सन्तानको चाहना गर्दा सुष्मालाई जब श्रीमानले भने, ‘तिमी आफै बच्चा छौ’

काठमाडौं मलको पाँचौँ तला । बाहिर परेको सिमसिम पानी । झ्यालबाट देखिने धरहराको दृष्य । त्यही दृष्य नियाल्दै बसेकी एक अधबैंसे महिला । निधारमा आकाशे रंगको ठूलो टिका । सेतो पहिरनमा सजिएकी उनले कुराकानीको सुरुवातमै भनिन् ‘मान्छे जस्तो भए पनि तस्बिर र भिडियो राम्रो आउनु पर्छ ।’ 

उनी थिइन सौन्दर्य व्यवसायी सुष्मा महरा । उनले सुन्धाराको काठमाडौं मलमा सुन्दरताको कथा बुन्न तथा भन्न थालेको लामै समय भयो । उनका हातहरुले थुप्रै अनुहारका कुरुपताहरु छोपिदिए । तर, उनको छातीमा आफैंले मेटाउन नसकेको एउटा अँध्यारो पाटो लुकेको थियो । 

महराको जीवनमा आफैंलाई ऐँठन पर्ने त्यो कालो रात आएर गएको पनि झण्डै दशक बित्न लाग्यो । तर, जिन्दगीको त्यही अँध्यारो पाटो बेलाबेला पिठ्युँमा बोकेको भारी जस्तै गह्रौं भइदिन्छ, साहसी सुष्माका आँखा भरिदिन्छ, र बगिदिन्छ आँसु बनेर । अनि अनायासै सुष्माको मनभित्रको पीडा बाहिर पोखिन्छ र उनी भन्छिन्, ‘जिन्दगीका केही पाटोहरु बिर्सिएर हिँड्नै नसकिँदो रहेछ ।’

एकैछिन सुनसान बनिदिन्छ माहोल । उनी आँखाबाट हाम फाल्ने तरखरमा रहेका आँसु आँखामै लुकाउन चाहन्छिन् । आकाशतिर फर्किन्छिन् । आकाशको ठाउँमा देखिन्छ, अर्को तलाको ढलान । उनी आँखा चिम्लिन्छिन् । उनको यो भक्कानो उनका स्वर्गीय श्रीमान सुमन महरासँगै फुटेको थियो । यो सम्झना पनि त उनका लागि पानीको फोका जस्तै हो । छिनमै उठ्ने, छिनमै फुट्ने । 
आज भने उनले सम्झनै पर्ने थियो जीवनमा कालो रात आउनु अघिका उज्याला दिनहरु । 

२०५७ सालतिर सुष्मा भर्खर प्लस टू सकेर बसेकी थिइन् । त्यतिबेलासम्म सुष्माले आफ्नै भविष्यलाई लिएर कुनै सपना बुन्न भ्याएकी थिइनन् । अझै भनुँ त्यतिबेलासम्म छोरी मान्छेहरुका आफ्नै सपना हुँदैनथे । उनीहरुको सपना भन्नु राम्रो घर, जागिरे श्रीमान, असल घरपरिवार, यस्तै यस्तै हुन्थे । सुष्मा पनि यस्तै के कुरामा अल्झिएकी थिइन् कुन्नि ? उनलाई अहिले सम्झना छैन । उनलाई यो चाहिँ सम्झना छ कि, भविष्यका खाका कोर्न नभ्याएका आँखाहरुले ठीक त्यहीबेला आफूभित्र राखेका हुन् सुमन महरालाई । 

राष्ट्रिय अनुसन्धान विभागका डिएसपी सुमनसँगको भेटघाट प्रेममा परिणत भयो । प्रेम पनि सुरुमा एकतर्फी थियो । सुमनले निक्कै चाहन्थे । सुष्मामा भने त्यो खालको महसुस नै थिएन । उनको घरमा पनि बिहेको कुरा भने चलिरहेकै थियो । २०५६ सालमा सुमन र सुष्माले प्रेम विवाह गरे । विवाहको दिन पनि सुष्मा सुमनलाई भेट्न मात्रै भनेर निस्किएकी थिइन् । त्यही दिन उनीहरु काठमाडौंबाट भागेर पोखरा गएर एक महिना बसे । त्यसपछि भने सुमनको परिवारले जागिर बिग्रने भन्दै घरमा बोलाए । सुष्मा बुहारी भएर सुमनको घरमा भित्रिइन् । 



