने अवस्था छैन । बाढी–पहिरोलगायतका प्रकोपले अवस्था झनै खराब बनेको छ । अहिले वडामा हुने अधिवेशनहरुलाई वडाबाटै मतदान गरेर टुंग्याउन सक्छौं भनेर विकल्प दिइएको छ । नेपाल पत्रकार महासंघ, बार एसोसिएसनको जस्तै निर्वाचन प्रणालीलाई पछ्याउँदै जानुपर्छ । त्यस्तै, टेक्नोलोजीको भरपूर प्रयोग गरेर पनि हामी सोच्न सक्छौं । यी विधिहरुको बारेमा खोजीनीति हुँदै छ ।
संवैधानिक बाध्यताबीच महाधिवेशन गर्नै पर्ने अवस्था छ । नत्र भने, कांग्रेस संविधानबाट जिरो हुन्छ । कुनै पनि दलको केन्द्रीय निर्वाचन हुनुपर्ने छ भनिएको छ । हामीले जुनसुकै विधि अपनाएर भए पनि कांग्रेसको निर्वाचन भयो भनेर पत्र लिएर निर्वाचन आयोगमा जानै पर्छ । जिल्ला जिल्लामा भेला भएर भए पनि हामीले निर्वाचन सक्यौं भनेर आयोगलाई भन्नै पर्छ । मुख्यतः अधिवेशन हुनै पर्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।