त्यसबेला सुमनले सुष्मालाई भनेका थिए ‘तिमीलाई जिन्दगीभर कुनै दुःख हुन दिन्न ।’ आज पनि सुमनको त्यो वाक्य सम्झिँदा सुष्माको गला रोकिन्छ । तीव्र हुन्छ मुटुको गति, अनि टिलपिलाउँछन् आँखा । आँखासँगै बगिदिन्छ नाकबाट पनि पानी । तर, कहिल्यै सँगै बगाएर लैजादैन त्यो पानीले जिन्दगीलाई थिचिरहने पहाड जस्ता सम्झना । ती सम्झनालाई पुनः मुटुको एउटा कुनामा दबाएर सुरु गर्नु पर्छ जिन्दगीको अर्को सिलसिला, कुराकानीको अर्को प्रसंग । 

दुईवटा बच्चा सम्हाल्न सक्दिनँ



बिहेपछि सुष्माको चाहना थियो आमा बनिहाल्ने । उनका श्रीमान भने तत्काल बाबु बन्न तयार भइसकेका थिएनन् । उनी भन्थे, ‘तिमी आफैं बच्चा छौ, अर्को बच्चा पनि जन्माएपछि म दुई बच्चा सम्हाल्न सक्दिनँ ।’ बरु उनी सुष्मालाई पढाउन चाहन्थे । सुष्मालाई लाग्थ्यो– आफू सरहको छोराछोरी सँगै लिएर हिँड्न पाए । उनको यो चाहाना पूरा भएन । 

सुष्माको मन त सौन्दर्य व्यवसायमा पनि पुगेर अल्झिएको थियो । उनले एसएलसीपछि नै ६ महिने ब्युटिपार्लर तालिम लिएकी थिइन् । त्यतिबेलैबाट यो व्यवसायमा बसेको सुष्माको मन अन्य व्यवसाय र पढाइमा जान सकेन । यहाँ निर भने उनको परिवारले बुझ्न समय लाग्यो । 

बिहे गरेको लामो समयसम्म उनले छोराछोरी जन्माइनन् । झण्डै १२ वर्षपछि उनी पहिलो पटक गर्भवती भइन् । अब आमा बन्दैछु भन्ने थाहा पाएको दिन सुष्मा निक्कै उत्साहित थिइन् । उनले गर्भवती भएपछि गर्भावस्थाका विषयमा आफन्तसँग बुझिनन् । उनले गर्भावस्थामा आउने मानसिक तथा शारीरिक परिवर्तन, यो समयमा आफूले आफैलाई गर्नु पर्ने हेरविचारका विषयमा लेखिएका किताबहरु पढिन् । 

सुष्माले पढेका सबै किताब सुमनले पनि पढ्थे । कहिलेकाहीँ सुष्मा सानातिना कुरामा झनक्क रिसाउँथिन् । सुमन भन्थे, ‘मलाई थाहा छ । यो पनि किताबमा लेखेको थियो ।’ सुष्मा उतिबेलै मुस्कुराउँथिन्, उनीसँगै उनको मुस्कानमा सबै मुस्कुराउँथे । सुष्माको हाँसोसँगै घरभरी खुसीको लहर छाउँथ्यो । 

गर्भवती भएको ३ महिनामा ससुराको निधन
सुष्मा गर्भवती भएको ३ महिना लाग्दै थियो । परिवारमा सबै खुसी थिए । परिवारसँगै खुसी थिइन.् सुष्मा पनि । तर, उनको यो खुसी लामो समय खुसीमै मात्र सीमित हुन सकेन । खुसीको यो समय घरको मियो ढल्यो । उनका ससुराको निधन भयो । परिवार नै शोकमा डुब्यो । भोलि जे परेपनि साथमा ससुरा छन् भन्ने सुष्माको भरोसा पनि ढल्यो । यतिबेलासम्म आफ्नो जिन्दगी रमाएर बाँचिरहेका सुष्माका अन्य परिवारले जिम्मेवारीको भारी उठाएकै थिएनन् । त्यसैले पनि आत्तिएको थियो उनको मन । 

घरमा शोक परेको समय सबैले उनलाई आफ्नो ख्याल गर्न भने । जुठो नबार्न र नुन खान भने । सुष्माको मनले किन मान्थ्यो ? उनी ससुराको जुठो बारेर बसिन् । एक त शोकको घडी, अर्को गर्भिणी शरीर सुष्मालाई निक्कै गाह्रो भएको थियो त्यो समय । सबैको आग्रहमा केही दिनपछि उनले सिधेनुन खाइन् । 

कोरामा बसेर बाबुको काम गर्दै गरेका सुमनले एकदिन सपना देखेछन् । सपनामा उनका बाबुले भनेछन्, ‘छोरा म मरेँ भनेर कत्ति पनि पिर नगर । म मरेको छैन । तिम्रो छोराको रुपमा म पुनः तिमीसँगै आउने छु ।’ सुमनले सुष्मालाई कोराबाटै फोन गरेर भने, ‘तिम्रो गर्भमा रहेको बच्चाको लिङ्ग परीक्षण गराऊ ।’ 

श्रीमानको उक्त वाक्य सुष्माका लागि नौलो र आश्चर्यजनक थियो । कारण उनीहरुलाई केवल सन्तान चाहिएको थियो, छोरा वा छोरी चाहिएको थिएन । पछि सुमनले सपनाको कुरा सुनाए । सुष्माले लिङ्ग पहिचान गराउन मानिनन् । बच्चा जन्मने बेलासम्म सुमन सुष्मालाई फकाइरहन्थे । सुष्मा मान्दैनथिन् । सुष्माका माइतीमा पनि छोरा थिएनन् । घरमा पनि ससुरा बितेपछि छोराको रुपमा उनी फर्किएर आउने विश्वास । सुष्माको बढ्दै गएको पेट हेर्थे र आफन्तले कामना गर्थे ‘छोरो जन्मियोस् ।’

सुष्मालाई दुई जिउकी हुँदा खासै गाह्रो भएन् । खाना नरुच्ने, भोमिट हुने, नाक लाग्ने केही भएन । शारीरिक परिवर्तनका कारण हुने असजिलो त हुने भइहाल्यो । उनको गर्भिणी पेटको आकार हेरेर धेरैले भविष्यवाणी गरिदिन्थे, ‘तिम्रो पेटमा दुईवटा बच्चा छ ।’ सुष्मा भने चरी जस्तो फुरफुर हिँडिरहन्थिन् । उनका श्रीमान भन्थे, ‘कुन दिन यसले बच्चा पाएँ भनेर हातमा लिएर आउने हो ।’

शनिबारको दिन थियो । ९ महिना सुरु भइसकेको थियो । एक्कासी पेटमा बच्चाको ‘मुभमेन्ट’ बन्द भयो । सुष्मा आत्तिइन् । श्रीमानलाई लिएर अस्पताल पुगिन् । डाक्टरले भिडियो एक्सरे गर्न भने । भिडियो एक्सरे गर्दा बच्चा घोप्टो परेका कारण ‘मुभमेन्ट’ थाहा नभएको देखियो । त्यही दिन उनका श्रीमानले बच्चाको लिङ्ग हेरे । सुष्माको पेटमा छोरा थियो । सुमन निक्कै खुसी भए । उनको यो खुसी छोरा जन्मन लागेकोमा भन्दा धेरै छोराको रुपमा बुवाको पुनर्जन्मको विश्वासको थियो । 

११ दिन बच्चा एनआइसियूमा 
त्यसको एक हप्तापछि शनिबार साँझदेखि सुष्माको पेट दुख्ने क्रम सुरु भयो । डाक्टरले आइतबार अस्पताल भर्ना हुन भनेका थिए । भोलिपल्टसम्म आफ्नो अवस्था गम्भीर बन्ला र एम्बुलेन्समा अस्पताल जानु पर्ला भनेर सुष्मा त्यही दिन अस्पताल गइन्, भर्ना भइन् । सुष्माको चाहना नर्मल डेलिभरी हुने थियो । त्यहीअनुसार उनले आफूलाई तयार पारेकी पनि थिइन् ।

साँझबाट सुष्मालाई प्रसव व्यथाले च्याप्यो । त्यो अस्पतालमा उनलाई हेर्ने डाक्टर आएनन् । सुष्मालाई अप्रेसन गर्नुपर्छ भनिएको थियो । उनका श्रीमानले अप्रेसनको सम्पूर्ण तयारी पूरा गरे । तर, उनलाई हेर्ने डाक्टर नआएसम्म अप्रेसन गर्न सम्भव थिएन । त्यसदिन डाक्टर सुभद्रा अभिनेत्री मनिषा कोइरालाको वैवाहिक समारोहमा सामेल हुन गएकी थिइन् । 
प्रसव व्यथा बढ्दै जान्थ्यो । सुष्मा अस्पतालका भित्तामा एकोहोरो हेरिरहन्थिन् । उनलाई लाग्थ्यो, ‘अब बाँचिदैन होला । ओहो, बच्चा जन्माउने काम सजिलो रहेनछ ।’ 

भोलिपल्ट डाक्टर आउँदा सुष्माले छोरालाई जन्म दिइसकेकी थिइन् । छोरो सँगसँगै परिवारको खुसी पनि जन्मियो । सुष्माका लागि भने यो खुसी पूर्णरुपमा खुलेर आएन । छोरो कम तौलको जन्मिएका कारण जन्मेलगत्तै उनी छोरासँग बिछोडिनु पर्यो । उनको छोरालाई एनआइसियूमा राखियो । कति दिन राख्नु पर्ने भन्ने थाहा थिएन । सुष्मा डिस्चार्ज भएर घर आइन् । छोरो अस्पतालको एनआइसियू वार्डमा थियो । त्यो समय सुष्माको मनमा चलेको आँधी व्यक्त गर्ने कुनै शब्द छैन । उनको छोरो ११ दिनसम्म ओम अस्पतालको एनआइसियू वार्डमा बस्यो । 

११ दिनको दिन बिहानैदेखि छोराको न्वारनको तयारी हुनु पर्ने हो, तर परिस्थिति त्यस्तो थिएन । सुष्माले छोरो भेट्न अस्पताल जाने तयारी गरिन् । उनीहरु बिहानको १० बजेतिर अस्पताल पुगे । त्यो दिन अस्पतालले छोरालाई डिस्चार्ज गरिदियो । सबैभन्दा धेरै खुसी त्यही पल मिलेको थियो । डाक्टरले छोराको डिस्चार्ज भनेपछि उनका श्रीमानले लड्डु किन्न लगाए । वरपरका सबैलाई लड्डु बाँडे । पुरोहित बोलाएर छोराको न्वारान गरे । सुष्माको परिवारमा खुसी फर्कियो । 

छोराको बोली नफुट्दै बाबुको निधन
सुष्माको जीवनमा खुसी थामिएर बस्नै पाएन । छोरासँगै हुर्कँदै गरेको खुसीमा २ वर्ष नबित्दै बज्रपात पर्यो । छोराको भर्खर वाक्य फुट्दै थियो, उसले राम्रोसँग ‘बाबा’ पनि भन्न नपाउँदै सुमनको निधन  भयो । सुमनको मृत्युपछि लामो समय सुष्माको होस आएन । यो समय सुष्मालाई उनका परिवारले दिएको साथ आजपनि शक्ति बनेर आउँछ जीवनमा । भन्छिन्, ‘मेरो परिवारको साथले नै आज म यहाँ छु ।’

भन्नेहरुले ‘मर्नेले केही लिएर जाँदैनन्’ भनिदिए । तर, सुमनले आफूसँगै लिएर गए सुष्माको सिउँदोको रंग, उनको जीवनको भरोसा । छोराको आड लाग्ने काँध अनि समातेर हिँड्ने औला र बुढी आमाको जीवनको भरोसा । सबै सबै छुटिगए । 

यिनै छुटेर गएका जीवनका आयामलाई सम्झेर सुष्माले बाँकी जीवन एक्लै बाँच्ने अठोट गरेकी थिइन् । एक्लो जीवन बाँच्न थालेपछि सुष्माले बुझिन्, ‘एकल महिलाले भोग्ने कुरा निक्कै फरक रहेछ । समाजले उनीहरुलाई हेर्ने नजर निक्कै भयावह रहेछ ।’ मेरो परिवार साथमा छ भन्दा पनि एकल महिलालाई बाँच्न निक्कै गाह्रो रहेछ । 

जीवनको अर्को अध्याय
छोरो हुर्कँदै थियो । परिवारको साथ मिठो थियो । छुटेर जानेको सम्झनामा आफ्नै जीवन सकेर पनि हुँदैन रहेछ । लाग्न त उनलाई लामो समय बाँच्ने हिम्मत आएन । तर, एउटी आमालाई आफ्नो मनसँग हारेर जीवन मास्ने छुट कहाँ थियो र ? उनले पनि आफ्ना लागि भन्दा छोराका लागि बाँच्ने अठोट गरिन् । उनी फेरि काममा निस्किइन् । 

सुष्माको नजरमा नेपाली समाजले एक महिलालाई एक्लै बाँच्नै दिँदैन । काम त्यही हो, श्रीमान साथमा हुँदा समाजले हेर्ने दृष्टिकोण नै फरक थियो । तर, श्रीमान गुमाएपछि समाजका हरेक प्रश्नको सामना गर्नु पर्ने, कयौँ पटक आफैसँग आफू डराउनु पर्ने । घर पस्ने र निस्कने समय छरछिमेकको चासो बनिदिने । यी र यस्ता थुप्रै कुराले सुष्माको मन चिमोटिरहन्थ्यो । यही बेला काठमाडौंकै उज्वलजंग शाहसँग उनको परिवारले बिहेको कुरा चलायो । 

बिहेको प्रस्ताव आएपछि सुष्माको एउटै शर्त थियो ‘अर्को बच्चा नजन्माउने’, उनले भनेकी थिइन्, ‘मलाई मेरो जिन्दगीमा केही कुराको अभाव छैन । अभाव मेरो छोरालाई बाबुको हो । त्यो अभाव पूरा गर्ने भए बिहे गर्छु ।’ उज्वलले सुष्माको यो प्रस्ताव स्वीकार गरे । बाबु बितेको ४ वर्षपछि छोराले पुनः बाबुका रुपमा उज्वलको छहारी पाए । आजसम्म त्यो छहारी निक्कै बलियो छ । बाबुछोरा एकअर्कासँग निक्कै खुसी छन् । सुष्माको खुसी भन्नुनै छोराले पाएको बाबुको काँध हो । 

अहिले सुष्माका छोरा ११ वर्षका भए । उज्वलसँग रमाइरहेका हुन्छन् । सुष्मा हरेक दिन बिहान उठेपछि सुमनको तस्बिरमा ढोग्न लगाउँछिन् । अब उनी प्रश्न गर्ने भएका छन् । भन्छन्, ‘आमा यो कस्को फोटो हो ?’ सुष्मा जवाफ दिन्छिन्, ‘तिम्रो बुवा ।’ उनी फेरि प्रश्न गर्छन ‘कसरी ?’ सुष्मा नम्र स्वरमा भन्छिन्, ‘बिस्तारै सबै आफै थाहा पाउँछौ बाबु ।’ 

कुराकानीको बिट मार्दै गर्दा सुष्माले भविष्यको योजना सुनाइन् । छोरालाई लिएर आफूले देखेको सपनका विषयमा कुरा गर्दै सुष्मा भन्छिन्, ‘म यो देशसँग, यहाँ सिस्टमसँग हायलकायल छु । म चाहन्न, मेरो छोराले पनि यही सिस्टमसँग जुध्नु परोस् । छोरालाई विदेश पठाउन चाहन्छु । उसको बाबुको इच्छा पनि यही थियो ।’

  • प्रकाशित मिति : साउन १६, २०७८ शनिबार ८:५५:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया